रूकुम हत्याकाण्डमा बेपत्ता भनिएका मध्ये ६ जनाको लास मारेर फ्याकिएको अवस्थामा भेटिइसकेको छ । पोष्टमार्टम रिपोर्टले पनि यस्तै भन्छ ।
अन्तरजातीय प्रेम सम्बन्धबाट उत्पन्न भएको यो नृशंस हत्या प्रकरणपछि अहिले सामाजिक संजाल स्पष्ट दुई खेमामा बाँडिएको देखिन्छ । एकथरि सामाजिक न्यायका पक्षमा उभिएका छन् भने अर्कोथरि यथार्थलाई ढाकछोप गर्न लागिपरेका छन्। हत्या प्रकरणको घटना विवरण बुझ्दा जातीयता जोडिएको कुरा सामान्य-चेत हुने मानिसले समेत बुझ्न सक्छ । भलै कि यसमा अन्य कारणहरू पनि नभएका हैनन् ।
हिटलरलाई सरापेर नथाक्ने पनि यसबेला यथार्थलाई ढाकछोप गर्न असली अनुहारसहित उग्रनश्लवादी भएर निस्किएका छन् । यिनीहरू सामुहिक हत्याजस्तो विषयमा यतिसम्म असंवेदनशील र जातिवादी भएर निस्किएका छन् कि, ‘अरू सब भन, तर दलित भएकै कारण मारियो नभन’ भन्दैछन् ।
दलित भएकै कारण अजित मिजारको हत्या भयो; लास ४ वर्षदेखि अस्पतालमै सडेर बसेको छ । जात नजोड भनेर के समाजमा यस्तो जातीय अपराध भएकै छैन भन्न खोजेको ? आफू बाँचेको समय/समाजप्रति यति बेखबर कसरी हुन सकेको ? आज पनि अखबारको भित्री पृष्ठ मन्दिर/धारा छोएको निहुँमा दलित कुटिएको, देशको नर्स/सांसदले दलित भएकै कारण कोठा भाडामा नपाएको’ समाचार छाप्न अभिशप्त छ । यति घिनलाग्दोसँग जरा गाडेर बसेको छुवाछुत प्रथालाई जातीय अहमकै कारण हैन तपाईँले अझै काँधमा बोकेर हिंडिरहेको ? तपाईँले अनि कुन नैतिक आधारमा जातीयता नजोड्नूस् भन्न सकेको ?
सामाजिक संजाल व्यक्तिमार्फत् समाजको असली अनुहार चिहाउने महत्त्वपूर्ण कडी हो । सामाजिक न्याय, समानता र समतापूर्ण समाज चाहने कवि, प्राध्यापक, बुद्धिजीवी पनि यहाँ नाङ्गै घुमिरहेका भेटिन्छन् । जब समाजलाई सकारात्मक मार्गनिर्देश गर्नुपर्ने हुन्छ, यी मनुवाहरू आफ्नो भडास, कुण्ठाको लुतो कनाउन मग्न हुन्छन् । उनीहरूको दमित चेतना यति दुर्गन्धितसँग छरपष्ट भएका हुन्छन् कि पछिल्लो राजनैतिक/सामाजिक परिवर्तनप्रति ‘इगो’ पालिरहेको अनुहार प्रष्ट देखिन्छ । पहिले उनीहरूलाई जी/हजुरी गरिरहेका, झुत्रेझाम्रे देखिने, उनीहरूकै पैतालामा गिडगिडाउनेहरू अहिले सहानुभूति हैन आत्मसम्मान खोजिरहेका छन्, सुकिलोमुकिलो भएका छन्, उनीहरूसँगै तर्कवितर्क गरिरहेका छन् । उनीहरूलाई फिटिक्कै मन परेको छैन ।
यी सब दृश्यले ती मुकुण्डोधारी मनुवाहरूको आत्मा भतभति पोलिरहेको छ । अनि उनीहरू सामाजिक सद्भाव बिगारेको तुष पोख्छन् । तर एउटा समुदायको ढाडमा लडिबडी गर्ने सामाजिक सद्भाव अब टिक्नेवाला छैन । टिक्नु पनि हुँदैन ।
