
नारायण वाग्ले एक नेपाली पत्रकार र उपन्यासकार हुन् । उनी सन् २००८ सम्म नेपालको सबैभन्दा ठुलो सञ्चार माध्यममध्येको एक कान्तिपुर दैनिकका सम्पादक र २०१२ सम्म नागरिक समाचारका सम्पादक पनि थिए । ‘पल्पसा क्याफे’ उनको पहिलो उपन्यास हो । माओवादी द्वन्द्व उत्कर्षताक प्रकाशित यस कृतिले वि. सं. २०६१ सालको मदन पुरस्कार पाएको थियो । चर्चा र बिक्रीका हिसाबले यसलाई नेपाली साहित्य प्रकाशन इतिहासमा एउटा मोड मानिएको छ । हालसम्म यो कृति चारवटा विदेशी भाषामा प्रकाशित भइसकेको छ । नारायण वाग्ले एक आँटी र निडर पत्रकारका रूपमा परिचित छन् । त्यही निडर खालको चरित्र यस पुस्तकमा झल्केको छ ।
पल्पसा क्याफे सुरु हुन्छ जब नारायण वाग्ले आफ्नो मित्र दृश्यलाई क्याफेमा पर्खिरहेका हुन्छन् । पल्पसा क्याफे दृश्यको नै कथा हो र दृश्यलाई सुनाउन भनी उनी बसेका हुन्छन् तर दृश्यको अपहरण हुन्छ । पल्पसा क्याफेमा दुई प्रमुख पात्रहरू छन्: दृश्य र पल्पसा । दृश्य चाहिँ चित्रकार हो, जो आफ्नो कला चित्रमा उतार्छ भने पल्पसा चाहिँ वृत्तचित्र फिल्म निर्माता बन्न चाहन्थिन् । पल्पसा दृश्यको कलाकी प्रशंसक हुन्छिन् । उनीहरूको एक आपसमा भेट भएपछि धेरै गन्थन मन्थन हुन थाल्छ । दृश्यको ग्यालरी काठमाडौँमा हुन्छ । त्यहाँ उसलाई एउटी डच महिलाले उसका चित्र चिसा छन् भनेर भनिन् । त्यस कुराले दृश्यले आफूलाई कमजोर ठान्न थाल्यो । अन्तिममा उसलाई त्यही डच महिलाले भनिन् कि चित्र हैन, चिसो त पछाडिको भित्ता पो रहेछ भन्ने सुनेपछि दृश्य फेरि खुसी भयो ।
कथानक अगाडि बढ्दै जाँदा दृश्यले पल्पसाकी हजुरआमासँग नजिकको सम्बन्ध बनायो । दृश्य र पल्पसाबिच भेट बढ्न थाल्यो । उनीहरू एक अर्काप्रति आकर्षित हुन थाले । एक दिन राती बम बिस्फोट भयो । राजा रानी सबैको हत्या भएको थियो । अन्तरर्राष्ट्रिय स्तरमा धेरै देशहरूको समेत चासो र खोजीको केन्द्र नेपाल बनेको थियो । त्यसै दिन दृश्यको भेट सिद्धार्थसँग भयो । सिद्धार्थ उसको पुरानो कलेजको मित्र थियो । सिद्धार्थले आफू भूमिगत भएकाले दृश्यसँग आश्रय माग्यो । त्यसपछि उनीहरूबिच देशका बारेमा धेरै कुरा भए ।
सिद्धार्थले दृश्यलाई एउटा बुढाको घरमा लग्यो । १५ वर्ष पहिले दृश्य जहाँबाट काठमाडौँ आइपुगेको थियो; अहिले ऊ त्यहीँ आइपुगेको छ । गाउँ पुगेर ऊ आफ्नो घर गयो र बाल्यकालको सम्झना गर्न थाल्यो । दृश्यले आफ्ना काकालाई गाउँको विकास गर्छु भन्यो । सिद्धार्थले दृश्यलाई गाउँ डुल्न चुनौती दिएर आफू चाहिँ गायब भयो । दृश्य काठमाडौँ फर्कनुभन्दा अगाडि सिद्धार्थलाई भेट्न चाहन्थ्यो । दृश्य सिद्धार्थको खोजीमा थियो र उसलाई कोही एउटी केटी र अरू मान्छेहरूले आँखामा पट्टी लगाएर एउटा डाँडातिर लगे । पट्टी खोल्नेबित्तिकै उसले सिद्धार्थलाई डाँडामा सुन्तला टिप्न लागेको देख्यो र ऊ “सिद्धार्थ ! सिद्धार्थ !!” भनेर कराउन थाल्यो । त्यही समयमा ती अपरिचित मान्छेहरूले सिद्धार्थको गोली हानी हत्या गरे ।
