सर्व प्रथम साहित्यपोस्टलाई आफ्नो द्वितीय वर्ष पार गरी तृतीय वर्षमा प्रवेश गरेकोमा धेरै धेरै शुभकामना । “साहित्यपोस्ट” नामले नै थाहा हुन्छ यो साहित्य सम्बन्धी कुनै पत्रिका हो । साहित्य र पोस्ट दुई शब्द मिलेर साहित्यपोस्ट बनेको छ । जसमा संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित “ष्यञ्” प्रत्यय (सहित+ष्यञ्) लागी ‘साहित्य’शब्दको निर्माण भएको छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको छ । ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम् ‘ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो ।
‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले युक्त भाव नै साहित्य हो । पोस्ट भने आगन्तुक शब्द हो । पोस्ट शब्दको अनेकन अर्थ भए पनि यहाँ पोस्ट शब्दले खम्बा, संरक्षकजस्ता अर्थको बोध गराउँछ । तसर्थ साहित्यपोस्टको जुन शाब्दिक अर्थ छ त्यसै अनुसार साहित्यपोस्टले कार्यसम्पादन गरेको छ भन्ने विषयमा कुनै सन्देह छैन । अझ नेपाली भाषाको संरक्षणमा यस पोस्टले चालेको कदम उदाहरणीय छ ।
साहित्यपोस्ट नेपाली साहित्य जगतको नयाँ सोचको उपज हो । जुन कुनै अखबार नभएर ई-पत्रिका हो । नवीन उल्लास र आशा लिएर आएका विभिन्न प्रकारका लेखक, साहित्यप्रेमी आदिको शिक्षाकेन्द्र हो “साहित्यपोस्ट” । साहित्यपोस्टले पछिल्लो वर्षको कोरोना महामारीको समयभन्दा केही अघि मात्र हो आफ्नो स्थापना काल मनाएको । तर थोरै समया नेपाली पाठकको मुख्य पठनकेन्द्र बनेको छ “साहित्यपोस्ट”। कोरोना महामारीको मध्यकालमा नेपाली पाठकहरूले कुनै नयाँ साहित्यिक रचना पाएनन्, अवस्थाले नै प्राप्त गर्न नदिने परिवेश खडा गरेको थियो । त्यसै समयमा साहित्यपोस्टले दिएको साथले पनि आज साहित्यपोस्ट नेपाली पाठकसामु लोकप्रिय छ । हरेक बार हरेक विशेष अङ्कमा हरेक विधालाई साहित्यपोस्टले समेट्ने गरेको छ । जसको कारण हरेक प्रकारका साहित्यप्रेमीले आफ्नो रुचि अनुसारको लेख,रचना पढ्न पाउँछन् साथै नेपाली भाषामा रहेको विभिन्न कुरूपतालाई तिखार्न प्रयास गरेको हुँदा भाषाप्रेमीको पनि केन्द्र बन्न पुगेको छ “साहित्यपोस्ट”।
“साहित्यपोस्ट”को नाम थाहा पाएकोमा आफू स्वयं अत्यन्तै खुसी छु । बल्ल बल्ल चलाउन मन लाग्ने कलम अनि निर्माण गरिएको रचना, कुनै सिमित स्थानमा खुम्चिनाले गर्दा साहित्य लेखनप्रतिको अभिरुचि घट्दै जानू स्वाभाविक नै थियो । तर साहित्यप्रेमी मेरा आदरणीय दाजु दिवस अधिकारीज्युले साहित्यपोस्टको बारेमा भन्नू भयो । त्यस पछि कलम बन्द भएर मन्द हुन लागेको साहित्य लेखनले एउटा रूप लिन सहयोग गर्यो । लेख्न त जानेको छैन तर लेख्दै जादा सफल भइन्छ भन्ने आशा जाग्न थाल्यो। यसै अनुरूप कोरोना महामारी बिच “भर्चुअल प्रेम” भन्ने कथा लेखेँ र कथा पोस्टको निम्ति साहित्यपोस्टलाई रोजेँ । पहिलो पटक आफूले लेखेको रचना पठाएको थिएँ तर छापिएन । केही दिनपछि एउटा मेल आयो । उक्त मेल साहित्यपोस्टका सम्पादक आश्विनीज्युको थियो । त्यस इमेलमा उहाँले मेरो कमी कमजोरी औंल्याइदिनु भएको थियो । जसले गर्दा मलाई साहित्यपोस्ट र साहित्यप्रति झन् झन् अभिरुचि बड्यो । कमजोरी सुधार पश्चात् उक्त कथा छापियो । म सहित मेरो परिवार नै खुसी भयो । जसको कारण साहित्यपोस्ट मेरो लोकप्रिय हुन पुग्यो । आफ्नो पढाइको चापकै बिच लेखिएका रचनामा भएका कमजोरी सच्याउन लगाइलगाई साहित्य लेखनमा सहयोग गर्ने साहित्यपोस्टप्रति सदैव आभारी हुनेछु । कार्य विशेषले कलम बन्द होला तर साहित्यपोस्टको ई-पेज दिनमा एकपल्ट मेरै लागि भए नि खुल्ने छ ।
साहित्यपोस्टको आफ्नै कथा र व्यथा होलान् तर उसले नेपाली पाठकहरूलाई समयानुकूल बनाउन गरेको प्रयास सदैव प्रशंसनीय छ । साहित्यपोस्टले अझै धेरै आशाको दियो जलाओस् । समय-समयमा देखिँने चुनौतिहरू र परिणामस्वरूप उत्पन्न अवस्थालाई सामना गरी पुनर्स्थापना गर्दै नयाँ उचाइमा पुग्ने थप शक्ति र अदम्य साहस प्राप्त होस् । नवलेखकाहरुको लागि सृजनात्मक परिणाममुखी सल्लाह सुझाव र सहकार्यको अपेक्षा यस पोस्टले पुर्ति गर्ने प्रयास गरोस् । साहित्यपोस्टले साहित्यको निम्ति प्रयास गरेको अभियानमा सामेल हुन आफु स्वयम् सधैँ तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
हार्दिक शुभकामना !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।