जब रूकुम हत्या प्रकरण सामाजिक संजालमा फैलिन थाल्यो । मुकुण्डोधारी कवि, लेखक, प्राध्यापक, बुद्धिजीवीहरूले त्यो हत्या प्रकरणलाई बालविवाहसँग जोड्न खोजे | लकडाउन अवज्ञा, हुलदङ्गा, रातमा केटीको घर गएको कसुरसँग पनि जोड्न भरपुर परिश्रम गरे । त्यसको प्रतिवाद हुन थालेपछि, ‘यो घटनालाई जातीयतासँग नजोड्’, भन्न थाले । उनीहरू थप भन्दै थिए- ‘दलित शब्दले विभाजन कोर्यो’, ‘दलितले आरक्षण लिइराछन् भने विभेद भइहाल्छ नि !’ , ‘दलितभित्रै विभेद छ, त्यो हटाऊ’, जस्ता तर्कहरू झिक्न थाले । हत्या प्रकरणमा एउटा समुदायलाई लक्षित गरेर यस्तो तर्क आउनु अर्थपूर्ण छ । आउनूस्, त्यस्ता तर्कहरूको चिरफार गरौँ;
दलित र ब्राह्मणवादको शब्दको साइकोलजी
१. दलित
दलित शब्दलाई लिएर दुई खालका विचारहरू सतहमा आउछन् । एउटा खाले विचार छ, दलित शब्द हटाउनुपर्छ भन्ने । उनीहरूको मत अनुशार, ‘दलित शब्दले हामीबीच विभाजन कोर्यो । यसैले यो शब्दलाई शब्दकोष र संविधानबाट हटाउनुपर्छ । समानताको यात्रा शुरू गर्न यो शब्द बाधक छ ।”, उनीहरू भन्छन्- “दलित शब्द हटाऔँ र फटाफट समानतातर्फ पाइला चालिहालौँ ।’
उनीहरूको मान्नु यो छ कि दलित शब्द कायम गर्दा विभिन्न राष्ट्रले त्यो शब्दसँग जोडिएका एनजिओ/आईएनजिओलाई गर्ने आर्थिक सहयोगबाट तिनका हर्ताकर्ताले घर-गाडीमात्र जोड्छन् । थप्दै भन्छन्- “यो दलित शब्दले खास बहिष्करणमा परेका तथाकथित दलितलाई केही गरेन । केही गर्दैन । दुईचार टाठाबाठा सम्पन्न दलित भनाउँदालाई टाईसुट लगाउन यो शब्द किन राख्ने ? हटाऔँ ।” यति भनिसकेपछि उनीहरू दलितलाई बहिष्करणमा परेको समुदाय भनेर स्वीकार्छन्, नत्र त्यो स्वीकार्ने मुडमा हुँदैनन् । उनीहरू एकदम स्पष्ट छन्, शब्द हटाउनु मूल अस्त्र हो विभेद हटाउन । जसमाथि सृजना ढकालको प्रतिकृया यस्तो छ- “दलितमात्र किन नेपालकै नाम बदलेर अमेरिका राखिदिऊँ, रातारात नेपाल विश्वकैकै सम्पन्न राष्ट्र हुन्छ ।”
शब्द बदल्नुको खास तुक त छैन नि ! जो सामान्य-चेत हुने मानिसले बुझ्छ । र पनि शब्द बदल्नुपर्छ/हटाउनुपर्छ भन्न छाड्दैनन् । यसको मूल कारण भनेको दलितहरू बिस्तारै मूलधारतर्फ अग्रसर भएको पचाउँन नसक्नु हो ।
दलित शब्द हटाउनुपर्छ भन्नेमा शिव परियार, प्रमोद खरेलजस्ता गायकका अनुहार पनि आउँछ बेलाबेला । देशमा दिनहुँ उलटपुलट हुन्छ, उनीहरू बेखबर रहन्छग । अरू त छाडौँ, दलितमाथिकै अमानवीय घटनाप्रति उनीहरूको मौनता ताजुबलाग्दो छ । जबकी यस्तो बेला आममान्छे यिनको संवेदनशील फ्यान-फलोअर्ससम्म यो घटना पुगोस् भनेर मुख ताकिरहेका हुन्छन् । चासो भएको लाग्न, ‘दलित शब्दले दलिएको भन्ने जस्तो नकारात्मक भाव दिन्छ, त्यसैले हटाउनुपर्छ’, भनेर मात्र त हुने हैन होला ! तर दलित शब्दलाई लिएर यी सेलिब्रेटी भावुक हुन्छन् । यो भावुकताको पछाडि दुइटा मनोविज्ञान छ । एक, उनीहरू त्यस्तै टाइपको विचार बोक्ने वरिष्ठहरूले क्याच गरून । अर्को महत्त्वपूर्ण कुरा भनेको धेरै नबुझ्ने आममान्छेमाथि इमोसनल ब्ल्याकमेल गर्न चाहान्छन् ।
