“बा ! मलाई पनि पल्लोघरको आश्रवको जस्तै चारचक्के साइकल कहिले किन्दिने ? भन्नूस न बा ! दशैँमा किनिदिने हैन त ?”
पिंढीमा ढल्किएर रेडियो सुनिरहेका बाले रेडियोको आवाज निभाउनुभयो । मतिर एकनासले हेर्नुभयो, अनि चोरी औंला मैतिर ताकेर भन्नुभयो, “तँ तीन कक्षामा प्रथम भइस् भनेचैं ल्याइदिऊँला ! हुन्छस् हैन त प्रथम ?”
मैले बाको प्रस्तावलाई सतहमै राखेर हुन्छको भावमा मुन्टो हल्लाएँ । पछाडि फर्केर दुवै कुम उचालेर ङिच्च देखिएका दाँतलाई हातले छोप्दै म भर्यांङको आडमा जमीनमा उत्रिएँ, अनि खुरुरु एकातिर दौडिएँ ।
हामी मधेश झरेको करिब त्यही चार पाँच महिना भएको थियो । बा हामीभन्दा अगावै आएर कसैको घर ठेक्कामा लिनुभएको थियो । घर वरिपरि नरिवल र सुपारीका बोटहरू लगाइएका थिए । माथि एकतल्ला भएको, मुनि वस्तु बाँध्न मिल्ने काठको घर अब हाम्रो दिन रात कटाउने थलो भएको थियो ।
पहाडमा खासै बाली उब्जनी नभएकोले मधेश बसाईं सरेको कुरा बाले नयाँ छिमेकीलाई सुनाउँदै गरेको सुन्न भ्याएको थिएँ मैले । कोहीलाई छोरो पढाउनकै लागि मधेश आएको पनि भन्नुहुन्थ्यो बा ।
बुच्चे हापिन र गन्जीमा सजिएको म प्राय: घरबाहिरै खेल्न निस्किएको हुन्थेँ । पैनीको किनारमा जान मलाई मनाही गरिएको थियो । टाढाटाढा खोलामा पौडी खेल्न अनि माछा मार्न केटाहरूसँग जान पनि मलाई बन्देज थियो ।
छेउमा एकापट्टि मनोहर सिक्देलको घर थियो । अर्कोपट्टि ब्रजेश सिटौला, अनि उत्तरमा रामकिसन थारुको घर । रामकिसन पेसाले मिस्त्री थिए । गाउँका मान्छेहरूका घर बनाउने, ग्वाली बनाउने, पैनी अनि कुलोमा पुल र भित्ताहरू मर्मत गर्ने काम गर्थे उनी । ब्रजेश सिटौला चैँ गाउँकै लखपतिको सूचीमा थिए । उनका एक छोरा अमेरिका, छोरी अस्ट्रेलिया अनि जेठो छोरा भने गाउँमै बसेर खेतिबाली समाल्थे । उनको ज्यान देख्दै सायद उनी ठूलै व्यापार गर्दा हुन् झैँ लाग्थ्यो । उनीहरूको घरपछाडिको आँखाले देखेसम्मको सबै खेत उनीहरूकै हो भनेर बाले आएकै भोलिपल्ट आमा र मलाई सुनाउनुभएको थियो । बाको कुरा सुनिसकेपछि मलाई पनि, ‘मधेश झरियो, अब हामी पनि धनी बनेर धेरै खेत किन्ने’ भन्ने रहर नलागेको होइन ।
सिक्देल बाको घर लगभग सुनसानजस्तै थियो । उनका एक छोरा एक छोरी रहेछन् । छोरीको विवाह भैसकेको थियो। छोरा काठमाडौंतिरै बसेर पढ्दा रहेछन् । श्रीमान् श्रीमती मात्र घर रुग्न बसेका थिए। छोराले कति पटक काठमाडौं बोलाउँदा पनि गाउँ नै प्यारो भनेर बसेका ।
सिक्देल बाकोमा सुरुदेखि नै बाले हाम्रा लागि (विशेष मेरो लागि ) दूध ठेक्का गरिदिनुभएको थियो । पछि एक माउ भैंसी किनेपछि सिक्देल बाकोमा म बिहान-बिहान दूध लिन जान नपर्ने भयो ।
बा दिनभर खेतमा काम गर्नुहुन्थ्यो । कोही बेला अरूको मेला पनि जानुहुन्थ्यो । बिहान नरिवल र सुपारी झारिदिने काम गर्नुहुन्थ्यो ।
रूख चढ्न भनेसी पहिलेदेखि सिपालु मेरा बा । उहाँको लागि त्यो गाह्रो काम थिएन ।
आमा बिहान भन्साको काम सकाएर दिउँसो सुपारी फ्याक्ट्री जानुहुन्थ्यो । सुपारी काट्ने, सुकाउने, प्याकिङ गर्नेजस्ता काम आमाले गर्नुभएको मैले आमासँगै गएको बेला देखेको हुँ ।
