केही दिनअघि एक जना चिनेका भाइले आत्महत्या गरेको खबरले अलि निकै मन दुख्यो । कारण, म उसलाई चिन्थेँ । वेला-वेलामा हाम्रो भेट पनि हुन्थ्यो । साह्रै असल थियो ऊ ।

उसले आत्महत्या गरेको थाहा पाएपछि मैले त्यसको कारण बुझेँ । कारण बुझेपछि अझ बढी दुःख चाहिँ उसले प्रेम छुटेका कारण आत्महत्या गरेको थाहा पाएपछि लाग्यो ।

ती भाइलाई सम्झँदै गर्दा मेरो मनमा विविध विचारहरू खेल्न थाले । मनोरोग परामर्शदाता भएको नाताले मैले प्रेममा छुटेकाहरूले भोग्ने पीडा र त्यसको निराकरणका बारेमा सोचेँ ।

हुन त मानिसका सबै भावहरूमध्ये प्रेमभाव सबैभन्दा रोमाञ्चक र सन्तोषजनक हुन्छ । आफूले चाहेको मानिस सधैँ आफैँसँग र आफ्नै नियन्त्रणमा होस् भन्ने चाहन्छ । कुनै पनि कारण छुट्न चाहँदैन मानिस आफूले प्रेम गरेको मानिसबाट छुट्न ।

आफूले प्रेम गरेको मान्छेबाट छुट्टिनुपर्दा भने मानिसले अन्त्यन्तै पीडा महसुस गर्छ । चाहे आफ्नो मानिसको मृत्युपछि जिन्दगीलाई अघि बढाउन होस् या पुरानो सम्बन्धलाई छोडेर अगाडि बढ्न, यस्तो पल हरेक मानिसका लागि धेरै पीडादायी हुने गर्छ ।

विमला हुमागाईँ

छुटिइसकेपछि दुःख प्रकट गरेर समयको उपचारात्मक गुण स्विकार्नु नै यस्तो अवस्थामा अन्तिम विकल्प रहन्छ । यस्तो अवस्थामा आफ्नो भावनात्मक सीमा नाघेर आफूलाई अस्तव्यस्त बनाउनुहुँदैन । आफ्नो दुःख स्वीकार गर्नुपर्छ । सम्बन्ध सकिइसकेको छ भने कसैको मृत्यु हुँदा हामी जसरी सोच्छौँ त्यस्तै गरी सोच्नुपर्छ ।

त्यो वेला आफ्नो नोक्सान महसुस गर्नुपर्छ र भावनामा अत्यधिक नडुबी, त्यसैमा नहराई आफ्नो पीडाका लहरहरूमा भिज्ने कोसिस गर्नुपर्छ । पीडा पनि ठिक हुनुको हिस्सा हो भनेर बुझ्नुपर्छ । तपाईँको पीडा कसैले बुझ्न नसकून्, तैपनि आफ्नो पीडालाई स्वीकार गर्नुपर्छ ।

निराश महसुस गरिरहँदा एकपलको समय लिएर मनमनै आफैँसँग भन्नुपर्छ, “आज म दुःखी छु तर केही छैन, अवश्य ठिक हुनेछ ।”

अरूसँग आफ्ना पीडाहरू बाँड्नुहोस् । चाहे तपाईँ वरिपरिका मान्छेले तपाईँको भावानाको गहिराइ नबुझून्, तर पनि आफ्ना केही मान्छेसँग आफ्नो पीडा सुनाउन नहिचकिचाउनुहोस् ।

यदि तपाईँ आवश्यक महसुस गर्नुहुन्छ भने प्रोफेसनल मान्छेहरूको मद्दत पनि लिन सक्नुहुन्छ । यदि तपाईँका लागि पीडा असह्य छ र आपत्तिजनक व्यवहार गर्न थाल्नुभएको छ भने यस्तो अवस्थामा चिकित्सकको मद्दत लिन सक्नुहुन्छ ।

मानसिक चिकित्सकसँगको कुराकानीबाट आफ्नो दुःख कसरी सम्हाल्न सकिन्छ भनेर सिक्न सकिन्छ । पीडामुक्त हुन हतार नगर्नुहोस् । पुरानो भनाइ छ, समयले सबै घाउ ठिक पार्छ । हुन पनि भावनाको सामना गर्दै  घाउ पुर्ने समय दिनाले बिस्तारै पीडाले बनाएका घाउहरू भरिन थाल्छन् ।

