साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सुख कहाँ छ ?

हामी धेरैजसो अरूका आँखाबाट आफूलाई हेर्छौँ । अरूले 'तँ सुखी छस्' भन्यो भने मख्ख पर्छौँ । अनि 'तँ दुःखी छस्' भन्यो भनेचाहिँ दुखेसो गर्छौँ । रिस पोख्छौँ ।

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? – यो भानुभक्तको मात्र प्रश्न होइन, मेरो पनि हो । हाम्रो पनि हो ।

आफू मिटाई अरुलाई दिनू जहाँ छ । – योचाहिँ मेरो हुन पनि सक्छ, नहुन पनि सक्छ । निजी कुरो भयो । तपाईंको पनि होला~नहोला, तपाईंको कुरो भयो । जे भए पनि छोडिदिऊ यसलाई ।

bahulako diary small and inside post

एकछिन सोचौँ त, साँच्चै सुख के हो ? सबैले खोजेका छन् सुख तर सबैले पाएका छन् त सुख ? सुख कस्तो हुन्छ ? सुख भए के हुन्छ ? सुख नभए के हुन्छ ?

सामान्य रूपमा हेर्दा सुख दुईथरी छन् । एउटा क्षणिक सुख र अर्को स्थायी सुख । स्थायी सुख जुन दिन प्राप्त होला, सुखानुभूति होला । उही दिन भनुँला, यो हो सुख, यस्तो हुन्छ … । तर हामीले क्षणिक सुख त हरक्षण प्राप्त गरिरहेकै हुन्छौँ । तर हामी अचम्मका प्राणी छौँ, स-साना सुखलाई सुख नै मान्दैनौँ । दौडन्छौ संसार भरको सुख प्राप्त गर्न । सुख पाए त ठिकै हो, तर पाएनौँ भने हिस्स बुढी खिस्स दाँत भन्छौँ अनि भएभरको दुःख आफ्नै टाउकोमा थुपार्छौँ र बिस्तारै रित्तिँदै रित्तिँदै सकिन्छौँ । हामी धेरैजसो अरूका आँखाबाट आफूलाई हेर्छौँ । अरूले ‘तँ सुखी छस्’ भन्यो भने मख्ख पर्छौँ । अनि ‘तँ दुःखी छस्’ भन्यो भनेचाहिँ दुखेसो गर्छौँ । रिस पोख्छौँ ।

संसार दुःखमय छ भन्नेहरु छन् । सुखमय छ भन्नेहरू पनि छन् । हामी अरुको विचारमा सरणागत हुन्छौँ र अरुको जस्तो जीवन बिताउन खोज्छौँ । त्यसमा हामी कति सफल भयौँ ? त्यो त हरेकलाई आफ्नै अनुभव छँदैछ ।

एस.आर. दुवाडी

बुद्धको अनुभव बुद्धलाई ठिक छ, तर मेरो लागि ठिक छ कि छैन, मेरो कुरो हुन्छ । बुद्धलाई भएको अनुभव मलाई नहुन पनि सक्छ । हुँदैन नै । मैले गर्ने अनुभव नितान्त मेरो हुन्छ । त्यो साझा हुन सक्दैन । केही मात्रा अर्कोको जस्तै हुन सक्छ तर एउटै कदापि हुँदैन । एकै स्थानबाट एउटै चीजलाई एउटै समयमा हेर्दा त हरेकले फरक फरक रुपमा पाउँछाैँ भने अनुभव उही हुने कुरा त केही गरी पनि हुनै सक्दैन । मैले मेरो अनुभव गर्ने हो जसको लागि मबाहेक अरु सबै असक्षम छन् । काल मार्क्सको अनुभव होस् या माओको अनुभव, त्यो तत् तत् व्यक्तिको लागि सही छ । मेरो लागि सही अलिअलि होला, तर पूर्ण चाहिँ छैन ।

हामी अरुका सिद्धान्त र वादका पछि दगुर्छौं, यो सही त्यो गलत, त्यो सही यो गलत … । हामी आफ्नो विचारबाट चल्न सक्यौँ भने सायद सुखानुभूति गर्न सक्छौँ होला जस्तो लाग्छ । अर्कोले सुख त्यहाँ छ भनेको भरमा दैड्ने गर्छौं । सुख के के न छ भनेर दाैड्दा दौड्दा आफ्ना हातमा आएका, मुखमा परेका सुखका संवाद चाख्नबाट प्रायः वञ्चित हुन्छौँ । अहिले मलाई भोक लागिरहेको छ । मैले खान पाएँ । त्योभन्दा ठूलो सुख अरु के होला ? तिर्खामा पानी भेट्नु …, आफ्ना आवश्यकता पूरा हुनु नै त सुख हो । चोरले चोर्दा सुखको अनुभव गर्छ, त्यसमा मैले चोर्नुमा दुःख छ भन्नू भनेको मूर्खता हो । किनभने उसको अनुभवका अगाडि मेरा धारणा, विचार ,सिद्धान्त सबै छायामा पर्छन् ।

अहिलेको सबैभन्दा ठूलो घटना भनेको म हुनु हो । मेरो लागि म जत्तिकै महत्त्वपूर्ण अरु त केही हुनै सक्दैन । मैले हिँड्नु, श्वास फेर्नु, बोल्नु, यो नै मेरो लागि विशेष छ । म छु र त यो पृथ्वी छ । यो हावा, यो पानी, यो समाज, देश …. सबै चिज म नभएको भए के काम ? मभन्दा अर्को विशेष मेरो लागि अरु केही हुन सक्दैन ।

यी नै कुराहरुमा हामीले सुख खोज्यौं भने सुख अवश्य भेट्ने नै छौं । हामी सुख सुख भनेर खोज्दा खोज्दै आँखाअगाडिको सुख देख्दैनौँ अनि सुख पाएनौ भनेर झन् दुःखतिर धकेलिन्छौँ । सुख चाहन्छौं भनेँ, सन्तुष्टि चाहन्छौँ भनेँ, सानाभन्दा साना कुराबाट खोजौं । हामी आफ्नो विचारबाट चल्ने गरौँ । अरुका पनि सुनौँ, अरुका पनि बुझौँ तर गर्न आफ्नो गरौँ, भन्न आफ्नो भनौँ ।

यो पनि मेरो विचार हो । अनुभव हो । यसमा सबै सहमत हुनुपर्छ भन्नु मेरो मूर्खता हुन्छ । त्यसैले सबैले आफूलाई सुनौँ, आफूलाई बुझौँ । आफ्नो अनुभवको अगाडि सबै सिद्धान्तहरू फेल खान्छन् ।

ॐ अस्तु !

प्रतिक्रिया
Loading...