अक्षरको खोजी गर्दै अचानक कोठाभित्र प्रवेश गऱ्यो । गफको गति धिमा हुँदै टक्क अडियो । कफी गफमा मस्त कुराकानीको सिलसिला घ्याच्च रोकियो र छायो सन्नाटा । कतै चिनेजस्तो, कतै देखेजस्तो एउटा मानव आकृति झुल्कियो हाम्रो सामुन्ने र अक्षरको खोजी गर्न थाल्यो ।

“सिर्फ अक्षर चाहियो भाइहरू ! सिर्फ अक्षर …… । किताब, पत्रपत्रिका नत्र बुलेटिन जे भए नि हुन्छ ।”

दाजु प्रकाशको प्रत्युत्तर थियो – “खासै त्यस्तो पुस्तक त छैन दिदी, अफिसको बुलेटिन चाहिँ छ ।”

“जेसुकै होस् । मात्र अक्षर भए पुग्छ मलाई । केवल अक्षर चाहियो ।” भन्दै सामुन्नेको खाली टेबुलमा आसीन भइन् ।

बातचितको सिलसिला थाँती राखेर अक्षरप्रेमीलाई हामी दुवै दाजुभाइले टवाल्ल हेरिरह्यौँ । कतै देखेजस्तो, कतै भेटेजस्तो । युद्धस्तरमा सक्रिय हुन थाले मस्तिष्कका पाटपुर्जाहरू । को पो होलान् ? आकस्मिक झुल्किएका यी अक्षरप्रेमी महानुभाव भनेर ।

डा. वानीरा गिरी

झल्याँस्स दिमागले काम गऱ्यो । ओहो ! हामी कति धन्य । सामुन्नेमै नेपाली भाषा साहित्यिक साक्षात् देवी पो प्रकट भएकी रैछिन् । अर्थात् नारीरत्न डा. वानीरा गिरी ।

मेरो स्मृति भने बेतोडकासाथ कारागारतर्फ दौडन थाल्यो । अर्थात् यिनै विदुषीकृत चर्चित उपन्यास “कारागार ।”

सानो छँदा बुबाले जिल्दामा मेरो नाम लेखेर यही पुस्तक घरको पुस्तकालयमा राखिदिनु मलाई अझै याद छ । हो, त्यति बेलादेखि नै बानिराको नाम मेरो मस्तिष्कमा नमेटिने गरी कोरियो ।

धेरैपल्ट पढेको थिएँ अक्षरहरूमार्फत यिनलाई कविता, कथा र उपन्यासहरूमा । केही गौरवगाथाहरू सुनेको थिएँ र फाट्टफुट्ट छायाछविहरू पनि देखेको थिएँ पत्रपत्रिकाहरूमा । आज सामुन्नेमै साक्षात् प्रकट भइरहेकी थिइन् नारीरत्न बानिरा । घामको पहिलो झुल्को देख्दाको घमाइलो क्षणजस्तो । फैलियो खुसीको तरङ्ग मनमस्तिष्कभरि ।

बोल्न म आतुरिएँ र अताल्लिएँ पनि । यसकारण कि म पनि अक्षरप्रेमी र साहित्यप्रेमी थिएँ । यी सूक्ष्म अक्षरहरू पनि नजानिँदो पारामा यति विघ्न शक्तिशाली र प्रभावशाली हुँदा रहेछन् । भर्खरै पो बुझ्दै छु ।

“Money attracts Money अर्थात् पैसाले पैसा तान्छ” भनेझैँ यहाँ त अक्षरले अक्षरलाई तानिरहेथ्यो । हो मैले उहाँलाई अक्षरमार्फत चिनेको थिएँ र त्यही अक्षरको धरातलमा उभिएर बोल्न हतारिरहेको थिएँ ।

औपचारिक परिचयबेगर कुराकानीको सुरुवात मैले यसरी गरिदिएँ- “दिदीको ‘कारागार’ त मैले जमानामै पढेको थिएँ नि ।”

