हामी तनावले भन्दा पनि तनाव नलिएर बिग्रेका रहेछौँ । सब ठिक छ भनेर मान्नुमा नै हामी गलत रहेछौँ । अट्टहास हाँसो हास्नु नै जीवनको उपलब्धि रहेछ भन्ने हाम्रो धारणले नै हामीलाई दुर्गति तर्फ लैजाँदो रहेछ । सस्तो खुसी अनि कार्बन उत्सर्जन् । दुई कौडीको हाँसोको निम्ति गरिने हिंसा । अनि त्यही हाँसो पछाडि लुकेको स्वयंको दुर्दशा । यसो भनेर म संसारबाट टाढिएको हैन । मेरा चाहनाहरू संसारसँगै जोडिएका छ्न् । संसारबाट को टाढिन चाहँदो हो र ? संसारबाट टाढिनु भनेको त एउटै अर्थ हुन्छ । त्यो हो मृत्यु । मेरो चाहना त सांसारिक छ अनि बिसाल पनि ।

सत्यसँग नजिक हुने कि भीडसँग समाहित हुने निर्णय भने स्वयंको हुँदो रहेछ । संसारलाई कसरी बुझ्ने भन्ने चुनाव चाहिँ हामीमै हुँदो रहेछ । अस्तित्वलाई यथारूपमा, जीवनलाई समग्रतामा बुझ्ने कि जैविक सुख दुःखमा हाँस्ने र दुखी हुने भन्ने चुनाव भने हामी गर्न सक्दा रहेछौँ । जीवनलाई जस्तो विचारले हेर्यो त्यस्तै प्रतीत हुँदो रहेछ । कसैले जीवनलाई खुसी नै खुसी देख्न सक्दछन् र त्यसै गरी कसैले दु:खको जञ्जाल मान्न । वरिपरि फुलेका फूललाई देखेर आकर्षित भई रमाउम पनि ऊ सक्दछ भने एक्लोपनले गाँजिएर जीवनलाई निस्सार मान्न देख्न पनि सक्दछ । फूलहरू पाएर आनन्द रहन पनि सक्छ र फूल प्राप्तिको आशाले निराश हुन पनि सक्छ । मलाई के लाग्छ भने जीवनमा आउने गतिविधिहरू स्वयंकै चुनावको नतिजा हो । र यदि चुनावैकै नतिजा हो भने त्यसमा खुसी हुनु र दु:खी हुनुको के अर्थ रह्यो ? के अर्थ रह्यो हामीले मानेको सफलताको र के नै अर्थ रह्यो उक्त सफलता वा असफलताको कारण पैदा हुने सुख र दु:खको । यी सुख , दु:ख र त्यसको निम्ति सम्पूर्ण संघर्ष त केवल मनोवैज्ञानिक ढर्रा न हुन् । यसबाट के आशा अनि के निराशा । यी त गतिशील छन्, अनिश्चित छन् । यदि यिनीहरूको प्राप्ति र अप्राप्तिलाई जीवनको उद्देश्य लिने हो भने अथवा यसैआधारमा जीवनलाई अर्थ दिने हो भने जीवनमा न उचाइ रहन्छ न कुनै मुक्ति नै । जीवन त यत्तिकै व्यतीत हुन्छ । प्राकृतिमै लुप्त भएर जान्छ । जनावरको झैँ । कण्डिसनिङ्ग । यसो हुँदा हुनसक्छ जीवन हाँसोले भरिएको होस् । खुसी प्राप्तिको दौडमा समाहित हुँदा सुख अनुभुतिको आभाष बढी भएको होस् ।

