साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मनोलोकको यात्रा

ठूलो महत्त्वाकांक्षा बोकेका कवि आफूलाई उभ्याउने सङ्घर्षमा थिए, पहिचानको खोजीमा थिए । संसाररूपी भवसागरमा आफ्नो जीवन एउटा थोपा सम्झने उनी सोच्थे, यो थोपा भवसागरमा त्यसै बिलीन नहोस् । तर यो विदेशमा त सागरमा म एउटा थोपा खस्नुबाहेक अरू केही हुन सकेको छैन ।

जहाँ मै हुन्छु
मेरो कवि हुन्छ
एक प्राण भई
जिउन चाहन्छ ।
(म अनि मेरो कवि)

यी उद्गारहरु कवि जयप्रसाद पाण्डेका हुन्, जुन उनको “मनोलय” कवितासङ्ग्रहबाट लिइएको हो । आफ्ना मनोभावहरुलाई कविताको रुपमा ढालेर त्यसलाई छन्दमा सजाउन निपुण कवि जय प्रसाद पाण्डे आफ्नो जीवनको १९, २० वर्षकै उमेरदेखि साहित्य रसमा डुब्न थालेका थिए । कविता रच्ने, पत्रिकाहरुमा छपाउने र गोष्ठीहरुमा सुनाउने क्रम त्यसै बेलादेखि सुरु भएको थियो । उनको प्रस्तुत कवितासङ्ग्रह “मनोलय” एक डायास्पोरिक अनुभव बोकेको कृति हो । डायास्पोराको अर्थ हुन्छ आफ्नो मूल भूमि छोडेर अन्यत्र मुलुकमा गई बस्ने नागरिकहरु । मनोलयका सबै कविताहरु स्वदेशोन्मुख छन् र अधिकांश कविताहरु कवि भारतको बनारसमा रहेको बेला लेखिएको हो ।

bahulako diary small and inside post

वि. स. १९९९ मा जन्मिएका कविको सम्पूर्ण शैशवकाल र युवा अवस्था बनारसमै बितेको थियो । उनी बनारसमा हुदैदेखि चर्चित कवि एवं साहित्यकारको रुपमा चिनिँदै आएका हुन् । बनारसमा रहँदा उनलाई तत्कालीन रोयल नेपाल एकेडेमीको संस्था नेपाली–साहित्य–सम्पर्क समितिको पहिलो सदस्य बनाइएको थियो साथै आजीवन विशिष्ट सदस्यता र कार्यकारिणी सदस्यता पनि प्राप्त गराइएको थियो । त्यहाँ हुदा उनले लक्ष्मीप्रसाद देवकोटाको कृति “ भावना–गाङ्गेय ” प्रकाशित हुँदा सम्पादकीय लेख्न पनि भ्याएका थिए । बनारसमा राम्रो साहित्यिक प्रतिष्ठा कमाए पनि उनलाई आफ्नो देशको मायाले छोडेन र पछि नेपालै फर्किए । वि. स. २०२१ सालपछि नेपाल आउदै जाँदै गरेपनि बि.स. २०२९ सालदेखि मात्र उनको यहाँ स्थायी रुपले बसोबास भयो । आफ्नो पुर्खाको थलो काठमाडौं भए तापनि उनको बसाइ भने बिराटनगरमा भयो । यसको मुख्य कारण जीवनसाथी त्यतैको भेटिनु थियो । कविको जीवन बिराटनगरमै बितिरहेको छ । हाल सम्म उनका सातवटा कवितासङ्ग्रहहरु प्रकाशित भइसकेका छन् भने अरु कविताहरु प्रकाशित हुन बाँकी नै छन् ।

