“जीवन आफ्नै भोगाइको सङ्गम हो । त्यही भोगाइको सङ्गममा कहिले आफ्ना लाग्ने भेटिन्छन् त कहिले परार्इ लाग्ने । जो आफ्नो लागे, तिनको खुसीको निम्ति आफैँ बाच्ने कोसिस गरिन्छ । जो परार्इ लागे ती जहाँ भेटिए त्यहीँ छुटे ।” निवर्तमानले दिएको मुख्य ज्ञान यही थियो ।

निवर्तमानको आदि, मध्य र अन्त्य आफ्नै प्रकारको थियो तर मेरो भने आदि, मध्य र अन्त्य फरक भयो । ती पुराना वर्षझैँ पछिल्लो वर्ष पनि गर्मी असारमै भयो, जाडो पुसमै भयो अनि हावाहुरी चैतमै चल्यो तर म नितान्त फरक थिएँ चलिरहेको वर्षमा भन्दा । मेरो हावाहुरी असारमा चल्यो, पुसमा गर्मी भयो अनि चैतमा चिसो भयो ।

चलेको वर्षभन्दा म फरक भएँ । त्यसैले मलाई यो वर्ष फरक लाग्यो किनकि जीवन जसरी चल्यो आफूलार्इ त्यही अनुभव हुन्छ अनि समय त्यसरी नै चलिरहेको छ कि भन्ने भ्रम पनि । जे होस् निवर्तमान आफैँमा एक फरक वर्ष हो, मेरा लागि ।

भनिन्छ नि “दृष्टिकोण आ-आफ्नै हुन्छ ।” हुन पनि हो मेरी आमालार्इ पुसमा हावाहुरी चलेको थियो अनि असारमा जाडोको अनुभूति भएको थियो । त्यसैले आमा भन्नु हुन्छ “यो वर्ष फरक भयो, अझ तिमीहरूको भन्दा मेरो फरक भयो ।” हुन त आमाका आफ्नै बेथाका कारण असारमा जाडो भएको होला,जस्तैः मलाई चैतमा चिसो भयो।

एकै परिवारको सदस्य भए पनि फरक पीडाको महसुसले अनुभवसँगै वर्ष नै फरक लाग्ने रहेछ नि । त्यही कोखको सन्तान र कोखीको बीचमा पनि त वर्ष फरक हुने रहेछ ।

त्यसैले त मान्छेहरू भन्दा रहेछन् नि “यो वर्षजस्तो त कहिल्यै भएको थिएन।” होस् पनि कसरी वर्षको मौसम र आफ्नो मौसम नमिल्दा चेतनाले भरिएको मान्छेलाई त पुसमा समेत गर्मी हुन्छ भने ।

जे होस् “यो वर्षजस्तो अरू वर्ष भएको थिएन।” किन भने, मलाई नयाँ उर्जाले असारमा घच्घच्यायो । त्यही घच्घचाहटले हावाहुरी ल्यायो, हलचल मच्चायो । नजिकका सुक्न लागेका पत्कर आफैँ उडे, हरिया पातले आफैँलार्इ गाह्रो बनाए । उडेका मध्ये केही आफ्नै छेउछाउमा झरे,अरू बिलाए ।

पुसको मौसमी चिसोमा आफ्नो तापक्रम एक्कासी बड्यो, गर्मी भयो । मनमा गर्मी, मस्तिष्कमा गर्मी, शरीर तातो भयो। । शरीरलाई मात्र पोल्यो भतभत । भतभतिएका शरीरका अङ्ग भएर थन्किएका मन र मस्तिष्कमा भएको गर्मीले, भविष्यमा नयाँ आनन्दसहितको शीतलताको खोजी गर्न सिकाउँदै थियो । स्वयं लड्दै थिए दिनानुदिन । शीतलता, शीतलाताकै लागि लडिरहेका सँग । शीतलताकै लागि लड्दा आएका पसिनाकै कारणले होला, मलाई पुसमा समेत गर्मीको अनुभव भयो ।

म शीतलताको लागि लडेँ एक योद्धा भएर । खै कहाँ बिराएँ शीतलताको खोजी गर्दा । चैतको घाममा एकोहोरो बहिरहेको हावा चिसो पाएँ । “शीतल र चिसोमा के फरक छ ?” यो सवालको जवाफ त अनुभूतिले नै दिन्छ । प्रायःलाई लाग्दो हो ” शीतल र चिसो भनेको उहीँ हो” तर एकपल्ट अनुभूति गर्ने मात्र चेष्टा गर्नु भयो भने बल्ल नितान्त फरकको, पहिलो खुट्किलामा पाइला चाल्ने अनुमति पाउनु हुन्छ । फेरि अनुमति पाउँदैमा सबैले खुट्किला चल्छन् भनेर सोच्नु आफ्नै मूर्खता हो । त्यसैले मूर्ख नहुनू होला ।

वर्षको मौसम सदाबहारजस्तै होस् या भिन्न होस् त्यसको यकिन ता मलाई चाहिएन किनकि मेरा लागि त पुसमा गर्मी भएको थियो, असारमा हावाहुरी चल्यो, चैतले चिसो खेप्यो ।

“किन आमा र मबीचको मौसम भिन्न भयो ?” त्यो भन्न सकिन्न । आमालार्इ पुसमा हावाहुरी चल्नुको कुनै कारण उहाँ स्वयंलार्इ थाहा होला।

जस्तो, हजुरलार्इ यो वर्ष कहिले जाडो भयो ? कहिले गर्मी भयो ? कहिले भावनाको छाल नै तरङ्गित हुने गरी हावाहुरी बेतोडले चल्यो ? त्यो स्वयं हजुर बाहेक दोस्रो कसलाई थाहा होला !