दलित शब्दलाई हटाउनुपर्छ भन्नेबाहेकको अर्को खाले विचार हो- दलित शब्द बहिष्करणमा परेको समुदाय आफैँले आन्दोलन गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो ।
आन्दोलन मूलत: विद्रोही विचारको अभिव्यक्ति हो । त्यसबाट प्राप्त उपलब्धिलाई स्थापित गराउदा जाने कोही हैन । यस विचारबाट दलित शब्दमाथि भनिएको जस्तो विभाजन कोर्ने , दलिएको जस्तो नकारात्मक बुझाउने शब्द हैन भन्ने चाहिँ स्पष्ट हुन्छ ।
‘माङ्गेना’मा युग पाठक भन्छन्- “अछुत, पानी नचल्ने शब्दको साटो मुक्तिको मुठ्ठी उठाउने मराठी शब्द हो दलित ।” शब्द चाहे शुद्र होस्, दलित होस् या शिल्पी समूह होस् । शब्दको प्रत्यक्ष सम्बन्ध भनेको यसले मस्तिष्कमा सृजना गर्ने भिजुअलसँग हुन्छ । यो दृश्य तपाईँको उच्चारण, बोल्नुको पृष्ठभूमि, बोल्नुका कारणजस्ता स-साना कुराबाट निर्देशित हुन्छ ।
दलित शब्द नकारात्मक हैन, नकारात्मक पारिएको चाहिँ हो । असलमा यी जुनै शब्द सफा नियतले भन्नुस्, ओके छ नि ! मैले अब भन्न खोजेको कुरा हो- शब्द जे होस्, तर तपाईँ सामाजिक न्याय, समातापूर्ण समाज र सामाजिक सद्भाव स्थापित पार्ने कित्तामा उभिनु पर्यो । यसको विपरित हुनुहुन्छ भने शब्द हटाऔँ, समानता ल्याऔँ जस्ता कुरा बेतुकका हुन् । शब्दमै सारा विभेदको जड छ भन्ने तपाईँको बुझाई सच्याउनूस् ।
२. ब्राह्मणवाद
हालै मैले एक जनाको पोष्टमा ब्राह्मणवाद शब्दको प्रयोग गरेर कमेन्ट गरेँ । यस शब्दप्रति चित्त नबुझेर एक कविले यो शब्द गलत छ भनेर लेखे । पछि स्टाटस नि आयो । यो शब्दलाई गलत छ भन्ने कविलाई लाग्दो रहेछ, ब्राह्मणबाट बनेको यो शब्दले समुदायलाई प्रहार गर्छ । यो बुझाईप्रति सिमा आभाषको, ‘पुरूषवाद र पुरूष, ब्राह्मणवाद र ब्राह्मण फरक हुन्’ भन्ने स्टाटसबाट स्पष्ट हुन सकिन्छ ।
ब्राह्मणवाद शब्दप्रति अर्को एक जनाको टिप्पणी छ- “यो शब्दले आम मान्छेमा जातीय वैरभाव सृजना गर्छ ।” तर यथार्थ के हो भने आममान्छेलाई शब्दले भन्दा बढी अर्थ राख्छ व्यबहारले, शब्दको अभ्यासले ।
यी दुई तर्क धेरैको प्रतिनिधि भाव हो, ब्राह्मणवाद शब्दप्रति । यसमा मेरो भन्नु, ब्राह्मण कुनै जन्मको आधारमा प्राप्त उपाधि हैन । धर्मग्रन्थमै उल्लेख छ ब्राह्मण भनेको ब्रह्माण्ड जानेको मानसिक अवस्था हो । यो जातिवादी शब्द है , गुणबोधक शब्द हो । यो शब्दलाई जन्मजात प्राप्त उपाधि ठान्ने पाखण्डले उच्चजातीय अहम सृजना गर्छ, उच्चजातीय अहमले समाजमा अपराधिक सोचको जत्था खडा गर्छ ।
