जाडाको समय त्यसमा झन् वायु प्रदूषणले सिङ्गो नेपाल अस्तव्यस्त थियो । कतिपय बिहान चाँडै उठ्नुपरेर दिक्क थिए, भने कतिपयलाई बिहानको नौ-दस बजेसम्म सुत्न पाएर मक्ख थिए । घाम निकै कमजोर भइसकेको आफ्नो न्यानो किरणलाई पृथ्वीमा पुऱ्याउन जति सूर्यले सङ्घर्ष गर्नुपर्थ्यो सुगमको जीवन त्योभन्दा बढी कष्टपूर्ण थियो । आफ्नै काम हुन्थ्यो, आफ्नै तरिकाले बाँच्दै प्रत्येक बिहानको तुसारोसँगै कलेज जानुपर्दा र दिउँसोभरि अरूको झुठो भाँडा माझेर थकित, थकित भएर रातिमात्र कोठामा आउन पाउँदा जिन्दगी उजाड-उजाड लाग्थ्यो ।

…..

पौषको महिना थियो । बिहानै उसको मोबाइलको घण्टी बज्यो, कलेजको साथीहरूले गरेका होला भनी उसले मोबाइलमा त्यति वास्ता गरेनन् । सधैँझैँ दिनचर्या उठेँ, हातमुख धुने र कपडा लाएर स्कुल जाने यसैमा बित्थ्यो उसका प्रत्येक दिनहरू । यसरी नै तयार भएर निस्कने बेला उसले आफ्नो चार्जमा राखेको मोबाइल झिकेँ र हेरेँ, हेर्नासाथ उसलाई नरमाइलो लाग्यो फोन आमाको रहेछ, भित्र गाएर हेरेँ फोन हिजो राति पनि गरेको रहेछ । आफैँले आफैँलाई धिक्कारेँ कहाँ थिएँ म हिजो ? आफ्नै कुम्भकर्णको जस्तो निद्रालाई घृणा गर्दै बसेँ । बिचरो निद्रा पनि किन नलागोस् दिनभर मेसिनजसरी चल्ने भएपछि । कलेज जाने क्रममा आफ्नी आमालाई फोन गर्नुपर्‍यो भनेर फोन गर्दै थियो । फोन उपलब्ध हुन सकेन, उपलब्ध पनि कसरी हुन्थ्यो त खालि पैसाविनाको सिमले । प्रत्येक छोराछोरीहरूलाई आफ्नो जन्म दिने बुबाआमा सम्झिनु ठुलो कुरा थिएनन् तर के गर्नु सुगमको आमा मात्र थिइनन् रोगी पनि थिई । एक छाक टार्न पनि धौधौ हुने उसको घरमा आफ्नी आमा के गर्दी हो ? छोराले फोन नउठाउँदा के सोच्थी हो ? यस्तै-यस्तै कुराले ऊ निराश थियो । । आमाको अनेक सम्झनाले हरेक कुरा सम्झिँदै ऊ कलेज पुग्यो ।

सरकारी कलेज त थियो । कहाँ सर, मिसहरू आउनुहुथ्यो, कोही पनि थिएनन् । किन सरकारी भन्नेबित्तिकै अनाथजस्तै छोडिन्छ प्रत्येक कामकाजहरू, त्यसैको प्रतिफल होला आज प्रत्येक ठाउँमा भ्रष्टाचार छन् । सबैतिर गरिबी, अशिक्षा र बेरोजगारी मात्र जसलाई हामी सबैभन्दा बढी विश्वास गर्छौँ त्यहीँबाट हामी किन धोका पाउँछौँ । सायद मजस्तै होला प्रत्येक क्षेत्रहरू त्यसैले त मरुभूमिजस्तो भइरहेको छ । विद्यार्थीहरू मात्र आफ्नै लयमा थिए, कोही गफमा मस्त थिए, भने कोही मोबाइलमा समय कसरी कटाउने भन्नेमा मात्र व्यस्त थिए ।

सुमन घिसिङ

सुगम कलेजबाट निस्क्यो । नजिकैको एउटा पसलमा रिचार्ज किनेर आमालाई फोन गर्ने सोचेँ । उसले फेरि सम्झ्यो अहिले भएको त्यहीँ पैसा रिचार्जमा सकाए, बेलुका कोठामा धुलामा दुई घण्टा हिँडेर जानुपर्ने कुरा सम्झेँ त्यसैले आमासँग कुरा गर्ने सोच बिचमै मार्‍यो । कलेजमा कुनै कक्षा भएन । त्यसैले ऊ निराश हुँदै आफ्नो कर्मस्थालमा गयो । होटलमा उनको मलिन अनुहार देखेर बिहान, बिहानै निराश अनुहार देखाएर साइत बिगार्‍यो भनेर साहूले थर्काए । साहूसँग पैसा मागेर घरमा फोन गर्नुपर्छ भन्ने उसको चाहना बालुवामा पानी खन्याएझैँ भयो । निकै तनावग्रस्त जीवन थियो । धेरै ग्राहकहरू आउँदा नभ्याएर गाली खान्थ्यो भने ग्राहक नआउँदा व्यापार थोरै हुने कुराले रिसाउने, साहूको मनमा धर्म भन्ने नहुँदो रहेछ, सायद धनीहरू भनेको यस्तै स्वार्थी हुने रहेछ ।