क्रान्ति श्रेष्ठ

एक सुरमा अक्षरहरू नियालिरहेकी दिदी मेरो कुरो सुनेर आश्चर्यचकित मुद्रामा पुलुक्क मतिर हेर्दै प्रश्न गरिन्, “कारागारबाहेक मेरो अरू कृतिहरू चाहिँ पढ्नुभएको छैन ? उहाँको अनुहारमा गजबको कौतुहलता र खुसी एकसाथ छचल्किरहेको थियो ।
नारायण गोपाल स्मृति कोषको काम विशेषले जिविस कार्यालयमा दिदी आएकी रैछिन् । जहाँ दाजु प्रकाशमान श्रेष्ठ कार्यरत हुनुहुन्थ्यो । म दाजुलाई भेट्न जाँदाको त्यही अकल्पनीय र अविस्मरणीय भेटघाट थियो हाम्रो ।

गफिने क्रममा म साहित्यप्रेमी भएको गन्ध चाल पाएपछि अब अक्षर छाडेर गफिन थालिन् दिदी मसँग । साहित्यिक चर्चा परिचर्चाहरू भए । धेरै सुनेँ, थोरै बोलेँ मैले । म साहित्यमा बामे सर्दै गरेको बालक, उहाँ वरिष्ठ साहित्यकार ।

“अग्रजहरूबाट हामीले पाउने आशीर्वाद र उत्प्रेरणाले नै लेखकीय ऊर्जाको काम गर्दछ ।” मेरो भनाइप्रति जोडदार असहमति जनाउँदै भनिन्, “साहित्यमा अग्रज र अनुज भन्ने कुरो नै हुँदैन भाइ ! मलाई यो कुरो मन पर्दैन । हामी सबै एकै हौँ नि । सिर्फ साहित्यका पुजारी ।”

नियात्रा शब्दसँग पनि दिदीको अलिक खटपट परेझैँ लाग्यो । “हैन नियात्रा केलाई भनिन्छ?“ अन्तर्वार्तामा झैँ मलाई प्रश्न तेर्स्याइन् । कुरैकुरामा मैले नियात्रा आफ्नो रुचिको विधा रहेको बताएको थिएँ । नजानेर त पक्कै होइन, जानेरै पो मेरो परीक्षा लिन आँटेकी पो हुन भनेर रनभुल्लमा परेँ । जे पर्ला-पर्ला भन्दै मैले आफ्नो ल्याकतअनुरूप नियात्रालाई परिभाषित गरेँ ।

“वाह ! आज मैले चित्तबुझ्दो जबाफ पाएँ ।” दिदीको कुरो सुनेर घिरौँलाझैँ भयो मेरो नाक ।मैले नियात्रा प्रकाशनको तयारी गरिरहेको अवगत पनि गराएको थिएँ ।

“अनि के नाम राख्नुभयो भाइ पुस्तकको ?”

“आहा ! कति राम्रो नाम ।” प्रशंसाको शब्दले गजक्क परेँ म । मान्छेको जात नै यस्तै हो । प्रशंसाको पुल बाधिदिए खुसीको समुद्रमा हाम फालिदिने । अनि आलोचित भए नाक खुम्च्याउने मनोविज्ञान ।

आफ्नो काम निप्ट्याउन दिदी क्षणभरका लागि अघिल्तिरको कोठामा हराइन् तर केही बेरमै बेगिएर हाम्रो रुममा फेरि छिरिन् र भनिन्, “भाइको त नामै सोध्न बिर्सेछु मैले ।”

आफ्नो परिचय दिएँ मैले ।

“ओहो ! कति राम्रो नाम । कसले राखिदिनुभएको ?”

