कर्कलाका पातहरुमा पानीका थोपा विस्तारै चुहिँदै, खेल्दै छन् । बँग्दै छन्, मेरा मनका अन्तरकुनामा रहेका कन्तराहरू, जसरी पत्रपत्र गरेर झर्दै छन् फूलहरु फक्रिएर । उर्मिलालाई मैले देखेँ । देखेँ नि के भन्ने ? टोलाएँ अबेरसम्म । अझ भनौँ, पिएँ । उसका शरीरका हरेकका अवयवलाई पूर्णताका साथ । ऊ मुस्कुराई अनायसै । मानौँ उसको मुस्कान साझा हो । डल्ली भए पनि, बाटुला हात, ठुला आँखाले राम्री देखिन्थी ऊ । चौरमा देखेको उसलाई, पहिलोचोटिमै उसले यसरी लठ्ठाई मुक्त हुनै सकिनँ । रातमा निँद पनि कम लाग्न थाल्यो । डराउन थालेको थिएँ, अरु कसैले उछिट्याउँछ कि भनेर । व्याकुल हुन थाले म । हेर्दै सधैँ , कसैले झुक्किएर भए पनि छुन्छ कि भनेर । यति चाँडै कोही पनि नजिक महसुस हुँदैन होला ,जति मलाई ऊ भई । केही दिन मात्र भएको थियो बोल्न थालेको । हल्का फेसबुकमा बोलेकै भरमा आफ्नो मान्न ठानेको थिएँ । एकप्रकारले अर्धपागल भएको थिएँ, न होस छ न सुर । मेरो मनमस्तिष्कमा ऊ नै छाउन थाली । कक्षामा होस् वा क्याफ्टेरीयामा , उसलाई नै नियाल्न थालेँ । दिन बित्दै गए ,तर मनोदशामा परिवर्तन आएन । हालत यस्तो भयो कि ,उसलाई देख्ने बित्तिकै मन जोड–जोडले थर्किन थाल्यो । चिटचिट पसिना आउन थाल्यो । नदेखिइ भने, उसकै झल्को आउने ।
एउटा घटना यति स्पष्ट याद छ कि ,सम्झँदा म आफै छक्क पर्छु । कलेजमा हामी काम गर्दै थियौँ । बस्दा उर्मिलाको रातो पेन्टी देखियो र मेरा आँखाले त्यही दृष्टिगोचर गर्न पुगेछ । किन किन मेरो हृदय डर र सकसले काप्न थाल्यो । मानौँ मैले नदेख्ने कुरा,देखेँ । भावनाका अनेकौँ मिस्रित गाँठो ममाथि मडारिराखेका थिए । मलाई अरु कसैले उसको त्यो स्थितिमा नजर लगाउँछ कि ,भनेर आतिएको थिएँ । एकपटक ,स्वागत कार्यक्रममा मैले उसलाई नाच्नको लागि आफुतिर तानेँ । अति नै आर्कषित देखिएकी थिई । गीत र म्युजिकले, माहोल रोमान्टिक बनाएको थियो । भीडको घुइँचोले अडिटोरियम भरिएको थियो । तर मैले अति कर गर्दा पनि “नाइँ,नाइँ ”भन्दै तर्केकी थिई । मैले त्यो घटनालाई सामान्य लिएँ । रुममा के पुगेको थिए, म्यासेज आयो ।
दुई पेजको म्याजेजको सार यत्ति थियो । ‘तिमी होसमा त छौ ,सङ्गम । के अधिकारले मलाई समात्यौ ,त्यत्रो भिडमा । तिमीलाई लाज,घिन केही छैन ? त्यत्रा मान्छे थिए,के सोचे होलान् ?’ मलाई अल्ली असहज भए पनि सिधा उत्तर दिएँ, “आई लभ यु,उर्मिला । म तिमीलाई अति मन पराउँछु ।”
“तर म पराउँदिन” उत्तर उस्तै सटिक आयो । अमिलो भयो मेरो मन । हल्का झट्का लाग्यो । कक्षामा पनि म उसितै बस्थेँ ,त्यो छुट्टै कुरा हो कि बोलचाल कम हुन्थो । त्यस दिन पछि ,ऊ चुप्पै भई ।
आउँदा दिनहरुमा ऊ मबाट झन्झन् टाढा हुँदै गई । हुन त उसले मलाई पहिला पनि चेतावनीकै भाषामा भनेकी थिई,“मलाई घुरेर नहेर ,मलाई मन पर्दैन ” ,तर उत्तेजनाले थिचेको मेरो मनले मानेन र छोडिन मैले पनि त्यस्तो हर्कतलाई ।
