देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।

देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ ।

यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँः

मोहन संग्राम:

“चिन्न बाँकी आफ्ना केही पाटाहरूको अध्ययन गर्दैछु”

लकडाउन (बन्दाबन्दी) शुरू हुनुभन्दा अलि अगाडि नै आफ्नो गाउँ, खोटाङ आएँ । गाउँमा कोठाभित्र बसिरहन पर्दैन । त्यसो त धेरै टाढा जान पनि पाइन्न तर वरपर हिँडडुल गर्न भने न लकडाउनले रोक्छ, न कोरोनाको त्रासले ।

केही वर्षदेखि यसरी लामो समय घर बस्न पाइएको थिएन । गाउँ नै बिरानोझैँ बन्न पुगेको थियो । बूढी हुनुभएको हजुरआमाका कथाहरूले मलाई खोजिरहेकै थिए । घर तल्तिरको पीपलको शीतल छहारीमा नबसेको, चराहरूको गीतमा आफ्नो कर्कश स्वर नमिसाएको, माटोको बास्ना नलिएको, केटाकेटीहरूलाई कथा नसुनाएको समय लामो र पट्यारलाग्दो थियो । यी सबै अवसरहरू जुरे । यी तमाम कुरा पाएर होला, बन्दाबन्दी शुरू भएको दिनदेखि आजसम्म पनि उस्तो दिक्क लागेको महसुस भएको छैन । सबैथोक शान्त भएजस्तो, जसले मलाई पनि शान्त बनाएको छ ।

अध्ययनको कुरा गर्दा यही समयका बीचमा विभिन्न खाले आठ वटा पुस्तक पढेँ । ती पुस्तकहरू अगाडि थुप्रै पटक पढ्न शुरू गरिएका, तर बीचमा छोडिएका मध्येका हुन् । हेरौंला, भनेर नहेरेका ५० बढी बलिउड र हलिउड सिनेमाहरू पनि हेरेँ । हरेक दिन कम्तिमा एउटा भए पनि आर्टिकल पढ्दैछु । अनलाइनमा विभिन्न प्रशिक्षण र छलफल कार्यक्रम हुन्छन्, मन लागेकामा सहभागी हुन्छु । घरमा काम त्यति धेरै हुन्न, त्यही पनि सघाउन खाँचो त कहाँ हुन्छ र ?

लेख्ने काम पनि गुनासो रहने खाले छैन । केही कविताहरू लेखेको छु, बन्दाबन्दीकै बीचमा । त्यसो त सृजना फुर्सद भएर हुने कुरा हैन रहेछ । ल्यापटप काठमाडौँमा छुट्नाले अलि गाह्रो भने भएको छ ।

बन्दाबन्दीकै फु्र्सदिला समयमा केही नयाँ साथीहरू पनि बने । धेरै साथीहरू बनाउनु मेरो रुचिको विषय पनि हो । लामो फुर्सदमा पुराना सम्बन्धहरू पनि रिन्यू भए । गाउँमा आफ्ना उमेरका धेरै मान्छे छन् । अहिले पनि भेट हुने अवसर त कमै जुर्छ, तर जुर्छ ।

यही समयमा गाउँमै केही गरेर आत्मनिर्भर बन्नुपर्ने चेत पनि आयो, र त्यही अनुसार केही काम शुरू गरेको छु ।

बन्दाबन्दी लम्बिनु अब अनौठो कुरा रहेन, यो अझै तन्किएर पर पुग्ला । समयजस्तो आउँछ, त्यसलाई आफ्नो अनुकूल बनाउन हरतरहले प्रयास गर्नुपर्छ र म त्यही गर्दैछु ।

थुप्रै चिज पढ्दा आफूलाई पढ्न पनि भुलेको छैन । अगाडि चिन्न बाँकी रहेको आफ्ना केही पाटाहरूको अध्ययन पनि गर्छु, फुर्सदमा । यही अवधिमा आफू भित्रका अँध्यारा कुनाहरू पहिचान गरेर बत्ती बाल्दैछु ।