मैले पनि दिदीलाई ठट्ठा गर्दै भनिदिए, “किन र दिदी ? कारागारसँग क्रान्तिकारीहरूको सामीप्य भएकाले हो कि मेरो नाम मन परेको ?” दिदी मुस्कुराइन् मात्र ।

कुराकानीको रफ्तार आनन्ददायक पारामा बेगिरहेको बेला दिदीले हामी दुवैलाई बाहिर कतै लगेर चियाचमेना गराउने सुरसार पो गरिन् । किन दुःख दिने भनेर हामीले अटेर गऱ्यो तर दिदीले साह्रै कर गरेपछि दाजुले भन्नुभयो -“दिज्यू ! आज हैन, कुनै दिन हामी हजुरको घरमै चियानास्ता गर्ने गरी आउनेछौँ ।”

“हार्दिक स्वागत छ बानिरा निवासमा भाइहरूलाई तर सुटुक्क भागेर नभेटीकन जापान जान पाइन्न । बरु आउँदा तपाईँका कृतिहरू पनि लिएर आउनुस् है ।”

“अवश्य आउनेछु दिदी !कर्मथलो फर्कनुअघि भेटेरै जानेछु ।” यति वाचा गरेपछि दिदीले बानिरा निवासको फोन नम्बर र ठेगाना टिपाइन् ।

दिन, हप्ता, महिना बिते तर पुनर्मिलनको साइतै जुरिरहेको थिएन । लन्ठाङलुन्ठुङ घरी काठमाडौँ घरी विराटनगर, धरानतिर बरालिरहेँ । फेरि मलाई कर्मथलोबाट जन्मथलो आउँदा जताततै बरालिन मन लाग्छ । परदेशी भूमिभित्र समयको पाबन्दीमा कुँजिनुभन्दा घरदेशको खुला आँगनमा लुडीबुडी खेल्नुको मजा नै अर्कै हुन्छ ।

कति मात्र यान्त्रिक मानवको जिन्दगी बाँचिरहने । हरबिहान अर्लामको दास बनेर दौडँदै गाउँघरको सम्झनामा मुग्लानतिर मात्र कतिन्जेलसम्म रुमल्लिरहने ?

आहा ! नेपाली माटाको सुवास, आत्मीय मनहरू, नेपाली संस्कृति र स्वादहरू । चाहेर पनि यस्तो अर्गानिक अनुभूति कहाँ गर्न पाइन्छ र परदेशमा ? यसैले म नेपाल बसिन्जेल यी सारा कुराहरूसँग चुम्बकझैँ टाँसिरहन्छु । ता कि मलाई मुलुकबाहिर गए पनि धेरै समयसम्म बिरानोपनाले त्यति सजिलै गाँज्न नसकोस् ।

नयाँ वर्षको दिन थियो । अग्रज साहित्यकार विमल भौकाजीसँग शुभकामना आदानप्रदान भयो । “तपाईँ आउनुभएको यत्तिका दिन भैसकेछ । बानिरा दिदीले भनेपछि पो थाहा पाएँ । आउँछु भन्नुभएको रैछ पर्खिरहनुभएको छ है तपाईँलाई ।”

बानिरा दिदीसँगको भेट एउटा जम्काभेट, एउटा झोक्का मात्र न थियो । कर्मथलो फर्कने दुई दिनअघि मात्र बिहान टेलिफोन सम्पर्क गर्दा दिदीले भन्दै थिइन्, “ओहो ! कता बेपत्ता नि । अस्ति नै आउँछु भन्ने मान्छे यति ढिला । ल ! अहिले बिहानै आइहाल्नुस् ।” म रफ्तारमा दौडिएँ बानिरा निवास मीनभवनतर्फ ।

चारैतिर हरियालीले चुमिरहेको सुन्दर भवन । जसको सङ्घारैमा दिदी मलाई कुरेर बसिरहेकी थिइन् । बैठक कोठामा पाइला राख्नेबित्तिकै देखिए दिदीका बैँसालु तस्बिरले सजिएका भित्ताहरू । सुन्दर तस्बिरलाई हेर्दै एकपटक पुलुक्क दिदीको अनुहारसँग पनि दाजेँ । सुन्दरता अस्थायी चिज रहेछ भन्ने कुरा मनले मान्न बाध्य भयो ।

शारीरिक सौन्दर्य क्षितिजपारि ढल्कँदै गए पनि लेखकीय सौन्दर्य र आकर्षण कहाँ ध्वस्त हुँदो रहेछ त ? बरु निखारिँदै पो जाने रहेछ ।

