यतिखेर मलाई निरन्तर नवपुस्ता मात्रै पढिरहुँ भएको छ । त्यसो त म स्वयं पनि नवपुस्ताकै हुँ । त्यसैले म जान्न चाहन्छु, नवोदित पिँढीको मनोविज्ञान कस्तो छ ? रुचि कतातिर छ ? विद्यमान समयलाई कसरी लिइँदैछ ? कसरी अर्थ लगाइँदैछ ? स्वयं जीवनलाई उनीहरू के भन्न चाहन्छन् ? उनीहरूको दृष्टिमा जीवन र जगत् भनेको के हो ? प्रौढ पुस्ता र नवपुस्ताबीचको अवधारणा मेल खान्छ खाँदैन ? भूमण्डलीकरणले उनीहरूमा पारेको प्रभाव कस्तो छ ? अनि भाषा, साहित्य, संस्कृति कसरी प्रभावित हुँदैछ ? साहित्यलाई उनीहरू कसरी लिन चाहन्छन् ? अहिलेको पठन संस्कृति कस्तो छ ? समयप्रतिको सचेतता छ छैन ? राजनीतिप्रतिको धारणा र चासो कुन रूपको छ ? देशको विद्यमान अवस्थाप्रति सन्तुष्ट छन् छैनन् ? छैनन् भने विद्रोह र विरोध कस्तो छ ? या त आवाज नै उठाइएका छैनन् ? यस्ता विविध जिज्ञासाबाट जस्तो उत्तर आउँछ त्यो नै विद्यमान अवस्था हो । वर्तमान समयको मनोविज्ञान हो ।
मलाई त्यो पनि जान्ने इच्छा छ, मेरो अवधारणा समवयी पुस्तासँग मेल खान्छ खाँदैन ? उनीहरूका विचारसँग म सहमत हुन सक्छु सक्दिनँ । यतिखेर म जे कृष्णमूर्तिको अन्वर्तार्वा पढ्दैछु, त्यसैले पनि अलिक सचेत भएकी छु, आफ्नो अनुभूतिसँग अर्थात् अरूको सत्य मलाई ठीक हुनुपर्छ भन्ने छैन । हो म आफू र अरूबीचको अन्तर थाहा पाउनकै लागि पनि पुस्तक पढ्ने गर्छु । त्यही क्रममा यतिखेर सपना आचार्यको मलिलो माटो मेरो अगाडि छ ।
प्राचीन समयदेखि विद्यमान अवस्थामा आइपुग्दा परम्परित समाजले महिलालाई कसरी हेर्दै आएको छ ? उनीहरू स्वयंले कसरी हेरेका छन् ? प्राकृतिक रूपमै महिला कसरी विवश छन् ? समाजको संरचना र दृष्टिकोण एकातिर हुन्छ, प्रकृतिको नियम अर्कोतिर हुँदा, विपरीत मान्यताले महिला कसरी लाचार हुन पुग्छन् ? नचाहेरै कसरी उनीहरू क्रूर हुन पुग्छन्, आफ्नो व्यक्तित्व बचाउको लागि ? मलिलो माटो उपन्यासकी मञ्जु त्यही नारी चरित्र हो । ऊ एउटी कुमारी आमा हो । नचाहेरै पनि भ्रूण हत्या गर्न बाध्य भएकी, एक निर्दयी पनि हो । प्राकृतिक इच्छा प्रबल हुँदा संयम गुमाएकी पात्र, जतिखेर उसलाई समाज र नैतिकताको बन्धनले रोक्न सक्दैन, भनौँ न उसलाई होश हुँदैन । यति हुँदा पनि उपन्यासमा उसलाई गलत दृष्टिले हेर्न सकिँदैन । बरु उसप्रति संवेदना जागृत भइदिन्छ ।
मञ्जु एउटा शिक्षित, प्रकृतिको भाषा बुझ्ने, आजन्मै वाक्यहारा, उदार र सहृदयी, केही बौद्धिक पनि देखिन्छे । वास्तवमा ऊ अभिशप्त पात्र हो र होइन पनि । किनकि ऊ प्रकृति हो, प्रकृतिले त्यस्तै अनेक कठोरता भोग्नु पर्छ । त्यो स्वाभाविक छ । अप्रत्याशित घुम्तीहरू मोड्दै अन्ततः एकाकी जीवन व्यतीत गरेकी पात्रलाई अर्को अर्थमा, धराको रूपमा हेर्न सकिन्छ । मलिलो माटो उपन्यास त्यसैले पर्यावरणीय साहित्यको निकट रहेको छ ।
