वीरेन्द्र नेपालको जन्म वि. सं. २०३४ सालमा पिता विष्णुभक्त र माता इन्द्रमायाको सन्तानका रूपमा भएको हो । उनको जन्मस्थल झापा भए पनि हाल उनी भक्तपुरमा बसोबास गर्छन् । वि. सं. २०६० सालमा प्रकाशित “नेपाल कस्तो भयो ?” भन्ने कविता उनको साहित्यिक यात्राको प्रारम्भ थियो । विश्ववेदना भने उनको पहिलो प्रकाशित कृति रहेको छ ।

शाश्वत पौडेल

उनको पेसा शिक्षण भनेर किताबमा उल्लेख छ । उनको जीवनबाट उत्प्रेरित हुने ठाउँहरू व्यापक छन् । वीरेन्द्र नेपालद्वारा लिखित ‘विश्ववेदना’ एक छन्दकवितासङ्ग्रह हो । यो कवितासङ्ग्रहको सम्पादक शिखा बुक्स हो । कवितासङ्ग्रहमा कुल ५१ कविताहरू रहेका छन् ।

झापाबाट काठमाडौँसम्मको उनको यात्रा अति सङ्घर्षपूर्ण रहेको छ । कवि एक दिनमा एउटा छन्द कविताका दरले १०० दिनसम्म कविता लेख्ने अभियानमा लागेका थिए । उनले यही अभियानमा डटेर लेखेका १०० कविताहरूमध्ये ५१ उत्कृष्ट कविताहरू यो कवितासङ्ग्रहमा परेका छन् । कविको आफ्नै धारणामा उनले गरेको यो अभ्यासले उनलाई उनको सिर्जनात्मकतामा सुमधुर आवाजको उपस्थिति भएको जस्तो अनुभूति भएको थियो ।

आफ्नो देश र देशको माटाको महत्त्व बुझेका कवि वीरेन्द्र नेपालले कवितासङ्ग्रह ‘विश्ववेदना’ मा मातृभूमिमाथि आइपरेका अवरोध, समाज र राजनीतिमा भएका कुरीति र नकारात्मक पक्षलाई नियालेर हेरेका छन् । उनले आफ्नो देशको माटो बिगार्ने र देशको कार्यरीति भङ्ग गर्नेको चर्को आलोचना पनि गरेका छन् । कवि वीरेन्द्र नेपालमा भरपुर देशप्रेम, नीति र एक समतामूलक समाजको सपना पनि रहेको देखिन्छ । कविले आफ्ना कविताहरूमा राष्ट्रप्रेमको प्रदर्शन र नेताहरूको लापरवाहीप्रति आक्रोश जनाएका छन् भने पीडा, द्वन्द्व, विमर्श, संस्कार र संस्कृतिजस्ता विषयवस्तु उनका कविताहरूमा भेटिन्छन् । यिनै विविध विषयवस्तुका कारण उनको कवितासङ्ग्रह उच्च कोटिको हुन पुगेको हो ।

कवितासङ्ग्रहमा कविलाई कतिपय ठाउँमा राष्ट्रको भविष्यको अनिश्चितताको चिन्ता छ, त कतै नेताहरूको अनौठो प्रवृत्तिको विषयमा चर्को आलोचना । उनी कतै भयङ्कर क्रोधित भएका छन्, त कतै आमाको ममताको कोमलतामा डुबेका छन् । कतै देशको सौन्दर्यले उनलाई मोहित पारेको छ, त कतै उनले विदेश गएका युवा एवं मानिसलाई घर आमन्त्रण गरेका छन् । कविताहरूमा कविलाई देशको विचलनले चिन्तित पारेको छ ।

कविले ‘विश्ववेदना’ कवितासङ्ग्रहमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, पञ्चचामर, वसन्ततिलका, मालिनी, अनुष्टुप्, उपजाति, स्रग्विणी, विधाता, वंशस्थ, इन्दिरा, इन्द्रवज्रा, चित्रमाला, तोटक, नर्कुटक, अन्य भुजङ्गप्रयातलगायत डेढ दर्जनभन्दा बढी शास्त्रीय छन्दको प्रयोग गरेका छन् । कवितासङ्ग्रहमा भएका धेरैजसो कविताहरू ५ श्लोकमा अन्त्य भएका छन् । उनले बहुमत कविताहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग गरेका छन् । लयबद्धताका आधारमा हेर्दा कविताहरू जटिल रहेका छन् ।

