साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

लघुकथा : मैले पाप त गरिनँ !

माधव काफ्ले

दिनभरिको कामको थकान, अनि बेला-बेलामा भुनभुनाइरहने लामखुट्टे ! आज ऊ निदाउन सकेको छैन । घडीले दुई बजेको जानकारी दियो ।

आखिर कति बज्यो भन्ने कुरा महत्त्वपूर्ण हैन ! ऊ तनावमा छ ।

पोहोर साल चोकको सरकारी अस्पतालमा उसकै अगाडि एक खाइलाग्दो जवानले देहत्याग गरेको थियो । कारण डेङ्गु थियो ।

कतै यो वरिपरि घुमिरहेको लामखुट्टेले डेङ्गुको जीवाणु लिएर त आएको छैन ! – सोचमग्न भयो ।

लामखुट्टे पुनः उसको काननजिकै आएर भुनभुनाउन लाग्यो । सिमानामा तैनाथ दुस्मनको फौज आएजस्तै लाग्यो उसलाई ।

niti book inside post

– आज छोड्दिनँ ! साला, मेरो निद्रा खराब गर्न आइराछ !

लामखुट्टेलाई नमारी नछाड्ने प्रतिज्ञा गरेर बिस्तराबाट उठ्यो र लामखुट्टेको पछि-पछि भाग्न लाग्यो । करिब पाँच मिनटको भागदौड भइसक्दा पनि उसले लामखुट्टेलाई परास्त गर्न सकेन । ऊ आफैँ पसिनाले भिज्यो !

अब के गर्ने ?

ऊ फेरि उठ्यो र लामखुट्टेको पछि-पछि भाग्न लाग्यो । अब भने लामखुट्टे सुटुक्क दराजभित्र पस्यो । ऊ दराजको चाबी खोज्न लाग्यो । सबैतिर हेऱ्यो, कहीँ भेटिएन ।

अब हेर्न बाँकी एउटा झोला थियो ।  खोल्यो, चाबी भेटियो ।

सँगसँगै झुल पनि भेटियो ।

अघिल्लो गर्मीमा किनेर ल्याएको झुलका बारेमा उसलाई ध्यान नै थिएन । हत्तपत्त चाबी लिएर दराज खोल्यो । दराजमा लामखुट्टे थिएन । लामखुट्टे भगाउने धुप थियो ।

अब ऊ दोधारमा पऱ्यो । झुल टाग्ने या धुप जलाउने ?

झुल टाँगिहाले पनि कतै न कतैबाट त पसिहाल्छ ।

धुप जलायो भने जलुन्जेल मात्र देखिँदैनन्, सकिएपछि पुनः आक्रमण गर्न थाल्छन् !

सोच्यो – हैन, लामखुट्टे नाम चाहिँ कसले राख्यो होला ? उसका भन्दा लामा खुट्टा त मेरा छन् !

फेरि सोच्यो – म पनि के-के सोच्छु भन्या ! धेरै सोचेर नै मलाई निद्रा नलागेको । अब त केही सोच्दिनँ ।

यही प्रतिज्ञा लिँदै धुप जलायो अनि झुल टाँग्यो र बिस्तरामा पल्टियो । सोच्दिनँ भनेको कुरा उसले सयपटक सोचिसक्दा बल्ल निदायो ।

सधैँझैँ बिहान उठ्यो, तर माहोल फरक थियो । भुईँभरि मरणासन्न अवस्थामा लामखुट्टे छरिएका थिए ।

“धुपले राम्रै काम गरेछ ।” मनमनै सोच्यो ।

केही लामखुट्टे त अझै छटपटाउँदै थिए ।

सोच्यो – मैले कतै ठुलै पाप त गरिनँ !

प्रतिक्रिया
Loading...