तिहारको समय थियो । फेसबुकमा एउटा पुस्तकको आवरण चित्रसहित त्यस पुस्तकका केही अंशहरू पढ्ने अवसर पाएकी थिएँ, जसले मलाई सुरुमै आकर्षित बनाए । पुस्तकको शीर्षक र आवरण चित्रले केही कुरा पहिल्यै प्रस्ट पारिदिएको थियो तर पनि त्यो पुस्तकभित्र केकस्तो भाव समेट्न खोजिएको रहेछ भन्ने एक किसिमको जिज्ञासा भने अझै लागेको थियो । मनमनै सोच्न थालेँ,“एकपटक यो पुस्तक पूरै पढ्न पाए, प्रत्येक शब्द र तिनको भावमा एकपटक डुबुल्की मार्न पाए मनको तिर्सना मेटिन्थ्यो कि ?” नभन्दै केही दिनपश्चात तिहार मानेर कैलालीबाट काठमाडौँ फर्किँदा बाबाले सोही पुस्तक ल्याएर आउनुभएको रहेछ ।

त्यो पुस्तकको नाम हो, ‘रुप्स्या साइको नासो’ (२०७७), जुन विजया मा.वि, दुल्लु, दैलेखका पूर्वप्राचार्य तथा साहित्यकार बद्रीप्रसाद शर्मा लम्साल (२०१५) द्वारा लिखित दैलेखी लोकलयात्मक खण्डकाव्य हो । लम्सालका फुटकर कविता २०३८÷०३९तिर प्रकाशित भए तापनि साहित्यिक यात्राको थालनी भने पुस्तकाकार कृतिका रूपमा ‘लम्साल वंश सोपान’ (२०७७) बाट भएको देखिन्छ । साहित्यिक कृति भने ‘रुप्स्या साइको नासो’ (२०७७) लोकलयात्मक काव्य नै प्रथम कृति हो ।

शिवशक्ति श्री विद्यापीठ, लम्की, कैलालीबाट प्रकाशित ९० पृष्ठको ‘रुप्स्या साइको नासो’ खण्डकाव्य एघारवटा खण्डमा विभाजित छ । लुना क्रियसन प्रा.लि., बागबजार, काठमाडौँको अत्यन्त आकर्षक, सशक्त र कृतिको भाव र शीर्षकोचित आवरण चित्र प्रस्तुत भएको यस काव्यमा भाव, विचार, भाषा र विषयवस्तुको सुन्दर संयोजन र समन्वय पाइन्छ । दैलेखी न्याउले गीतको ढाँचा र लयमा रचित लम्सालको यस खण्डकाव्यमा प्रत्येक श्लोकको अन्त्यमा ‘सुन हो नानी लै’ थेगोको प्रयोग गरिएको छ । “दैलेखी जनजीवनका कथाव्यथाको जीवन्त अभिव्यक्ति पाइने प्रस्तुत खण्डकाव्यमा लोकलयमा सूक्तिमय र कालजयी पद्यश्लोकको प्रयोग भएको छ । त्यस्ता पद्यश्लोकहरू अत्यन्त मार्मिक, सारगर्भित, सूक्तिमय, पठनीय र कालजयी छन् ।”, ने.सं.वि.का उपप्राध्यापक तथा कवि डि.पी. कश्यप भन्छन् । एकपटक पढेर नअघाइने र फेरि पढौँ पढौँ लाग्ने यो कृति मैले चारपटक पढेँ । आफू पनि त्यही गाउँठाउँमा जन्मेको, हुर्केको भएर होला, न्याउले भाका खुब मन पर्ने । लम्सालको यस खण्डकाव्यले सबै पाठकको ध्यान खिच्न सक्ने विशेषता बोकेकाले यस कृतिमा प्रयुक्त केही अन्तरा÷गीतिश्लोकहरूले काव्यलाई सशक्त र सबल बनाएका छन् भन्दा अतिशयोक्ति नहोला ।

