आँधी खोला आफ्नै रफ्तारमा बगिएरहेको छ । अँध्यारो रातमा आकाशतिर जुनको उज्यालो नियाल्दै आँधी खोलाको पुलमा थुचुक्क बसेर विश्वास आफैँसँग प्रश्न गर्दै छ –

म किन यहाँ आए ? बाका दुई वचनले सिधै यहाँ आउनु गलत भयो ! बा हुन् । जहिले पनि मलाई सही बाटोमा हिँडाउन दुई चार गाली दिने हुन् । दुई चार झापड लगाउने हुन् । म यसरी घर नै छाडेर हिड्नु हुँदैन थियो । आखिर गल्ती त मैले गरेकै हुँ नि !

दिउँसो स्कुलको प्राङ्गणमा ऊ आफ्ना साथीभाइसँग डन्डिबियो खेल्दै थियो । यत्तिकैमा तल्लाघरे ठाइलाको छोरा तिर्खे आयो । सुन्तला मिठाइ लिएर आएको रहेछ । बडो स्वादसँग खाइरहेको थियो । मिठाइको सुगन्ध पूरै ग्राउन्डभरि नै फैलियो । विश्वास पनि अछुतो रहेन । मिठाइको सुगन्धले ऊ मोहित भयो । उसलाई पनि खाऊँ खाऊँ लाग्यो । तिर्खेतिर हात पसार्दै भन्यो – एउटा दे न !

– खाने मन भए आफैं किनेर खानु नि !

तिर्खेले नवीन, प्रकाश, बले, श्यामे सबैलाई सुन्तला मिठाइ दियो । सबैले रस मानीमानी खाए । गोजीमा दुई-तीन पिस मिठाइ बाँकी थिए । तिर्खेको मन लोभियो । सबै सकिएपछि मैले के खानेँ ? त्यसैले उसले विश्वासलाई मिठाइ दिएन । सबैको रसिलो मुख देखेर विश्वासले घुटुक्क थुक निल्यो । चुपचाप घर गयो । घरमा कोही थिएनन् । सुटुक्क भित्र पस्यो । तखताको छेवैमा बाको इस्टकोट झुण्डिएको थियो । लुसुक्क भित्री गोजीमा हात हाल्यो । अलिकति पैसा थियो । निकाल्यो । गन्न लाग्यो । एक, दस , सय । बस !

दसका तीनवटा, बीसका दुई वटा र सयको एउटा नोट थियो ।

– बाले थाहा पाउने हुन कि ! ह्या, जाबो दसको नोट निकालेको पनि के थाहा पाउलान् र ?

माधव काफ्ले

ढुक्क हुँदै दसको नोट निकाल्यो, र बाँकी सबै खल्तीमै राखिदियो । हतार हतार ढोका बन्द गर्यो । खुर्… दौडिदै साइलीको पसलमा गएर सुन्तला मिठाइ किन्यो । ग्राउन्डमा आयो, सबैलाई एक एक मिठाइ दियो । तिर्खेलाई भने दिएन । यसपाली तिर्खेले घुटुक्क थुक निल्यो । त्यो देखेर विश्वास आनन्दित भयो ।

माहोल सामान्य भयो । सबै डन्डिबियो खेल्नमा व्यस्त भए ।

– कान्छा ! ए कान्छा ! तुरुन्त यहाँ आइज त ।

बाको आवाजले विश्वास झस्कियो । दौडिदै घर पुग्यो । टाउको निहुराएर बाको अगाडि उभियो ।

– तैले मेरो इस्टकोटबाट दस रुपैयाँ चोरिस् ?

बाको प्रश्नले ऊ आत्तियो । ‘हैन’को भावमा टाउको हल्लायो ।

– साचो भन् ! खेतालाको पैसा हो त्यो । भरे बुझाउनु छ । खै कहाँ छ ? मलाई दे । म केही गर्दिनँ । केही चाहिएको भए म ल्याइदिउँला ।

बिचरा ! कहाँबाट दिने ? मिठाइ किनेर सकिसक्यो । फेरि पनि नम्र स्वरमा भन्यो – नाइँ, मैले लगेको छैन ।

बालाई विश्वासको विश्वास लागेन । ग्राउन्डतिर गए । केटाकेटी खेलिरहेका थिए । ठुलो आवाजमा सोधे – विश्वासले पैसा लिएर आएको थियो ?

