साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सूत्रधारको सपना: नाटकका लागि चियाघर, नाटक नाटकघरका लागि

“कामचैं के गर्छौ नि ?”- सूत्रधारका लागि यो प्रश्न नौलो होइन, तर फेरि पनि गाउँले काकाले उही प्रश्न तेर्स्याए।

“म नाटक गर्छु”- सूत्रधारसँग अर्को उत्तर छैन।

bahulako diary small and inside post

“त्यो त ठीक छ, कामचैं के गर्छौ ?”- काकाले फेरि सोधे।

“मेरो काम नै नाटक गर्ने हो, म नाटक गर्छु।” झोँक्किउँ कि भनेर उनले नसोचेका होइनन् तर त्यसअघि नै अर्को धारणा प्रकट भइजान्छ । जस्तो किः

“अनि नाटकले जीवन चल्छ त ?”

सूत्रधार ट्वाँ पर्छ । ऊसँग जवाफ छैन, नाजवाफ भएर हिंड्छ ।

‘नाटकले जीवन चल्छ त ?’, भन्ने प्रश्नसँगै सूत्रधार आफैँतिर फर्कन्छ; बिमारले थला परेकी आमा, शुल्क तिर्न नसकेर कलेज जान नपाएकी बहिनी, नाटक निर्माण गर्दाको थोरै ऋणले धेरै खुम्चिएको आफ्नै निधार, र यो हविगतबाट आजित भएर घर छोडेर हिंडेका पिता । सँगै सम्झन्छ; बाले पैसा कमाउन ‘बिदेस’ जा भनेको दिन । सोच्छ, “बेलैमा बाले भनेको मानेको भए जीवन यसरी अट्कने त थिएन होला !”

सूत्रधारका बुबालाई साथीहरूले प्रश्न गर्थे, “के गर्छ तेरो छोरो ? काँ छ ? मेरोले त फेरि पोइसो पठायो ।”

सूत्रधारको बुबा निरास हुँदै जवाफ फर्काउनु हुन्थ्यो, “उसैलाई सोध न !”

सूत्रधारले नाटक गरेको बुबालाई फिट्टो मन परेको थिएन । ‘नाटकबाट कमाइ हुँदैन, रङ्गमञ्च सूत्रधारको संघर्ष हैन रमाइलो गरिरहेको छ’, भन्ने बुझ्नुभएको थियो उहाँले ।

मन्डला नाटकघर, तेस्रो ब्याचको विद्यार्थी हो, सूत्रधार । उसले रङ्गकर्मी सुनील पोख्रेलबाट नाटकको औपचारिक शिक्षा लिएको हो ।

सूत्रधारसँग एउटा सपना छ, नाटकघर बनाउने । राजधानीको पाँच वर्षे रङ्गमञ्च यात्रापछि आफ्नै ठाउँमा नाटकघर बनाउने सपना लिएर ऊ गाउँ फर्कन्छ ।

सूत्रधारले गाउँ फर्केर झापाको बिर्तामोडमा रङमञ्चसम्बन्धी गतिविधि सुरु गरेको पनि तीन वर्ष पुग्न लागेछ । यस बीचमा झापाका ३२ देखि ७२ वर्षसम्मका सात जना आमाहरूलाई तिनकै कथामा अभिनय गराउनु चाखलाग्दो कुरा थियो । आमाहरूको नाटक “रुवा” बिर्तामोडमा र काकरभिट्टाको ‘परिवर्तन’ थिएटरमा मन्चन पनि भयो ।

नयाँसँग काम गर्न चुनौती नै हुन्छ; फिल्ममा होस् या नाटक । आमाहरूसँग काम गर्दा सूत्रधारलाई गाह्रो-सजिलो जे भयो होला ! तर जिन्दगीभर अरूको लागि बाँचेका आमाहरूलाई केले नाटकमा आकर्षित गर्यो होला ? अहिले उहाँहरू पनि नाटकघर बनाउने अभियानमा हुनुहुन्छ ।

‘कम पैसा लगानीमा चाँडो आम्दानी दिने व्यवसाय के गर्न सकिन्छ ?’, अभिनेता भएर रङमञ्च तथा चलचित्रमा फरक पात्रको चरित्र निभाउने सूत्रधारले एक नयाँ पात्र भएर सोच्यो । आफ्नो गुजारा चलाउनै मुस्किल भइरहेको बेला उसले वैकल्पिक व्यवसाय शुरु गर्ने योजना बनाउँछ । र, केही फरक तरिकाले बेच्ने ‘वन लाइन’ आइडिया आफ्नो सर्कलका साथीहरूलाई सुनाउँछ ।