यस काव्यमा पहाडमा बस्नेहरूको दुःखपूर्ण जीवन उजागर गर्दै जीविकोपार्जनका लागि घरपरिवार छोडेर विदेसिनु पर्ने विवशता र विदेशबाट फर्केपछि आफ्नी प्रेयसी (पत्नी) गुमाएको वियोगजन्य पीडा र विरहलाई लोकभाकामा मर्मस्पर्शी गीतहरूको माध्यमबाट अत्यन्त मार्मिक तथा कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ ।

यस काव्यमा ‘रुप्स्या’ शब्दलाई रूपवतीको रूपमा प्रयोग गरिएको छ । कवि तथा समालोचक डा.मधुसूदन गिरीद्वारा भूमिका लेखिएको यस कृतिमा दैलेखी जनजीवनको यथार्थ चित्रण गरिएको छ । गिरीले यस काव्यमा “मुना भेटेँ, मदन भेटेँ” भनेर आफ्नो भूमिका लेखनमा उल्लेख गरेका छन् । उनले जस्तै पढ्दै जाँदा मैले पनि पात्रमा मदन भेटेँ, मुना भेटेँ अनि आफ्नै गाउँठाउँका कैयौँ दाजु, भाउजूहरू भेटेँ । यसका साथै हरेक पाठकले यस काव्यमा मुना, मदन भेटाउने छन् भन्दा दुईमत नहोला । हो, मैले पनि तिनै दाजुहरू भेटेँ, मदनहरू भेटेँ, जो विदेशबाट गाउँ फर्किँदा मलगायत अन्य सबै बालबालिकालाई सेतो रङ्गको बतासा, गोट्टा, पिपलमेट, चकलेटलगायतका मिठाइ ल्याइदिन्थे । मिठाइ भनेपछि हुरुक्कै हुने हामीलाई जीविकोपार्जनका लागि उनीहरूले विदेशमा दस नङ्ग्रा खियाएर गरेको दुःख, सङ्घर्षको बारेमा ज्ञान थिएन । यो कृति पढ्दै जाँदा वास्तविक यथार्थको बोध भयो मलाई । यस काव्यमा ‘रुप्स्या’को साइ(पति) पनि धन कमाउन मुग्लान पसेको हुन्छ, जसरी देवकोटाको मदन मुनालाई छोडेर भोट गएको हुन्छ ।

कवि लम्सालको यस काव्यमाथि समालोचक तथा कवि गिरीले आफ्नो भूमिका लेखनमा भनेजस्तै देवकोटाको मदनले जसरी यस कृतिको पात्र ‘साइ’ले छोटो समयमा सुनका थैला बोकेर फर्किँदैन । ऊ त केवल आफ्नी प्रियतमालाई मखमलको चोली, गुन्यु, रुमाल, चुरा, पोते, डोरी आदि नासो ल्याएर फर्कन्छ । गिरी भन्छन् – “यसैले हाम्रा मदनहरू भोट जाँदैनथे, जाँदैनन् ।” सुनका लागि नभएर नुनका लागि सङ्घर्ष गर्ने उनीहरू जान्थे त उही नैनीताल, हल्दुवानी, मैलानी, सिम्ला, रामनगर र रानीखेततिर कुल्ली, कबाडी र दरबानी गर्न र अहिले पनि जान्छन् कतिपय । केही आफ्नै ठेकेदार र मेटबाट ठगिएर रित्तो हात घर फर्किन्छन् त केही मदनहरू फर्किन नसकेर काला पहाडे बन्छन् । आज बद्लिँदो समयसँगै केहीको जीवन फेरिए तापनि गाउँ उस्तै छ, गाउँका दुःख, पीडा, समस्याहरू आज पनि जस्ताको त्यस्तै छन् । “दैलेखीको दाइजो भैगो डोको र बरियो” भनेजस्तै अधिकांश गाउँमा बस्नेको अवस्था आज पनि जिउँका तिउँ छ । हुने खानेको जीवनमा परिवर्तनको आभास भए पनि हुँदा खानेको अवस्था उस्तै छ । आफ्ना लालाबाला र प्रेयसीहरूलाई छोडेर रोजगारीको लागि बाहिर जानेको सङ्ख्या झनै बढेको छ । गाउँ युवाविहीन बस्तीमा परिणत हुँदैछन् । छाक टार्न र शरीर ढाक्न एकसरो कपडाका लागि विदेसिने अधिकांश निम्न मध्यम वर्गीय दैलेखी जनताको जीवनकथा र व्यथा प्रस्तुत गर्नु यस खण्डकाव्यको तीतो यथार्थ हो ।
यस खण्डकाव्यमा रोग, भोक, शोक र साहुको ऋणले आहत दैलेखी जनजीवनको सजीव प्रस्तुती पाइने केही लोकलयात्मक श्लोकहरू यहाँ उल्लेखनीय छन्ः