जन्मकै आधारमा म उच्च हुँ, तँ निकम्मा होस् भन्ने सोच वर्ण-व्यवस्थाबाट निर्देशित सामन्तवादी सोच हो । नेपाल लगायत दक्षिणएशियामा यही सामन्तवादी सोचको आधारमा ब्राह्मण/बाहुन ठालू पल्टिए । जन्मको आधारमा पाएको जातकै आधारमा ‘ठालू पल्टिनेको’ लागि, छुवाछुतजस्तो ‘सडेको परम्परा बोक्नुपर्छ’ भन्नेको लागि । यो सोच त्यही सामन्तवादी सोचको अवशेष भएकोले ब्राह्मणवाद शब्द ठीक हुन्छ । यसोभन्दा यो शब्दले बाहुन समुदायलाई प्रहार गरेको ठहर्दैन । किनकि बाहुनवाद शब्दले दलित समुदायभित्रको बिश्वकर्माले परियारलाई सानो देख्ने, परियारले सार्कीलाई सानो देख्न प्रवृतिलाई समेत जनाउँछ । यो शब्द किन पनि ठीक हो भने यसले विभेदकारी मानसिक अवशेषलाई जनाउँछ ।
बाहुनसँग जोडिएर ब्राह्मणवाद/बाहुनवाद आयो । यसैले यो शब्द गलत छ भन्नु चै शब्द (शरीर) मा केन्द्रित भएर अर्थ (आत्मा) लाई नजरअन्जान गर्नु हो । शरीरमै अल्मलिनु विद्वान अष्टाब्रक राजा जनकको सभामा पुग्दा त्यहाँका कथित विद्वानहरू अष्टाबक्रको आठ ठाउँ बाङ्गिएको शरीरलाई हेरेर हाँस्नुजस्तो हो । शब्दको आवरणमात्र हेरेर अर्थतिर जान नखोज्नुको सिधा साइकोलजी हुन्छ- “आममान्छेलाई अन्धकारमा राख्न खोज्नु । आम बुझाईको गलत फाइदा उठाएर समयलाई अझै पछाडि धकेल्नु, जुन अपराध हो ।
दलितलाई आरक्षणको कुरा
राज्यबाट बहिष्करणमा परेको समुदाय, जात, लिङ्ग, क्षेत्रलाई मूलधारमा ल्याउन आरक्षणको अभ्यास गरिएको हो । आरक्षण एउटा विकल्प हो, जसलाई संविधानले नै पुनरावलोकन गर्न सक्ने व्यवस्था गरेको छ ।
गणतन्त्र ल्याएको १३ वर्ष पुग्यो । गणतन्त्रसँगै भित्रिएको हो समावेशीता । यो १३ वर्ष अभ्यासका सकारात्मक पाटाहरू धेरै छन् । नकारात्मक असरचाहिँ पछिल्लो ४-५ वर्षमा यसप्रतिको गलत स्कूलिङ्गले सृजना गर्दैछ । अब नेपाली समाजको वस्तुनिष्ठ अध्ययन गरेर यस विकल्पलाई ‘पुनरावलोकन’ गर्नु जरूरी छ ।
राज्यले दयामा दिएको होइन आरक्षण। आरक्षण ती समुदाय, जात, लिङ्ग, क्षेत्रको लामो सङ्घर्षको उपलब्धि हो । सङ्घर्षको उपलब्धि दया हैन, हक हो । जब राज्य आरक्षणको विकल्प अवलम्बन तयार भयो । योसँगै कोही बुद्धिजीवी मेरिटोक्रेसीको हवाला दिदै विपक्षमा उत्रिए ।
“हो न हो, देश अब निकम्मा जनशक्तिको हातमा जाने भयो”, भनेर केही बहिष्करणमा पारिएका समुदाय पनि तिनकै पछि लामबद्ध भए । खासमा ती बुद्धिजीवी एउटा भीडको नेतृत्त्व गर्दै थिए । त्यसमा बहिष्करणमा पारिएका समुदाय पनि अलमलिन पुगेका थिए । ती बुद्धिजीवीहरू स्पष्टसँग भन्न चाहिरहेका थिए- ‘खस/आर्य पुरूषवादी पहाडीया अहमकारी समुदाय हो, राज्य सत्ता र प्रशासनमा हुनु पर्ने ।” तर उनीहरू भन्दै थिए- “बहिष्करणमा पारिएका समुदाय निकम्मा छन् ।”