डायास्पोरिक कविताहरुको संग्रह “मनोलय” पूर्वाञ्चल सहित्य प्रतिष्ठानबाट वि.स.२०७६ सालमा प्रकाशित भएको हो जसमा ८२ वटा कविताहरु रहेका छन् । डायास्पोरिक साहित्यको सिद्धान्त र समालोचना यी कविताहरु रचिएको समयभन्दा पछिल्ला दिनहरुमा बनिएको हो । उसबेलाको समयमा डायास्पोरिक साहित्यको बारेमा अनभिज्ञ हुँदाहुँदै पनि यी कविताहरुमा डायास्पोरिक भाव प्रबल रुपमा उर्लिएका छन् । यसले के देखाउँछ भने यस्ताखाले भावहरु पहिले पनि उत्पन्न हुन्थे र अहिले पनि उत्पन्न हुन्छन्, फरक यति छ कि अहिले यस्ता भावहरु डायास्पोरिक साहित्य भनेर चिनिन थालिए र यिनको महत्त्व बढ्यो । प्रकृति र मानव जगतमै भएका कति कुराहरु पनि चिनिएका र बुझिएका हुँदैनन् । सिद्धान्तहरुपछि प्रतिपादन हुँदै जान्छन् तर तिनको आधार पहिल्यैदेखि विद्यमान रहिरहेको हुन्छ । यसो किन भएको होला भने भएकै कुरालाई पनि बुझ्न र सैद्धान्तिक रुप दिन ज्ञानको आवश्यक्ता पर्दछ ।

सुमन पाण्डे

अमेरिका गएको बेलामा लेखेको एउटा कविता बाहेक यस संग्रहभित्रका सबै कविताहरु २०२० देखि २०३० को दशकमा रचिएका हुन् । बनारसमा हुँदा लेखिएका सबै कविताहरुमा उनले आफू आफ्नो देशभन्दा बाहिर रहँदा आफ्नो देश सम्झेर मनमा उब्जेका बह, दुःख र असन्तुष्टीहरुलाई व्यक्त गरेका छन् । कविका ती दिनका पिढाहरु “मनोलय”भरि जताततै छरिएका छन् । त्यसैले यिनले डायास्पोरिक भाव ओह्रालेका छन् । डायास्पोरिक यी कविताहरुले गहिरो काव्यात्मक अनुभूति गराउँछन् । दुःख, चिन्ता र पीरले मनलाई उद्वेलित बनाएको बेला कवि आफूलाई कविता रच्नमै समर्पित गर्ने गर्थे भन्ने कुरा यो कवितांशले उद्धृत गर्दछ ।

लेखौ म केही काव्य उत्तम
अश्रुबिन्दु छन् झरिरहेका
चढाउँछु माताकै चरणमा
स्वतः स्फूर्त जे जत्ति जुरेको
लेखौँ म केही काव्य उत्तम ।
(सालिक बन्न नसकेको)

मतृभूमिबाट टाढा रहँदा पंख चुडिएर उड्न नसक्दा छटपटाइरहने चरीसरी कवि सोच्थे म कहिले स्वदेश पुगुला र पल्लवित होलान् ममा पंखहरु अनि उन्मुक्त भएर स्वदेशको खुला आकाशमा म उडुँला । आफ्नो देशको क्षितिज उनी खोजिरहन्थे । आफ्नै देशको उज्यालोले प्रकाशित हुन पाए हुन्थ्यो भन्ने इच्छा गर्दथे ।

आकाश मेरो क्षितिज कता ?
जहाँबाट म उदाउन सकूँ
अनि मनमा प्रेमोत्साह लिई
स्वदेश पुगी प्रकाशित हुन सकूँ
आकाश मेरो क्षितिज बता ।
(क्षितिज)

विदेशमा बस्दा न कविको मन शान्त थियो न जीवनले कुनै भविष्य देखेको थियो, एउटा सकस, असन्तुष्टी र ब्यग्रता नै जीवनको नियति बनेको थियो । स्वदेशमा भए वनै सहि म आफ्नो अस्तित्व बनाउन सक्ने थिए तर यो अर्काको देशमा म जति नै घोटिए तापनि मेरो यहाँ के महत्त्व होला र, भन्ने गहिरो चिन्ताले सताउने गर्थ्यो उनलाई । त्यो अर्को देशमा उनको लागि कुनै गन्तव्य थिएन । गन्तव्यविहीन जीवन यात्राको एक यात्री त्यसै भट्किरहेका थिए । इच्छा त थियो नी स्वदेशका खोलाका सुसेलीहरुसँग बग्दै दोभान भेट्ने ।

निर्जन बिरान गिरि– गहवर भै
बगेकै छ गल्छी बगर भेट्दै
यात्रा यो दोभान बिनाको
दोधारमा रुक्न लागे झैं
निर्जन बिरान गिरि– गहवर भै ।
(अविराम यात्रा)