पेट भोकै छ दौरा छैन रोगले पिरल्लै छ ।
बस्न्या बास नाइँ बाँच्न्या सास नाइँ मुटु छिरल्लै छ
सुन हो नानी लै मुटु छिरल्लै छ ।।१।। (पृ.८)

हलो जोत्न्या भारी बोक्न्या, खन्न्या, गोड्न्या, रोप्न्या ।
साहुका फाटा पुरानाले नाङ्गो आङ छोप्न्या ।।३।। (पृ.८)

रिनले कैल्यै छुट दियोन पसिना बेचियो ।
लालाबाला धितो राखी इज्जतै मेटियो ।।११।। (पृ.१०)

कैल्यै मार्यो बानियाँले कैल्यै मार्यो सेठले ।
कुल्ली मार्यो ठेकेदारले ज्याला मार्यो मेटले ।।१३।। (पृ.११)

सर्खार छैन निर्धनीको ठालुले धम्कायो ।
न्याय निसाप पाइन्या होइन पापीले सतायो ।।१४।। (पृ.११)

दशैँ आए दशा आउँछ तीजले तर्साउँछ ।
पापी दैव गरिबमाथि लट्ठी नै बर्साउँछ ।।१७।। (पृ.१२)

ठालुले सोसेर खायो न्याय निसाप मर्यो ।
अन्यायले सिमा नाघ्यो भोकले राज्य गर्यो ।।३७।। (पृ.१६)

माथि उल्लिखित सूक्तिमय अन्तराले विपन्न वर्गका जनताले भोग्नु परेका दुःख, व्यथा, वेदना र शोषक सामन्तको थिचोमिचो तथा शोषण, दमनको यथार्थ र कारुणिक चित्रण गरेका छन् ।

त्यस्तै आफ्नो गाउँ, ठाउँ र माटोप्रतिको माया, ममता र प्रेम दर्शाउँदै स्रष्टाले लेखेका छन्ः

उडौँ उडौँ लाग्छ मलाई पुतलीको भेष ।
मलाई कति राम्णो लाग्छ आफ्नै दुल्लु देश ।।१।। (पृ.१७)
माटो शिरमा माटो पाउमा माटो जियैभरी ।
यै माटोमा जिउनु मर्नु माया मनैभरी ।।१८।। (पृ.२१)

धनवादी समाजमा मनवादी ओझेलमा पर्छन् । “छन् गेडा सबै मेरा छैनन् गेडा सबै टेढा” भनेझैँ नेपाली समाजमा सम्पत्तिलाई नै सर्वोपरि ठान्ने स्वार्थी समाजको बाहुल्यता छ । धन छ, सबै आफ्नै हुन्छन्, नाता सम्बन्ध पनि सुदृढ र निकट हुन्छन्, धन छैन भने आफ्नै पनि पराई बन्छन् र नाता सम्बन्ध पनि टाढिँदै जान्छन् भन्ने तथ्यलाई कविले यसरी प्रस्तुत गरेका छन्ः

