कोठाको उकुसमुकुसमा असह्य भएपछि म आफ्ना नाङ्गा वक्षस्थललाई पातलो कालो सलवारले ढाकेर कोठाको झ्याल खोल्छु । कोलोनीमा आज पनि शान्ति नै छाएको छ । अक्सर यहाँ प्रेम प्रसङ्गका विषयमा बहस चली नै रहन्छ । दोस्रो पटक पनि सुसाइड नोट लेखेर च्यातिसकेपछि मेरा लागि अब प्रेम कहिल्यै अमरताको कुरा नहुने भयो । कसैको सामिप्यको मिठो आशाले म सधैँ मात्तिरहेकी हुन्छु । यो सहरले मलाई यस विषयमा अत्यन्तै क्रुर तवरले गलाइदिसक्यो । बेवारिसे बनेर घुमिरहेका बेरोजगार पुरूषले चुरोटको अन्तिम सर्को तानेर फ्याकेको खिल्ली जस्तै चलिरहेछ मेरो जिन्दगी । आशा छ, अझै पनि चलि नै रहन्छ ।
अगाडिको कोलोनीमा गुलबदिनको दिनचर्या उसै गरेर बितेको देख्छु । नजर लगाउछु । कति डुबेर पढिरहन्छे यो केटी । आज पनि उसको हातमा उहीँ पुरानो उपन्यास छ, उमार एहमदको पिर -ए-कामिल-कामिल । आखिर यो केटीको दिमागमा के चल्छ हँ ? प्रेमको रहस्यमा चुरचुर भएर जान्न चाहन्छु भन्छे । तर यसलाई किन कुनै पुरूषको आश्चर्यजनक स्पर्शले तान्न सकेन होला ? हो स्पर्श । एउटा नमिठो आग्रह, एउटा अत्यासलाग्दो पीडा, एउटा अवर्णनीय अनुभूति । छि : । उनको विषयमा कोलोनीलाई नै आशमानमा पुग्ने गरी चिच्याउन चाहन्छु । गुलबदिनको कानसम्म तिखो आवाज पुग्ने गरी कराउन चाहन्छु । ओ गुलबदिन ! तँ त्यही नारी होस्, जो मलाई प्रत्येक रात पुरूषको रूपमा छलिरहन्छेस । मलाई मार्न चाहन्छेस । ओ गुलबदिन ! तँ त्यही नारी होस, जसले आफ्नो कुरूप नजरमा कोलोनीमा जवानी बिकाउछेस ! हो गुलबदिन तँ इज्जतकी मस्तानी होस् । तेरो कदर मेरो तुष्छ शब्दले मात्र बयान गराइरहन्छ ।”
मेहरिनको कोठाबाट कुकुर भुकेको आवाजले मलाई मेहरिनको सम्झना गरायो । एउटी विवाहित नारी । एउटा सिङ्गो फ्ल्याटमा कुकुरको साथमा एक्लै कसरी बस्न सकेकी होली ? सम्झिन्छु उनको उमेरलाई, साहसलाई । अहो ! के नजरको अपवित्र मै मात्र हो कि ? फेरि सोच्छु, कुनै समयमा म पनि शुद्व नै थिए नि । यो ओठलाई मुराद हाशमीले नछोएको कुनै दिन थिएन नि । उसलाई सधैँ भन्ने गर्थेँ । प्रेम त म तिमीलाई कहिल्यै गर्दिनँ । केवल छुनमात्र चाहन्छु, मुराद हाशमी । त्यो धड्कनसम्ममा पुग्नेगरी । मलाई छोडेर गएपछि पनि प्रेम शब्दमाथि तिमीलाई कहिल्यै घृणा हुनेछैन । नभन्दै, घृणा उसलाई कहिल्यै भएन होला प्रेममाथि । तर, ममाथि पक्कै पनि भएकै हुनुपर्छ ।
कालो कुर्था लगाएर म गह्रौँ पाइला बनाउँदै मेहरिनको कोठा तर्फ लागेँ । डोरबेल बजाउन कुनै आवश्यकता थिएन । उनको कोठाको ढोका खुल्लै थियो । अघिसम्म भुकिरहेको मेहरिनको कुकुर अहिले पलङमाथि लम्पसार छ । यसरी लम्पसार छ कि, अबको केही समयपछि अब उसले कहिल्यै लम्पसार भएर सुत्न पाउदैनझैँ गरेर ।
