स्नेहा पोखरेल

जसोतसो घिस्रिँदै छ जिन्दगी, चिप्लिदैँ छन् दिनहरू । अनायासै जोसिन्छु कहिलेकाहीँ, खै के को हो उन्माद चढ्छ । घोइरिन्छु कहिलेकाहीँ, टोलाउँछु कहिलेकाहीँ । आलस्यको अजङ्गको भूतले छोप्छ र गुडुल्किन्छु सिरकभित्र घन्टौँ । त्रस्त छु; सताउँछन् विगतका तिता, नमिठा सम्झनाले; ती कहालीलाग्दा, उराठलाग्दा शिशिरका चिसा अनिदा रातले । दर्पणमा आफूलाई निहार्छु; एक क्षण अलौकिक आलोक आफ्नो मुहारबाट छरिइरहेको र आप्सरिक सौन्दर्यमा धपक्क बलेको पाउँछु ।

तर दुर्भाग्य ! त्यो कान्ति निमेषभरमा अलप भई जान्छ । उदासीपनको कालो मोसो; दलिएजस्तो, औँसीको अन्धकार अनुहारमा पोतिएको देखेर हतासिन्छु, बिरक्तिन्छु । अनकण्टार टापुमा एक्लै, जहाँ कुनै किसिमको सहयोग पाउनु असम्भवप्राय छ, आश पनि छैन केहीको; पुगेकी छु त्यहाँ । कोही हात समाउँदै, काँध थपथपाउँदै साथ दिन आए ठिकै छ; नभए एक्लै प्रयासरत छु, उठ्न खोज्दै, भुल्न खोज्दै ती पल जसले ठुगिरहन्छन्, तड्पाइरहन्छन्, झस्काइरहन्छन् ।
रोएर मनको सारा बह पोखूँ, हृदयमा बोकेको वेदनाको भारी बिसाऊँ, दुखेको घाइते चित्रमा आफैँ मलम लगाऊँ भन्ने नलागेको होइन, लाग्छ कहिलेकाहीँ । अनि सम्झन्छु अधिकांशको टिप्पणी “तिम्रो हाँसो त साह्रै मोहनीलाग्दो छ ।” लगत्तै सम्झन्छु हाँसोले गर्दा मस्तिष्कबाट निस्कने इन्डोरफिन, मानिसलाई खुसी बनाउने रसायन । त्यसैले पनि हाँस्छु म निर्धक्क भएर निस्फिक्री हाँसो अनि खुसी बनाउँछन् इन्डोरफिनले मलाई । अस्त्र हो हाँसो मेरो; हो मेरो जिउने कला ।

अहिलेसम्मका घटना क्रमशः केलाउँदा लाग्छ, हाँसो नै त हो जीवन । हाँसोमै उड्ने जीवन; उडाउन मिल्ने जीवन । पल्टाउँछु स्मृतिका पाना र पल्टिएकामा धन्य हुन्छु । सोच्छु, कसो हुनाले छन् मसँग मेरा गहना, मेरा खजाना, मेरो गाडधन; नभए के पो गर्थेँ होला ! जिउँछु ती पल फेरि, दुरुस्तै; हाँसोको फोहोरा छुट्छ र हाँस्छु फेरि । रमाइला, नरमाइला, कहालीलाग्दा, अत्याउने घटना; सम्झन्छु सबै । स्मरणशक्ति राम्रो छ मेरो भन्छन् सबै । सम्झन्छु आफ्नो विगत । सम्झियो र हाँस्यो, फेरि सम्झियो र फेरि हाँस्यो । मेरो हिजोआजको दैनिकी, जसरी भए पनि कट्दो रहेछ दिन । नाम नै मेरो “हँसमुख” भएको छ । फेरि हाँस्छु, निस्कन्छन् इन्डोरफिन र फेरि खुसी बनाउँछन् मलाई ।

चैते हुरी चल्न थालेको छ, वसन्त आगमनको सङ्केत । हुरी त मनमा पनि चलिरहेको छ; दह्रो थप्पड लगाउँछन् थरी-थरीका भावनाहरूले, लडाइदिन्छन् म फुच्चीलाई । निरीह म, लडिरहन्छु । आफ्ना ठानेकाले गरेको व्यवहार, लगाएको वचन गड्दा रहेछन मनमा । भावनाका तँछाडमछाडबिच म फगत एक दर्शक बन्न पुग्दछु जसले कुनै प्रतिक्रिया दिने सामर्थ्य राख्दैन; बस् हेरिरहन्छ टुलुटुलु, सहिदिन्छ सबै । अनि फेरि हाँसो उठ्छ आफ्नो जीवन नियाल्दानियाल्दै नियतिले देखाएको नाटक हेर्दाहेर्दै हाँसिदिन्छु म, फेरि निस्कन्छन् इन्डोरफिनहरू र फेरि खुसी बनाउँछन् मलाई ।