दुनियाँ कस्तो अजीव । उफ् ! कस्तो अद्भुत । मैले यसलाई बुझ्ने जति प्रयास गर्दा पनि बुझ्न सकिरहेको छैन । भनौँ, एकैक्षण बुझेझैँ लागे पनि पुनः विस्मितभावले अठ्याएउँछ र मभित्र एक प्रकारको आँधी चलाइदिन्छ । म आँधीभित्र कतै हराउँछु । आफ्नै अस्तित्वसँग । मलाई संसारको विस्मितभावले यसलाई बुझ्न झन् झन् झक्झकाउँछ । म होसमा आउने प्रयास गर्छु । तर मेरो प्रयास केवल प्रयासमा मात्र सीमित हुन्छ । मलाई डर छ कि कुनै दिन म प्रयास गर्न नै छोडिदिनेछु ।

म हरबखत यो थाहा पाउने प्रयास गरिरहेको हुन्छु कि मान्छेमा त्यस्तो के साझ होला जसलाई पकडेर म उनीहरूलाई बुझ्न सकौं, सबैभन्दा बढी त आफूलाई बुझ्न सकौं ? म पहिला हेर्ने प्रयास गर्दछु मान्छेको जैवीक अथवा मनोवैज्ञानिक पक्ष । तर झन् म यसको अद्भुत पक्षमा फस्दछु । म यो पनि खोज्छु कि यदि कसैले पहिले नै मान्छेलाई कुनै पक्षबाट बुझिसकेको पो छ कि ? तर म यहाँ पनि सन्तुष्ट हुन सक्दिनँ । मान्छेलाई मनोविज्ञान , जीवविज्ञान, दर्शन तथा अध्यात्मका तवरबाट गरिएका व्याख्याहरूको अध्ययन गरी उनीहरूलाई बुझ्न । मेरो मनको हुट्हुटी नै शान्त हुन सक्दैन ।

म मान्छु, जीवविज्ञानका आधारभूत धारणाहरू । म यो सहजै स्वीकार गर्छु कि मान्छेलाई बुझ्न पहिला मस्तिष्कलाई बुझ्न जरुरी छ । मनलाई बुझ्न जरुरी छ । जहाँसम्म मलाई लाग्छ, यसैबाट मान्छेलाई एउटा साझा कठघरामा राखेर हेर्न सकिन्छ । यसको मनोवैज्ञानिक तथा जैवीक पक्षबाट । तर यसबाट अघि बढ्नेबित्तिकै ममा झट्ट एउटा प्रश्न आउँछ । मान्छेको शरीरका भागहरुलाई मस्तिष्कले सञ्चालन गर्छ, मस्तिष्कलाई चाहिँ केले सञ्चालन् गर्छ ? सोच्नुहोस् त, यो प्रश्न गर्ने पनि त स्वयम् मस्तिष्क नै त हो ।

निमेश बास्तोला

कस्तो विस्मत ! कस्तो अद्भुत ! के मान्छेले आफ्नो जीवन बुझ्ने सम्पूर्ण प्रयासहरू मस्तिष्ककै विरोधाभास हो ? कि मान्छे स्वयम् नै मस्तिष्कको विरोधाभासको नतिजा हो ? यदि मनोबिज्ञानलाई मात्र केन्द्रमा लिने हो भने मान्छे केबल मस्तिष्कको विरोधाभास हुन पुग्छ । केवल रसायनहरूको ककटेल बन्न पुग्छ । यही मस्तिष्कको विरोधाभासलाई बुझ्न नसकेर मान्छेहरू ईश्वरको अधिपत्यमा आफूलाई समर्पित गर्छन् । मान्छेहरूका ईश्वर दुईखाले हुन्छन् । एउटा वातावरणको प्रभावबाट बिना कुनै प्रश्न दैनिक जीवनमा हिस्साको रूपमा जोडिन पुगेको र अर्को मस्तिष्कको विरोधाभासबाट मुक्त हुने बहानामा आफ्ना जिज्ञासाहरूलाई कसैको पाउमा राखेर हलुका बन्ने क्रममा ।

जीवन आश्चर्ययुक्त छ । अद्भुत छ । र त्योभन्दा बढी कठिन छ यसलाई बुझ्न । मान्छेहरूलाई कसरी बुझ्ने ? मान्छेहरूलाई बुझ्न चाहने को हो ? स्वयम् मान्छे । त्यसो भए के पहिला आफैँलाई बुझ्न जरुरी छैन र ? मस्तिष्कलाई बुझ्न जरुरी छैन र ? आफ्नै विकास बुझ्न जरुरी छैन र ? मलाई के लाग्छ भने, यदि हिमीले हाम्रो अस्तित्व बुझ्ने क्रममा ईश्वरलाई अगाडि ल्यायौँ भने हाम्रो जीवन बुझ्ने चेस्टा केवल तर्कहरूमा कतै विश्राम लिनपुग्छ । मेरा लागि विज्ञान नै ईश्वर हो । अथवा ईश्वर रहेका छन् भने पनि विज्ञानकै नियमले बादिएको हुनुपर्छ । त्यसैले त मान्छेले मान्छे बुझ्न जरुरी छ, र जब कुनै दिन मान्छेले मान्छे बुझ्छ तब उसले ईश्वर पनि बुझ्छ ।