त्यस घटनापछि दृश्य पल्पसालाई सम्झँदै काठमाडौँ फर्किन लाग्यो । त्यही बसमा उसले पल्पसालाई देख्यो र अफसोस सहित सिद्धार्थको घटना पल्पसालाई सुनायो । पल्पसाले पनि आफ्नो कुरा दृश्यलाई भन्न थाली कि कसरी उसलाई मान्छेहरूले वृत्तचित्र बनाउन दिएनन् । बस रोकियो । दृश्य पिसाब फेर्ने भनेर बसबाहिर निस्कियो तर जब ऊ पिसाब फेर्दै थियो तब बम बिस्फोट भयो र बस बल्न थाल्यो । बसका सबै यात्रीहरू मारिए र त्यसमा पल्पसा पनि थिई । दृश्य काठमाडौँ पुग्यो र हजुरआमाकहाँ गयो तर हजुरआमालाई केही नभनी त्यहाँ भएको पल्पसाको पत्र लिई गयो । पत्रमा पल्पसाले दृश्यप्रति प्रेमको भाव व्यक्त गरेकी थिई ।

प्राञ्जल खतिवडा
दृश्यले पल्पसाको नाममा उसको अन्तिम पटकको स्पर्शलाई राखेर ‘पल्पसा क्याफे’ बनाउन लागेको थियो । त्यही बेला उसको ग्यालरीमा ५ जना अपरिचित मान्छेहरू आएर उसलाई आँखामा पट्टी बाँधेर भ्यानमा हाली लगे । दृश्यलाई कहाँ लगिएको हो ? किन लगिएको हो ? केही थाह भएन । दृश्य बेपत्ता भएको धेरै भएको थियो । दृश्यबारे यसपछि केही पत्तो लागेन ।
यो उपन्यास दृश्यसँग अन्तर्वार्ता लिई उसकै जीवनबारे लेखिएको उपन्यास हो । यो उसकै आफ्नै कथा हो । उपन्यास सकेकै साँझ जेमिनी नाम गरेकी एउटी केटीले वाग्लेलाई फोन गरी आफ्नी साथी पल्पसा हराएको भनी मद्दत मागी तर वाग्लेले पल्पसा अब कहिले फर्केर आउँदिन भनी जेमिनीलाई पल्पसाको उपन्यासको प्रिन्ट दिए । जेमिनी अचम्मका साथ “पल्पसा क्याफे” उपन्यास हेर्न थाली ।
यो पुस्तक दुई व्यक्तिबिचको प्रेम कथा हो तर प्रेम कथा मात्रै नभएर यो चाहिँ हाम्रो देशको पनि कथा हो । यस पुस्तकमा प्रेम कथासहित नेपालमा माओवादी द्वन्द्वको समय थियो । तत्कालीन समयको समाज र देशको यथार्थ चित्रण यस कृतिमा समेटिएको छ । यस उपन्यासका मुख्य पात्रहरू दृश्य र पल्पसा, तिनीहरूको पहिलो भेट र अन्तिम भेटको बिचको समयका घटनाक्रम यहाँ उतार्ने कोसिस लेखकले गरेका छन् ।
पुस्तकमा धेरै घटनाहरू घट्छन् र तीमध्ये कुनै खुसी दिने खालका पनि छन् भने कुनै कुनै घटनाहरू चाहिँ मन नै सिरिङ्ग हुने खालका पनि छन्, जुन कुरा हाम्रो नेपाल पछिल्लो समयमा माओवादीको आतङ्कले ग्रस्त भएको समयमा घटेका थिए । उनीहरूले धेरै मान्छेहरूलाई मारे, आफू पनि मरे र आफ्नो परिवारबाट टाढा भएर नेपाललाई एउटा स्वन्तन्त्रताको बाटोमा लग्ने जुन उनीहरूको आशा थियो, जुन विचार बोकेर उनीहरू लागि परेका थिए, त्यति बेलाको कथा हो यो । त्यसबेला कस्तो खालको समय थियो भन्ने कुरा हामीले यो पुस्तक पढेर भोग्न पाउँछौँ ।