बेलुका छुट्टिने वेलामा उसले केही पैसा माग्न साहूलाई बिन्ती बिसायो तर साहूले त्यसको बदलामा उसलाई तथानाम गाली गरेर रित्तै हात फर्कायो । कोठामा गएर ऊ लम्पसार पछारियो । आफू र अरूबिचको गहिरो खाडल देखेर उसले बाँच्ने आशा घटायो तर खै के गर्नु प्राणभन्दा प्यारो आमाको मायाले सतायो । उसले त्यो दिन खाना खाएन । खाना पनि कसरी खाओस् बिचर खाएको खाना चपाउने न उनमा शक्ति थियो न त खानाको स्वाद थाहा हुने सामर्थ्य नै जम्मा थियो । रातिको नौ-दस बजेतिर बाहिर कुकुरहरू भुक्दै थिए, मरुभूमिजस्तो शरीर लिएर भित्र ऊ सुक्दै थियो । आँखामा टिलपिल आँसु बोकेर रुँदै थियो । त्यत्तिकैमा उसको मोबाइल बज्यो, आमाले फोन गरेको रहेछ हत्तपत्त आँसु पुछेर ऊ बोल्न थाल्यो ।

छोरो तिमी कता छौ ? तिमी ठिक त छौ नि ? आमाको त्यो मलिन स्वरले झन् उसलाई पगाल्यो । आमाले फेरि सोधिन् , छोरो घर कहिले आउने तेरो धेरै याद आउँछ हिजोआज । छोराले केही दिनमै साहूले पैसा दिएपछि आउने कुरा बतायो । यसरी आमाछोराको संवाद सकिन्छ । उसलाई औडहा भयो, के गर्ने के नगर्ने एउटा रिचार्ज हल्न पैसा नदिने साहूले के पैसा देला । त्यस रात ऊ भोकै सुत्यो । सानोमा आमाले कसैको मेलाबाट ल्याएको खाजा मिठो र खुसीसाथ खाएको याद सम्झेर आँसु झर्दैमा ऊ निदाए । त्यसरी नै उनको प्रत्येक दिनहरू झन् झन् कष्टकर बन्दै थियो । सात दिनपछि साहूको मनको घैँटामा घाम लागेछ, सधैँझैँ कलेजबाट काममा जाँदा साहूले उसको चार महिनाको बिस हजार रुपैयाँ तलब दिने कुरा सुनाउँछ । सुगमको काम देखेर साहू प्रसन्न भयो रे । सोही कुराले भन्दा तलब पाइने कुराले ऊ भित्रभित्रै निकै गद्गद थियो । उसलाई लाग्यो कहिलेकाहीँ मान्छेको मन परिवर्तन हुँदो रहेछ । “त्यसैले त यहाँ गतिशीलतामा बाँच्न सक्नु नै सार्थक जीवन हो” भनी परिभाषा दिन्छन् मान्छेहरू । उसले साहूलाई मोबाइल मागे, साहूले सधैँझैँ प्रतिवाद नगरेर उसलाई खल्तीको मोबाइल चुप लागेर दियो झन् यो कुराले ऊ खुसी भए उसले आमालाई केही दिनमै आउने कुरा बताए । छोराले आमालाई के-के ल्याउनुपर्छ भनेर सोध्छ तर आमाको मन त हो केही ल्याउन पर्दैन भनी ।

भोलिपल्ट बजारमा गएर उसले आमाका लागि दुई जोर धोती, चोलो र एउटा बाक्लो ज्याकेट र टोपी किन्छ र साथमा जाडामा बिहान बेलुका तातोपानी भए पनि सजिलो गरेर खाना पाओस् भनेर एउटा बत्तीबाट चल्ने पानी तताउने भाडो किन्यो । उसको गाउँ जाने कुरा अगाडि आउँदै छ, भन्ने कुराले ऊ आकाशमा उडिरहेको चङ्गाझैँ मन बनाइरहेको थियो । आफ्नो आमाका लागि त्यति सामान किनेर लान पाउँदा पनि ऊ निकै गौरवबोध गर्छ । घर जाने अघिल्लो दिन ऊ सधैँको झैँ दिनचर्या बिताएर साहूसँग दुई दिनको छुट्टी माग्छ । उसको कुरामा साहू सहमत भए कुनै प्रतिवाद गरेनन् केही दिनअघि राक्षस सम्झेको त्यही व्यक्ति आज उसलाई ईश्वर लाग्न थाल्यो । त्यस रात त्यसैले उसलाई लाग्यो प्रत्येक चिज समयानुकूल चल्दो रहेछ । यस्तायस्तै सोच्दै गर्दा उनको मोबाइलमा छिमेकी फोन आयो ।