यो ‘मेरिटोक्रेसी’ अहिले पनि बेला बेला सतहमा आउँछ । रूकुम हत्याकाण्डमा ‘दलित’ शब्द जोडिएपछि त्यस्तै भयो । वर्षौँदेखि रहेको दलित समुदायप्रतिको कुण्ठा, दमित चेतना आरक्षणको आडमा व्यक्त भए । जब कि आरक्षण दलितको लागि मात्र व्यवस्था गरिएको हैन । (खस-आर्य समुदायको पछिल्लो/बाउ पुस्ता ,जो आफ्नो/सन्तानको भाग खोसियो भनेर उग्र छन् । उनीहरूको लागि पनि यो संविधानले लगभग ५०% आरक्षण सुरक्षित राखिदिएको छ । नत्र हिसाब गरेर हेर्नुस् ! कुल १००% को ५५% खुला र ४५% समावेशीलाई हुन्छ । अनि समावेशीको ४५% लाई १००% मानेर ३३% महिलालाई ५% अपाङ्गलाई ४% पिछाडिएका क्षेत्रलाई छुट्टाएर लचिलो हिसाब गर्नुस् । के खस/आर्यको जनसङ्ख्या र आरक्षणको % ठीक छैन ? छैन लाग्छ भने तपाईँ ‘सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ चाहनुहुन्न। स्पष्ट छ ! )
कुण्ठा व्यक्त गर्ने क्रममै शुरू भएको थियो- दलित शब्दमाथिको उठापटकी, आरक्षणको कुरा, दलितभित्रै रहेको आन्तरिक विभेदको कुरा । हत्या प्रकरणको दोषीलाई सजायको पक्षमा उभिन छाडेर उनीहरू दलित समुदायलाई पाठ सिकाउन खोजिरहेका थिए । यति गरिसक्दा पनि उनीहरू आफू जातिवादी हुँ भनेर स्वीकार्नचाहिँ तयार थिएनन् । बरू यसैगरि खेदो खनेर हो, ‘समाज सेवा’ गर्ने भन्ने ठान्दै थिए । उनीहरू यो किसिमको क्रान्ति गर्न यति अथकसँग परिश्रम गर्दै थिए । उता उनीहरू आफैँले सामाजिक सद्भावका नाममा लेखेको लेख/कविता/गजलको धोती फुक्लिसकेको थियो ।
कतिपयलाई लाग्छ, आरक्षण जात हैन वर्गको आधारमा गरिनुपर्छ । यो तर्क गर्नेको सोझो बुझाई हुन्छ, आरक्षण जातको आधारमा दिइयो भन्ने । माथि नै उल्लेख गरिसके आरक्षण जातको आधारमा मात्र हैन, तर पनि मान्छे ‘जातको आधारमा’ भन्ने गलत बुझाई फैलाउन अथक परिश्रम गरिरहेका छन् । यस्तै परिश्रमी एकजनाले ट्विट गर्यो – “जबसम्म दलितले कोटा पाउछ, तबसम्म म विभेद गर्छु ।” त्यहाँ पुगेको रि-ट्विटको सङ्ख्या हेर्दा लाग्थ्यो हामी अधिकांशको धारणा छ- दलितहरू समृद्ध जीवन बाँच्छन्, र पनि आरक्षण लिन्छन् ।
आफ्नै समाजको नाङ्गो दृश्य हेर्दा के हामी दलितले समृद्ध जीवन बाँचेको चित्र देख्न सक्छौँ ? सक्दैनौ ! फेरि यो किसिमको दुषित विचार किन ? हो, गरिब दलित समुदायमा मात्र छैनन् । सामाजिक रूपमा पछाडि परेकाह अन्य समुदायमा पनि छन् । तर दलित समुदायले जातकै आधारमा अमानवीय विभेद झेल्नु परेको इतिहास र वर्तमान बिर्सिन मिल्छ ? जात-व्यवस्थाको जाँतोमा पिसिएर दलित सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक पाटोमा पछाडि पारिएको यथार्थलाई नजरअन्दाज गर्न मिल्छ ?