“ओ शाइस्ता खानजादा ! हेर त म कस्ती देखिएकी छु ।” निलो साडीमा सजिएकी मेहरिनको रूप उत्तिनै राम्रो थियो । जति राम्रो चुडेको फूललाई हाँगा राम्रो लाग्छ । एकतर्फबाट लोभ त नलागेको होइन । उसको घाँटीको वारपार हुनेगरी छुरा चलाउने पनि मन छ नि । तर, म यस्तो गर्न सक्दिनँ । मलाई ऊ यति राम्री लाग्छे कि अबको जन्ममा उसैको लागि लोग्ने बनेर निगाह गरूँ ।
बस, उसको निधारमा चुमिदिएँ । अत्तरको बास्ना मेरै शरीरमा पनि पस्यो ।
“कसको लागि यत्तिको सजधज मेहरिन ?” मैले उनलाई सोधेँ ।
“मुराद हाशमी आउँदैछ आज ।”
मुराद, हो मुराद हाशमी । मेरो बर्बादी आउँदैछ आज । उसको लोग्ने । मेरो बर्बादी । उसको लोग्ने । मेरो बर्बादी । … एउटै कुरा दिमागमा घुमिरह्यो । मेरहिनले घचघचाउँदा पो त म होसमा आएँ । अफसोच, जब मुराद हाशमीको नाम सुन्छु त केवल मेहरिनको बर्बादी देख्न मन लाग्छ । तर देख्ने साहस छैन ममा ।
“प्यारी मेहरिन ! मलाई माफ गर । मलाई तत्काल बजार जानू छ ।” यति भनेर म मेहरिनको कोठाबाट निस्किएँ । मेहरिनले के सोचिन् होला ? अनि म, के अब साँच्चिकै बजार जाने हो त ? तर के किन्न ? वा मुरादबाट भाग्नको लागि । हो मुरादबाट भाग्नु छ मलाई । उसँगको धोकालाई फेरि देखाउनु छैन । मेहरिनको जिन्दगीमा मलाई पस्नु छैन । म सरासर कोठाभित्र पसेर चुक्कुल लगाउछु । सिलिङमा झुन्डिएको पङ्खाले मलाई पक्कै पनि एकटकले हेरिरहेको हुनुपर्छ ! अब यो केटी आफ्नो जीवनको अन्तिम पत्र अपरिचित मान्छेको नाममा लेखेर ममाथि बोझ थुपार्छे भन्दो हो । मलाई पनि लाग्यो, यही कोठाभित्र कहिल्यै ननिस्कने गरेर बसुँ । फेरि मर्नबाट डर लाग्यो र सोचेँ कि बाहिर बजारसम्म पुग्नु छ मलाई । आज नै । अहिले नै । बिनाकारण । बिनासोचको ।
मुराद हाशमी आइपुग्ने बेला भयो । ऊ प्रत्येक छ महिनामा एक पटक मेहरिनलाई भेट्न आउँछ र एक हप्तासम्म उसैसँग बस्छ । मलाई यस समयमा उकुसमुकुस हुन्छ । त्यो एक हप्ता मेरा लागि यति दर्दनाकको हुन्छन् कि, कि त मलाई बाहिर होटलमा बस्न जानुपर्ने हुन्छ, कि त कुनै साथीकोमा ।
कपडा लगाएर एउटा सानो हाते ब्याग बोकेर म कोठाबाट निस्किएँ । हतारहतारका साथ । मुराद हाशमी पछिल्लो दुई पटकको बेलामा पनि यति नै बेला आइपुगेको थियो । अबको बेलामा पनि पक्कै ऊ यति नै बेला आउनेछ । मलाई थाहा छ, ऊ समयको कति पक्का मानिस हो भनेर ।