उपन्यासमा मञ्जुले धेरै थोक भोग्नु परेको छ । एउटा जीवनले सामना गर्नुपर्ने भन्दा धेरै नियति उसले सामना गुर्न परेको छ । दुःखको कुरा ऊ आमा हो, यद्यपि कुमारी आमा । जीवनभर ऊ घोषित आमा हुन सकिनँ । छोरीलाई ‘म तिम्री आमा हुँ’ भनी उसले चिनाउन पाएकी छैन । अर्थात् चिनाउन हुँदैन । समाजले प्रतिबन्ध लगाएको छ उसको त्यो इच्छालाई । त्यस्तै ऊ कसैकी श्रीमती पनि हो । यद्यपि त्यो पनि अघोषित नै छ । अन्त्यमा अघोषितमै विधवा पनि हुन्छे । उसका हरेक गतिविधिहरू अघोषित छन् । इच्छाहरू पनि त्यस्तै छन् । साँच्चि नै भन्नुपर्दा उसको जीवन भोगाइ नै अघोषित लाग्छ । ऊ एउटा पुस्तक प्रेमी पाठक पनि हो । पुस्तक नै उसको एकान्तको सहारा भएको छ ।
मञ्जुको सिङ्गो भोगाइ एकातिर छ, उसको केन्द्रियतामा भन्न खोजेको आशय अर्कै छ । शुरुमा लागेको थियो, मलिलो माटो एउटा विशुद्ध पर्यावरणीय उपन्यास हुनुपर्छ । यो धर्तीको, माटोको, प्रकृतिको कुरा हो । मेरो यस्तो अनुमान केही हदसम्म मिलेको छ । यद्यपि सोझै पर्यावरणीय कृति भन्न चाहिँ नसकिने छ । प्रकारन्तरमा फेरि त्यही दृष्टिले हेर्न सकिन्छ । गूढार्थमा यो प्रकृतिकै कुरा हो । माटोकै कुरा हो । सृष्टिकै कुरा हो । जननीकै कुरा हो । थाहा पाएँ, यो मेरो पनि कुरा हो । मभित्र पनि बीजन उमार्ने एउटा उर्वर धर्ती छ । अघिका दिनमा मैले यस्तो सोचेकै रहेनछु । चराचर जतग्का सम्पूर्ण जननी धर्ती नै हुन् । माटो नै हुन् । पृथ्वी हामी सबैकी जननी हुन् । उनका छोरीहरू फेरि अर्का जननी हुन् । फेरि उनीहरूभित्रको (गर्भ) अर्को धर्ती … कस्तो अनौठो लाग्ने छ सृष्टिको यो कुरा । स्वाभाविक छ तर पनि सम्झिँदा निकै जटिल कुराजस्तो लाग्ने । बीजको समागममा एउटा धर्तीले अर्को धर्ती निर्माण गर्ने कुरा विज्ञानको आविष्कारभन्दा हजारौँ लाखौँ कैयौँ गुणा दुरुह छ । फेरि हामीलाई त्यो एउटा मामूली कुरा लाग्छ ।
वैधानिक बीज होस् या अवैधानिक, असल होस् या खराब माटोले त्यसको ख्याल कहिल्यै गरेको हुँदैन । त्यस्तै बीजले पनि समाजको मर्यादा ख्याल गर्दैन, धर्तीमा सम्मिलित हुँदा ऊ अङ्कुराइदिन्छ । तब भ्रूणको क्रुर हत्या हुन थाल्छ । त्यस्तै वैधानिक भ्रूणले पनि क्रुरता सहनु परेको छ, धर्ती (छोरी) भएकै कारण ।