कविले जातीयता, राष्ट्रिय एकताजस्ता विविध विषयमा पनि कलम उठाएका छन् । कविले समतामूलक समाजको सपना बोकेर कविता ‘उठ नारी’ पनि लेखेका छन् । कवितामा उनले समाजमा नारीहरूको महत्त्व पाठकलाई बुझाएका छन् र नारीहरूलाई उत्प्रेरणा प्रदान गरेका छन् ।

कविता ‘भूमिको आवाज’ शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । कवितामा कविले स्वदेशलाई छोडेर बाहिर बसेका युवालाई आफ्नो मातृभूमिमा बोलाएका छन् ।

“छोरा बालक वृद्ध बाबु र मुमा रुन्छन् सधैँ धर्धर,
पीडाले दिन काट्न मुस्किल भयो सम्झेर आऊ घर ।”
(कविता – भूमिको आवाज)

कविले विदेश पलायन भएकालाई मातृभूमि आमन्त्रण त गरेका नै छन्, उनले आफ्नै देश विकासको मार्गमा लाग्नुपर्ने कुरा पनि सम्झाएका छन् ।

कविता हाम्रो देश अपार, नेपाल हो गौरव, मेरो देश, अन्य छन्दमा रहे पनि यी कविताहरूले कविको आफ्नो देशप्रतिको प्रेम, मायाको चित्रण गरेका छन् । हिमाल हाँसेको, पहाडले गाएको जस्ता विविध परिदृश्यहरूको प्रयोग कविले गरेका छन् । यी कविताहरूले हाम्रो देशको सौन्दर्यको अपार चर्चा गरेका छन् । कविताहरूमा देशप्रेमलगायत गोर्खालीपनको विवरण पाउँछौँ हामीले ।

कविले बिम्ब र प्रतीकको व्यापक रूपमा प्रयोग गरेका छन् । उनले हिमाललाई चन्द्रमा, नेपालको भूगोललाई स्वर्गसँग तुलना गरेका छन् ।

विश्ववेदनामा कतिपय कविताहरू व्यङ्ग्यभावमा आधारित छन् । कविता कुर्सी, किङ्कर र आदर्श नेतामा कविले आफ्नो कल्पना, विचार र शिल्पले नेताहरूको खुलेर आलोचना गरेका छन् । कविता कुर्सी किङ्करमा त उनले नेतालाई सिधै गली नै गरेका छन् ।

“बस्छन् ती पदमा ढुकेर दुधको साक्षी बिरालो भई
चाप्लुसी स्वर बोल्दछन् असुर ती सर्कार देखाउँदै”

(कविता- कुर्सी किङ्कर)

कविले यहाँ आफ्नो आक्रोश जनाउने प्रक्रियामा नेताहरूलाई दुध ढुकेर बसेका बिराला र असुरसँग तुलना गरेका छन् ।

“बुझ्दैनन् किन भावना सहरका देखेर आँखाअगि
पाऊँ निल्न भनी बनेर सुरसा बस्छन् सधैँ नर्तकी ।”

(कविता – कुर्सी किङ्कर)

यस कवितामा हामी कविको सरकारप्रतिको निराशा र कुण्ठा छर्लङ्गै देख्छौँ । उनले आफ्नो सोचाइलाई लेखमा उतारेका छन् । वर्तमान समाजलाई साक्षी मानेर लेखिएको कविता भएर होला, यो कविताले हाम्रो देशको परिवेशलाई मज्जाले वर्णन गर्न सकेको छ । देशमा भ्रष्टाचार व्यापक रूपमा प्रचलित रहेको छ । विकासको नामोनिसान छैन तर नेताहरूलाई कुर्सीकै पछि दौडेर साद्धे छैन । सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे छन् । देशका पूर्वाधारको अवस्था लथालिङ्ग रहेको छ । यति हुँदा पनि पदमा भएका व्यक्तिहरू आफ्नो निजी स्वार्थ पूरा गर्ने खोजीमा छन् र जो चोर उसकै ठुलो स्वर भनेझैँ त्यो स्वार्थ पूरा नभए कुर्सी फुटाउनेजस्ता नीच कार्य गरेका छन् ।

