आदरणीय कमरेड लाल अभिवादन ! ठिकै छु, हजुर अनि हजुरको सिङ्गो परिवार कुशलै होला भन्ने आशा गरेको छु । कमरेड पत्र कोर्न खासै विशेष कारण त थिएन  र पनि आज यो पत्र लेख्दै छु । केही समय पहिले हजुरले आफ्नो सामाजिक सञ्जालमा प्रिय नातिको तस्बिर राखेर चिसोबाट छल्दै भनेर लेखेको पोस्टले मेरो निकट विगतलाई बल्झायो ।

आदरणीय कमरेड लुइँटेलदेखि प्रारम्भ भएको हजुरको शिक्षा जवहारलाल विश्वविद्यालयमा पुगेर विद्यावारिधि गरेको  कुरालाई मनमा सम्हालेर । हजुरको विद्वत्तासँग लोभिएर । हजुरले निर्धारण गरेको अन्याय र विभेदको विरुद्ध उठाएको कदम जायज लागेर हजुरको पदमार्गलाई पछ्याएको मेरो दाज्यू आज हुनु हुन्न ।

सुशील लामा

आदरणीय कमरेड तत्कालीन सरकारलाई ४० बुँदे माग राखेर २०५२ सालदेखि प्रारम्भ गरेको जनयुद्धमा हाईस्कुल पढ्दै गरेको मेरो प्रिय दाज्यू किताबको झोला बिसाएर बारुदको झोला बोकेर हजुरहरूले देखाएको बाटो हिँडेको हिजोजस्तै लाग्छ । युद्धको क्रममा  सहिद हुनुभएको थियो ।  दाज्यूको मृत्युले सिङ्गो परिवारमा कारुणिक हृदयविदारक माहोल छाउँदै गर्दा मेरो दाज्यूको सुपुत्र ठ्याक्कै  सञ्जालमा पोस्ट गरेको हजुरको नातिजत्रै थियो ।

आदरणीय कमरेड, त्यहीँ हजुरले पोस्ट गरेको सुन्दर तस्बिरले बिर्सिँदै गरेका ती दिनहरू सम्झन बाध्य बनाउनुभो । दाइको मृत्युले युवावस्थामा भर्खर पाइला टेक्दै गरेको मेरो मनमा बदलाको भाव जागेर आयो । फलस्वरूप  मेरो दाइको हातबाट खसेको बन्दुक उठाई म पनि हजुरहरूको अभियानमा सामेल हुन पुगेँ । मेरो सहिद दाइको छोरो मेरो भतिजाले त्यस बखत थुप्रै चिसो रातहरू न्यानो कपडाविना नै कटाउन विवश हुन्थ्यो ।  कमाई ल्याउने बाबाको युद्धमा भएको मृत्युले थुप्रै अभाव खेप्नुपरेको थियो । कति कठोर थिए ती दिनहरू…..!!!

आदरणीय कमरेड दाइले देखेको अधुरो सपना पूरा गर्न युद्धमा सामेल हुन पुगेको म ।  हजुरहरूले बुर्जुवा शिक्षाको काम छैन भन्दै । पढाउँदै गरेको शिक्षकलाई जिउँदै झुन्ड्याउने । संरचनाहरू ध्वस्त पार्ने । आफ्नै दाजुभाइलाई दुस्मन हो भनेर ताकी-ताकी गोली ठोक्ने काम गर्न लगाउनुभो । कति पुल भत्काए, कति बैङ्क तोडे हिसा किताब छैन  युद्धले चरम रूप लिँदै गर्दा । अति भो भन्दै युद्धविराम गर्नुभो ।  विश्व मानव अधिकारवादीहरूको सल्लाह स्विकार्दै युद्धपूर्ण रूपमा बन्द भयो ।  कतिले बलिदानी दिए आफ्नो जीवनको । कति सेना संयोजनको नाममा तत्कालीन राष्ट्रिय सेनामा सम्मिलित भए । कति सेनामा असक्षम भएर केही रुपियाँ लिएर घर फर्के ।

कमरेड ती घर फर्कने पूर्व छापामारमध्ये म पनि एक हुँ ।  बिचबाटामै बिचल्ली पारेर छोडिदिनुभयो । जीवन चलाउन निकै गाह्रो हुँदै गर्दा हजुरले देखाएको मिठो सपना सम्झिँदै  आज अरबमा आएको छु । साथमा मेरो त्यो हिजोको फुच्चे  भतिजो पनि साथमै छ । बिर्सिनै लागेको त्यो विगतलाई सम्झाइदिनुभो धन्यवाद टक्र्याउँछु हजुरलाई ।

आदरणीय कमरेड के गर्छु भन्नुभएको थियो ? के गर्नुभो ? हुन त त्यो कहालीलाग्दो युद्धको रातहरूमा पनि सुरक्षित हुनुहुन्थ्यो हजुरहरू । झनै अहिले असुरक्षित हुने कुरै भएन । जे हुनु त हामीलाई भएको छ अहिले । बुर्जुवा शिक्षा भनेर पढ्न दिनु भएन । कलम खोसेर खुकुरी थमाइदिनुभो कलिला हातहरूमा ।  अहिले त्यहीँ शिक्षाको सर्टिफिकेट खोज्छ जाई ताई । अब भन्नुहोस् कहाँबाट ल्याउने हामीले ।

आदरणीय कमरेड यता म भएको ठाउँमा मात्रै छन् थुप्रै पूर्व साथीहरू । शरीरभरि गोलीको छर्रा बोकेर जिन्दगी बाँच्न सङ्घर्ष गर्दै । हिजो कुरूप भएको सिउँदोहरूको कथाहरू आज व्यथा बनेर चराइरहेको छ । हिजोको रित्तो-रित्तो काखहरू विवश हुँदै वृद्धाश्रमको कुरुवा बन्न लाचार छन्  ।

आदरणीय कमरेड संविधान बनाएर बाहिरिने क्रममा आधा गिलाँस पानीको तुलना दिँदै कुन्नि के शक्ति गठन गरेर अहिले क्षेत्रीय पार्टीमा बसाइँ सर्नुभएको छ रे । त्यसैले कमेरेड “अस्थिर” नाम लिएर बोलेको । अन्यथा नसम्झिनू ।

अन्तमा कमरेड हिजो देशको मुहार फेर्छु भनेर बन्दुक उठाएको म अनि मजस्तै थुप्रै नेपाली छोराछोरीहरू आज प्रवासको पारिलो घाममा  मुजा परेको बुढा बाआमाको  मुहारमा खुसी फर्काउन साबेल र बेल्चा उठाउँदै छन् ।

हाल : लिमासोल साईप्रस