अहिले म ठूलो छहराबाट खसेको अनुभव गर्दैछु । धन्य हो, म जन्मिएताका लिङ्ग पहिनान गर्ने उपकरणको आविष्कार भएको रहेनछ । बुवा आमाले छोरोको चाहना राख्दा राख्दै भूलवश जन्मिएकी छोरी हुँ म । विज्ञान प्रविधिसँग यसकारण म उति सन्तुष्ट छैन । किनकि उसले मलाई निश्चय यस धर्तीमा ओर्लिन दिने थिएन । सानो धर्ती फोरेर बाहिर ननिस्किँदै मेरो अन्त्य हुने थियो । त्यस्तै हाम्रा परम्परासँग पनि म खुशी छैन । म जन्मिँदा मेरी आमालाई प्रसव पीडा भुल्न धेरै कठिन भयो । मेरो सट्टा छोरो जन्मिएको हुन्थ्यो भने वहाँलाई त्यो प्रसव पीडा, पीडा लाग्ने थिएन । यदि म छोरो हुँदो हुँ त्यस निमेष कति ठूलो हर्ष ल्याउने थिएँ । आफन्त छरछिमेक सबै सबै मेरो आगमनमा प्रसन्न हुने थिए । मबाट त्यो प्रसन्नता कदाचित मिलेन । अझ भनौँ मसँग त्यो सामर्थ्य थिएन । फेरि भनौँ, म समर्थ भइनँ हर्षको वर्षा गराउन । त्यसैले मलिलो माटोमा अलिअलि त मेरै कथा लेखिएको हो कि भनुँजस्तो पनि लाग्छ ।
यतिखेर म सोच्दैछु, यदि मेरो जन्म हुँदैन्थ्यो भने म कहाँ हुन्थेँ होला ? अनि त मैले यो मलिलो माटोको कथा पढ्न पाउने थिइनँ । म पनि एउटा धर्ती हुँ भन्ने कुरा बोध गर्न पाउने थिइनँ । उपन्यास पढ्दै गर्दा मैले फेरि एकचोटि अबोध्य सृष्टिकर्तालाई प्रणाम गरेँ । धन्य हो, मैले जन्म पाएँ । कसोकसो यो चैतन्य चोला, मेरो हातबाट खस्दै थियो । परन्तु नियन्ताले तलबाट हात थाप्दै रहेछ । म उसैको उपहार हुँ । जसले मेरो जन्म आवश्यक देख्यो ।
धर्ती भएकै कारण मेरी हजुरआमाले झुक्किएर त्यो जन्म पाउनु भयो । अनि वहाँले आफ्नो नियति बिर्सिएर मेरी आमालाई नचाहेरै जन्म दिनु भयो, निश्चय । किनकि हाम्रा धार्मिक, सांस्कृतिक, सामाजिक संरचना र परम्पराले त्यही भन्थ्यो । यसरी धर्तीलाई जन्माउन कसैले नचाहने हो भने त्यसपछि के होला ?
मलिलो माटो– यो सम्पूर्ण पृथ्वी तथा जननीको, नियतिको कथा हो । हामीले किमार्थ सोचेनौँ धर्तीभित्र धर्ती मात्र होइन बीजले पनि बास लिएको हुन्छ । यसरी धर्ती मास्दै जाने हो भने हामीले महत्त्व दिएको बीजले कहाँ बास पाउँछ ? कुन माटोमा त्यो बीजलाई हुर्काउने ? धर्तीको उपेक्षा गर्नु भनेको स्वयं बीज अभर पर्नु होइन र ?
मलिलो माटो उपन्यास तिनीहरूलाई नै समर्पण गरिएको छ, जो जन्मनु अगावै मरिसकेका छन् अर्थात् नजन्मिएर उनीहरूको जीवन सकिएको छ । माटो (महिला) बीज (पुरुष) र सन्तान (बाली)ले जस्तो अर्थ दिन्छ त्यसैलाई उपन्यासले प्रकृतिकरण गरेको छ । त्यस्तै प्रकृति (धर्ती) लाई मानवीकरण गरिएको छ । हरेक नारी अझ विशाल अर्थमा जननी एउटा मलिलो खेत हो । जननी– भन्नाले महिला मात्र होइन चराचरका सम्पूर्ण जन्मदातृहरू– को कोख पनि पर्यावरणकै एकाशं हो । वृक्ष वृक्षादि पनि जननी हुन् । सन्तान उत्पादनका सम्पूर्ण स्रोत उनै आमा हुन् । हे माते ! तिमीलाई मेरो प्रणाम छ । तिम्रै कारण यस धर्तीमा यति बोल्ने सौभाग्य पाएकी छु । म कृतकृत्य छु । तिमीबाट कृतज्ञको पाठ सिक्दै छु । अरू पनि धेरै थोक सिक्नु छ ।
