हरेक दिनझैँ आज पनि सौभाग्यवती बिहान सबेरै उठेर आफ्नो नित्यकर्म सकाएर नजिकै रहेको पशुपतिनाथको दर्शन गरेर आफ्नो कोठामा फर्किन् । उनको कोठाको झ्यालबाट मन्दिरको सुन्दर दृष्य देखिन्छ । बिहानीको कलिलो घामको सुनौलो किरणमा मन्दिर स्वर्णिम रङमा पोतिएको छ । चियाको चुस्कीँसंगै यो मनमोहक दृष्यको रसास्वादन गर्दै उनी कपासको बत्ती काटिरहेकी थिइन् ।

अकस्मात् उनको आँखाअगाडि कोठाको छानाबाट धागोमा झुन्डिएको एउटा माकुरा देखापर्‍यो,मानौ त्यो माकुरा उनीसँग धागो काट्ने प्रतिष्पर्धामा उत्रिएको थियो । हत्त न पत्त त्यसको धागामा समातेर उनले त्यस माकुरालाई भित्तातिर पन्छाइन् । उनको कोठाको नपोतिको रङ्गहीन भित्तामा खुर्र दौडँदै माकुरा माथितिर भाग्यो । उनको सानो कोठामा एउटा खाट र एउटा दराज छ र त्यसबाहेक अरू सामान अट्ने ठाउँ छैन तर पनि उनलाई आफ्नो कोठा निकै फराकिलो लाग्छ किनकि उनीबाहेक अरू कोही पनि त्यहाँ आउँदैनन् । त्यसैले होला उनले त्यस माकुरालाई पनि कुनै पाहुना या साथीजस्तो महसुस गरिन् र त्यसको चालहरू पछ्याउन थालिन् । माकुराको चालहरू पछ्याइरहँदा उनलाई रमाइलो लाग्यो । त्यसले जाल बुनेकोसिकार गरेको आदि क्रियाकलापहरू बडो चाख मानेर नियाल्न थालिन् । यसरी हरेक दिन त्यस माकुराको गतिविधि उही उत्सुकताका साथ नियालिरहँदा उनले त्यस माकुरासँग एक किसिमको आत्मीय सम्बन्ध विकास गरिन् । उदास र एक्लो उनको जीवनमा एउटा साथी पाएको महसुस गरिन् ।

विशाल राना मगर

त्यस माकुराको गतिविधि पछ्याउन अभ्यस्त भइसकेकी उनी एक दिन त्यसलाई नदेख्दा चिन्तित भइन् । कुनै आत्मीय व्यक्तिले साथ छोडेको जस्तै भान भयो उनलाई । काम नै छोडेर त्यो माकुरा भेटिन्छ कि भनेर कोठाका भित्ताहरूमा खोज्न थालिन् । हरेक कुनाकाप्चा र चिराहरूमा खोजिन् तर माकुरा भेटिएन । निकै उदास भएर खाटमा उत्तानो परेर पल्टिन् उनी । खाटमा पल्टिँदा उनको नजर कोठाको छानामा दौडियो । कोठाको भित्ता र छानो जोडिएको एउटा कुनामा केही देखेजस्तो लाग्यो उनलाई । जुरुक्क उठेर उनी त्यो चिज नियाल्न पुगिन् । आफ्नो गुँडको रक्षा गरेर बसिरहेको अवस्थामा त्यही माकुरा भेटाउँदा आफ्नो हराएको सन्तान भेटिएझैँ खुसी भइन् ।

अरू वेला कोठाका भित्ताहरू र छानामा निर्बाध रूपमा घुमेर सिकार गर्ने त्यो माकुरा गुँड बनाएपछि शिकार गर्न समेत ननिस्किकन त्यही गुँड र गुँडभित्र भएको अन्डाको रक्षामा फलाममा चुम्बक टाँसिएझैँ त्यहीँ बसिरह्यो । उनले सम्झिन् विवाह हुनुअघिको आफ्नो जीवन । कति स्वतन्त्र थिइन् उनी । सङ्गिनीहरूसँग खेलेकोघुमेको पालहरू निकै स्मरणीय थिए तर जब उनको विवाह भयोउनको दैनिकी घरगृहस्थीमै सीमित भयो । जसरी त्यस माकुराले आफ्नो भोकको समेत ख्याल नगरेर गुँडको रक्षा गऱ्यो, त्यसरी नै उनले पनि आफ्ना सम्पूर्ण इच्छा र चाहनाहरूको आहुति दिएर परिवार र सन्तानको इच्छा र आवश्यकताहरू पूरा गर्दै गइन् । विवाह गरेको पाँच वर्षमै तीन सन्तानकी आमा बनेकी उनीपरिवार धान्न कमाइका लागि बिदेसिएका पति उतै बेपत्ता भएपछि उनी एक्लैले दुःख गरेर बालबच्चाको लालनपालन गरेकी थिइन् ।

गुँडको रक्षामा बसेको माकुरा सिकार गरेर नखाएको केही दिनपछि कमजोर बन्दै गयो । जसरी सौभाग्यवतीले आफ्ना सन्तानहरू हुर्कँदै गर्दा आफ्नो गाला चाउरी परेको पत्तै पाइनन्, त्यसरी नै गुँडभित्र आफ्ना सन्तानहरू विकसित हुँदै गरेको उत्साहसमा आफू कमजोर ‌हुँदै गएको त्यस माकुरालाई हेक्का भएन ।

करिब एक सातापछि गुँडभित्र हलचल देखियो । केही बेरमा गुँडको जालो तोडेर ससाना माकुराहरू बाहिर निस्के र गुँड छोडेर यताउता हिँड्न थाले जसरी हातपाखुरा लागेपछि सौभाग्यवतीका सन्तानले घर छोडेर सहरतिर लागेका थिए । भोकाएका माकुराका बच्चाहरू खान केही नभेटिएपछि केही बेरमा नै गुँडतिर फर्किए । सबैले कमजोरीले शिथिल भएर हलचल समेत गर्न नसक्ने भएकी आमालाई घेरे ।

त्यसपछि जे भयो त्यो सौभाग्यवतीले विश्वास गर्न सकिनन् । बिस्तारै ती ससाना बच्चा माकुराहरूले आफ्नी आमाको अङ्गहरू लुछाचुँडी गरेर खान थाले । हलचल गर्न नसक्ने भएको त्यो माऊ माकुरा चुपचाप सहेर बसिरह्यो । सौभाग्यवतीका आँखाबाट आँसुका धारा बग्न थाले । उनले सम्झिन् सहरबाट दुःख पाएर उनका सन्तानहरू गाउँ फर्किएकोउनीसँग घर र जग्गाको लालपुर्जा मागेर सबै बेचेर उनलाई सहर लगेको । त्यहाँ पुगेपछि उनलाई पशुपतिनाथको दर्शन गर्न लगिएको र सबै जना बेपत्ता भएको । असहाय माऊ माकुराझैँ आफ्नो सन्तानको दया र मायाँको आशामा थिइन् उनी पनि तर अहँत्यस दिन या आज वृद्धाश्रममा बसेको एक दशक काटिसक्दा पनि कोही फर्किएर उनलाई भेट्न आएनन् ।

पछ्यौरीले आँसु पुछ्दै उनले फेरी माकुरातर्फ नजर लगाइन् । सारा बच्चाहरू मिलेर माऊलाई पूरै खाइसकेका थिए र शरीरमा शक्ति आएपछि सबै आआफ्नो बाटो लाग्दैथिए ।