कोही, ‘अब तैँले चिया बेच्ने ?’ भन्दै हाँसे । कोही रिसाए, कसैले त गाली नै गरे । तर सूत्रधार विचलित भएन, निरन्तर लागिरह्यो ।

सूत्रधारको विद्यार्थी विराज, ‘एउटा रङमञ्च तथा चलचित्र अभिनय कार्यशाला आयोजना गरौँ’, भन्दै सूत्रधारसामु आइपुग्छन् । कार्यशाला गर्ने निर्णय हुन्छ । कार्यशालाको दौरान एक रात होटलको छतमा गफिएर बसिरहेको बेला बिराजले फ्याट्ट सोध्छ, “यही क्षेत्रमा टिकिरहन के गर्नुपर्छ ?”

“नाटकबाटै कमाएर आफ्नो गुजुरा चलाउछु भन्नु असम्भव त होइन, तर एकदमै कठिन साधना हो । वैकल्पिक कुनै व्यवसाय गर्दा नाटक गर्न सजिलो हुन्छ,” सूत्रधारले अनुभव साट्छ ।

“मेरो केही साथीहरू पनि छन्, मिलेर मोड्लिङ एजेन्सी खोलौं त्यसो भए । त्यसको कमाइबाट नाटक पनि बनाउँला,” बिराज आइडिया सुनाउँछ ।

“तिम्रो कुरा ठीक हो, तर हामीसँग त्यति धेरै पैसा पनि छैन । खेर गइरहेका सामानहरूलाई पुन: प्रयोगमा ल्याएर केही फरक तरिकाले चिया मात्र बेच्यौं भने पनि हुन्छ । लगानीबिना कसरी व्यवसाय गर्ने ? उदाहरण पनि बन्न सक्छ । आफ्नो जीवनको गुजारा चलाउने ठाउँ पनि,” सूत्रधारले विराजलाई सम्झाउँछ ।

उनीहरूबीच अभिनय कार्यशालामा आएका इच्छुक विद्यार्थीलाई पनि प्रोजेक्टमा सहभागी गराउने कुरा हुन्छ । सूत्रधारसँगै चार जना विद्यार्थी विराज, बिमल, रुपेश र अजयले चिया पसलको दायित्व ग्रहण गर्छन् । अन्य आठ जना विद्यार्थी भ्याएको बेलामा आएर काम सघाउन तत्पर देखिन्छन् ।

चिया पसलको लागि ठाउँ खोज्ने काम सुरु हुन्छ । केही ठाउँको खोजीपछि सूत्रधारले पाथीभरा सिनेप्लाजा अगाडिको खाली जग्गा युवराज प्रसाईंको हो भन्ने पत्ता लगाउँछ । विद्यार्थी र सूत्रधार युवराजलाई भेट्न जान्छन् । फ्यालिएको टायरबाट टेबल, कुर्सी बनाएर चिया बेच्न शुरु गर्ने सूत्रधारको आइडिया युवराजलाई  एकदमै मन पर्छ । उदार मनले उनी भन्छन्, “यदि कटेरो बनाएर चिया बेच्छौ भने अगाडिको जग्गा खाली छ। मैले प्रयोगमा नल्याउन्जेल गरिखाऊ। मलाई भाडा तिर्नु पर्दैन । योभन्दा बढी के भन्नू ?”

पन्ध्र हजारबाट शुरु गर्ने योजनाको चिया पसलको लगानी बढ्ने निश्चित भयो। सूत्रधारले अभिनय कार्यशालाबाट आफूलाई आएको सम्पूर्ण रकम लगानी गर्यो । बिस्तारै केही विद्यार्थीले पनि लगानी गर्दै आफ्नो सहभागिता जनाउन थाले ।

एक दिन सदस्य बिमलले सूत्रधारलाई भने, “गुरु चिया पसलभन्दा पनि चियाघरचैं राख्दा राम्रो सुनिएला ।”

