बुबा:
गरिबी र अस्तव्यस्तताको सिरेटोले लखेटिरहने बुबाका जवानीका दिनहरूमा स्थायी साधन र सम्पति भनेका किताबहरू नै हुन्थे । ती उहाँ जहाँ गए पनि छुट्दैनथे । कम्युनिस्ट आन्दोलनको रूझानले भिज्नुभएको उहाँसँग आफ्ना अस्थायी निवासभन्दा अग्ला किताबका चाङहरू हुन्थे । ती किताबहरूमा एउटा राजनीतिक मियोको वरिपरि रहेर बुनिएका मान्छेका सपना, विश्वास र भविष्यका रूमानी कथाहरू हुन्थे । टुट्दै, खिइँदै ती किताबहरू मसम्म पनि आइपुगे र किशोर मस्तिष्कको स्वप्निल पटाङ्गिनीमा लामो समयसम्म सियाँल हालेर बसिरहे ।
हामी हेटौँडा बस्थ्यौँ । बुबा तल बजारमा पसल चलाउनु हुन्थ्यो । कहिलेकाहीँ कुनै साहित्यिक या बालपत्रिका लिएर फर्कनुहुन्थ्यो । बुबा आफैँ पनि लेख्ने गर्नुहुन्थ्यो । उहाँसँग मोटामोटा बुक कापीहरू हुनेगर्थे जो मुक्तक या कविताहरूले भरिएका हुन्थे । किताबप्रतिको आकर्षण हामी दिदीभाइलाई सानै उमेरदेखि नै थियो । दिदीभाइ हानथाप गरेर तान्दा–तान्दै किताब च्यातिन्थ्यो । अक्षर पढ्न सक्ने सामान्य उमेर हुनु अगावै मेरो कलिलो मस्तिष्कले हजारौँ अक्षरहरू छामिसकेको थियो । त्योबेला पढिएका पुस्तक–पत्रिकाका कथा, कविता या चित्रहरू अद्यापि मानसपटलमा छँदै छन् । बुबाले प्राय ‘मुना’ बालपत्रिका ल्याइरहनु हुन्थ्यो । कक्षा एकमा भर्ना भएको सानो बालकले चित्रकथामा रूपान्तरित भएर प्रकाशित भएको ‘बसाइँ’ उपन्यासका ‘झुमा’, ‘रिकुटे’जस्ता पात्रहरूलाई ऊ बेलादेखि नै कल्पिन थालेको थियो । एकदिन त्यो बालकले एउटै आसनमा बसेर ‘गौरी’ खण्डकाव्य आद्योपान्त पढिसिध्याएको थियो ।
पारिवारिक बेमेल र फकिरगिरीको सुसेधन्दामा हेलिँदा–हेलिँदै हामी चितवन आइपुग्यौँ । राजमार्गको छेवैमा हामी डेरा गरेर पसल चलाएर बस्थ्यौँ । उहीँ डेरामा बस्दाताका एकदिन कुनै सानो किताब मेरो हातमा पर्यो । युद्धका बाछिटाले भिजेका बालबालिकाका पीडा, व्यथा उध्रिएको त्यो किताबको नाम या त्यसका लेखक मलाई सम्झना छैन तर त्यही किताबले ममा जगाइदिएको ‘लेखक’ बन्ने हुटहुटीले मेरो यहाँसम्मको गन्तव्य तय गरेको हो ।
मिशा र पाभेल:
बुबाको कम्युनिस्ट साहित्य प्रतिको रूझानका कारण घरमा त्यही मार्काका किताबहरू प्रशस्त थिए । कमलो मस्तिष्कले गह्रौँ सिद्धान्तका कुरा छाँट्न नसके पनि उपन्यास र कथाका भाव र चरित्रहरूसँग लहडिन्थ्यो । ‘प्रगति प्रकाशन, मस्को’ नामक अचम्मको ठेगाना लेखिएका ती किताबहरू मेरो लेखनयात्रामा कोशेढुङ्गा बनेर रहे । शोलोखोभको बालपात्र ‘मिशा’, गोर्कीको ‘पाभेल भ्लासोभ’ या आस्त्रोभस्कीको ‘पाभेल कर्चागिन’ सबैले मेरो बालमस्तिष्कमा गहिरो प्रभाव पारेका थिए ।
म जन्मेकै दशक देशमा यसै कम्युनिस्ट विचारधाराकै प्रभावमा गृहयुद्ध सुरु भयो । अहिले कविता लेखेर ढल्की–ढल्की हिँड्ने केटोको मनमा त्यो बेला युद्धप्रति अनौठो आकर्षण थियो र कुनै दिन आफू पनि बन्दुक बोकेर मोर्चामा सामेल हुने बेढङ्गको सपना थियो ।