त्यस्तै मैले यसरी प्रकृतिको मात्र पुकारा गर्नु हुँदैन । पुरुषलाई पनि नमन छ । ढोग छ । बीज नै नहुने हो भने धर्तीको अर्थ नै कहाँ ? म प्रकृति र पुरुषको एकत्रित रूप हुँ । दुवै मेरा प्राण हुन् । सृष्टिकर्ता हुन् । जन्मदाता हुन् । कृतिमा केन्द्रिकृत हुँदा जननीको प्रशंसामा म धेरै बोलूँला । यद्यपि मेरो मनले एकतर्फी वहस गर्ने छैन ।
मानिस प्रकृतिको एउटा अंश हो, त्यस्तै प्रकृति पनि मानिसको एक अंश हो भन्ने बुझ्न जरुरी छ । सपना आचार्यको मलिलो माटो त्यस्तै एउटा प्रयास हो । कथानक सबल दुर्बल जेसुकै होस् । स्रष्टामा एउटा नवोदित चेतना छ । प्रकृति प्रेम छ, सद्भाव छ । यो ठूलो कुरा हो ।
नाटकीय शैलीमा लेखिएको प्रस्तुत उपन्यासमा आख्यान मात्रै छैन, संस्मरण र यात्राको झल्को पनि यसले दिएको छ । मलाई यसले के सोच्न लगायो भने, नारी र पुरुषमा जुन अन्तर निर्धारण हामीले गरेका छौँ । वास्तवमा त्यो केही होइन । सृष्टिलाई कायम राख्न प्रकृति र पुरुषको रूपमा दुई फरक किसिमका जननेन्द्रियको भेद बाहेक अरू सबै उही हो । पुरुष जननेन्द्रिय टाँसिकएको भरमा छोरालाई जन्मिँदैमा बादशाहको रूपमा हेरिने पुरातन चेतनाले समाजको संरचना र धारणा निर्माण हुनुदेखि अरू के हो र ? छोरी कमजोर भनौँ न दुर्बल देखिनु उसको दोष होइन । उसलाई हुर्काइएको परिवेश नै दोषी ठहरिएको छ । त्यस्तै छोरो बहादुर तथा पराक्रमी दखिनु पनि ऊ हुर्किएको परिवेशको प्रभाव हो । जन्मिँदा न छोरी निर्दो थिई न त छोरो नै पुरुषार्थी थियो । भिन्नता त्यति हो, छोरीलाई निरीह हुन सिकाइयो छोरालाई भने वीर पुरुष हुन सिकाइयो । त्यही मनोविज्ञानमा हुँर्किदै जाँदा अन्ततः छोरा र छोरी दुई विपरीत अवधारणाका भए । त्यसरी छोरा छोरीबीच भाषाले पनि ठूलो अन्तर पैदा गर्दै लग्यो । थाहा पाउँदैछु छोरी जन्मिएकी होइन जन्माइएको रहेछ, हाम्रो परिवेशले त्यसरी छोरी जन्माउँदै गयो ।
प्रमुख पात्र मञ्जुको बाल्यकालीन स्मरणबाट झिनो कथानक कहिले विचारमा अल्झिँदै कहिले अतीतमा फर्किँदै अगाडि बढेको छ । तीन पुस्ताका नारीलाई उपन्यासले केन्द्रमा राखेको छ । पुरुष पात्र पनि उतिकै महत्त्वपूर्ण छन् । यद्यपि सहायक छन् । मञ्जु, उसकी आमा र छोरीको नारी मनोविज्ञानमा उपन्यासले प्राचीनदेखि विद्यमान समय र परिवेशलाई देखाएको छ । त्यसैमा पितृसत्तात्मक सोच परिभाषित भएको छ । कृतिले भन्न खोजेको कुरा राम्रोसँग अर्थिएको छ । यद्यपि कथानक कसिलो छैन । समय क्रम पनि अलिक अस्पष्ट नै लाग्छ । घटनाक्रमलाई विश्वासिलो बनाउन सकिएको छैन । पात्रको मनोदशामा पाठकलाई अभीभूत गराउने तत्त्व प्रबल छैन । परन्तु कथाको परिकल्पना भने बडो लोभ लाग्दो छ । मलिलो माटो लेखिनुको उद्देश्य समसामयिक छ । अब यस्ता विषयमा बोल्ने दिन आएको छ । सृष्टिको आरम्भदेखि नै निशब्द सहिरहने धराको बारेमा आवाज उठाउनु एउटा सचेत स्रष्टाको दायित्व हो । त्यस्तै वाक्यहीन, भर्खर जीवनको सुरुवातीमा रहेको भ्रूणबारे हामीले बोल्नु पर्छ । न्याय गर्न सक्नु पर्छ । आवाज विहीनको अवाज उठाउने अनुकूल समय आएको छ अर्थात् युगले त्यसैको माग गरेको छ ।