म कोलोनीको गेटबाट निस्कने बित्तिकै उसको उहीँ पुरानो कालो गाडी कोलोनीको गेटभित्र पस्यो । धन्न यो पालामा मलाई यति साह्रो दु:ख भएन । केही नसोची म बजारतिर लागेँ । उहीँ रातमा परिचित भद्र भलाद्मीहरूको मलाई हेरी मुस्कुराइरहेको अनुहार देख्नु थियो । देखी नै रहेँ । हेर्नू थियो, हेरी नै रहेँ । अब उनीहरूको निम्तो । अहँ, मैले छाडिदिसकेँ यस्ता बारेमा सोच्न ।
यो बजारको उपल्लो गल्लीमा मुराद हाशमीसँग हात समातेर हिँडेको अझै पनि याद छ मलाई । उसको चिल्लो सेता छालामा उम्रिएको खस्रो दारी, चुरोटले कालो बनाएको ओठले चुसेका मेरा यी सेता छालाहरू, निभाएर पनि निभ्न नसकेको मैनबत्तीको उज्यालो सबैसबै याद छ मलाई । तर अहिले म एक्ली भएकी छु । प्रत्येक गल्लीमा देखिएका परिचित पुरूषहरूलाई देखेर पनि एक्लै । मेरो चिसो हातलाई समाएर यो बजारको अँध्यारा गल्लीसम्म पुग्ने मेरो मुराद हाशमी अहिले मसँग छैन । थाहा छैन मलाई मुराद अहिले के गर्दै छ मेहरिनसँग । फेरि याद आउँछ उही अभागिनी बङ्गाली केटीको कविताका हरफहरू । गुनगुनाउछु त्यही शब्दहरू । ‘जब तिमी हुँदैनौ मेरो साथमा, तब नै तिमी हुन्छौ मेरै साथमा, सबैभन्दा धेरै, सबैभन्दा प्रिय बनेर !’ हो, प्रिय बनेर । मुराद हाशमी प्रिय बनेर । फेरि गुनगुनाउछु ‘म हिँड्नै लाग्छु जब, तब यस्तो लाग्छ, तिमी पनि हिँडिरहेका छौ मेरै साथमा । तिमीलाई लिएर जान्छु म बजारमा । किन्छु तिनै चिजहरू, जुन तिमीलाई अधिक प्रिय छ । प्रिय ! यो जानेर पनि; यो बुझेर पनि; तिमी नै छैनौ मेरो साथमा ”
मेरा लागि त प्रेम एउटा बर्बादी हो । जति पटक बजारमा सामानको भाउ घटन थाल्छ । त्यति नै मेरो प्रेमको मूल्य बढेर आउँछ । किन्न चाहन्छन एकै पटक । छुन चाहन्छु मेरो छातीको हृदयसम्म पुग्ने गरेर । त्यही पनि कति चाडैँ थाक्छन पुग्नै नपाइकन । खुसी त उनीहरू कहिल्यै हुन सकेनन् । अनि म ? हो म मसँधै खुसी हुन्छु । अनि बिक्री गरिदिन्छु अर्को ग्राहकलाई । जवानी किस्ता-किस्तामा ।
दिन ढल्दै छ । मैले बल्ल पो सोचेँ । मैले त पैसा पनि ल्याउन बिर्सेछु । अनि आफ्नो लागि सामान । म त केवल मुराद हाशमीदेखि भाग्न चाहन्थेँ । भागे पनि तर अब म के गरूँ । एकछिन त फेरि पनि चक्कर लागेर आयो । फेरि कोलोनीमा जाऊँ भने मुराद हाशमी त्यहीँ छ । हो मुराद त्यहीँ छ । तर कहाँ ? कोलोनीमा ? हो कोलोनीमा । अहो म पनि कति हुस्सु भएकी । मेहदाले त मात्र मुराद आउँदैछ भनेको हो । आजै भनेको त होइन नि । फेरि सोच्छु । त्यो कार ? हुन सक्छ मैले मुरादलाई सम्झेपछि त्यो कार पनि उसैको सम्झेकी हुँ । यदि मुराद आउथ्यो भने त पक्कै पनि मेहरिनले मलाई पहिले नै भन्थिन् । उनको खुसीको सिमा हुनेथिएन । उनको कोठामा सङ्गीत बज्न थाल्यो । खाटको तन्ना फेरिएको हुन्थ्यो । भित्तामा नयाँ पोस्टर चिप्काइएका हुन्थे । बाहिर गमलामा नयाँ किसिमका फूलहरू फुलिरहेका हुन्थे । हो उसको लोग्ने मुराद आएको छैन । मेरो बर्बादी मुराद हाशमी आएको छैन ।