गाउँमा बाल समूह गठन भएको थियो । महिनैपिच्छे विभिन्न स्रोतहरूबाट मासिक पत्रिकाहरू बाल समूहका लागि आइपुग्थे । महिनाभर लगाएर बाँडिचुँडी ती पत्रिकाहरू पढिन्थे । मूल्याङ्कन प्रकाशन गृहले प्रकाशन गर्ने मासिक पत्रिका ‘नवयुवा’ पनि त्यहाँ आइपुग्थ्यो । जीवनको एउटा काँचो कालखण्डमा जीवनदृष्टि, चेतना र साहित्यिक मूल्य उकास्न ती पत्रिकाहरूको भूमिका महत्त्वपूर्ण छ ।
आफूले पढेका विभिन्न किताबहरूको प्रभावमा म पनि अन्टसन्ट लेखिबस्थेँ । आफू ठूलै लेखक बन्दैछु भन्ने कल्पना गर्दै ठेलीका ठेली किताबका योजना र आवरणहरू बनाएर बस्थेँ । लेखक बन्ने हुटहुटी कतिसम्म थियो भने म तिनै लेखकहरूको सिको गरेर दश/एघार वर्षकै उमेरमा चुरोट खानेसम्म पनि भएँ ।
भूपिन र कविता:
२०६६ सालको अन्तिम याम थियो । एस.एल.सी. सकिसकेको थिएँ । एक मध्याह्न खाटमा पल्टिएर रेडियो सुनिरहेको थिएँ । चर्चित कवि भूपिनको ‘हजार वर्षको निद्रा’ विमोचन हुँदै थियो । विमोचनको प्रत्यक्ष प्रसारण रेडियोबाट बजिरहेको थियो । रेडियो सुनिरहँदा मलाई कविता लेख्ने हुटहुटीले यसरी समात्यो कि, मानौँ कविता मेरी पूर्वजन्मकी प्रेमिका हो, र अचानक मलाई मेरो पछिल्लो जन्मको प्रेम–याचना र उसको सुन्दर मुखाकृति याद आइदिएको छ । कुन दिन, के बार ? ठ्याक्कै सम्झन्नँ । तर त्यही दिन मैले पहिलोपटक कविता लेखेँ ।
त्यो कुन कविता थियो, त्यो पनि सम्झना छैन । कविताको कागज उहिल्यै कतै गुम भइसक्यो । त्यसपछि निरन्तर लेखिरहेँ । अनेक कल्पना र सपनाका घोडेटोहरूमा उफ्रिँदै, ठेस खाँदै मैले कविता लेखिरहेँ । अन्तरमुखी स्वभावको केटो, साथी–सङ्गाती गन्दै जाँदा एक हातका औँला पनि बढी हुन्थे । धुम्धुम्ती एक्लै बसिरहन्थेँ या एक्लै हिँडिरहन्थेँ । प्रायः आज पनि एक्लै हिँडिरहन्छु ।
ती दिनहरूमा म दिनभर जङ्गल, चिहान, बाटाहरू या खोला–नदी चहार्दै हिँड्थेँ । यिनीहरू मलाई अपरिचित या निर्जन पटक्कै लाग्दैनथे, यी त मेरो लागि ‘म’जत्तिकै नजिकका मित्रहरू पो थिए । जङ्गल, चिहान या नदीछेउ पढेर या लेखेर दिन सक्काएपछि म राति आफू कत्ति अग्लो भएको सपना देख्थेँ ।
लेखनयात्राको सुरुमा आफूले जे लेखेपनि अप्राप्य, अति दुर्लभनै लेखेछु जस्तो लाग्दो रहेछ । धेरैपछि आएर बुझेँ, सम्यक् अध्ययन र चिन्तन नभइकन रूमानी भावना र कोरा कल्पनाको कुचीले मात्रै कोरिएका अक्षरहरू कविता नबन्दा रहेछन् । लेखनमा आउनका लागि ‘पढ्नैपर्ने’ पहिलो शर्त हुँदोरहेछ, व्यक्तिको अध्ययनले नै उसको चेतना र चिन्तनको स्तर निर्धारण गर्दो रहेछ ।
संख्यात्मक तुलोमा तौलने हो भने लेखिएका कविताहरू हजारौँको संख्यामा होलान् । मन परेका, हृदय छोएका कविताहरू सयौँको संख्यामा आउलान् । गुणवत्ता र स्तरीयताको कसीमा च्याप्दै ल्याउने हो भने एउटा किताबको आकार लिन सक्ने जति होलान् कविताहरू । यसबीचमा २०७५ सालको अन्त्यमा सत्र समवयी साथीहरूको सहकार्यमा ‘अनुहारको भीड’ बजारमा आयो । ०७६ को अन्तिमतिर फेरि अर्को संयुक्त कविता संग्रह ‘उज्यालोका मालीहरू’ प्रकाशित भयो । यसमा मसहित एघार कविका ११० छोटा कविताहरू संग्रहित छन् ।