उपन्यासले पुरुषवादी मानसिकताको विम्बात्मक छाया देखाएको छ । विरोध चाहिँ गरेको छैन । यो राम्रो पक्ष हो । विरोध नगरेरै पनि त समाज परिवर्तन गर्न सकिन्छ नि, चेतनाको स्तरलाई उठाएर । साहित्यको काम भनेकै सचेत गराउने हो । नारा र विरोध होइन । माटो र बीज दुवै समान मूल्यका छन् । घटी बढीको हिसाब प्रकृतिसँग छैन । बस् हामीले नै त्यसलाई तलमाथि बनाएका हौँ । उपन्यासले प्रकारान्तरमा यही भन्न खोजेको छ । लेखककै शब्दमा भन्नुपर्दा सहअस्तित्वमै यो सृष्टि निरन्तर चलिरहने छ । त्यस्तै अर्को के छ भने प्रकृति र पुरुषको मिलनलाई हामीले जुन भूल देखेका छौँ, वास्तवमा त्यो हाम्रो विचारको भूल हो । प्रकृतिले त्यसलाई किञ्चिल भूल देख्ने छैन । यो स्वाभाविक क्रिया हो ।
स्कूल पढ्दै गरेकी मञ्जु एकदिन मसिने दाइसँग वनमा घाँस काट्न गएकी छ । फर्किंदा उसले घाँस मात्रै ल्याइन अनौठो अनुभवसँगै उसको बीज पनि बाकेर आएकी छ । तत्कालको क्षणिक उत्तेजनामा माटो र बीजको मिलन भएको छ । त्यसपछि कथाले घुम्ती मोड्न थाल्छ । उता मञ्जुकी दिदी माइलीको हजार चाहना राख्दा पनि, सन्तान भएका छैनन् । गोप्यतामा दिदी भिनाजुले मञ्जुको कोखलाई आफ्नो बनाउन रातारात उसलाई काठमाडौँ लैजान्छन् ।
माइली आमा बन्छे, मञ्जु कुमारी यौवना । मसिने दाइको बीजले बाधा गरेको पढाइलाई ऊ फेरि निरन्तता दिन्छे । एस.एल.सी सक्छे । प्लस टु पढ्छे । त्यस्तैमा एकदिन कलेजले विद्यार्थीलाई गोर्खा मनकामना, पोखरा हुँदै मुस्ताङको लामो भ्रमणमा लैजान्छ । यात्रामा मञ्जुको साथीबाट फेरि उसको डिम्ब सेचन हुन्छ । काम वासनालाई उत्तेजित गराउने संवाद, परिवेश निर्माण नभएको त्यो समागम त्यति विश्वासिलो लाग्दैन । अन्त्यमा सूचनाजस्तो केही भनिन्छ त्यति मात्रै ।
मञ्जु हरेक दृश्यमा, हावामा, पानीमा, बोट वृक्षमा, हिमाल, पहाड, तलाउ जहाँतहीँ बीजै बीज देख्छे । ऊ स्वयंले एउटा बीज बोकेर हिँडेकी छ । बेलाबेला दर्शनिक मूडमा ऊ आफैँसँग संवाद गर्छे । एकठाउँमा भनेकी छ, “ब्रह्मा, बिष्णु र महेश्वर भनेको अरू केही नभएर जन्म, जीवन र मृत्युका प्रतीकात्मक देवता मात्र हुन् भनेर निकै ठाउँमा पढेकी थिएँ (पृ–७४)।”