कता छौ र ? तिमीलाई आमाले केही सुनाएको थिइन्? केही भनेकी थिई? यसरी एकपछि अर्को प्रश्नले ऊ अतालियो, किनकि यस्ता अनेकौँ प्रश्नले उसको मनमा चिसो पसिसकेको थियो । आफ्नो आमाका बारेमा कसैले अनेकौँ प्रश्न गरेको देखेर उसलाई पक्कै केही नराम्रो भएको हुनुपर्छ, भन्ने लाग्यो । यस्तै रुन्चे स्वरमा उसले सोध्यो, के भयो आमालाई ? छिमेकीको मलिन उत्तरमा आमा त बितेछे । ऊ ठाँउको ठाउँ ढल्यो, उसलाई आफ्नो शरीर आफ्नोझैँ लागेन । एउटा हिउँको डल्लले थिचिएको ढुङ्गाजस्तै भयो । फेरि फोन आयो सकिनसकी उठाएँ, उतातिरबाट फेरि आयो “तयार भएर बस हामी लिन आउँदै छौँ । “उसले सोच्यो केही राम्रो सहयोग पाउन, कि त विपत्ति आउनुपर्दो रहेछ, कि त धनको वाही-वाही । तीन-चार घण्टापछि दुई मोटरसाइकल ऊ भएको ठाउँमा आएँ । घरमा जाँदा आमालाई लगाइदिनुपर्छ भनेर किनेको सबै लुगा झोलामा बोकेर सकिनसकी चिसो तुसारामा मोटरसाइकलमा चढेर गाउँ पुगेँ ।

घर पुग्दा उसलाई गरिब भनेर हेप्नेदेखि लिएर दुःख, सुखमा सान्त्वना दिने सबै गाउँलेहरू भेला भएका थिए । समाजको आवश्यक रीति, संस्कार, परम्परा अनुरूप समाजका व्यक्तिहरूले आआफ्नो जिम्मेवार पूरा गरेका थिए । त्यसैले त जीवनमा जन्तीभन्दा मलामी बटुल्नु उपलब्धि सम्झिन्छौ । यो मात्र होइन कि यो एउटा प्रत्येक गाउँलेहरूको पहिचान मात्र नभएर प्रत्येक सहरका मानिसहरूका लागि प्रेरणा पनि थिए । आफ्नो मृत आमाको शरीरमा पछारिन पुग्यो । सबैले सम्झाइ-बुझाइ गरेपछि जन्मपछिको मृत्यु अनिवार्य हुन्छन् भन्ने कुरालाई स्वीकार गरेर झिनो आशामा बाँच्यो ।

गाउँलेहरूका सहानुभूति देखेर उसलाई अचम्म लाग्यो । कोही व्यक्ति मिल्न अथवा मिलाउनका लागि मान्छे मर्नुपर्दो रहेछ, किनकि वरिपरिको घरको कहिल्यै नबोल्ने, नमिल्ने छिमेकीहरूसँगै आउँदा, सँगै बस्दा आएको देख्दा अचम्मित थिए । यसरी समाजको परम्परा, संस्कारअनुरूप आवश्यक क्रिया समाप्त गरियो । आमाको दाहसंस्कार विधिप्रक्रिया अनुरूप सकिँदै गर्दा गाउँलेहरू पनि आआफ्नै घरमा लागेका थिए । अब उसको जीवन मरुभूमि भयो, अब के गर्ने ? कहाँ जाने ? सहरमा जाऊँ कसका लागि जाऊँ ? बाँचूँ कसका लागि बाँचूँ ? जस्ता अनेकौँ प्रश्न र वितृष्णा साथै विगत, वर्तमान अनि एक्लोपनको महसुसले उसको ओठतालु सुक्न थाल्यो । पानीविनाको माछाझैँ सबै पीडा सहन नसक्दा हृदयघातबाट जमिनमा बजारिन पुग्यो । साथमा कोही नभएको हुँदा मूर्तिझैँ ढलेका उनको निकै कारुणिक अवस्थामा मृत्यु हुन पुग्छ ।