त्यतिबेला शिक्षाको उद्गम बिन्दु मानिने भारतको बनारसमा नेपालबाट थुप्रै विद्यार्थीहरु पढ्न जान्थे । कति नेपाली काङ्ग्रेसमा लागेका नेताहरु पनि उतै हुन्थे । त्यहाँ नेपाली समाज पनि थियो । ती सबैसँग हेलमेल गर्ने मौका कविलाई पनि मिलेकै थियो । त्यहाँ पढ्न गएकाहरु पढाइ सकेर नेपाल फर्कन्छौ भन्ने विश्वस्तताले गर्दा मातृभूमिबाट टाढा छु भन्ने पीढा बोध गर्दैनथे होलान् । तर कविको बुवाले उतै घर बनाएर बसिदिएकोले उनलाई अब म यतै पो रहने हुँ कि भन्ने चिन्ता हुनु स्वभाविकै थियो । उनको बुवा स्व. गोकुलानन्द पाण्डे नेपालका प्रसिद्ध ज्योतिषी तथा गणितज्ञ स्व. गोपालदत्त पाण्डेका छोरा थिए । आफ्नो पुर्खाको थलो नेपाल सम्झेर कवि त्यहाँ रमाउन सकेनन् । उनको आँखाभरी सधैं हिमालको चित्र रहन्थ्यो अनि मुटुभरि स्वदेशको माया । उनी आफ्नो देश सम्झेर यसरी ब्याकुल रहन्थे कि उनका शब्दाक्षरहरु पनि भावनामा झरी बादल भई स्वदेशै पुग्न खोज्थे ।

काव्यका यी अक्षरहरु सब
झरी बादल भै उठ्छ अबिरल
भिजाइरहन चाहन्छ स्वच्छन्द
मातृभूमिको तृषित दिशाञ्चल
झरी बादल भै उठ्छ अबिरल ।।
(दुःखको छ मिठो कहनी)

मातृभूमिसँग हाम्रो अस्तित्व जोडिएको हुन्छ । मातृभूमिको माटोमा नै हामी आफ्नो पहिचान सहित बढ्न र फैलिन सक्छौ, आखिर बिरुवा उसलाई उपयुक्त हुने माटोमै सप्रने त हो नि । आफ्नै समाज र परिवेश जहाँ हामी फस्टाउन सक्छौ त्यही माटोप्रतिको निस्कपट माया हाम्रो रगत र प्राणमा अविच्छिन्न रुपले एकाकार भइरहेकै हुन्छ ।

आज छ मेरो खण्डित गाथा
साक्षी छन् यिनै सगरमाथा
देखिन्छ कि त आत्माको भित्र
सुवर्ण रेखाड्कित स्वप्निल चित्र
आज छ मेरो खण्डित गाथा ।
(ढुड्गा हूँ म)

ठूलो महत्त्वाकांक्षा बोकेका कवि आफूलाई उभ्याउने सङ्घर्षमा थिए, पहिचानको खोजीमा थिए । संसाररूपी भवसागरमा आफ्नो जीवन एउटा थोपा सम्झने उनी सोच्थे, यो थोपा भवसागरमा त्यसै बिलीन नहोस् । तर यो विदेशमा त सागरमा म एउटा थोपा खस्नुबाहेक अरू केही हुन सकेको छैन ।

सागरभित्र म खस्नुको इतिहास सिवाय
अद्यापि यहाँ अरु केही भएको छैन
तथापि तल खोज्दै जानुको अर्थ सधैं
उपहासबाहेक अरु केही ता भएन,
सागरभित्र म खस्नुको इतिहास सिवाय ।।
(यो मेरो इच्छा)

आफ्नो जीवनका ती उर्बरकाल अन्यत्र बिताउन बाध्य भएका कविका ती दिनहरु घोर निराशाका थिए । स्वदेशै नपुगी आफूलाई नचिनाइकनै यो भिडमा त्यसै अलप पो हुन्छु कि भन्ने घोर चिन्तामा डुबेका थिए । चरम उदासीका ती दिनहरुमा उनी कविताकै सहाराले बाँचेका थिए ।