माटोको, धर्तीको, प्रकृतिको, जननीको मूल्यबोध गराउँदा गराउँदै पनि ऊ विवश हुन्छे आफूभित्र हुर्किरहेको अर्को धर्तीलाई निमोठ्न । यहाँनेर स्वयं प्रकृति नै कठोर लाग्छ । क्रुर लाग्छ । एउटी कुमारी आमाले, अवैधानिक वीर्यलाई संरक्षण दिनु पर्ने अर्थात् प्रकृतिले जुन दायित्व दिएकी छन्, त्यसलाई हाम्रो समाजले स्वीकार्दैन । महाभारतकी कुन्त्रीले पनि सूर्य पुत्र कर्णलाई नदीमा बगाउनु परेको थियो । वात्सल्य प्रेमको अभावमा उनले त्यसो गरेकी होइनन् । उनी किञ्चित कठोर थिइनन् । लोकलोचनको भय कति ठूलो छ । त्यसैले त उनीहरूलाई घरी घरी क्रुर बन्न लगाउँछ । मञ्जु भन्छे, समयले मलाई क्रुरताको ज्ञान दिइसकेको थियो । म आफैँ काली बनेँ, आफैँ दुर्गे बनेँ । अपराधबोध र पश्चात्ताप गर्नुदेखि उसँग अर्को छनोट थिएन ।
उदेक लाग्दो उसको भोगाइमा विडम्बनादेखि अरू केही छैन । अनित्यता र अस्थिरताको बोधसँगै विवशताको शमन गर्न ऊ शेक्सिपियरको भनाइ सम्झिन्छे, “यो जीवन एउटा पात्र हो । जगत् रङ्गमञ्च हो ।”
मञ्जुकी छोरी हुर्किएर ठूली भइसकेकी छ । छोरी पनि के भन्नु र ? उसले मञ्जुलाई सानिमा भन्छे । पढ्नको लागि ऊ अष्ट्रेलिया गएकी छ । उपन्यासको अन्त्य अन्त्यमा पुगेपछि कथानक अलिक सुदृढ लाग्छ । कथावस्तु र विचारको मिश्रण बलियो हुन्छ । कथानकका मोड धेरै छन् । खहरेको वेगजस्तो ओल्लो कोखो र पल्लो कोखो हान्दै अघि बढ्छ । दिदी भिनाजुको आश्रयबाट ऊ मुक्त हुन चाहन्छे । उसलाई एउटा पुरुष भोग्य वस्तुको दृष्टिले हर्न सकिन्छ कृतिभरि । उसको जीवन भोगाइ नै सम्पूर्ण अवैधानिक लाग्छ । प्राकृतिक दृष्टिले मात्र ती स्वाभाविक लाग्छन् । दिदीको श्रीमान उसको भिनाजु मात्र होइन । अनाधिकारिक लोग्ने पनि हो । माइली दिदी मात्र होइन एउटा सौता पनि हो ।
त्यसपछि मञ्जुको जीवनमा फेरि अर्को पुरुष पात्र निकट हुन्छ, एस.एस.पि. (जीवन सर) भन्ने, प्रौढताको सिँढी चढ्दै गरेको, अर्कैको लोग्ने । बीचबीचमा सहायक पात्र आउने जाने गर्दै रहन्छन् । दुःखका, दर्दका, अवसादका कथा स्मरण गर्दा गर्दै ऊ एकदिन हजुरआमा बन्छे । त्यो पनि अघोषित नै । हजुरआमा हुँदाको खुशी उसले कसैलाई सुनाउन पाएकी छैन अर्थात् सुनाउन भएको छैन । ऊ कुमारी नै छ । यसको आशय, धर्तीलाई जति भोगे पनि कुमारी नै हुन्छ भन्ने हो । यहाँ कति जीवजीवात्माको सृष्टि भयो, कति भइरहेका छन् । उनलाई कतिले भोग गरेर गए, तेरो र मेरो भनी भागबण्डा लगाए । अन्त्यमा यावत कुरा छोडेर ती जान्छन् । जति भोग्दा पनि कहिल्यै नसकिने, कहिल्यै नलुटिने अर्थात् सदा कुमारी नै भइरहने मञ्जुले धराको प्रतिनिधित्व गरेकी छ । ऊ स्वयं धर्ती हो, आफैँसँग खुशी हुन्छे, दुखी हुन्छे । तैपनि ऊ सहन्छे, धिक्कारदिन । उसले एक्लै आमा बन्नु प¥यो, हजुरआमा बन्नु पर्यो । तर पनि ऊ कुमारी नै छे । ऊ भन्छे, “आमा भएर पनि म कुमारी नै रहेँ । जन्मँदा मैले आवज गुमाएँ । सानैमा हजुरआमा गुमाएँ । स्कूलमा हुँदा नै कुमारित्व गुमाएँ अनि आमा बनेँ (पृ–१२९)।”
