यसै त लामो वर्षको मेहनतपछिको फलस्वरूप प्राप्त गरेको सफलता ! सफल भएँ कि भइनँ भन्दै आफूले आफैंलाई जाँच्ने र सिक्ने समयको रूपमा लिइएको MBBS इन्टर्नसिपका दिनहरु कस्ता होलान् ? सिनियर दाइ दिदीहरुले सहयोग गर्लान् कि नगर्लान् ?, उत्सुकता साथसाथै हस्पिटलमा गएर दिन काट्न र गर्नुपर्ने काम गर्न सकिन्छ वा सकिँदैन भन्ने डर मनमा थियो । मेडिकल क्षेत्रमा सिक्ने नै सिनियरसँग हो भन्ने थाहा नभएको होइन, तैपनि MBBS पढ्दा सिनियरसँग पढाइका कुरा गर्नुभन्दा मोजमस्ती र पास गर्ने परिपाटीतिरै लागियो । नेपालको शिक्षाको शैली नै राम्रो नभएर पनि होला सायद, हामीलाई सँधै राम्रो पढेर ज्ञान हाँसिल गर्नुभन्दा रट्टा मारेर परीक्षामा राम्रो नम्बर ल्याउनतर्फ प्रोत्साहन गरियो । यस्तै परिवेशमा जेनतेन कटाइयो MBBS को पढाइ ।

बिरामी नै मेरो किताब हो, उसलाई गर्ने उपचार पद्धति, परीक्षा अनि उपचारपछि बिरामीको स्वास्थ्य अवस्था नै मेरो नतिजा हो । सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानमा जोड दिई अघि बढ्ने सोच सुरुका दिनबाट नै राखेको थिएँ । अब त्यसलाई व्यवहारमा उतार्न बाँकी छ ।

नभन्दै जेठ १ गतेबाट इन्टर्नसिप सुरु हुने भो, सूचना प्रकाशित भो । दुई जनाको एउटा समूह बनाई हामीलाई हस्पिटलको विभिन्न विभागमा खटाइएको थियो । एकान्त खासै मन नपराउने मलाई भने ड्युटी पार्टनर एकान्त मन पराउने पर्‍यो । पहिलैदेखिको राम्रो चिनजान, प्रत्येक परीक्षाको बेलामा गरिने हाम्रा गफ, एकअर्कालाई गर्ने सम्मान र साथले गर्दा पनि नाम एकान्त नै भए पनि मैले ऊसँग हुँदा कहिल्यै एकान्त महसुस गर्ने छैन भन्नेमा ढुक्क थिएँ ।

दिलिप अधिकारी

बिहान १० बजेबाट ओरिन्टेसन हुने सूचनाअनुसार हामी एकैछिन आआफ्नो वार्डमा बस्यौँ, र हलतिर लाग्यौँ जहाँ अरु साथीहरु पहिल्यै प्रवेश गरिसकेका थिए । ओरिन्टेसनमा हस्पिटल डाइरेक्टेर, प्रशासनदेखि लिएर विभिन्न विभागका प्रमुखहरुको उपस्थिति थियो । उहाँहरु आफ्नो विभागमा हामीले गर्नुपर्ने कर्तव्य र अवधिको बारेमा जानकारी दिनुभो, साथै यो एकवर्ष सहनशील भएर हाजिरको लागि मात्र आउने नभई केही न केही सिकेर जान्छु भन्ने दृढ संकल्प लिई आउने र नजानेको कुरा सिनियरलाई सोधी भोलिका दिनमा एउटा राम्रो मेडिकल अफिसर हुने सिप हाँसिल गर्न प्रोत्साहन गर्दै हुनुहुन्थ्यो ।