आत्माको आसव संग्लिकन
सुरभि बन्दै वासना फिजाउँछ
स्वदेश तिर्सनाभित्र लुकाई
कविता रसले यो मन भुलाउँछ
आत्माको आसव संग्लिइकन ।।
(आफू हारेँ )

सम्बन्धित पोस्टहरु

कविको एउटै ध्येय थियो स्वदेशको माटोमा रमाउने । म सप्रने माटो मेरो देशमा छ, म एक दिन त्यहाँ पुगुला र त्यहाँको हावा पानिले सिंचिएर फक्रिउला भन्ने आशा जाग्दथ्यो पनि कहिले उनमा ।

म कोपिला फक्रन्छु होला
पछि सुवासित पनि त हुँला
मेरो माटो त छ अन्तै
अहिले दुःखै सहिरहुला
म कोपिला फक्रन्छु होला ।
(मेरो माटो त छ अन्तै)

मनै त हो फेरि अर्कोघरी त्यसो हुन सक्दैन कि, भनेर आफ्नो स्वचेतनालाई पनि निराशाका त्यान्द्राहरुले धमिल्याएको पाउथे उनी ।

निज चेतनाका नयन पनि
किन हो आज ता धमिलिए
तिर्मिर गर्छन् जगत दृष्य
हुन्थ्यो नि उज्यालो भैदिए
निज चेतनाका नयन पनि ।।
(टुहुरो जीवन)

आफ्नो मातृभूमि छोडेर कसैलाई विदेश गएर बस्नु नपरोस् । सुनकै भए पनि के चरी पिंजडामा रमाउन सक्छ र ? आफ्नै भूमिमा रमाएर आफ्नै देशको सेवा गरौँ भन्ने भाव पोख्ने कवि मातृभूमिलाई नै सर्वस्व ठान्दछन् । “मनोलय”मा व्यक्त भएका कविका आत्माका आसवहरुले यस्तो देखाउछन् मानौ मातृभूमिसँग उनको सम्बन्ध भावनाले मात्र होइन प्राणले समेत जोडिएको छ ।

मर्नु कत्ति दुःखदायी
बाँच्नु छ उत्ति कष्टकर
न त मर्न सक्नु आफू
माटोमा मिलाएर
अमर तत्वमा स्वयं
प्राण यो सेलाएर ।
(लाग्छ सफल हुन्छु नै)

आफ्नो इच्छा विपरित मातृभूमिभन्दा अन्यन्त्र भूमिमा रहँदा कस्तो किसिमको असन्तुष्टी र व्यग्रताले सताउँदो रहेछ भन्ने बुझ्नको लागि कवि जयप्रसाद पाण्डेको “मनोलय” पढ्नै पर्ने हुन्छ ।

यो कुन मौसम हो प्रिय ?
यस्तो अचाक्ली उग्रता ?
दिशाबोध हराएसरी
राष्ट्रको छ यो ब्यग्रता
यो कुन मौसम हो प्रिय ?
(उग्रता)

“मनोलयका” यी कोमल कविताहरु ह्रदयस्पर्शी छन्, पूर्ण प्राकृतिक भावले सिन्चिएका छन् र मातृभूमिको प्रेममा ओतप्रोत भएर छताछुल्ल बगेका छन् । एकएक कविता मातृभूमिप्रति समर्पित सुगन्धित पुष्पका गुच्छा प्रतित हुन्छन् । डा. गोविन्दराज भट्टराईका अनुसार यी कविताको समग्रतामा उसबेलाका सिद्धिचरण श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, महाकवि देवकोटाहरुको स्वच्छन्दतावादी कविताको प्रवृति र उन्मुक्त चेतना छ (“मनोलय”मा डा. गोविन्दराज भट्टराई लिखित भूमिकाको पृष्ठबाट) ।

कविताहरु कति मभित्र
सधैँ नै उर्लिरहेको
यौटा सुगन्ध छ मभित्र
राष्ट्रलाई अर्पिएको
कविताहरु कति मभित्र ।।
यो सुगन्ध न ता कुनै
विशाल वाटिकाबाट
फिँजिने सुरभि हो
वन्दन हो यो राष्ट्रको
यो सुगन्ध न ता कुनै ।।
(चेतनाभिषेक)