ब्यागमा भएको जति पैसा निकालेर अटोलाई दिए र म लागेँ फेरि कोलोनीतिर । तर, मनमा एक तमाशको व्याकुलता छाइनै रह्यो । यदि मुराद साच्चिकै कोलोनीमा आएको रहेछ भने ? म के गर्ने ? फेरि मन मानेन । भोलि बिहानसम्म त थाहा भैहाल्छ नि ! कोलोनीमा पुग्दा झिमिक्क रात परिसकेको थियो । माेबाइलकाे लाइट बाले अनि बिरालाेकाे चालमा आफ्नो काेठातिर लागे ।
बाहिरको गर्मी । भित्रबाट बेचैनी । मलाई अब केवल सुत्नुमात्र थियो । मेहरिनको कुकुर फेरि भुक्न थाल्यो । कहिलेकाहीँ त लाग्छ’ मेहरिन र कुकुरलाई एकैपटक यहाँबाट तल भुइँमा पुग्ने गरी धकेलिदिऊँ । तर फेरि मन मान्दैन । ढोकालाई भित्रबाट लक गरेँ । निवस्त्र भएँ । चिहाएँ आफ्नै शरीर । उठेका वक्षस्थल, कसिलो नितम्ब, सेता छाला । एकछिन त लाग्न थाल्यो म पनि त त्यही व्लादिमीर नाबोकोवले खोजेको लोलिता न हुँ ।
***
एउटा चिसो पुरूष गन्धले मेरो नाकलाई छोयो । मेरो अगाडि एउटा पुरूषको छाया उभिएको थियो । डराउनुभन्दा मेरो पहिलो कार्य अरू केही भएन । तर, होस समालेँ । टेबुल लाइट बालेँ । अगाडि मुराद उभिएको थियो । उसले हत्तनपत्त मेरो मुख थुनिदियो। उसलाई केवल कुरा गर्नु छ । जति बदनामी मैले गर्नु थियो मैले गरिसकेँ । अब केबल मुरादको बदनामी हुनु थियो । उसलाई ती तमाम घृणाको कुरा गर्नु छ । मेरो बेबफाईको कुरा गर्नु छ ।
उसले मेरो मुखबाट हात निकाल्यो, लाइटको उज्यालोमा देखिएको मेरो नाङ्गो शरीरलाई उसले बेवास्ता गर्दै । शरीर ढाक्न कपडा दियो र लाइट बन्द गरिदियो । बदलिएको छ ऊ । हिजो मेरै शरीरको गन्धमा निदाउने पुरूष । उसका लागि कयौँ रातको अनिदो भएकी थिएँ । आज उसको हालत मेरा पुराना दिनहरूझैँ छ ।
“मलाई थाहा छ शाइस्ता खानजादा ! यो मध्यरातमा कुनै पुरूषले एउटी स्त्रीको कोठामा पस्ने समय होइन । तर, मलाई यो पनि थाहा छ कि एउटी वेश्यालाई रातको समयभन्दा अरू कहिल्यै पनि भेट्न सकिँदैन भनेर । यहाँ नै तिमीले मेरो बाबुको हत्या कसरी गर्यौ ? के का लागि ? भनेर सोध्न आएको हुँ । यहाँ नै तिमीले मेरो कति सम्पत्ति चोरी गर्यौ भनेर ? म त केवल यहाँ प्रायश्चित मात्र गर्न आएको हुँ ।”
मैले बुझ्न सकिनँ उसका वाक्यहरू । सबैलाई थाहा छ जुन दिन हाम्रो विवाह हुने थियो त्यसको अघिल्लो रात मैले उसको बाबुको हत्या गरेकी हुँ । म हत्यारिणी हुँ । तर, कसैलाई थाहा छैन कि मैले उसको बाबुको हत्या किन गरे भनेर ?