“कसरी ?” सूत्रधारले प्रतिप्रश्न गर्यो ।

बिमलले भन्यो, “पसलमा आउने ग्राहक हुन्छन्, घरमा आउने पाहुना । घरमा आउने सबैले पाहुनालाई आदर तथा सम्मान गर्ने गर्छन् । चियाघरमा आउने पाहुनालाई पनि हामी ग्राहकलाई गर्ने व्यवहार होइन, पाहुनालाई गर्ने स्वागत गर्छौँ।”

बिमलको कुरा सूत्रधारलाई मनपर्यो । त्यही दिन नाम जुर्यो, ‘दारी भाइको चियाघर’ ।

फ्यालिएका टायर, गाउँगाउँबाट बाँस, माटो र ढुंगाको प्रयोगले चियाघर बन्यो। चियाको स्वादमा जडीबुटीलाई साथ लिएर नयाँ स्वाद दिँदादिँदै दुई महिना बित्यो ।

गत वर्ष, प्रेम दिवसको दिन ‘दारी भाइको चियाघर’को अनौपचारिक उद्घाटन भयो । साथीभाइबाटै पाहुनाहरू ‘चियाघर’मा चिया पिउन आउनेको जमात बढ्न थाल्यो । ‘दारी भाइको चियाघर’मा २१ थरिका चिया पाइन्छन् भन्ने कुराले बजार ततायो ।

जडिबुटी मिश्रित विभिन्न स्वादका चिया, चियासँगै सूत्रधारको कविता वाचनले बिस्तारै मानिसलाई मोहनी लगायो । फ्यालिएको टायरबाट बनाइएका टेबल, कुर्सी र माटोले बनेका गाउँतिरका आफ्नै पुरानो घरको झल्को दिने संरचनाले मानिसलाई ‘दारी भाइको चियाघर’मा तानिरह्यो ।

युवाहरूले गरेको काममा हौसला दिन झापा पुगेको मौकामा सन्चारकर्मी रवि लामिछाने सहितको टिमले पनि आएर चिया पिए । कलाकार बिपिन कार्की त ‘दारी भाइको चियाघर’ निर्माण गर्ने १२ जना नाटकका विद्यार्थीलाई एकदिने अभिनय कार्यशाला गराउन र चिया पिउनै भनेर बिर्तामोड आए । विपिनको प्रतिक्रियाले सूत्रधार र टिमलाई थप ऊर्जा पायो।

पाहुनाहरूले सूत्रधारलाई ‘दारी भाइ’ नामले बोलाउन थाले । पाहुनाहरूको मायाले पहिलो महिनामै लाख बराबरको व्यापार गर्यो चियाघरले ।

आजकाल सूत्रधारको बुबा-आमाको अनुहारमा खुसी छाएको छ । सूत्रधारको बुबालाई, ‘तेरो छोरो के गर्दै छ ?’, भनेर कसैले प्रश्न गरे उहाँसँग उत्तर छ ।

सूत्रधारको विद्यार्थीहरूका आमा-बुबा पनि घरमा सिन्को नभाँच्ने आफ्ना छोराछोरीले गरेको मिहिनेत देखेर खुसी छन् । तर सञ्चालन भएको एक महिना नपुग्दै कोरोनाको माहामारीले ‘दारी भाइको चियाघर’को तातो आतिथ्यता सेलाएको छ । तर चियाको सम्बन्धले नाटकघर बनाउने सपना लिएर दुई ऊर्जाशील युवाहरू युदिन र रोहित पनि सूत्रधारसँग जोडिएका छन् । अझ रोहित त बिर्तामोडमा भएको आफ्नै जग्गामा नाटकघर बनाऊँ भन्दै सूत्रधारलाई ऊर्जा थपिरहेका छन् ।

“नाटकघर बनाउने सपनाले चियाघर जन्मायो। अब चियाघरको पसिनाले नाटक बनाउँछ। र, नाटकले नाटकघर पनि बनाउँछ,” रोहित भन्छन् ।

अहिले लकडाउनले गर्दा सबै मानिस साँघुरो कोठामा थुनिएका छन् । ‘दारी भाइको चियाघर’मा दिनहुँ चिया पिउन आउने पाहुनाहरू यतिखेर के गर्दै होलान् ? सबैलाई, ‘सुरक्षित रहनुस् है !’ भनेर सूत्रधारले पत्र छोडेको छ- ”लकडाउन खुलेपछि ‘दारी भाइको चियाघर’मा चिया पिउन भेट्नु पर्छ है ! तपाईँको कपले तपाईँलाई पर्खिरहेको छ ।”

 

 

प्रतिक्रिया
Loading...