भर्खरै मात्र केही थान सिसाकलम हात लागेका छन्, अब चित्रहरू कोर्छु । गाउँको चित्र ।

सिमाना पौडेल:

“लकडाउनले गर्दा डामाडोल भएको अर्थतन्त्रको चिन्ता पनि लाग्छ”

लकडाउन (बन्दाबन्दी) ले घर जान पाइएन, काठमाडौंम‌ै छु । अब लकडाउन खुल्छ भन्ने आश छ ।

अनलाइनमा कोरोना संक्रमित संख्या एकचोटि नहेरी चित्त बुझ्दैन । कतै बाहिर पुगेर आउँदा कोरोना लाग्यो कि भन्ने चिन्ताले बेलाबेला तनाव र छटपटी दिइरहन्छ ।

किताब पढ्नेभन्दा पनि फिल्म हेरेर समय बिताइराखेकी छु । तिब्बती शरणार्थीबारे लेखिएको पुस्तक `अप्ठ्यारो बाटो´ पढेको थिएँ । भुटानी शरणार्थीबारे मात्रै थाहा पाएको मलाई हाम्रै घरनजिक रहेका तिब्बतीबारे किन थाहा नपाएको होला ? आफैँलाई प्रश्न गरिरहेँ ।

लकडाउन खुलेपछि के गर्ने ? भन्ने चिन्ता पनि हुँदोरहेछ, ब्याचलर सकेपछि । किताबहरू पढ्नु, आफ्ना कुराहरू लेख्नु, कति व्यर्थ काम हो भनेर घरबाट कहिलेकाहीँ लामै लेक्चर सुन्नु पनि दैनिकीभित्र पर्छन् । (किताब धेरै पढेकै कारण बिहे नहुने भयो भन्नेसम्म सुन्नुपर्छ । 😀 )

रूकुमको घटनामा अनेकथरि कुराहरू आइरहेको छ । के हो ? भन्ने स्पष्ट छानबिन गर्नको लागि सहयोग गर्नुपर्ने ठाउँमा के-के भइरा’छ ?

सामाजिक संजालमा पनि व्यस्त छु । लकडाउनमा घरि देशको सिमाना मिचिएको कुरा आउँछ, घरि अन्तरजातीय विवाहको कारण हत्या । न्याय दिलाउनेभन्दा पनि घटनालाई राजनीतिकरण र फिक्सनलाइज्ड गरिएको छ । म यतै र यस्तै घटनामै अल्झिएको छु ।

म अहिले साहित्यको माहोलबाट टाढा छु जस्तो लाग्छ । तर सुस्त गतिमै भए पनि लेखपढको काम भइरा’छ । साहित्यको महत्त्व यो लकडाउनमा झन् बढेर गएको छ ।

साहित्यको एउटै किताब नपढेको को होला? फिल्म, किताब, गीत, संगीतले नै लकडाउनमा यति शान्तसँग बस्न सकिएको छ ।

लकडाउनले गर्दा डामाडोल भएको अर्थतन्त्रको चिन्ता पनि लाग्छ । चुपचाप बस्नपरेपछि सबैभन्दा धेरै सोचिदोरहेछ ।

योग, ध्यान गरिरहने भए पनि अहिले अनियमित भएको छ । कोरोनाको मानसिक असर डरलाग्दो रूपमा फैलिरहेको छ ।

 

आयाम शंकर:

“कमेडी गर्दै सबैलाई फ़ेसबुकमार्फत ओठमा मुस्कान ल्याउने काम पनि भइरहेको छ”

विश्वले नै झेलिरहेको कोरोना महामारीमा सबै जस्तै म पनि आफ्नै कोठामा कैद बन्न पुगेको छु । सिंगो देशले बन्दाबन्दी झेलिरहेको बेला सुनसान राजधानीको एकान्तबास कोठामा चिन्न नसकेको ‘म’लाई चिन्ने प्रयास गर्दैछु ।