यो संसारमा मान्छे महान् प्राणी नहोला तर अद्भुत भने पक्कै छ । र यदि त्यही अद्भुत पक्षलाई नै महान् मान्ने हो भने मान्छे महान् पनि हो ।

हामी आज जे छौँ त्यो हुर्काइको क्रममा भरिएका विचारका भरमा छाैँ । हुर्कने क्रममा वस्तुहरूको सम्पर्कबाट उत्पन्न भएका समष्टिगत विचारहरू हौँ हामी । र, त्यसैले हामीलाई फरक-फरक बनाएको छ । तर हामी यो सजिलै स्वीकार्न तत्पर हुँदैनौँ । एकखाले मान्छेहरूले यो सोच्न पनि सक्दैनन्, र अरू मान्छेहरूले आफू कुनै दैविक शक्तिकै सृष्टि भन्ने मान्छ्न् । मान्छे शक्तिकै सृष्टि होला तर जुन तवरले हामी दैविक मान्छौँ, त्यो नहुन सक्छ ।

मलाई मान्छे हुनु चमत्कार लाग्छ । तर दु:खको कुरा यो हो कि मान्छेले जुन कुरा जान्नु आवश्यक छ त्यो उसले जान्नै पाउँदैन । मान्छे कस्तो अजीव छ । यसको मस्तिष्कमा के के चल्छ । मान्छे चाहे छुट्टै ब्रह्माण्ड निर्माण गर्नसक्छ र ब्रह्माण्डको विध्वंशक पनि बन्न सक्छ । यो नै मान्छेको क्षमताको परिचय हो । र, गहिरिएर विचार गर्नु नै यसको सुरुवाती बिन्दु हो ।

मान्छे अचम्मको प्राण हो । चाहे आफूले मानेको देवताको स्थानमा आफैँ गएर बस्न सक्छ, साथै पशु हुँदै त्योभन्दा तलको दानवको स्थान ओगट्न पनि सक्षम हुन्छ । सायद त्यसैले मान्छेलाई एउटा अवस्था भनिएको हो । ऋषिहरूले उपनिषद्मा लेखेको मनोविज्ञान नै त हो । त्यहाँ मनको अद्भुत पक्षकै बारेमा चर्चा गरिएको छ । र, चर्चा गरिएको छ यसबाट हुनसक्ने मुक्तिको । अझ मनोविज्ञानभन्दा पनि कति सरल तरिकाले बुझाइएको छ । जीवनको थोरै पनि अद्भुत पक्षको आभास हुनेले बुझाउने गरी ।

तर मान्छे कति लिप्त भएको छ प्रकृतिमा । अधिक मान्छेहरूलाई आफू मान्छे हुनुको अवसर नै थाहा हुँदैन । त्यसैले त म जीवन अद्भुतसँगै कठिन पनि छ भन्छु । मानौँ कि यो चिप्लिन्छ मान्छेहरूको अवसर हुनबाट । मलाई के लाग्छ भने, प्रकृति पशुहरुको निम्ति हो । उनीहरूलाई प्रकृतिमै छोडिदिऔँ र मान्छे भने प्रकृतिबाट सधैँ सजक रहौँ । प्रकृति त्यो हो जहाँ अविद्या हुन्छ । प्रकृति त्यो हो जहाँ स्वयम् नै स्वयम्को चुनावबिना सञ्चालित हुन्छ । पशुहरुमा यो बढी लागु हुन्छ । जस्तो कि कम्प्युटरझैँ  प्रोग्रामिङ्ग, कण्डिसनिङ्ग । मान्छेको मस्तिष्क पनि प्रोग्रामिङ्ग होला तर कमसेकम यसले यो त थाहा पाउन पर्छ । मान्छेमा फ्रि-विल नहोला तर चुनाव त गर्न सक्छ । कमसेकम मान्छे मस्तिष्कको विरोधाभासबारे जानकार हुन सक्छ । यो नै त हो जीवनको अद्भुत अनुभूति ।

म आफूलाई प्रश्न गरिरहन्छु । योभन्दा माथि अरु के होला ? कसरी अस्तित्वलाई यथारूपमा बुझ्न सकिएला ? अनि म यसमा के गर्न सक्छु ? यसरी नै म प्रयास गरिरहन्छु मानिसहरुलाई बुझ्ने , स्वयम्लाई बुझ्ने र जीवनलाई अझ गहिरिएर अनुभव लिने । अरू त म गर्न नै के पो सक्छु र ? म पनि प्रकृति को भुक्तभोगी हुँ । मसँग मस्तिष्क छ, जुन प्रकृति हो । तर म प्रकृतिको खेललाई बुझेर सजक भइ खेल्न सक्छु । अरू त म के नै पो गर्न सक्छु ?