आखिर, म किन यति आशक्त भएको छु, उसको व्यक्तित्वको अगाडि । पिकनिकमा लालीगुराँस ल्याइदिनेदेखि प्रेमिल कवितासमेत लेखेँ तर ऊ पत्थर रई । प्रण थियो , उसको मलाई अस्वीकार गर्ने , सायद ।
म यता रन्थनिन थालेँ , क्षोभ र शोकले मलाई सताउन थाले । यो समय महिनैँ हुन पुग्यो । भोकको समय खाना नखाने र रातको समयमा नसुत्ने भएकाले ज्यान गल्न थाल्यो । सुकेनास लागेजस्तो देखिन थालेँ म । साथीभाइ , इष्टमित्रसित म टाढिँदै गए । मलाई महिला जातिसित नै घृणा लाग्न थालेको थियो । मलाई हेर्ने दृष्टिकोण , अति नै सम्य थियो अरुको । विशेषगरी ,केटीहरुबिच । मेरो आफ्नो काममा मात्र ध्यान दिने बानी ,स्पष्ट धारणा राख्ने र भावुक प्रवृतिले गर्दा पनि उनीहरुबिच म चर्चाको पात्र बनेको थिएँ । मेरा लागि यी सबै कुरा अर्थहिन थिए । यस्तो पनि होइन कि कोही केटी आएनन् तर कसैले मुटुलाई स्पन्दन नै गरेनन् जसरी उसले गरी । मलाई यो कुरो चासोको विषयमा नै रहेन कि ,जसरी म उसका लागि हिटिक्क भएको छु ,त्यसरी नै अरु कोही मप्रति होलान् ।
उर्मिलाले मन पराउँदिन भनेको दिन ,म नराम्रोसित रोएको थिएँ । खुसी यो कुराको थियो कि म एक्लै हुन्थेँ रुममा , त्यसैले रोएको क्षणका आँसु कसैले देख्थेनन् । मलाई पछिका दिनहरु निस्सासिएझैँ महसुस हुन थाल्यो । झरी पर्दा पनि मलाई जिस्काएको अनुभूति हुन थाल्यो । सानो छँदा मलाई बलानीमा थाप्पिएर नुहाँउन खुब मन हुन्थ्यो । तर आज त्यही झरी मलाई मन पर्न छोड्यो । समयले मान्छेलाई कति बदल्दो रहेछ ।
कलेजका अन्तिमवर्ष म आवारा जसरी डुलेर बिताउन लागेँ ।कहिले कुन गाउँ, कहिले ठाउँ । भट्किएको थिएँ म । रजनिशको डिस्कोर्स खुब सुन्न थालेको थिएँ। कामसूत्रदेखि कोकशास्त्र सबै निलेँ मैले । रमणदेखि रामकृष्णसम्म सबै अध्यात्मिक गुरुलाई भजेँ तर पनि अपूर्णको विज यति गहिरो थियो कि म सन्तुष्ट हुनै सकिँन । कहिले भोगको फेरो समात्न थाल्थेँ भने कहिले योगको । पोर्नको अम्मली लागेको थियो । उर्मिलालाई नपाएपछि मलाईको अभावको ज्वारभाटा छुटे । खाल्टो थियो मेरो हृदय । मान्यौँ ,खल्लो छु म । विना चिनीको चियाजस्तो । रुममा एक्लै बस्दा आत्माहत्याको खयाल पनि नआएको होइन तर म डराएँ । मलाई माया लाग्यो आफ्नो हालत देखेर । समभवत; मलाई आफ्नो त्यो क्षणमा जति माया कहिल्यै लागेन । सम्भव यो पनि हुन सक्छ कि म त्यो पलमा जस्तो निरीह कहिल्यै भइन पनि ।
एकदिन थाहा पाए, उसले आकाशलाई ब्वयफेन्ड बनाइछ । शूल घोचेजस्तो भयो । त्यसपछि त झन् कलेज जानै छोडेँ मैले । कहिले पढाइ सिद्धिएला जस्तो हुन थाल्यो । पढाइ पनि सक्कियो । लामो समय देखिन उसलाई । मेरो मनको आग पनि गल्दै गयो तर राक अझै शेष छ । तसिन्छु कसैले उसको नाम लिएर सम्बोधन गर्दा । समयले पनि नेटो काट्यो तर मेरो मनबाट ऊ हटिन । जीवनको कुनै क्षणमा फेरि ऊसित भेट भए म फेरि भन्छु होला, “आइ लभ यु , उर्मिला ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।