`निमेश बास्तोलातर यो सब स्वयंको चुनाव न हो । यसमा सत्य कहाँ छ र ? हुनसक्छ हामी हाँसिरहेका हौँला अनि अस्तित्वको अगाडि हामी पनि एउटा हाँसोको पात्र बनिरहेका हौँला । तर अस्तित्व त सदा शाश्वत छ । मलाई के लाग्छ भने हामी मान्छे हुन पाएका छौँ त्यो नै धन्य हो । हामी धन्य हुनुपर्छ अस्तित्वप्रति । अस्तित्वलाई यथारूपमा बुझ्न सक्नु, हाम्रो अवसर हुनसक्छ । नत्र जीवनमा खुस र दु:खका कति सस्ता बाहनाहरू छन् । केवल आफूलाई प्रदर्शित गर्नु पर्यो र त्यहाँबाट आशा अनुरूप प्रतिफल पाए सुख र आशा विपरीत पाए दु:ख । अहम्लाई बढावा दिन पाउँदा खुसी अनि असफल भए दु:ख । यो कस्तो सस्तो खेल । मानव हुनुकै अवमूल्यन । योभन्दा ठुलो पाप अन्य के होला ?

वरिपरिको गतिविधिहरूबाट लाग्न सक्छ कि जहाँ पनि , जो पनि र जे पनि सत्यको विपरीत भएर खडा भएका छ्न् । तर सत्यको विपरीत तथा मनोवैज्ञानिक ढर्राबाट सृजित सम्पूर्ण गतिविधिहरू नै हुन् सत्यसँग नजिक हुन अभिप्रेरित गर्ने । सत्यको विपरीत खडा भएको नै हो सत्यको उत्प्रेरक बन्ने । जब सत्यको खिलाफ बढीभन्दा बढी शक्तिहरूको समायोजन हुन्छ त्यहीँबाट सत्य बिस्फोटित हुन्छ । अथवा त्यहाँ विरक्तिको भाव उत्पन्न हुन्छ । भ्रमको पर्दाफास हुन्छ । मलाई के लाग्छ भने त्यो मान्छे के मान्छे जसलाई आफ्नो जीवन र वरिपरि हेरेर वैराग नलागोस् । जीवनभर लागेको खुसी भ्रम नलागोस् । त्यो पुरुष पनि के पुरुष जो प्रकृतिको इशारालाई नै जीवनको एकमात्र लक्ष्य मानोस् । अनि त्योभन्दा पनि छुद्र को होला जसलाई जीवनबारे गहिरिएर सोच्ने अवसर पनि नमिलोस् । ती जनावरझैँ जन्मिन्छ्न् , जन्माउँछ्न् र मर्छ्न् । बेहोसीमै । फरक यत्ति हो कि हामी उनीहरूकै मुहारमा खुसी देख्छौँ र त्यसैलाई आदर्श बनाउछौँ । त्यसैले अधिकांशलाई आफू मानव हुनुको क्षमता नै थाहा हुन पाउँदैन । हामी जेलाई आदर्श मान्छौँ हामी त्यस्तै बन्न खोजिरहेका हुन्छौँ अनि सम्पूर्ण समाज र आउने पुस्ता पनि त्यस्तै बनाइरहेका हुन्छौँ । त्यसैले समाजलाई उन्नति अथवा सत्यतिर लैजाने व्यक्तिहरू भविष्यबाट आउँछन् भनेर पनि मान्न सकिन्छ । जस्तै कृष्ण, क्राइष्ट , दार्शनिक तथा ऋषिहरू । यी आफ्नो समयमा चलेको विचारभन्दा अलग सोच्छ्न् तर दूर भविष्यमा बाच्नेहरूलाई भने सान्दर्भिक लाग्छ । विचार गरौँ: कृष्णलाई उनको समयमा आजकै दृष्टिले हेरिँदो होला त ? अनि क्राइष्टलाई ? उनीलाई त काटी हानेर टाँगियो । सकरातलाई विवेकको प्रयोग गरेकै अपराधमा विष खुवाइयो । ऋषिहरू केही शिष्यसहित जङ्गलमा बसेर, गरेका अनौठो कुराहरू नै आजको आधुनिक मनोविज्ञानभन्दा उपनिषद्हरू माथि रहेका छन् ।