कोही केही बोलेन । तिर्खे अगाडि आयो र भन्यो – पैसा त थाहा भएन, मिठाइ चैँ ल्याएर सबैलाई बाँडेको थियो ।

– अहिलेदेखि यस्तो छ, भविष्यमा कस्तो हुने होला ?

गुनगुनाउँदै बा घरतिर लागे । विश्वास पुन: ग्राउन्डमा फर्कियो । तिर्खेले होच्याउँदै भन्यो – पैसा चोरेर मिठाइ किन्छस् ? चोर !

सबै गललल्ल हाँसे । उसले आफू अपमानित भएको महसुस गर्यो । आफू अपमानित हुनुमा बालाई दोषी ठहर्‍यायो । मनमनै सोच्यो – एक्लो छोरो हुँ । जाबो दस रुपियाँ लिए भन्दैमा यति अपमानित गर्नु पर्थ्यो र ? आफ्नै बाको इस्टकोटबाट पैसा निकाल्दा पनि चोर भइन्छ र ?

सबै कुरा उसको वरिपरि घुम्न थाले – अब यिनीहरुले यो कुरा सबैलाई भनिदिन्छन्, म झन अपमानित हुन्छु। अब म घर नै जान्नँ ! बल्ल बाले थाहा पाउँछन् ।

ऊ यस्तै कुराहरु मनमा खेलाउँदै आँधी खोलातिर लाग्यो । एकछिन त त्यहाँ आएकोमा एकदम खुसी भयो । तर उसलाई अँध्यारोदेखि असाध्यै डर लाग्छ। रात छिप्पिँदै थियो । माहोल एकान्त हुँदै थियो । बटुवाहरु बाटोमा देखिन छाडे । चराचुरुङ्गीको आवाज बन्द भयो । गाउँमा एक-एक घरका बत्ती बन्द हुने थाले । विश्वासको मनमा डर उत्पन्न हुन लाग्यो । अब न त ऊ एक्लै घर फर्किन सक्थ्यो न त त्यहीँ रात बिताउन सक्थ्यो । ऊ दोधारमा पर्यो ।

आफू त्यहाँ गएकोमा उसलाई पश्चाताप भयो । भोकले पेट बटार्न लाग्यो । खाना सम्झियो । जाडो भयो । घर सम्झियो । डर लाग्यो । बालाई सम्झियो । रातिमा पिसाब फेर्न बाहिर निस्किँदा पनि बालाई साथ लिएर निस्किन्थ्यो । सोच्यो – यतिबेला बाले मलाई खोज्दै होलान् । कठै ! मेरै लागि दिनरात मेहेनत गर्छन्। आफूले फाटेको इस्टकोट लगाउँछन्, मलाई नयाँ कपडा किनिदिन्छन् । आमा नभए पनि आमाबा दुबैको माया दिएका छन् । मैले त्यस्तो गर्नुहुँदैन थियो । मिठाइ खान मन लागेको छ भनेको भए जसरी पनि ल्याइदिन्थे । मैले पैसा चोर्नुपर्ने नै के थियो र ?

उसलाई पश्चातापले पिरोल्न लाग्यो । फेरि सोच्यो – माफी मागेको भए माफ गरिदिई हाल्थे नि ! आफ्नै बा हुन् क्यारे !

टाढा एक बत्ती पिलपिल बलिरहेको थियो । त्यो बत्तीले उसको ध्यान खिच्यो । बत्ती बिस्तारै ऊतर्फ आउँदै थियो ।

– कतै राके भुत त हैन ?, उसका खुट्टा लुगलुग काप्न लागे । निहुरिएर आँखा बन्द गर्यो।

– बाबू ! बाबू !!

ऊ झस्कियो । बिस्तारै शिर उठायो । उसको खुसीको सिमा रहेन । आखाबाट बरर्… आँसु खसे । उसको अगाडि उसका बा उभिएका थिए । गर्ल्याम्म अङ्गालो हाल्न खोज्यो । अब गाली गर्ने हुन् कि भनेर ऊ अलि हच्कियो ।

– घर हिँड् ।

बा अरु केही बोलेनन् । विश्वास अलि ढुक्क भयो । जुरुक्क उठ्यो र लुरुलुरु बाको पछिपछि लाग्यो ।