प्रेम र प्रार्थना:
सिनेम्याटिक अन्दाजमा मैले एकदिन उसलाई सोधेको थिएँ, मेरो लागि भगवानसित के माग्यौ ? उसले भनेकी थिई, हजुर राष्ट्रिय स्तरको, ठूलो कवि बन्नुहोस्, कहिल्यै दुःख नहोस् भनेर मागेँ । खैर यो बेग्लै कुरा हो कि ऊ गएपछि नै मैले जीवनमा सबैभन्दा भयङ्कर रिक्तता र आघातको आँधी खप्नुपर्यो । त्यो मान्छे, जसलाई भेटेपिच्छे मेरो मगजमा सबैभन्दा सुन्दर विम्ब र उपमाहरू झुल्थे, जसले मलाई सम्बोधन गरेका प्रत्येक शब्दहरू मेरो हृदय च्याप्प समातेर कहाँ–कहाँसम्म तन्किन्थे र कविता बन्थे । जीवनको एउटा कालखण्डमा एउटी आत्मीय साथी, मेरो कल्पनाकी सुन्दर प्रेमिका र एउटी स्त्रीको मातृवत् प्रेम मैले उसैबाट पाएको थिएँ । एउटा विरहको साँझ म आफ्नै कपाल लुछिलुछी रोएको थिएँ, त्यसपछिका केही दिन मैले निरन्तर मृत्युको याचना गरेँ ।
आज दिन, महिना र केही वर्ष बितिसकेका छन् । मेरा यावत् गुनासा र पीडाका पोकाहरू कुनै हिमाली चरोले आफ्नै प्वाँखमा सिउरिएर कतै दूर उडिसकेको छ । त्यसपछि पनि सबैले भन्ने गरेको जस्तो ‘प्रेम’ र त्यसबाट आहत हुने श्रृङ्खला यथावतै छ । आज पनि उसैगरी रून्छु, उसैगरी दुःखी हुन्छु तर फेरि झ्याल खोल्छु र अगाडिको उज्यालो हेरेर आँखा पुस्छु । आज बिस्तारै बुझ्दैछु, एउटा मान्छे आफूजस्तै कुनै अर्को मान्छेको प्रभाव या अभावले आहत नहुने रहेछ । आफ्नै मनलाई अलि फराकिलो कसीमा राख्न नसक्दा पो मन अस्तव्यस्त हुनेरैछ, र यही मनको भाँडभैलोमा तमाम दुःख, आक्रोश र व्यथाहरू फस्टाउँदा रहेछन् ।
उमेरजन्य स्वभाव, भावना, वृत्ति र कर्महरू सबैका जीवनमा आइपर्ने साधारण घटना न रहेछन् ! कविहरूको संवेदनाको तह अतिशय कमलो हुँदोरहेछ । तर त्यो कोमलतालाई आक्रोशित किसानले झैँ नौनी सडकमा नपोखी सिर्जना–उद्यममा फुलाउनु पर्ने रहेछ । चेतनाको साँघुरो क्षितिज अलि पर सार्न सके जस्तै वियोग र विरहका चट्याङहरू खेप्नु परे पनि प्रेमलाई र जीवनलाई पनि प्रार्थना बनाउन सकिने रहेछ । अनि मात्रै पो परम्पराको रथलाई अलि पर हुत्याउन सकिने अक्षरहरू लेखिने रहेछन् ।
एउटा सुनौलो संयोग के छ भने मेरो जीवनमा अध्यात्म र प्रेमको बीउ लगभग सँगैजसो प्रकटित भएका रहेछन् । अहिले बुझ्दैछु अध्यात्म र प्रेमको मार्ग र गन्तव्य नितान्त एउटै रहेछन् । अध्यात्ममा चाख बढ्दै गएपछि उग्र क्रान्तिकारी कम्युनिस्ट रूझान मैले आफैँ पत्तो नपाउने गरी हराउँदै गयो । यससँगै मेरो विचारधारा, दृष्टिकोण र चेतनाको तहमा आमूल परिवर्तन आयो र यसले मेरो लेखन यात्रालाई पनि अर्कै मोडमा लानु थियो ।
मेरो कविताको आराधना:
जीवनमा सबै मान्छे उति नै भाग्यमानी हुन्छन् भन्ने हुँदैन । भाग्य कर्मले तय गर्दो हो । एउटा क्षेत्रमा सफल मान्छे अर्को क्षेत्रमा असफल भइरहेको पनि हुन्छ । जीवनमा को, कतिखेर कुन उद्देश्य या प्रयोजनका लागि भेटिन्छन् थाहै हुँदैन । यस्तै नजानिँदो तरिकाले एक समय मेरो जीवनमा महेश पौड्याल सर भेटिनुभयो । अक्षरको निरन्तर यात्रामा मैले केही उज्यालो भेटेको छु भने (पक्कै भेटेको छु), या चेतनाको विस्तीर्ण मैदानबाट उच्च शिखरहरू निहारेको छु भने (पक्कै निहारेको छु), या सफलता जस्तो केही भेटेको छु भने(संसारले अर्थ्याएजस्तो होइन), उहाँ नै यी सबैको अजस्र स्रोत हुनुहुन्छ । बाँकी अवशाद, अँध्यारा र निराशाहरू मेरै अल्छ्याइँ, अर्कमण्यता या मानसिक दुर्बलताका परिणतिहरू हुन् । उहाँकै विशद् अनुभव र ज्ञानको आलोकमा मैले मेरो कलम तिखारेको हुँ । उहाँ नभेटिनु भएको भए सम्भवतः म सिर्फ एक उरन्ठ्यौलो अ(कवि) बनेर जीवनका पुराना गल्लीहरूमा भट्किरहेको हुने थिएँ ।
कसैले भनेका छन्, कविको संसार र वैज्ञानिकको संसार मिल्दोजुल्दो हुन्छ । वैज्ञानिकले अथक प्रयोग गरिहन्छ जीवनभरि र उन्नत र परिष्कृत आविष्कार गर्दै रहन्छ । उसैगरी कविले पनि निरन्तर प्रयोग र आविष्कारहरू गर्ने रहेछ । म पनि निरन्तर प्रयोग गरिरहेकै हुन्छु । कविहरू प्रयोग गर्दागर्दै चेतनाको माथिल्लो स्तरलाई छुन्छन् । त्यो ‘छुवाइ’ कथंकदाचित हुने दुर्घटनाको तहमा भयो भने कविताको व्यसन कविको साधनाको तहमा उक्लँदैन कि जस्तो मलाई लाग्छ । साधनाको तहमा उक्लिनका लागि शरीरको भौतिक र मानसिक वृत्तिहरूलाई सम्यक् व्यवस्थापन गर्दै ऊर्जाको तलमा एउटा उज्यालो भेट्नुपर्ने रहेछ । हुन त हामी योगी वा सिद्ध पुरूष होइनौँ, आफ्ना उमेरजन्य स्वभाव, शारीरिक, मानसिक वृत्ति, वासना या दुर्बलताहरूका बाबजुद कहिलेकाहीँ त्यो ऊर्जाको तलमा आफू स्थिर भएको क्षण मैले मेरा सबैभन्दा सुन्दर कविताहरू लेखेको छु र पटक–पटक आफ्नै कविता पढेर अचम्मित पनि भएको छु ।
कविता मेरो लागि खाली समय व्यतित गर्ने दुर्व्यसन होइन । यो मेरो लागि बाँच्ने तरिका हो, निरन्तर साधना हो । यही नै मेरो पाठ, पूजा र ध्यान हो । म क्याम्पसमा साहित्य नै पढ्छु, घरमा साहित्य नै पढ्छु, लेख्छु । भान्छामा काम गर्दा, बाटो नबिझाउने गरी बाटोमा हिँड्दा, विद्यालयमा केटाकेटीहरूसित हुँदा या सार्वजनिक बसमा यात्रा गर्दा म कविताकै विषयवस्तु सोच्छु, कविताकै पंक्तिहरूमा खेलिरहेको हुन्छु, कविता बुनिरहेको हुन्छु । यसरी सोचिहेर्छु, म पनि पूर्णकालीक कवि नै पो रहेछु !
आख्यान मेरो पुरानो रहर हो । निबन्ध लेख्दा म समयभन्दा बढी बाँच्छु । अनुवादमा काम गर्दैछु । कुनै बेला गीत पनि लेखुँला भनेर सोचेको छु । पुस्तक प्रकाशित गरिहाल्ने कुनै हतारो छैन । बिस्तारै बाँच्छु, बिस्तारै लेख्छु, के छ र समय छँदैछ र म अझै सानै छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