उसले लाइटको स्विच अन गर्यो । उसको शरीर पूरै सुकेको पाएँ । दुब्लाएछ । तर पनि उसको आँखामा त्यतिकै चमक पाएँ । जति चमक मेरा लागि संसारको सबैभन्दा सुन्दर वस्तु थियो र आजसम्म पनि छ । उसले मेरो हात समात्यो र भुइँतिर झुकेर भन्यो, “मलाई माफ गर शाइस्ता ! तिमीले मेरो बाबुको हत्या गर्यौ किनकि, आफ्नो इज्जत बचाउन । मैले केबल हत्यारिणी सम्झिए तिमीलाई । जुन चोरी तिमीबाट भएकै थिएन त्यसको दोषी ठहराएँ। त्यसैको प्रतिशोधमा मैले मेहरिनसँग निगाह गरेँ । तर जुन दिनदेखि सबैकुराका थाहा पाएँ । आजसम्म तिम्रै तलासमा छु ।”
उसको लागि मैले भन्ने केही कुरा थिएन । न नै सफाइ दिन आवश्यक थियो । म मौन भई उभिनै रहेँ ।
“तिमी नै त मेरो प्राण हौ, शाइस्ता खानजादा । तिमीलाई घृणा कहाँ ? तिमीले सोच्यौ होला मुराद हाशमीले मेरो शरीरलाई मात्र छोएकी थियौ तर साँच्चै नै तिमीले मेरो धड्कन छोयौ । तिमीपछि तिमीसँग घृणा थियो तिम्रो प्रेमसँग होइन । तिमीसँग प्रायश्चित गर्नु थियो । अटोबाट झर्दै गरेको देखेको थिएँ । कति खुसी त्यो अवर्णनी छ मेरा लागि । कोलोनीको अफिसबाट चाबी चोरर तिमीकहाँ आईपुगेको हुँ । विश्वास छैन अझै पनि मलाई तिनै शाइस्ता खानजादा आज २१ महिना पछि एउटी वेश्या बनेको देख्दामा । भरोसा छ तिमीमाथि , मलाई माफ गरिदिनेछ्यौ भनेर । जुन हालतले तिमीलाई वेश्या बनायो त्यसमा मेरो नै कशुर छ । अन्तिम पटक भन्दैछु शाइस्ता खानजादा मैले तिम्रो हृदयसँग प्रेम गरेको हुँ, तिम्रो आवरण शरीरमाथि होइन । यदि भोलि हाम्रो जीवनको सबैभन्दा कठिन दिन हुनेछ भने म तिमीसँगै साथ रहने कोशिस गर्नेछु ।”
यति भनेर ऊ मेरो कोठाबाट बाहिरियो । थाहा भएन उसले मेरो कुरा सुन्न आवश्यक थियो कि थिएन भनेर ? उसले मलाई यस्तो हालतमा देख्नु स्वभाविक थियो कि थिएन होला भनेर ? र मलाई अब यो पनि थाहा भएन कि किस्ता किस्तामा बिकी रहेको यो जवानी फेरि मुरादलाई अर्को थप एक किस्तामा फेरि बेच्न आवश्यक छ होला कि छैन भनेर ?
एकछिन पछि तलबाट गाडी गुडेको आवाज आयो । झ्यालबाट देखेँ । मुरादको त्यही कालो कार थियो जो अति नै रफ्तारको साथमा कोलोनीको गेटबाट सहरतिर बत्तिरहेको थियो ।
मलाई लाग्यो कि मेहरिनलाई यो कुरा भन्न आवश्यक छ । म उनको कोठातिर लागेँ । अहिले पनि उनको कोठाको ढोका खुल्लै थियो । भित्र पसेँ । लाइट बलिरहेकै थियो । तर, उनको कुकुरको घाँटीबाट रगत बगेको देखेँ । त्योमाथि मलाई कुनै दया आएन । सोचेँ मेहरिनसँग झगडा पर्यो होला यसको ।
“किन शाइस्ता खानजादा ! मुराद तिम्रो कोठामा छैन ?” आवाज किचन रूमबाट आयो । म त्यतैतिर लागेँ । मेहरिन त्यहीँ थिइन् । उनको हातमा धारिलो चक्कु थियो ।
“एउटी वेश्याले तबमात्र फुर्सद पाउँछे, जब उसको औछ्यानमा कुनै पुरूष थाकिसकेको हुन्छ ।”
“तिमी यो के भन्दै छौ, मेहरिन ?” मैले भनेँ ।
“किन तिम्रो रहस्य मलाई थाहा छैन । जुन चिज मैले आजसम्म लुकाइरहे त्यो चिज आज भएरै गयो होइन । तर म अझै पनि हार मान्नेवालामा छैन शाइस्ता खानजादा !”
” कस्तो चिज ?”