नेपाली समाजको अर्को यथार्थ चरित्र हो, दलित समुदायको जातसँगै प्रतिबिम्बित हुने वर्ग । नेपाली समाजका दलित जुन भू-भागका हुन् ती सामन्त वर्गचाहिँ थिएनन् । तिनीहरू श्रमिक नै हुन् ।
दलितभित्रको आन्तरिक विभेद
“कामीले दमाईले छोएको खाँदैन
दमाईले सार्कीले छोएको खाँदैन…
…………………
अनि तिमीहरू भन्छौं हामीले विभेद गर्यौ ? पहिला आफैँभित्रको विभेद हटाऊ ।”, एकजना फेसबुके मित्रको स्टाटस थियो यो । हर किसिमको जातीय विभेद अपराध हो । ‘पहिला आफैँभित्रको विभेद हटाउ’ भन्ने मानसिकतामा ‘त्यतिञ्जेल म चै ढुक्कले विभेद गर्छु’ भन्ने स्वार्थ लुकेको हुन्छ ।
आन्तरिक विभेदको प्रसंग हिन्दु धर्मको वर्ण-व्यवस्थासँग जोडिएर आउछ । वर्ण-व्यवस्था हिन्दु धर्ममा ब्राह्मण/बाहुन , क्षेत्री , बैश्य , शुद्र भनेर निर्धारण गरिएको छ । बाहुनभित्र आन्तरिक जात-व्यवस्था छ जैसी र उपाध्याय भनेर । जैसी र उपाध्याय पनि पुर्बिया र कुमाईमा विभाजित छन् । यहाँभित्रको आन्तरिक विभेदलाई प्रा. बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’मा भनिएको छ-‘श्री ५ सुरेन्द्रले(श्री ३ जङ्ग बहादुर राणा) मुलुकी ऐनमा जैसीलाई कम मर्यादित ब्राह्मणको तहमा राखेकाले नेपालमा जैसी ब्राह्मणलाई नपुज्ने चलन चलेको छ।’ उनी थप भन्छन-‘यो जातीय बिखण्डन सृजना गर्न गरिएको थियो ।’ जातीय बिखण्डन र आन्तरिक विभेद सृजना गर्न गरिएको भएता पनि एउटा कुरा स्पष्ट छ-बाहुनभित्रको विभेद दलितमाथि हुने अमानवीय विभेद जस्तो होईन ।
यता शुद्र जो दास , अछुत हुँदै दलित भनेर चिनिन्छन भित्र त्यस्तै जातीय पदसोपान (Racial hierarchy) छ । यसैले दलितभित्र पनि आन्तरिक विभेद छ । यो आन्तरिक विभेद दलित आफैँले सृजना गरेको नभई जङ्ग बहादुर राणाले बि.सं. १९१०मा ल्याएको मुलुकी ऐनको उपज थियो । मुलुकी ऐनमा पृथ्वीनारायण शाहले ल्याएको ‘असली हिन्दुराज्य’को
अवधारणालाई जात व्यवस्थाको आधारमा थप मजबुत बनाउन ‘कुन जातिले के गर्ने ? के नगर्ने ? कसले छोएको कसले खान हुने? कसले खान नहुने ?’जस्ता साना साना कुरालाई समेटेको छ। यसले समाजमा हुँदै नभएको विभेद अचानक भित्र्याएको थिएन । तत्कालिन समयमा रहेको विभेदलाई कानुनद्धारा थप व्यवस्थित गरेको थियो । यसकै लामो समयको अभ्यासको परिणाम हो दलितभित्रको आन्तरिक विभेद । यसले एकातिर दलितमा पनि बेतुकको जातीय अहम सृजना गरेको छ भने अर्कोतिर उनीहरू आफैँमाथि भएको विभेदबिरूद्ध एकजुट हुन सकिरहेका छैनन । अबको पुस्ता मुलुकी ऐनको यो पोलिटिक्सबाट बाहिर निस्किन जरूरी छ ।
जातीय पदसोपान र त्यसको आधारमा हुने विभेद मधेसी र नेवारी समुदायमा पनि देख्न सकिन्छ । यि समुदायको जात-व्यवस्थामा के स्पष्ट छ भने जातीय पदसोपानको सबभन्दा तल पर्ने दलितमाथि अपराधीक विभेद हुन्छ । ‘तिमीहरू भित्रै विभेद छ । त्यो हटाउ पहिला’ भनेर अब कसैलाई पनि जातीय विभेदमा संलग्न हुने छुट छैन । कानुनत: छैन नै सामाजिकरूपमा पनि जातीय विभेद गर्नेलाई बहिष्कार गर्न ढिला भईसकेको छ ।