लगभग २ घन्टा लामो ओरिन्टेशनपश्चात् हामी लाग्यौं, आफ्नै मेडिसन विभागको ट्रपिकल वार्ड | पहिलो दिन के गर्ने, कसो गर्ने भन्ने मनमा भए पनि NMC को अनलाइन फर्मको लागि भने रेसिडेन्ट दाइलाई सोधी आजलाई बिदा माग्यौँ । मनमा भने इन्टर्न डाक्टर भन्दै हस्पिटल आउन र हस्पिलको कर्मचारी भनी कापीमा मात्र हाजिर गर्ने नभई डिजिटल पद्दतिबाट हाजिर गर्ने धोको भन्ने भोलिलाई सर्‍यो ।

भोलिपल्ट भने केही गर्नुपर्छ भन्ने सोचका साथ पुगियो वार्ड | हिजो के गर्ने कसो गर्ने भन्ने भइरहेको हामीलाई आज भने हामीजस्तै इन्टर्न दाइ सुरज र दिदी श्रद्धाले हामीले गर्ने काम र काम गर्ने तरिका सहजीकरण गर्नुभयो । जसले गर्दा हामीलाई के खोज्छस् कानो आँखा भने जस्तै भो ।

पहिलै गरिसकेका दाइ, दिदी र साथीहरुले इन्टर्नको मुख्य काम भनेको डिस्चार्ज टाइप गर्ने हो, अरु सिक्ने नसिक्ने आफ्नो हातमा छ भन्ने कुरा नसुनेको भने होइन, तै पनि भोगाइमा फरक पर्ला भन्ने सोच भए तापनि वास्तविकता नै त्यही रहेछ सायद, सुरु गरियो डिस्चार्ज टाइप गर्न ।

समय र परिस्थितिले मानिसको सोचलाई फरक बनाउँदो रहेछ । बिरामीहरु उपचार गराएर छिटो डिस्चार्ज भई घर जान चाहने तर हामी ( इन्टर्न) भने एकैदिन धेरै डिस्चार्ज नहोस् भन्ने आशामा हुँदा रहेछौँ । जे होस् आज बिहानको कन्सल्टेन्टसँगको राउन्ड र बेलुका रेसिडेन्ट दाइहरुको राउन्डमा सामेल भएर धेरै कुरा सिकेजस्तो महसुस गर्दै दाइदिदीहरूलाई मनमनै धन्यवाद दिदैँ घरतिर लागें ।

यसरी नै दिनहरू बित्दै थिए, एउटै वार्डमा हामी ४ जना इन्टर्न भएको भएर पनि होला दाइहरु दुइजना वार्ड र दुइजना इमर्जेन्सी जाने सल्लाह दिनुभो । इमरजेन्सीमा धेरै कुरा सिकिन्छ भन्ने मनसायले सकेसम्म त्यतै जान खोज्थेँ । अरु केही नसिके पनि इमर्जेन्सी म्यानेजमेन्ट र साना तिना प्रिसिड्‌युर सिक्नुपर्छ भन्ने मनमा थियो ।” भाइ तिमी इन्टर्न हो, ट्यापीङ( पेटबाट पानी निकाल्छौ) त ?” भन्दै एकजना मेडिकल अफिसर दाइले भन्नुभो । म पनि जे भने पनि गरेको हेर्ने, गर्ने तरिका सिक्ने र आफु प्रयास गरिरहने हो सोचेर हुन्छ दाइ भन्दै अग्रसर भएँ ।

५ वर्षको सैद्धान्तिक पढाइले व्यवहारिक ज्ञान त एकअर्थमा भन्दा आलु नै थियो । मलाई त सुरुमा त्यो स्टेराइल गोल्बस् लगाउने तरिका नै थाहा थिएन, भए पनि लगाएको थिएन । यस्तो कुरामा लाज मान्नु हुन्न सोची दाइलाई सोधी लगाएँ । पहिलो वर्षको रेसिडेन्ट सुजित दाइले त्यो बेला दिएको हौँसला सराहनीय थियो । मैले निकाल्न प्रयास गरेँ , दाइले निकाल्न खोज्नु भो तर भएन । त्यसपछि भिडियो एक्सरेको सहायताले दाइले निकाल्नु भो । जे होस् जान्ने नजान्ने एक ठाउँमा छ तर गर्ने आँट गरेर अघि बढ्नु पर्छ, यही इन्टर्नसिपमै हो कसैको निगराइनीमा हामीले काम गर्ने ; पछि गएर त आफैले गर्नुपर्छ भन्दै सुजीत दाइले प्रोत्साहन गर्नुहुन्थ्यो, त्यसैले पनि म उहाँसँग इमरजेन्सी जान रुचाउथेँ । जे होस् पढेका कुरा कता कता काम लागेको र केही न केही त सिकेको जस्तो भान भयो ।