सम्पतिमा सबै आफ्ना विपत्तिमा कोइनाइँ ।
उइले दाजु बैना भन्थ्या ऐले रैबारै नाइँ ।।१७।। (पृ.२७)

आजको बदलिँदो समाजमा केही मुनाहरू उपभोक्तावादी भएका छन्, जुन कुरा गिरीको भनाइबाट पनि स्पष्ट हुन्छ । उनी भन्छन्– “थोरै मुनाहरू साइ मरे पनि केही छैन, मेरा मागहरू पूरा हुनै पर्छ भन्न थालेका छन् ।” हो, हाम्रो समाजमा यस्ता केही मुनाहरू आफ्ना इच्छा, आकाङ्क्षा र आवश्यकता पूरा हुनै पर्छ, पतिले जसरी पनि पूरा गर्नैपर्छ भन्ने अडान लिएर बस्न थालेका छन् ।

‘मुनामदन’की मुना आफ्ना प्रेमी मदनलाई विदेश जानबाट रोक्न धनसम्पत्तिको विपक्षमा उभिन्छे र भन्छेः

हातका मैला सुनका थैला के गर्नु धनले ।
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।।

तर यस काव्यकी नायिका भने आफ्ना प्रेमीलाई आवश्यकता र विलासिताका साधन ल्याउनका लागि तथा साहुको ऋण तिर्न र हाँसोखुसीका साथ दिन काट्नका लागि विदेश जान प्रेरित गर्दै भन्छेः

मलाई नासो साउलाई थैली तौली ल्याउनु तोला ।१७। (पृ.४६)
हाम्रो पनि खायो होला ठाडो शिर पाडौँला ।
गाउँघरका मुखनेर हाँसी दिन काटौँला ।।२०।। (पृ.४६)
जाओ सुवा परदेश मै घर धानौँला ।।२२।। (पृ.४७)

आफ्नो गाउँ, ठाउँ र देशमा रोजगारी नहुँदा अधिकांश युवाहरू विदेसिएका छन् । गाउँमा त्यत्तिकै भौतारिएर बस्नुभन्दा साथीभाइजस्तै तिमी पनि आयआर्जनका लागि विदेश जाऊ भनेर यस काव्यकी नायिकाले प्रेमीलाई विदेश जान उक्साउँछेः

परदेशै छन् जोरीपारी परदेशै दौँतरी ।
रोजगार छैन आम्ना दरा क्या हिँडनु भौँतारी ।।२३।। (पृ.४७)

वर्तमान समयका उपभोक्तावादी वा भोगवादी नारीलेजस्तै यस लोककाव्यकी नायिका रुप्स्याले विदेश जान उक्साएपछि नायक काला पहाड जान्छ । आफ्नो रगत, पसिना र परिश्रम खर्चेर केही रकम सञ्चित गर्छ । उसलाई आफ्नो गाउँ, घर, देश, समाज र प्रेयसीको सौराइँले सताउँछ अनि प्रेयसीको मागबमोजिम मखमली चोली, साटनको फरिया, शिरफुल, बाला, चुरा, पोते, नत्थ, ढुङ्ग्री आदि कोसेली वा नासो ल्याएर घर फर्किन्छ र भन्छः

देशको माया घरकी सौराइँ सम्झी घर आयाँ ।
रातदिनै जगजगी मात्तै खानु हन्डर खायाँ ।।५।। (पृ.६७)

घर फर्किदा घरको ढोका बन्द देखेर सालीसँग हालखबर र घरिनाको बारेमा सोध्दा रुप्स्या साइ यो संसार छोडेर स्वर्ग गइसकेको खबर पाउँछः

कालखामु को हाल्लछ कइको शक्ति छ र ?
दिदी मेरी सर्क पुगिन् छैनन् आम्ना घर ।।२०।। (पृ.७६)

जब सालीबाट आफ्नी प्रियतमाको मृत्युको खबर पाउँछ तब साइले “रुप्स्या साइको नासो ल्यायाँ लैजा कर्नालिय” भन्दै आफूले ल्याएका सम्पूर्ण कोसेलीहरू कर्णालीमा बगाउँछ । आफ्नी प्रियतमाको वियोगमा निराश हुँदै नायक भन्छः