अर्को ठाउँमा विवशता सम्झेर भन्छे,“मैले अर्को सन्तान मलिलो गर्भमा रोपेर पनि चुँडाएर निर्दयी बनिकन फालेँ। अर्को मजस्तै धर्ती सन्तान गुमाएँ । बिस्तारै ढुङ्गा बन्दै गएँ ।” प्रकृति स्वयं सृष्टि कर्ता हुन् र विनाशक पनि । भ्रूणप्रति मञ्जु निदर्यी भएको देखाउनुको आशय शायद यही होला । बेला बेला ठूलाठूला दैविक विपत्तिले कसरी सृष्टि ध्वंस हुने गर्छ । यो स्वाभाविक कुरा हो ।
आफूलाई धराको रूपमा लिएकी पात्र अझ स्पष्ट हुँदै भन्छे, “खेतमा मात्र बाली उमार्छु तर मेरो मलिलो माटो अब म रुखो पार्छु (पृ–१३१)।”
पछिल्लो समय मञ्जुको सामिप्यमा आएको जीवन एक समृद्ध घर परिवारको, कसैको श्रीमान हो, कसैको बाबु हो । ऊ फेरि अघोषित श्रीमती बन्छे । केही समयमै अघोषित विधवा पनि । उसको खुशी दैवलाई सह्य भएन । ऊमाथि अर्को बज्र खस्यो । उसले सहन बाँकी केही रहेन । यस दिन अकस्मात खबर आयो, एस.एस.पि. जीवन कंगोमा सुरक्षार्थ खटिएको बेला विद्रोही समूहको एम्बुसमा पर्यो रे !
त्यसपछि ऊ बिस्तारै सुख्खा बञ्जर हुँदै गई । बाँझिँदै गई । उसको मलिलो माटो रुखिँदै गयो । पृथ्वीलेभन्दा पनि आफूले बढी सहन लेखेको रहेछ भन्ने कुरा उसलाई महसूस भयो ।
बिम्बात्मक, प्रतीकात्मक अर्थ बोकेको मलिलो माटोले नवयुगको आह्वान गरेको छ । प्रकृतिलाई स्वाभाविक दृष्टिले हेर्न सिकाएको छ । अर्थ विस्तार गरेर हेर्दा यसलाई पर्यावरणीय साहित्य भन्न सकिन्छ । नारी अर्थात् जननीको मर्मलाई वाणी दिँदा नारीवादी सिद्धान्तले पनि हेर्न सकिन्छ । त्यस्तै वाक्यहीन भ्रूणको आवाज पनि यसले उठाएको छ । यसलाई कुन सिद्धान्तमा राखेर हेर्न सकिन्छ त्यो चाहिँ मलाई थाहा भएन ।
मञ्जुको वाणी नभएको देखाउनुको तात्पर्य पृथ्वीको मौनता र सहनशीलतालाई उद्बोध गराउन खोजिएको हो भन्ने मेरो ठम्याइ छ । घोषित र एक पुरुषको मात्रै श्रीमती हुने स्थिति नआउनु भनेको पनि धर्तीकै विशेषता हो । ऊ कसैको एकलौटी पेवा नहुनुको अर्थ पनि त्यही हो । भोग्या चरित्रको रूपमा देखाउनुको आशय पनि उही हो । आफू अनुकूल हरेक तरिकाले धर्र्तीलाई जसले पनि भोग गर्न पाउँछ, सक्छ । बस् उनी सहिरहन्छिन्, “उथलपुथल हुनु नारीको अनि पृथ्वीको एक मूल विशेषता हो । कहिले चिसोले परिवर्तन ल्यायो त कहिले अधिक तातोले । तातो र चिसो, दिन र रात, सुख र दुःख सबै सहनु यो माटोको विशेषता हो (पृ–१३५)।”
समग्रमा उपन्यासले राम्रो सन्देश दिएको छ । स्रष्टाको पहिलो प्रयासलाई धेरै आलोचना नगरी खुशी खुशीले स्वीकार्नु पर्छ । त्यसो त दृष्टिकोण परिपक्व नै छ । केही अशुद्धिहरूलाई न्यूनीकरण गरेर आगामी दिनमा यस्तै युग चेतनाले प्लावित कृतिहरू आइरहून् । स्रष्टालाई यही कामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।