अन्ततः एक दिन कविको सपना साकार भयो । उनी आफ्नो स्वदेश फर्के । आफ्नो देशको आकाश देखेर उन्मुक्त भावले रमाए । तर यहाँ पनि सबै कुरा उनले सोचे जस्तो पाएनन् । यहाँ पनि असमानताका खाडलहरु बनिएका थिए । यहाँ पनि विभिन्न किसिमका बाधा व्यवधानहरु थिए । मानिसलाई समस्या र दुःखमा देखे । त्यो देखेर उनको मन विकल भएर उठ्यो । तर जे जस्तो होस् उनले आफ्नै भूमिमा रम्न मन पराए ।

स्वदेश आएर म धन्य अनुभव गर्छु
वैषम्य देखेर चाहि छक्क पर्छु
प्रवासी हुँदा कहिल्यै नसोचेको
मनमा निरुपायताकै बोध गर्छु
स्वदेश आएर म सुखी अनुभव गर्छु ।।
(निरुपायताको बोध)

कविको जीवनले स्वदेशको माटो भेट्यो र रमाउन थाल्यो । विराटनगरमा शिक्षकको पेशामा लागेर स्वदेशी जीवन सुरु गरे । कविसँगै कविका वागबगैँचा पनि सप्रदै गए । सुखका दिन फिरे पनि उनले आफ्नो अतीतको दुःखको आधारलाई बिर्सन चाहेनन् ।

निशि दिन केवल क्रंदन रोदन
दुःखहरुसँग प्यार मलाई
मेरो निर्वाणको चिर सहचर
बिर्सु म कसरी दुःख तँलाइ ?
निशि दिन केवल क्रंदन रोदन ।।
(धुक्धुकी)

जतिसुकै बाँचेर जिन्दगी भोगीसके पनि जीवन के हो भन्ने प्रश्नको उत्तर गौण नै रहन्छ । कसैले जीवन एउटा यात्रा हो भन्लान्, कसैले प्रेम नै जीवन हो भन्लान् र यस्तै अरु परिभाषा होलान् । तर मलाई लाग्छ जीवनभित्र नअटाएको केही छैन । त्यसैले कुनै एउटा कुरासँग मात्र दाँजेर जीवनलार्ई पूर्ण रुपले अथ्र्याउन सकिँदैन । जीवनका सम्पूर्ण आयामहरुलाई कुनै एक कुराभित्र समेट्न सकिदैन । जीवन के हो ? यो सधै एउटा चासोको विषय छ ।

ए कमल, ए किरण प्रिय ।
उध्र्वमुखी सुवृन्तमय
भन न भन जीवन के हो ?
के परिचय चेतन निलय ??
ए कमल, ए किरण प्रिय ।।
(ए कमल, ए किरण प्रिय)

समयसँग बितेको कविको जीवनले अब बुढेस्काल झेलिरहेको छ । जीवन दिनदिन ढल्दै जाने, शरीरले साथ नदिने, रोगले च्याप्तै जाने । प्रकृतिको यही नियम । शरीर दुर्बल भएको छ तर चैतन्य त्यो आत्माको प्रकाशले कवितारुपी उज्यालो छर्ने प्रयत्न गरि नै रहन्छ । उनका लागि कवितै जीवन छ । जीवन कवितामय छ ।

देह छ नश्वर साह्रै कोमल
को दिन्छ ताप यसमा पलपल ?
जीवन जल भै कविते आऊ
सुरभित मेरो मन हर्षाऊ
देह छ नश्वर साह्रै कोमल ।।
(आफू हारेँ)

अन्त्यमा, कविको सुस्वास्थ्यको लागि प्रार्थना गर्दछु । कवितारुपी कविका आत्माका लयहरु इत्रसरी गम्किरहुन्, युगयुगसम्म यीनको सुगन्ध फैलिरहोस्, उनको जीवनको समर्पण सफल होस् भन्ने कामना चढाउँदै यही रोकिन्छु ।

उमेर बढ्दै शरीर गल्दै
तर उपस्थिति छ सूर्यजस्तै
प्रार्थना छ मनमा सधैँ
रहिरहोस् यो झलमल यस्तै ।

प्रतिक्रिया
Loading...