पीडाबाट चाँडै निस्कन हतार गर्न थाल्यौँ भने तनाव लम्बिएर जान्छ । त्यसैले आफ्नो पीडालाई स्वीकार गर्नुहोस् र हतार नगर्नुहोस् । एक दिनका लागि मात्रै सोचेर चल्नुहोस् । समयको पहाड तोड्नुहोस् र त्यसलाई टुक्राहरूमा बाँड्नुहोस् । यसरी समय बाँड्दा तपाईँको पीडा पनि बाँडिन्छ केही हदसम्म ।

साना उपलब्धिहरूमा खुसी हुनुहोस् । त्यो वेला पनि तपाईँले पीडा महसुस त गर्नुहुन्छ, तर बिस्तारै केही कम भएको पाउनुहुन्छ । आफूलाई सकारात्मक कुरा सोच्न प्रेरित गर्नुहोस् ।

नकारात्मक भावना आएका वेला आफ्नो विचारलाई कुनै सकारात्मक र फाइदाजनक कुरातिर मोड्नुहोस् ।

उचित तरिकाले आफ्नो सम्बन्धको मूल्याङ्कन गर्नुहोस् । छुटिइसकेको मान्छेलाई अति धेरै सम्मान नदिनुहोस् । यसो गरेर तपाईँ अगाडि बढ्न सक्नु हुन्न ।

सम्झनुहोस्, ऊ तपाईँका लागि उपयुक्त थिएन । यदि हुन्थ्यो भने तपाईँहरू यसरी छुट्नुपर्ने थिएन । सम्बन्धका कमजोरीहरू पनि याद गर्नुहोस् । यसले तपाईँलाई अघि बढ्न प्रेरित गर्छ ।

आफ्नो अतीतमा गएर रमाइला पलहरूमा हराउनु गलत हैन, तर यथार्थवादी बन्नुहोस् किनभने तपाईँको सम्बन्धमा सबै राम्रा पलहरू मात्र थिएनन् । यी दुवै पक्षको स्मरण र मूल्याङ्कन गर्नुहोस् । सम्बन्ध छुट्नुको कारण पत्ता लगाएर त्यसको विश्लेषण गर्नुहोस् । यसरी आफू पीडामा पर्नुको कारण पत्ता लगाउनाले तपाईँलाई यस अवस्थाबाट निस्किन मद्दत मिल्न सक्छ ।

यसको मतलब त्यसमा गल्ती उसको होस् भन्ने होइन । चाहे गल्ती तपाईँकै किन नहोस्, यसबारे पत्ता लगाउँदा तपाईँलाई भविष्यमा अर्को सम्बन्ध जोगाउन पनि सहयोग मिल्छ । आफ्ना आफन्त र प्रियजनसँग भेटघाट गर्न थाल्नुहोस् ।

सबै जना खराब छन् भनेर सोच्नुभन्दा तपाईँलाई महत्त्व दिने, साथ दिने र स्नेह गर्ने मानिसहरूका बारेमा सोच्नुहोस् । उनीहरूका लागि समय दिनुहोस् । उनीहरूसँग घुम्नुहोस् । उनीहरूलाई उपहार दिनुहोस् । तपाईँ आफैँ पहल गरेर उनीहरूसँग अझै नजिक हुनुहोस् ।

आफ्नो खाली ठाउँ भर्न साथीभाइ र परिवार अवश्य तपाईँको साथमा हुनेछन् । याद राख्नुहोस्, संसारमा सबै जना खराब हुँदैनन् । सबैले धोका दिँदैनन् । यस्ता मान्छे पनि तपाईँ वरिपरि हुन्छन्, जसले तपाईँको भलो चाहन्छन् । तपाईँलाई साथ दिन सधैँ तत्पर रहन्छन् । यो पूरै दुनियाँमा तपाईँ एक पिस मात्रै हुनुहुन्छ, जसको परिपूर्ति अरूबाट हुनै सक्दैन ।

लेखक मनोरोग परामर्शदाता हुन्