अर्धाङ्गिनी मानिएकी पत्नी र परमेश्वर मानिने पतिलाई त आफ्नो सबै कुरा महसुस गराइन्न भने, अरूको के सामर्थ्य होला र ? दोस्रो कसैलाई बुझिदिन।

बुझ्न त ममताकी खानी आमाले केही अन्तर मनको कुरा बुझ्छिन् तर तिनले के गर्नु आफ्नो हावाहुरी छेक्नु कि सन्तानको गर्मी ।

जे होस् “अरू वर्षभन्दा निवर्तमान अति नै फरक थियो ।”

निवर्तमानलाई सम्झिँदा आफैँलार्इ अनौठो लाग्छ । सोच्छु “अहिलेसम्मका जति अनुभव र अनुभूतिका ज्ञान छन्, के ती सबै यसै वर्ष आएका हुन् ?” आफ्नो सोचाइमा आएको प्रश्नको उत्तर आफैँ भेट्दिनँ, अरूलार्इ झन् के सोध्नु । बृहत क्षमताको मस्तिष्क आफैँ अनुत्तीर्ण हुन्छ । मनको चञ्चलताले । मनको अस्थिर चञ्चलपनले गर्दा परीक्षा दिई रहेको मस्तिष्कको अनुभव आफैँ खोसिन्छ । पन्ना खोसिइसकेपछि नलेखिएको परीक्षामा कसरी उत्तीर्ण होस् त मस्तिष्क ? पञ्चेन्द्रियलाई आफ्नो बसमा लिएर हिँडेको यो मन ! मस्तिष्कको लागि छुचो छ । त्यही छुचोपनाको कारण हामी बेमौसमी हुन्छौँ अनि पुसको चिसोमा पनि गर्मीको महसुस गर्छौं ।

“त्यसैले पनि निवर्तमान अरू वर्षभन्दा पृथक थियो ।”

बुझाउन आवश्यक त थिएन होला । नयाँ लेखक न परेँ, फरकपनाको अनुभूति गराउन मन लागेन । (एक्कासी लेखको अहम् भावना प्रकट गर्नुमा यो मनको छुचोपनाले साथ दियो।) छुचो मनले आफैँलार्इ पेल्यो । पुसमा गर्मी किन भयो ? असारमा एक्कसी हवाहुरी किन ब्यूँझियो अनि चैतले चिसो शीतको किन सामना गर्यो ? बुझाउनु पर्छ भनेर ।” यत्तिकै निवर्तमान अरू वर्षभन्दा फरक थियो भनेर कुर्लिन पाइन्छ?” आन्तरिक तत्त्वले प्रश्न गर्यो।

मेरो उत्तर थियो “असारमा भविष्यको लागि सोचेर केही नयाँ गर्ने जोस आयो, जसलार्इ हावाहुरी भनेँ । पुसमा भविष्यको आगि आएको सोचलाई पूर्णता दिन परीक्षाका लागि घोटिएर लागेँ त्यसैबेला गर्मी भयो । चैतमा उक्त सोचको खुट्किलामा पाइला राख्न कतिको सफल छु भन्ने नतिजा आयो, जसमा म अनुत्तीर्ण भएँ, त्यसैले जाडो भयो ।”

त्यसैले गत वर्ष निवर्तमानभन्दा फरक रह्यो।

मैले भविष्यको लागि लडेँ, कसैले वर्षभित्र आउने अघिल्लो महिनाको लागि लडे, कसैले जीवनको नयाँ गन्तव्यका लागि लडे, कसैले आफ्नो बर्सौको प्रतिष्ठा जोगाउनका लागि लडे भने कतिले आउने दिनको सम्मानका निमित्त लडे। कोही आफ्ना लागि लडे, कोही अरूका निम्ति लडिदिए । जे होस् हर कोही न केही कसैको निम्ति लडे । सबै एकै प्रकारका योद्धा बने । कसैले बिजय प्राप्त गरे, कसैले पराजयको सामना गरे भने बाँकी नतिजा विहीन भए ।

अन्ततः मेरो मात्र नभएर ती हरेक योद्धाका लागि निवर्तमान तमाम बितेका वर्षभन्दा फरक रह्यो।

अन्ततः जीवन अरूको लागि जिउनेजस्तो देखिए पनि ज्ञान र खुसी सदैव आफ्नै हो । त्यसैले केही नयाँको लागि लड्ने शक्ति हामी सबैलाई मिलोस् ।

नव वर्ष २०७९ को सबैलार्इ शुभकामना साथै अपार सफलताको कामना ।