नेपालमा जुन समयमा जनयुद्ध भएको थियो त्यो समयमा त म जन्मेको थिइनँ तर मजस्तो सामान्य विद्यार्थीले यो किताब पढेर त्यतिबेलाको समयको वर्णन तथा घटनाहरू सुन्दा आफैँले भोगेजस्तो महसुस भयो । त्यतिखेर कतै जान पनि डराउनु पर्ने, बम बिस्फोट होला भन्ने कुराले एकदमै डर हुने, अपहरण होला कि भन्ने कुराको डर हुने अथवा आफ्नो साथी, आफ्नो परिवारका सदस्यहरूको अपहरण होला कि भन्ने डर र आफ्नो बिहानदेखि बेलुकासम्मको समयका कामहरूमा कति धेरै डर र त्रास रहेछन् भन्ने कुरा हामीले ज्ञात गर्न सक्छौँ । अब हिजो भर्खरै मेरो एउटा मित्र, जसको नाम म अहिले भन्न चाहन्नँ, म र ऊ यही पुस्तकका बारेमा छलफल गर्दै थियौँ, तब उसले एउटा घटना मलाई भनेको थियो । त्यही समयमा उसकी आमा गर्भवती हुँदा नजिकै बम बिस्फोट भएका कारण गर्भपात भएर उसले आफ्नो हुन सक्ने दाइ गुमाएको घटना बताएको थियो । यो सुन्दा सानो कुराजस्तो देखिन्छ तर सानो होइन । जुन हिसाबले त्यसबेला मान्छेहरूले कतिसम्म भोग्नुपरेको थियो, त्यो सुन्दा नै जिउ सिरिङ्ग हुन्छ र यी सबै कुरा हामीले यस पुस्तकबाट महसुस गर्न सक्छौँ ।
नेपालमा माओवादी जनयुद्धको जुन समय थियो, त्यतिखेर देशका युवाहरू नेपाल, आफ्नो गाउँ सबैको विकास होस् भनेर लागेका थिए । कति त आफैँ सहिद भए । धेरैलाई मारियो र अझै धेरै निर्दोषहरूले आफ्नो ज्यान पनि गुमाए, चाहे ती साना बच्चाहरू होउन् अथवा वृद्ध मान्छेहरू । विद्यालयहरूमा बम बिस्फोट गरियो, पठनपाठन बन्द गरियो र अरू धेरै कुराहरू भए तर अहिलेको समय यदि हामी हेर्छौं भने जे जे कुरा उनीहरूले आशा बोकेर गरेका थिए, जस्तो नेपालको कल्पना गरेका थिए, त्यो नेपाल अहिले छैन । उनीहरूले समानता र स्वन्तन्त्रताका लागि लडेका थिए तर त्यसको अर्थ नै अहिले देख्न सकिँदैन । हो, नेपाल पहिलेको भन्दा अलिकति विकास भएको छ तर जुन गतिमा हुनुपर्ने थियो, अहिले नेपाल जहाँ पुग्नुपर्ने थियो, त्यहाँ चाहिँ पुग्न सकेको छैन ।
उपन्यासमा मुख्य पात्रहरूको कुरा गर्दाचाहिँ चरित्र विकास अझै हुनुपर्ने जस्तो लागेको छ । दृश्यको चरित्र विकास राम्रोसँग भयो तर पल्पसाको चरित्र विकास अलि चित्तबुझ्दो भएनजस्तो लाग्यो । चरित्र निर्माण गर्दागर्दै धेरै लामो पनि हुन सक्थ्यो होला तर अझै बढी भएको भए हुन्थ्यो भन्नेचाहिँ मेरो आफ्नै धारणा हो । पुस्तकको नाम नै पल्पसाबाट सुरु भएको र पल्पसालाई नै धेरै नबुझाइएको कुरा चाहिँ अलि ठिक लागेन मलाई । समग्रमा हेर्दा यो पुस्तक पढ्नका लागि धेरै रोचक छ । नेपाली जनयुद्धको समयको बारेमा यदि राम्रोसँग जान्नु छ भने धेरै कुरा यस उपन्यासबाट बुझ्न, लिन र महसुस गर्न सकिन्छ ।
पुनश्चः पुस्तक अध्ययन गर्न मलाई धेरै मनपर्छ । विद्यालयले हामीलाई अध्ययनका लागि उल्लिखित पुस्तक उपलब्ध गराएको थियो । त्यही कारणले पनि यो सामग्री लेख्ने उत्प्रेरणा पुस्तक अध्ययनपछि प्राप्त भएको हो । यसमा आदरणीय गुरूहरूको भूमिका पनि अहम् छ भन्न चाहन्छु ।
प्राञ्जल खतिवडा
कक्षा: ११, मार्दी, डियरवाक सिफल स्कुल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