“मुरादको सबै सम्पत्तिको म एक्लो हकदार बन्न चाहन्थेँ मुरादसँग बिहे गरेर । तिमीले केबल मुरादको पितालाई धक्का दिएर बाहिरियौ । मैले गएर उनलाई मारिदिएँ । सोचेको थिएँ मुरादको बाबुको कारण तिमी बदनामीको कारणले मर्नेछौ । अनि मुरादको बाबुलाई बलात्कारको नाममा मेरो जेल पठाउने विचार थियो । तर योजनाले विफल खायो । मुरादको बाबुलाई मैले नै मार्नुपर्यो । तिम्रो नाममा भएभरको सम्पत्ति मैले नै चोरी गरेँ । उसँग बिहे पनि गरेँ । तर मुरादले उसको बाबूको हत्या के कारणले भएको हो त्यो थाहा पाएरै छाड्यो । तिमी मुरादको अगाडि बेइज्जतीले मर्नेछौ भनेर मुराद आउने कुरा दुईपटकसम्म भनेँ । तर तिमी भागिरह्यौ । मलाई थाहा छ तिमी मलाई मार्न चाहन्छौँ तर तिमीले मलाई उत्तिकै माया पनि गर्छ्यौ । तर, तिमीलाई थाहा छैन तिमीलाई म मार्न चाहन्छु भनेर त्यो पनि बेइज्जतीले । एउटी वेश्याको अन्त गर्नु कुनै पाप हुँदैन शाइस्ता खानजादा ।”
” के तिमी अझै पनि मलाई मार्न नै चाहन्छौ ?”
“यो मेरा लागि व्यर्थको प्रश्न हो, शाइस्ता ?”
“तिम्रो लोग्ने यो मध्यरातमा बाहिर गएको छ । कारको गति तेज छ । तिमीलाई कुनै परवाह छैन ।?”
“विवाह भएको आजसम्म म तड्पी नै रहेँ, मुरादको मायाको लागि । तर, उसको लागि त केवल तिम्रो नाम नै काफी भयो । सम्पत्तिको लागि आजसम्म तड्पी नै रहेँ । कानूनले मलाई मुरादको श्रीमती भन्छ । जब मुराद नै रहँदैन त इद्दतको समयपछि मुरादको सम्पत्ति मेरो हुन्छ, शाइस्ता खानजादा । यतिखेर सम्झ कि मुरादको कारमा केही गडबडी गराइएको छ मद्वारा ।” यति भनेर मेहरिनले ममाथि चक्कु चलाइन् । मेरो कपडालाई काटेर चक्कु मेरो पाखुरामा लाग्यो । घाउ गहिरो नै भयो । तर दोस्रो वार मैले रोकेँ ।
“तिमीले आफ्नो अपराध कबुल गर्नुपर्छ मेहरिन होसमा आऊ !”
“जबसम्म म मुरादको सम्पत्तिको एक्लो मालिक बन्दिनँ तबसम्म सबै मारिनेछन् शाइस्ता खानजादा, तिमी पनि ।”
मलाई उसको यो हरकत रोक्नु थियो । उसलाई शान्त गराउनु थियो । उनको रिस झन् बढदै गयो । मेरो पाखुराबाट उत्तिकै रगत बगिनै रह्यो । किचनमा सामान उत्तिकै बिग्रियो ।
मैले उनलाई होसमा ल्याउने धेरै कोसिस गरेँ । उनको हातको चक्कुलाई काबुमा लिएँ । केहीबेर हामीबीच लडाइँ भइ नै रह्यो । उनी पोखिएको पानीमा चिप्लिइन् र झ्यालतिर हुत्तिइन् । तर मैले उनलाई किचनको झ्यालबाट खस्नबाट बचाउन सकिनँ । एउटा तिखो दर्दनाक आवाज कोलोनीको भुइँबाट आयो र बन्द भयो ।
मलाई थाहा छ ए मेरा खुदा ! मरेर जानेहरूले पनि चोट दिन सक्छन् । तिनीहरू नृत्यमा निपुण हुन्छन र अरूलाई नचाउने साहस राख्दछन् । चिसो रातमा बगेको तातो रगत नै जिन्दगीको अन्तिम किस्ता हो । र मलाई यसको बदलामा आफ्नो पूरै किस्ता चुकाउनु छ । एउटा पुरूषको नाममा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।