गाउँको हाल उहीँ छ । ५ वर्षअगाडि यो गर्छु र त्यो गर्छु भन्ने न फेरि गाउँ छिरे न त तिनीहरुका योजना नै ।
न गाउँमा विद्यालय बन्यो न त अस्पताल नै । छैन पुल खोलामा, तर्छन् तुइनमा पहिलेझैँ । न गाउँमा बिजुली आयो न मोटर , बरु दिनदिनै बढ्यो करको दर र महँगी । हो, ठिक यस्तै छ गाउँको हाल । अभावैअभावमा बाँचेको छ । खेती गर्ने समयमा मलको अभाव, उत्पादन गर्यो बजारको अभाव, हिउँदमा खाद्यान्नको अभाव, बिरामी पर्दा सिटामोलको अभाव !

अमन कटुवाल

यसपाली पनि मलकै अभावले खेतीयोग्य जमिनहरू बाँझा बसेका छन् । बाझिएका खेतहरुमा अब आश्वासनको खेती सुरु हुन्छ । तर फरक के हुनेछ भने, यो खेती कोही किसान गर्नेवाला छैन । खेतमा आश्वासन छर्न विभिन्न पार्टीका प्रतिनिधित्व गर्ने नेताहरूको आगमन हुनेछ ।

– कोही खालि झोला लिएर गाउँको खोलामा पुल हाल्ने योजना बोकी झोलाभरि भोट लाने नियतले आउनेछ्न् ।

– कसैले गाउँलाई मोटर बाटोको मौखिक खाका बताउनेछ्न् ।

– कोही गाउँका समस्याको समाधान लिएर आउनेछन्, मानौं ऊसँग समस्या समाधान गर्ने जादूको छडी छ ।

गाउँका कुनाकुनामा रङ्गीचङ्गी झन्डा फरफराइरहेका छन्, पक्ष-विपक्षमा जिन्दाबाद र मूर्दावादका नारा लाग्न थालिसकेका छन् । घरदैलो कार्यक्रम सुरु भइसकेको छ । बाँझा खेतमा छरिएका आश्वासनको बिउ घरघर पुर्याउने क्रम जारी छ । गाउँमा उमेद्वारको फोटोविहीन र झण्डाविहीन भित्ता र रुखहरू लोप भइसकेका छन् ।
जति नै तडकभडक गरे पनि हाम्रो मतबिना कसैको जित निश्चिति छैन । जितका लागि धेरैभन्दा धेरै हाम्रो मतको आवश्यकता परेकाले उम्मेद्वारी दिनेहरू दिनरात नभनी हाम्रो समस्या समाधान गर्छु भनी लागि परेका छन् ।

जनतामा प्रश्न छ, गाउँको हितको साँचो कसको हातमा दिने त ? भोट कसलाई, हाम्रालाई कि राम्रालाई ? भावनामा बगेर मत दिने कि विवेक पुर्याउने ? धेरै कुरा हामीमा निर्भर हुने कुरा हो । हाम्रो एक मतले गाउँको मुहार बद्लिन सक्छ । त्यसकारण मत दिनुभन्दा अघि १० हैन १०० पटक सोचौं ।

– दुई छाक मासुभात खुवाउने फलानोलाई जिताउने कि योग्य ढिस्कानोलाई जिताउने ?

– चुनावअघि टीका लगाई १०००/२००० दक्षिणा दिने फलानोलाई जिताउने कि केही गर्छु भनी उम्मेद्वारी दिएको ढिस्कानोलाई जिताउने ?

– पहिले नै पद समालिसकेर पनि सिन्को नभाँच्ने फलानोलाई दिने कि सम्भावना बोकेको नयाँ अनुहार रोज्ने ?

विचार पुर्यौँ, आशैआशमा बाँच्ने कि परिवर्तनमा ? केवल परिवर्तन शब्दबाहेक सबै कुरा परिवर्तनशील छन्, त्यसैले परिवर्तन रोजौँ । आशामा मात्र कति बाँच्ने ?

द्रष्टव्य : भर्खरै विश्व मूर्ख दिवस (अप्रिल फुल) गइसकेको छ । म जति मूर्ख हुनु थियो त्यही दिन भइसकेँ, अब भावी दिनमा कुनै पार्टीको घोषण पत्र हेरी मूर्ख नबन्ने निर्णय गरिसकेँ । तपाईँ पनि बेलैमा सोच्नुहोस् है त !