विद्यालयमा सत्य बोल ! झुटो नबोल ! भनेर पढियो । तर हामीलाई विश्वविद्यालयमा पढाउने दीपक पराजुली सरले भने ‘मिथ्या’ लेख्नु भयो । उहाँको उपन्यास ‘मिथ्या’ अहिले नाउँछन् । भय दाचर्चामा छ । पिएन क्याम्पस पोखरामा बीएएलएलबी संकायमा प्राध्यापन गर्ने हुनाले म जस्तै विद्यार्थीहरुले उहाँलाई हाम्रो आदरणीय गुरुको रुपमा पनि चिन्दछौँ । सरको मिथ्या उपन्यास अहिले उदाउँदो सूर्यको प्रकाश झैँ जताजतै फैलिएको देख्छु । उपन्यासभित्रका शब्दहरु स्वादिला छन् । सशक्त छन् । पढ्दै जाँदा अब के होला, अब के होला ? भन्ने कौतुहलता अन्त्यसम्म रहन्छ । कति बाक्यहरु त मेरो मनमा अझै पनि गुञ्जिरहेका छन् । मलाई पनि उपन्यासबारे केही लेखौँ भन्ने लाग्यो र यो लेख तयार गरेँ ।
हुन त मिथ्या आफैँमा झुट्टा, असत्य, बनावटि, भ्रम, जस्ता अर्थ बोकेको शब्द हो । सत्य लेख्न छोडेर किन मिथ्या लेखिएको होला जस्तो लाग्ला । तर यही शिर्षकमा लेखिएको उपन्यासले भने हामीले बाँचेको समाज र यहाँका मानिसहरुको प्रवृत्तिलाई सत्यसाँचो रुपमा उतारेको छ । त्यसैले उपन्यासको नाम मिथ्या भएपनि यसले सत्य कुरा्य कुरा तिनया गरेको छ । उपन्यास पढ्दै जाँदा मैले हाम्रो समाजका हरेक गतिविधिलाई पनि सँगसँगै नियाल्दै गएकी थिएँ । मान्छेहरुले कति झुठा कुराहरुलाई पनि सत्य मानेर आपसमा व्यवहार गरिरहेका हुन्छन् । साँच्चै भन्ने हो भने मिथ्यामा रचिएका काल्पनिक पात्र त म हाम्रै समाजको वरपर पाउँछु । उपन्यासको कथावस्तु जति नै स्वैरकाल्पनिक भए पनि त्यसको सार कुरा त मैरै समाजमा घटनाहरु बनेर घटिरहेको पाउँछु । अनि समाज सत्य भए पनि बाँचेको समाज भने मिथ्या भन्दा फरक छैन । कतै हामी यथार्थ कम र देखावटी र नक्ककली जीवन बढि बाँचिरहेका पो छौँ कि ? झुटा कुरालाई नै सत्य ठानेर त्यसैलाई प्रचार गर्दै हिँडिरहेका पो छौँ कि ?