कविता ‘विश्ववेदना’ कविले माटो सिँगार्ने जिम्मा लिएका कलिगढहरूको काम गर्ने प्रक्रिया देखेर वाक्क भएर लेखेका हुन् । यस कवितामा कविले विश्वमा पाप बढेको, डर र त्रासको सिर्जना भएका कुराको वर्णन गरेका छन् । कविले चन्द्रमा रुँदै लुप्त भएको कुरा थपेका छन् ।

कविता आदर्श नेतामा कविले एक सिद्ध, पूर्ण र संस्कारी नेताका बारेमा लेखेका छन् । यस कविताले हाम्रो समाजमा अहिलेसम्म नभएका व्यक्तित्वको वर्णन गरेको छ ।

“थाहा पाओस् कुन पथ हिँडे हुन्छ कल्याण धेरै
टेक्दै काँडा अविरल बढोस्, लक्ष्य बोकेर यौटै ।”

(कविता- आदर्श नेता)

मेरो धारणमा कविले यहाँ आज भएका नेताहरूका बारेमा विडम्बनाका साथ बोलेका छन् । उनले व्यङ्ग्यात्मक शैलीमा तत्कालीन नेताहरूमा केकस्ता क्रियाकलाप एवं गुणहरू अनुपस्थित छन् भन्ने कुरा गरेका छन् ।

“ओठे हाँसो प्रहसित बनोस् शान्त सौन्दर्य छर्ने
आफूभन्दा सकल जनता उच्च ठानेर हिँड्ने”

(कविता – आदर्श नेता)

कविले कवितामा यो परिपक्व नेतालाई देशको र जनताको दुःख बुझ्ने, आफूभन्दा जनतालाई ठुलो ठान्ने, शान्ति, सौन्दर्य छर्नेजस्ता कार्य गर्ने गुण भएको भनेर उल्लेख गरेका छन् ।

उनका पछिल्ला कवितामा पनि उनले यही आधारमा नेताहरूलाई चर्को आलोचना दिएका थिए ।

मूर्ख चरित्र कवितामा कविले एक घमन्डले भरिएको व्यक्तिका बारेमा लेखेका छन् । आफूभन्दा ठुलो कोही नभएको ठान्ने, समय नबुझी आफूमाथि र आफ्नो कदमप्रति विनाशकारी स्वरूपमा विश्वस्त भएको जस्ता कुरा गरेका छन् ।

“मभन्दा जान्ने यो भुवनभरिमा छैन जनता
भनी दाह्रा किट्दै समय नबुझी हिँड्दछ सदा

घमन्डी साँढेझैँ मदसरि भई डुल्दछ भव ।”

(कविता – मुर्ख चरित्र)

यी सम्पूर्ण कविताले कविको राष्ट्रप्रतिको प्रेम र मायालाई दर्साउँछन् । नेताले गरेका छलकपट, राष्ट्रघात, निजी स्वार्थलाई दिने उच्च महत्त्व, घमन्डी प्रवृत्तिजस्ता यावत् विसङ्गतिले गरेर उनमा आएको आलोचना स्वाभाविक हो तर यही आलोचनात्मक सोचको प्रयोग गरेर सुन्दर कविताको निर्माण गर्नु सहज कार्य होइन । यस्ता आलोचनात्मक विषयलाई पनि लयबद्ध रूपमा लेखेर सुन्दर कविताको निर्माण गरेका उनलाई जति प्रशंसा दिए पनि कम ठहरिन्छ ।

पुनश्च: विद्यालयले हामीलाई यो कवितासङ्ग्रह मङ्सिर महिनामा अध्ययनका लागि उपलब्ध गराएको थियो । कविता विधा मेरा लागि प्रिय भएको कारणले मैले समीक्षा लेख्नका लागि अभिप्रेरित भएको हुँ ।

शाश्वत डियरवाक सिफल स्कुलमा कक्षा ११  अध्ययनरत् छन् ।