छेवैको दराजमा छन् अनगिन्ती सम्मान पत्र र पुरस्कारहरू । सिसाको झ्यालबाट देखिरहेको छु, फूलबारीको सौन्दर्य । एउटा लेखकलाई चाहिने स्वच्छ शान्त वातावरण । जहाँ बसेर दिदीले कालजयी रचना र कृतिहरू जन्माइन् होला । आफ्नो सहयोगीलाई चियाचमेनाको अर्डर गरेर भित्र कोठाबाट एक थान पुस्तक र नोटबुक लिएर आइन् ।

नोटबुक उठाएर दुई-चार हरफ कविता पनि बडो मिठास पारामा सुनाइन् र सुरुप्प चियाको सर्को तान्दै फेरि पनि भनिन्, “तपाईँको नामै मलाई सारै मन पऱ्यो ।“क्रान्ति भाइ ! आफ्नो नामको अर्थबेत्तालाई कहिल्यै निभ्न नदिनू ।”

उपहार दिन ल्याएको कविताकृति ‘काठमाडौँ काठमाडौँ’ को अघिल्लो पानामा आफ्नो बाहुलीबाट हस्ताक्षर गरिन् र मेरो हातमा थमाइन् ।

“मसँग यही एक कपी मात्र बाँकी छ । यो पुस्तक सबैले मन पराएका छन् र महँगो पनि छ । यो कसैलाई नदिईकन झन् तपाईँका लागि जोगाएर राखिराखेको थिएँ । मान्छे नै कता बेपत्ता ।” भन्दै पुस्तक दिएपछि मैले पनि आफ्नो प्रकाशित दुई पुस्तक दिदीको हातमा चढाएँ ।

चिया र मिठाईले मुख गुलियो पारेपछि दिदीले मलाई आफ्नो प्रिय फूलबारीतर्फ डोऱ्याइन् । दिदी फुर्सदको धेरै समय यहाँ बिताउँछिन् रे । जातजातका छन फूलहरू । कोही ढकमक्क फुलेका । कोही फुल्न लागेका ।

अलि परतिर एउटा बडेमानको रुखको जरालाई निकै व्यवस्थित गरेर फलाममा अड्याइएको छ । अमूर्त छ जरा । जसलाई विम्बात्मक रूपमा परिभाषित गरी भन्दै थिइन्, “हेर्नुस् भाइ ! यो चराले मान्छेहरूलाई हेरिरहन्छ र भनिरहन्छ- बनजङ्गल सखाप पाऱ्यौ भने तिमीहरूको भविष्यको हालत पनि यस्तै हुन्छ ।”

“दिदी ! भावी योजना चाहिँ के छ नि ?“ फूलबारीको अवलोकनपछि मैले जिजासा राखेँ । नगिचै फुलिरहेको गुलाबको फूलजस्तै हास्दै तिनले भनिन “आत्मकथा लेख्ने तयारीमा छु ।”

फेरि भेटने वाचा गर्दै हतार-हतार बानिरा निवासबाट फर्किएँ म । फर्किनुअघि हामीले केही तस्बिरहरू पनि खिच्यौँ । जुन अविस्मरणीय तस्बिरले दिदीसँगको भेटलाई हरदम ताजा बनाइरहन्छ ।

“दिदी ! खै त सिस्नो को झ्याङ ? गफैगफमा भुसुक्कै सोध्न बिर्सेछु मैले । जुन शीर्षकमा उहाँको कथा चर्चित पनि छ । छुटेका अरू धेरै प्रश्नहरू अर्को भेटमा नबिर्सीकन सोधुँला भन्थे ।

तर दुःखको कुरा अर्को नेपाल आगमनको मौकामा दिदी त विस्मृतिमा पो गैसकेकी रैछिन् । कसैलाई चिन्न नसक्ने भएकी रैछिन् । फेरि पनि भेटेर बात मार्दै निकै रमाइलो गरौँला भन्ने सपना यसै तुहिएर गयो । तैपनि दर्शन गर्न मात्र भए पनि एकपटक बानिरा निवास जाउला भन्दाभन्दै दिदी त विस्मृतिबाट अलौकिक यात्राको तय गर्दै सदाका लागि आफैँ पो स्मृति बनिसकेकी रैछिन् ।