CMC को इमर्जेन्सी हेर्दा धेरै नै व्यवस्थितजस्तो लाग्यो । रातो( तुरुन्त उपचार चाहिने) , पहेंलो(२/३ घन्टामा हेर्दा पनि फरक नपर्ने) छुट्याएर ट्रायज गरेर बिरामीको उपचार हुँदो रहेछ ।’ त्यसो गर्दा सिकिस्त बिरामी पनि मर्कामा नपर्ने साथसाथै इमरजेन्सीमा आएका बिरामीको आफ्नै रोग ठूलो लाग्ने र मलाई डाक्टरले पक्षपात गरे, जाँच्दै जाँचेनन् भन्ने सोचलाई बिस्तारै कम गर्ने रहेछ । त्यहाँ काम गर्ने डाक्टर, नर्सहरूलाई देख्दा पनि माया लागेर आउँदो रहेछ । भोक, प्यास, निद्रा केही नभनी बिरामीलाई इमर्जेन्सी उपचार गर्ने र वार्ड, आइसियुमा भर्ना गर्नु पर्ने होस् वा त्यहीँबाट डिस्चार्ज गर्नु पर्ने होस् बुझ्दै विभिन्न विभागको कन्सलटेसन् लिने गर्नुहुदों रहेछ ।

पहिलो वर्षको रेसिडेन्ट दाइसँग म पनि इमरजेन्सी वार्ड जाने गरिरहेँ । इमरजेन्सीमा बिरामी र स्वास्थ्यकर्मीबिच राम्रो समन्वय हुन जरूरी रहेछ । बिरामीलाई राम्रोसँग बुझाउने, सहनशील हुने र रिसै उठ्ने कुरा गरे पनि सकेसम्म नरिसाउनु पर्ने रहेछ । मेडिकल कलेज जहाँ सिक्ने र सिकाउने चलिरहन्छ त्यहाँ बिरामीहरू पटकपटक आफ्नो बिरामीको बारेमा धेरैले विवरण लिने र जाँच्ने गरेकोमा झ्याउ मात्र मान्ने नभएर गाली पनि गर्दा रहेछन् ।

बिचरा म ! तेस्रो वर्ष पढ्दै गर्दा सुरु सुरुमा विवरण (हिस्ट्री) लिँदा ‘बिरामीले दिनै मान्नु भएन’ भन्दै निराश हुने गर्थें तर आज यस्ता घटना इन्टर्नसिपमा आएर रेसिडेन्ट दाइले भोग्नु परेको देख्दा झनै निराश भएँ । मेडिकल कलेजबाट भोलिका कन्सलटेन्ट जन्माइन्छ; क्रमश: विद्यार्थी, इन्टर्न, रेसिडेन्ट हुर्दै कन्सलटेन्ट त्यहीँ यस्ता समस्या आउनु स्वभाविक मान्नु पर्छ, सायद । तैपनि बिरामीहरूले पनि बुझेर सुरैमा कन्सलटेन्ट बन्दैनन्, त्यसका लागि क्रमशः स्तरउन्नति हुन्छ, भोलिका दिनमा राम्रा डाक्टर बनाउने जिम्मा आफूमा पनि रहेको सोची डाक्टरहरूसँग राम्रो समन्वय गर्न जरूरी देखिन्छ । यता हामी स्वास्थ्यकर्मी पनि निकै नै सहनशील भई बिरामीको स्वास्थ्य हाम्रो हातमा छ भन्ने सोची उचित उपचर गरी बिरामीलाई राम्रो तरिकाले सम्झाउने बुझाउने गर्नुपर्छ ।