मेरा प्राय: खेल्ने सबै साथीहरू छिमेकी गाउँका मधेशी केटाकेटीहरू हुन्थे । उनीहरूसँग स्कूल गएदेखि नै चिनजान भएको थियो । त्यसमध्ये मेरो मिल्ने साथी रमेश टुडु थियो । स्कूलदेखि लिएर लुकिछिपी पैनीको डिलैडिल कुद्न पनि ऊ साथमै हुन्थ्यो । बारीमा पाकेका आरुका दानादेखि लिएर आँपका दाना, अरूका करेसाबरीका काँक्रा, भुइँ कटहरजस्ता धेरै चोरी हामीले गर्न भ्याइसकेका थियौँ ।
कक्षा तीनको आधा वर्ष उतै पहाडको स्कूलमा पढेर अन्तिम जाँच मैले यहीँको शान्ति निकेतन विद्यालयबाट दिएको थिएँ । जाँच दिनुअगाडि नै देशमा कुनै रोग आएको कुरा बा रेडियो सुनेर बताउनुहुन्थ्यो । स्कूलले पनि यही कारणले हाम्रो जाँच छिटै लिएको थियो । गाउँका ठूल्ठूला मान्छे आएर हामीलाई घरबाहिर जानु हुँदैन, साबुन पानीले मिचिमिची हात धुनुपर्छ भनेर बताउँथे । कोहीकोहीले मुखमा लगाउनुपर्ने टालोजस्तो कपडाका टुक्रा पनि दिएर दिन्थे । मैले पनि पहिलो दिन त लगाएँ । भोलिपल्टदेखि त सास फेर्न गाह्रो भएजस्तो हुने, कान तानिएजस्तो हुने, अनुहारै भारी भएजस्तो हुन थालेपछि फालिदिएँ ।
बा-आमा काममा जान छोडनुभएको पनि हप्तौं भएको थियो । समाचारले लकडाउन हो कि के जाति भनेर बाहिर निस्कन हुँदैन भनेर बारम्बार भनिरहन्थ्यो । बा चनाखो भएर रेडियो सुन्दै, “अझै एक हप्ता बढायो रे ! उता उदयपुरमा नि मस्जिदमा रोगी भेटिए रे !” भन्दै त्रासको भावमा आफूले समाचार सुनिसकेपछि हामीलाई नि सुनाउनुहुन्थ्यो ।
नजिकैका दोकानहरू पनि प्राय:जसो बन्द नै देखिन्थे । खुले पनि बिहान-बेलुका चुस्स खुल्थे । पुलिसहरू डन्ठा लिएर घुमिरहन्थे । बाहिर निस्किए स्कूलका सरले जस्तो पछाडि तिघ्रामा कुटिहाल्थे । डरले म पनि बाहिर निस्केको थिइनँ ।
घरको बरन्डाबाट सिटौला बाको कम्पाउडभित्र स्पष्ट देखिन्थ्यो । आश्रब (सिटौला बाको नाति) आफ्नो साइकल कम्पाउन्डभित्रै हाँकिरहन्थ्यो । म साइकललाई एकटकले हेरिरहँदा, बा मलाई हेर्नुहुन्थ्यो । सायद बालाई लाग्थ्यो, धनी मानिसको त नामै महँगो हुँदो हो ।
धनी परिवारको छोराको नाम आश्रव थियो, म गरिबको विजय ! जिन्दगीमा कहिल्यै नहारोस् भनेर राखिदिएको हुनुपर्छ मेरो नाम । मलाई कहिल्यै नहारोस् भन्ने बा भने केही न केही कुरामा प्राय: हारिरहनुहुन्थ्यो । यसपटक पनि बा हार्नुभएको थियो ।
लकडाउनमा सरकारले गाउँका गरिब मजदुर परिवारलाई भनेर केही छाक पुग्ने चामल, दाल, चिनी, एक प्याकेट नुन, एक पोको तेल अनि दुइटा साबुन राहत भनेर बाँडेका थिए । यहाँका ठूलाबडा कोही पनि नचिनेकोले हाम्रो परिवारको नाम राहतको सूचीमा अटेको थिएन । र, पनि बा र म राहत बाँड्दै गरेको म पढ्ने विद्यालयमा पुगेका थियौँ ।
“हामी पनि गरिब हौँ, म पनि एक मजदुर हुँ । मजदुरी नगरी चुल्हो सल्काउन धौधौ पर्छ हजुर ! यो बन्दले ठूलो असर पार्यो हजुर ! मिल्छ भने हामीलाई पनि राहत उपलब्ध गराइदिनुहोस् न,” बाले आफ्नो भन्दा पनि मेरो पेटको लागि अनुनयविनय गर्नुभयो।
“तपाईंको नाम सूचीमा छैन। हामीलाई माथिबाट सीमित सामग्री मात्र पठाएको छ,” राहतका अगुवाले भने। बा र म निरास भएर फर्कियौं । फर्किदा मैले बाको मलिन मुहारतिर हेर्दै भनेँ, “बा ! होस्, मलाई आश्रवको जस्तो साइकल चाहिंदैन ! म पढेर ठूलो मान्छे बन्छु र कुनै दिन हामी ठूलो गाडी किनौंला !”
बाले मलाई एकटकले हेर्नुभयो र आफूतिर टाँस्नुभयो । शिर उठाएर बालाई हेर्दा उहाँका आँखा रसाएको प्रस्टै देखिन्थे !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