जातीय विभेदको सारसंक्षेप
जातीय विभेदको ईतिहास खोज्ने हो भने वैदिक कालभन्दा अघिसम्म पुग्न सकिन्छ । प्रा. बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’मा उल्लेख भएका वैदिक जातहरूको लिस्ट हेर्दा यस्तै निष्कर्ष निस्कन्छ । जब कानुन थिएन तब समाज संचालनको आधार धर्मग्रन्थ थिए । विभेदपूर्ण समाजको नक्शा कोर्न चै हिन्दुहरूको धार्मिक ग्रन्थ मनुस्मृतिको सबभन्दा बढि योगदान छ दक्षिण एशियामा । मनुस्मृतिमा त कसले कति वटा पत्नि राख्न पाउने भन्ने निर्धारण पनि वर्णको आधारमा छ । मनुस्मृतिको वर्ण-व्यवस्थाले जर्जर भएको समयमा आएको थियो गौतम बुद्धको वर्ण-व्यवस्थाबिहिन क्रान्तिकारी विचार । त्यसले धेरै शुद्र/दास/दलितलाई पुन:जीवन दिएको थियो । तर पनि यो विचारधारा धेरै फैलिन सकेन ।
वर्ण व्यवस्था हुँदै जात व्यवस्थासम्म आईपुग्दा यो व्यवस्था झनझन कठोर झनझन अपराधिक हुँदै आएको पाईन्छ । नेपालमा जयस्थिति मल्लले छुवाछुत भित्र्याए । त्यसलाई पृथ्वीनारायण शाहको समयमा ‘असली हिन्दुराज्य’भित्र समेटियो । यसलाई बि.सं. १९१० मा जङ्ग बहादुर राणाले मुलुकी ऐनमार्फत थप व्यवस्थित पारे । मानव सभ्यताको यो कलंकमाथि राज्य तह नै पहिलोपल्ट विपक्षमा देखिएको बि.सं. २०२० सालमा हो । तर यो पनि छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने भन्दा खासमाथि चै उठ्न सकेन । त्यसपछि छुवाछुत तथा जातीय विभेद रोक्न नेपालको अन्तरिम संविधान-२०६३ को योगदान महत्त्वपूर्ण छ । हालको संविधान अझ प्रगतिशील भएर ‘दलितको हक’ भनेर मौलिक हकमै व्यवस्था गर्न उभिएको छ । तर देशको मूल कानुन मानिने संविधानमै’कानुन बनाएर लागू गरिनेछ’ वाक्य राख्नुले चै राज्यको अनुदार अनुहारतर्फ संकेत गर्छ । समानुपातिक-समावेशी प्रणालीको अवलम्बन गरेर बहिष्करणमा पारिएको समुदायलाई मुलधारमा ल्याउन खोज्नु अवश्य सुन्दर हो। तर रूकुम हत्याकाण्डको दोषीलाई सजायको माग गर्न भेला भएका मानिसको आवाज बन्द गर्न दमनमा उत्रिएको सरकारको अनुहार र यो संविधान लागू भए सँगै निराश भएका ‘संरचनागत लाभमा’ लिप्त जत्थाको अनुहार ठ्याक्कै उस्तै देखिन्छ ।
तपाईँको कित्ता कुन हो महोदय ?
सामाजिक संजालको एउटा जत्था रूकुम हत्या प्रकरणको दोषीलाई सजायको माग गर्न छाडेर पछिल्लो सामाजिक/राजनैतिक परिवर्तनप्रतिको कुण्ठा र दलित समुदायमाथि हमला गर्न उत्तेजित भइरहेको थियो , छ । यो देखेर सम्पदा रिजालले लेख्नुभयो- “तपाईँको कित्ता कुन हो स्पष्ट पार्नूस् !”
म पनि सोध्न चाहन्छु- “तपाईँको कित्ता कुन हो महोदय ? अनुहारभरि कुण्ठाको धब्बा पालेर किन सामाजिक न्याय, सद्भावको कविता/गजल/गीत/लेख लेख्नुहुन्छ ?”, आफ्नो मुकुण्डो उतार्नूस् । सहानुभूति हैन सकारात्मक संवाहकपनको हो, जरूरी । त्यसरी हो प्रगतिशील हुने । त्यसरी हो आफू बाँचेको समयको कलंकको रूपमा रहेको जातीय छुवाछुतको विरूद्ध उभिने ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।