तम्रो धोको मेरो पौरख पातालै भासियो ।
सप खानाइछन् मेरो मात्तै सर्वस्व नासियो ।।४३।। (पृ.८२)

यसरी पत्नी वियोगले मर्माहत भएको नायकका लागि दिन नै रात हुन्छ, सबैतिर अन्धकार नै अन्धकार छाउँछ, बाँच्नुमा कुनै अर्थ देख्दैन र कर्णालीमा हाम फाल्न तम्सिन्छ तर साथीभाइ, सालासाली र दाजुभाइले सम्झाइ बुझाइ गर्दा उसको मन परिवर्तन हुन्छ, जीवनप्रति आशा पलाउँछ र ऊ बाँच्ने प्रयत्न गर्छ । यति मात्र होइन आइन्दा कसैले पनि मुग्लान भासिन नपरोस् भन्दै अनाहकमा ज्यान हाल्नुभन्दा बाँचेर समाजका दुःखी, गरिब र रोगीहरूको ज्यान बचाउनुमा जीवनको सार्थकता खोज्छ । ज्यूँदै मृत्युको मुखमा पु¥याउने रोग, भोक र शोकसँग लडेर गाउँको सेवा गर्ने सङ्कल्प गर्छ र भन्छः

प्यारी सुवा तम्रा नाउँमा गाउँको सेवा गर्छु ।
गरिबको रोग भोकसित कम्मर कसी लड्छु ।।५१।। (पृ.८४)

यस खण्डकाव्यको नायक तमाम शोषित, पीडित र दमित वर्गको प्रतिनिधि पात्र हो, जो गास, बास र कपासका लागि काला पहाड जान्छन् र रोजिरोटीको जोहो गर्छन् । उनीहरूको जीवनमा सुखको कल्पना गर्दागर्दै अँधेरी रात आउँछ, असमयमै आफ्ना लालाबाला र लाउँलाउँ र खाउँखाउँका अवस्थामै प्रेयसी र परिवार गुमाउनुपर्छ । यो वास्तविक यथार्थलाई यस काव्यको कथानकले समेटेको छ । कथानकलाई वियोगान्तमा टुङ्ग्याउन खोजे पनि नायकको निराशावादी चिन्तनलाई स्रष्टाको जीवनवादी चेतना र आशावादी सोचले किच्दै नायकलाई सङ्घर्षशील बन्न प्रेरित गरेर काव्यलाई बढी जीवनवादी बनाउने प्रयत्न गरिएको छ । साथै छाक टार्नका लागि कालापहाड जान बाध्य र विवश दैलेखी जनताका मर्म, व्यथा, वेदना, वास्तविक जीवन भोगाइ र कारुणिक अनुभूतिको जीवन्त प्रस्तुती पाइने यस खण्डकाव्यमा प्रयुक्त भाषाशैली सरल, स्वाभाविक, सूक्तिमय छ । लोकलयात्मक ढाँचामा रचित यो खण्डकाव्य प्रेम, वियोग, जीवन सङ्घर्ष र जीवनवादी चेतनाको समष्टि रूप हो भन्ने मैले ठानेकी छु र यो सन्देशमूलक र पठनीय छ । यसले दिने सन्देश भनेकै जबसम्म श्रमजीवी जनताहरू सचेत, सङ्गठित र आत्मनिर्भर हुँदैनन्, तबसम्म उनीहरूको जीवनस्तर माथि उठ्न सक्तैन र उनीहरू साहुको शोषण, दमन र उत्पीडनबाट पनि मुक्त हुन सक्तैनन् भन्ने हो । जस्तैः

गरिब ज्यूँदै मरिरन्छ साउले हेन्र्या होइन ।
गरिब आफै नउठेमा गाउँ फेरिन्या छैन ।।५५।। (पृ.८५)