लेखकले उपन्यास लेख्दा आफ्नै सोच विचारले लेखे पनि पढ्ने पाठकले त्यसलाई आआफ्नै ढंगले बुझ्ने गर्दछन् । उपन्यासको कुरालाई उनीहरुले आफ्नै अर्थ लगाउन सक्छन् । जुन कुरा एकदम स्वभाविक हो । किनकि हरेकले समाजमा घटेको एउटै घटनालाई पनि फरक फरक तरिकाले बुझ्ने गर्दछन् । एउटै मान्छेलाई पनि अरु मान्छेहरुले फरक फरक तरिकाले हेर्ने गर्दछन् । मैले पनि यो उपन्यासलाई आफ्नै ढंगले बुझेकी छु । मिथ्या उपन्यासमा पनि मैले केही भुल्नै नसकिने पात्रहरू भेटेको छु । म उनीहरुको बारेमा आफ्नै तरिकाले विवेचना गर्दछु ।
१. मोहदत्त- उपन्यासको मुख्य पात्रहरु मध्येको एक हो । ऊ जगतमिथ्याको एक साधारण जनता हो । साधारण जनताको बाध्यता के हो ? उनीहरुको विश्वास र जीवनशैली कस्तो हुन्छ ? सरकारी कार्यालयहरुमा आफ्नो सानो कामका लागि पनि सामान्यजन कसरी प्रस्तुत हुनुपर्ने बाध्यता छ ? उसको परिचय यस्तै सन्दर्भबाट शुरु हुन्छ । उसले कथामा शुरु आफूलाई भुतपूर्व कवि हो भनेर चिनाउँछ । तर उसको परिचय यतिमा मात्र सिमित छैन । उपन्यासको कथा अघि बढेसँगै उसको परिचयमा पनि रहस्यमय सन्दर्भहरु जोडिएर आउँछन् । उपन्यासमा उसको भूमिका एक रहस्यमय अभियुक्तको छ जसमाथि हत्याको आरोप लगाइएको छ । उसको खोजीमा नै उपन्यास बगेको छ ।
२. कुम्भोदर- जगतमिथ्याको सरकारी हाकीम । तपाईँले नेपालको कुनै न कुनै सरकारी कार्यालयमा उहाँलाई देखेको हुनुपर्छ । सरकारी हाकीम जसले आफुलाई नै सरकार सम्झन्छ । मालिक सम्झन्छ । राज्य सम्झन्छ । त्यसैले भएभरको सम्मान जति उसैलाई चाहिन्छ । तर उपन्यासले भन्छः हि इज अ रङ म्यान इन द राइट प्लेस । हाकीमको रहस्यम हत्या भएको छ र कथा रहस्यमय गुफामा प्रवेश गरेको छ ।
३. बार्बरिक- महाभारतको पात्र । र मिथ्याको पनि एक पात्र । मुर्दाराजलाई जिउँदो बनाउन प्रयासमा वीरगति प्राप्त गरेको । मुर्दाराजको प्रसंगले सोचमग्न बनाउँछ । कतै यो राज हाम्रै वरपर त छैन । हामी नै त्यसरी बाँचिरहेका पो छौँ कि ? कोही हामीलाई जगाउन आएको थियो तर हामीले नै उसलाई हराउन लाग्यौँ कि ?
४. श्रापित यक्षणीः स्वर्गलोकको यक्षणी भएर मर्त्यलोकको मनुष्यसँग प्रेम गरेको अभियोगमा इन्द्रले श्राप दिएर कालवृक्षमा बाँधिएर बस्नुपरेको छ । कालवृक्षको हाँगा काटेर त्यसबाट तयार भएको एक हजार आठ कलमले कथा लेखिएपछि मात्र यक्षणीले पनि मुक्ति पाउँछिन् भनिएको छ । तोरणघाटको बुढो माझी जो कालवृक्षको हाँगा काटेर एक हजार आठ कलम बनाएर कथा लेख्ने मान्छेलाई पर्खेर बसेको छ । उसले आफ्नो मृत्युभन्दा पहिले उही यक्षणीको मुक्ति कुरेर बसेको छ । के कालवृक्षको बन्धनमा परेकी श्रापित यक्षणीले मुक्ति पाउँछिन् त ? जान्नको लागि उपन्यास पढ्नुपर्छ ।