२०७७ कसैको लागि शुभ संकेत भएन । विद्यार्थीहरूको एस.ई.ई सकेपछि बिदाको सदुपयोग गर्न देशबाहिर जाने तयारी गर्दैथिए । यतिसम्म कि टिकट हातसम्म आइपुगेको थियो । तर देशमा बन्दाबन्दी भएपश्चात् बिपना बनिआएका सपना, सपनामै सीमित रह्यो ।

यस प्रकोप चाँडो उडिजाओस् भन्ने चाहना छ र मलाई पनि पखेटा लगाई रमणीय ठाउँ अवलोकन गर्ने रहर पूरा गर्नु छ । यी सबै सपना कोरोना अन्त्यपछि पूरा हुन्छ भन्ने आशा छ ।

समय एक कुशल पाठ हो । घडीको काँटाजस्तै कुनै ठाउँमा पुग्छ तर रोकिन सिकाउँदैन । बस् ! अघि बढ्न सिकाउँछ । बाहिर निस्कन नपाए पनि यही कोठालाई संसार र सामाजिक सञ्जाललाई ब्रह्माण्ड बनाएको छु । चाइनाबाट विश्वमा फैलिएको ‘कोरोना’ र त्यही चाइनाले ‘प्ले स्टोर’मा फैलाएको टिकटक’ दुवै झेल्दै अघि बढ्दै छु ।

जानी-नजानी कुनैक्षण टिकटक (https://vm.tiktok.com/wocDmL/) मा रमाउँछु । सिक्दै छु । कुनैक्षण युट्युबमा । साथमा भिडियो इडिटिङ पनि सिक्दै पनि छु ।

साहित्यमा औधि रुचि राख्ने म । नजिकको साथीभन्दा पनि माथिको गुरु मान्ने गर्छु सुरेश बादल (सुरेश बडाल ) लाई । उहाँबाट थुप्रै कुरा सिक्ने मौका पाइरहेको छु ।

चैत महिना । उत्सवको महिना हुने थियो मेरो । दुई खुशी या पर्खाइ । सुरेश बादलको कृति र हातमा प्लेन टिकट । दुवै मेरा लागि उड्ययन कार्य हुने थियो । त्यसको पर्खाइ अझै तीव्र छ । साथै बितेका दिनहरू अमर न्यौपानेको ‘करोडौ कस्तुरी’ , रमेश सायनको ‘छुटेका अनुहार’ , ओशोको ‘सम्भोगबाट समाधितिर’, सँग कटाए । र, अहिले म कार्ल मार्क्सको ‘पुँजी’ सुरु गर्दै छु ।

साथै फ़ेसबुकका भित्ताहरूमा आफ्नो रचनाहरूलाई टाँस्ने काम जारी छ । आफूले बनाएका भिडियोहरू शेयर गर्ने काम पनि गर्दैआएको छु ।

मलाई सुत्ने कोठापछि सबैभन्दा मन पर्ने ठाउँ भान्सा हो । प्राय: सबै परिकार जिब्रो चाट्नेगरि बनाउँन आउँछ । सधैँ भिन्नाभिन्नै परिकार बनाएर सबैलाई बन्दाबन्दी भुलाउने कोसिस गर्छु तर सबै भाँडाकुडा मस्काउन भने छाडी दिन्छु ।

नेटको सुविधा सम्पन्न भएका भाइ-बहिनीलाई अनलाइनमार्फत् नजानेका हिसाब पढाउनुका साथै कल गरेर सोध्नेलाई पनि सिकाउँदै दिनहरू बिताउँदैछु । र, कमेडी गर्दै सबैलाई फ़ेसबुकमार्फत ओठमा मुस्कान ल्याउने काम पनि भइरहेको छ । यही नै हो मेरो उपलब्धि मान्नु पर्ला !

https://www.youtube.com/watch?v=qEhly3FR2HQ