यी कुरा लेख्दै गर्दा मात्रै पनि म देखिरहेछु भर्खर बेहुली भइनसकेकी युवाती जो फोटो खिचाइरहेकी छन् । कत्ति खुसी भएर । जति म यो लेख्नको निम्ति गम्भीर भएको छु, जति गहिरिएको छु त्यति नै ती बेहुली विवाहा गर्ने निर्णयको निम्ति गम्भीर नभएको हुनुपर्छ । जीवनको यत्रो ठुलो निर्णय अनि कस्तो ख्याल ठट्टा । बरु मैले लेख्दै गरेको यो हराएर जाला , आफैँले कतै डष्टबिनमा च्यातेर मिल्काउँला । सदाझैँ, कुनै कुनामा धमिलिएर रहला तर पनि म सचेत भएको छु केही अर्थपूर्ण नै लेखौँ भनेर । तर ती रातै पहिरिएकि रङ्गिन महिला कत्ति हाँसिरहेकी । सायद तिनलाई यो थाहा नहुन सक्छ कि विवाहपछिको जीवन फोटो सेसनमा औँलाले उ-पर भनी सङ्केत गरेझैँ सरल छैन भन्ने । हुन त हो, विवाहित महिलाहरूको खुसी भनेको बिहे सकिएपछिको फोटो सेसनकै दौरानमा चल्छ । यो मैले धेरै देखेको छु । प्रमाण म जान्दछु कि, जीवनप्रति थोरै पनि गहिरिएर सोच्ने विवाहित महिलाहरू जान्दछन् । खैर, जिन्दगी दुख पनि हो भन्ने नजानेकाहरूले दुख पाउनु सायद राम्रै पनि हो । जिन्दगी बेहुली हुनुजस्तो रङ्गिन र हास्यास्पद मात्र हैन आमा हुनुजस्तो जिम्मेवारी र दुखदायक पनि हो ।

बेहुली वरिपरि झुमेका अन्य युवतीहरूले कत्ति महान् मानेका बेहुलीलाई । मानौँ कि, उसले सिएनएन हिरो अवार्ड जित्न लाग्दै छे । कत्ति सौभाग्यशाली मानेका बेहुली हुनलाई । र त भीडभित्र असली बेहुली को चाहिँ हो भनेर ठम्याउँन मलाई सकस परिरहेको छ । त्यसैले म भन्छु कि हामी जेलाई आदर्श मान्छौँ त्यस्तै बन्ने प्रयास गरिरहेका हुन्छौँ । जीवनलाई गतिशीलता दिन विभिन्न चुनौतीहरू चाहिन्छ । र त्यही अनुरूपको चुनौती विवाह पनि हो तर तल्लो स्तरको । छुद्र चुनौती ।

म आत्महत्या र विवहा उस्तै मान्छु । केवल हठीहरूले गर्ने । जीवनको विशाल निर्णय आवेगमा आएर गर्छन्, जसबाट फर्कन सकिन्न । जीवन केवल व्यतीत मात्र गर्ने हो, चुनौती नै चाहिने हो भने अजीव उपायहरू छन् । चार्ल्स बुकोवस्कीले युवाहरूलाई कविता लेख्नुको सट्टा गर्नसक्ने अन्य उपायहरू दिएजस्तै मसँग पनि त्यस्ता उपायहरू छ्न् । जस्तैः हप्ताको तिन छाक मात्र खानु , वर्षको छ महिना दाहिने अँखाले र बाकी छ महिना देब्रे अँखाले हेर्नु , हातले टेकेर हिँड्ने प्रयास गर्नु , खुट्टाले हिँड्नै परे केवल कुद्नु , उल्टो गतिमा सवारीसाधन चलाउनु , गुप्ताङ्गको रौँ बढाउनु र टाउकाको खुइल्याउनु , ऋतु विपरीतको कपडा लगाउनु , अण्डरवेरलाई बाहिर लगाउनु , गुदाद्वारबाट बोल्ने प्रयास गर्नु इत्यादि । मानव जीवनलाई चुनौती चाहिन्छ भन्दैमा किन छुद्र चुनौती मात्र स्वीकार्ने ? किन जीवनको उच्च सम्भाव्यतालाई नजरअन्दाज गर्ने ? भीडले त्यही गर्छ भन्दैमा त्यही नक्कल गर्नै पर्छ भन्ने छैन । लङ्गडाको देशमा खुट्टा खुम्च्याउनु नै पर्छ भन्ने छैन । यो विवाहाको मात्र कुरा हैन । यो कुरा हो मान्छेले बेहोसीमा लिने समस्त चुनावहरूको । विवाहले त बरु व्यक्तिगत बर्बादि मात्र गर्न सक्छ तर सस्तो हाँसो हास्ने निहुँमा गरेको कार्बन उत्सर्जन अनि त्यसले निम्त्याएको पृथ्वीको दुर्दशा । चेतनाले न्यून भएर गरिएको हिंसा र त्यसैले अन्यको जीवनमा उत्पन्न गर्ने दु:ख, यसको कुनै लेखाजोखा नै छैन । कहाँ र कसरी न्याय दिने ?