५. अज्ञानानन्दः कुनैबेला एकादेशको पण्डित जसलाई वेददेखि विज्ञानसम्मका सबै कुरा थाहा थियो । एकादेशमा वर्षैपिच्छे हुने शास्त्रार्थ प्रतियोगितामा त्यो पण्डित विजेता हुँदै आएको थियो । आखिरमा ऊ कसरी अज्ञान प्लस आनन्द इज इक्वेल टू अज्ञानानन्द भयो ? ऊ किन कालिगण्डकीमा तपस्या गरिरहेको छ ? उसले किन आफूलाई केही पनि थाहा नभएको बताउँछ ? यो प्रसंग मलाई निकै रोचक लागेको हो ।
६. सापेक्षः जगत मिथ्याको नेपाल हेर्ने एजेन्ट । मोहदत्तलाई खोजी ल्याउन जिम्मा पाएको व्यक्ति । उसले मोहदत्तलाई खोज्ने क्रममा अनेक मान्छेहरु भेट्छ । ती मान्छेहरुले मोहदत्त जस्तै अनुहार भएका मान्छेहरुको कथा भन्दछन् । यसले सापेक्षलाई झन् भ्रममा परिदिन्छ । के सापेक्षले पक्रन सक्ला त मोहदत्तलाई ? उपन्यासको रोचक पाटो यसैमा छ ।
७. सुन्दरे- जुन पात्रको माध्यमबाट उपन्यासले पोखरामा वि.सं.२००६ मा पोखराको विन्ध्यवासिनी मन्दिरबाट फैलिएको अग्निकाण्डको इतिहास भनेको छ । उसको संगीत प्रतिको रुचि पनि अनौठो छ । सारा पोखरा जलिरहँदा ऊ भने हार्मोनियम बजाइ बस्छ ।
८. ईशापुत्र- जो आफ्नो वेपत्ता दाइको खोजीमा पोखरा आइपुगेको हुन्छ । “जनयुद्ध”मा लाग्दालाग्दै उसको दाइ वेपत्ता भएको हुन्छ । वेपत्ता हुनुअघि एकदिन उसको दाइ घरमा आउँदा पितासँग गरेको वार्तालाप रोचक छ । त्यसमा उनीहरुले बैंक कब्जा गरेर ल्याएको पैसा सुनहरु पिताले सापटी माग्दछन् । उसको दाइ भगीरथले त्यो दिन मान्दैन । त्यस कथामा भगीरथको आदर्श र उसको पिताको व्यवहारिक कुरा बीचमा भएको द्वन्द्व देखाइएको छ ।
९. अनादि- जसले सत्य लेख्नको लागि कलम उपहार पाएको हुन्छ । उसले सत्य लेख्न चाहन्छ । तर ऊ जगत मिथ्यमा पुग्दछ । त्यहाँ झुटा कुरा मात्र लेख्न पाइन्छ र सत्य लेख्न मनाहि छ भन्ने थाहा पछि ऊ त्यहाँबाट फर्किन्छ । उसको कलम मर्मत गरिदिने कालिगढले पनि उसलाई सत्य मात्र लेख्नुपर्छ भनि वाचामा बाँधेको हुन्छ । के उसले सत्य लेख्न सक्ला त ? उपन्यासले पाठकलाई विचार गर्ने ठाउँ दिएको छ ।
१०. अस्तित्व र भुलभुलैया- अस्तित्व प्रेम गर्न चाहन्छ भुलभुलैयालाई । केवल चाहन्छ मात्र । केही गर्न सक्दैन । अस्तित्वको कुरालाई भुलभुलैयाले इन्कार गर्छे । प्रेमका सन्दर्भमा यी दुई बीचको सवालजवाफको पत्र पनि रोचक रहेको छ ।
मैले यहाँ उल्लेख गरेको बाहेक अरु पात्रहरु पनि मिथ्या उपन्यासमा छन् । ती सबै पात्रहरुको आआफ्नो कहानी छ । उनीहरुले बताउने कहानी रहस्यमयी छन् । यथार्थ जगतमा त्यस्ता रहस्यमयी घटनाहरु भएका होलान् त भनि सोच्न बाध्य बनाउँदछ । तर समाजको यथार्थसँग कतै न कतै जोडिएको हुनाले ती सत्य लाग्दछन् । त्यसैले यो उपन्यास समय सान्दर्भिक बनेको छ । यो उपन्यासले म जस्ता कयौं युवाहरूको मनलाई पक्कै पनि छुन्छ भन्ने मैले विश्वास लिएको छु । यति महत्वपूर्ण उपन्यास लेख्ने दीपक सरलाई हार्दिक बधाइ । सरले आगामी दिनमा पनि यस्तै उपन्यासहरु लेख्दै जानुहोला भनि शुभकामना व्यक्त गर्दछु ।
र, अन्तिममा मलाई मन परेको एउटा वाक्य मिथ्याबाटै – “जगत मिथ्यामा सत्य बोल्नु नै अपराध हो ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।