एक दिन जब मैले हाँसैहाँसोबीच हुर्केकी १८-१९ वर्षकी किशोरी जो आफ्नो जीर्ण हातहरूमा छोरो बोकिरहेकी देखेँ । तब मेरो शरीर नै सिरिङ्ग भएको थियो । कस्तो बिरामी देखिएकी थिई । कस्तो पीडा भैरहेको थियो होला । पक्कै पनि एक भित्ता पेट चिरेर त्यो हातको बच्चा निकालेको हुनुपर्छ जो जन्मेर गल्ती त गर्यो तर त्यसले जीवनमा आफ्नो गल्ती सुधार्छ कि सुधार्दैन । अझै पनि बच्चाहरू देख्दा मलाई दु:ख लाग्छ कि तिनीहरूमा जीवनको महानताको अनुभव हुन्छ कि हुँदैन । यदि यिनीहरू जनावर भएर जन्मिएका भए बेस हुन्थ्यो । न कुनै सम्भावना नै रहन्थ्यो न सम्भावना चुक्दा हुने पाप नै । मान्छे भएर मान्छेको भाग्य थाहा नपाउनु, यस्तो हो कि स्वास्थ आँखा भएर पनि आँखा चिम्लेर हिँड्नु ।

ती किशोरी आमा किन मान्छे भएर मान्छेले झैँ भैभवताका साथ बाच्न सकिनन् ? आखिर किन उनले सङ्कुचित जीवन रोज्न पुगी ? तिनी सायद यही बेहुली हुनुपर्छ जसलाई गम्भीर कुराहरू अनौठा लाग्छन् । सायद ऊ पनि सस्तो हाँसो हाँस्न मन पराउँथी । यो देख्दा देख्दै, जीवनको समग्रतालाई भुलेर जीवन सुख हो भनेर कसरी भनौँ । कसको यत्रो हिम्मत ? के तिनीहरू नै त हैनन् जीवन हाँसो हो भन्ने जो प्रकृतिकै भरमा आफूलाई अर्पित गर्छन् ? जो सस्तो हासो हाँस्न मन पराउँछ्न् ?

म हाँस्नु को विरोधि हैन । तर बोध बिनाको सस्तो हाँसोलाई मेरो कुनै स्थान छैन । हाँस्नु छ भने जिन्दगी दु:ख छ भन्ने जानेर हाँसौँ । हाँस्नु छ भने जिन्दगी अन्यायपूर्ण छ भनेर हाँसौ । हाँस्नु छ भने जीवनका हरेक कठिनाइहरूमा हाँसौ । उतार चडाबहरूमा हाँसौँ । निस्सार जिन्दगीलाई होच्याएर हाँसौँ । जन्मनु गल्ती हो भन्ने बुझेर हाँसौँ । मृत्युलाई पनि गिज्याएर हाँसौँ । हारको निश्चितता जानेर हाँसौँ । हास्ने कुनै मौका नरहेको जानेर हाँसौँ । सूर्यको ज्योति फिका पर्ने गरी तेजका साथ हाँसौँ । भ्रमित भएर हैन सत्य बुझेर हाँसौँ । नत्र त्यो एकै क्षणमा हराउने दैत्यको जस्तो, सस्तो हाँसोलाई उचाइ तर्फको यात्रामा कुनै स्थान छैन ।