बडा दसैँको समय थियो । म केही समयअघि नै लमजुङ गएकी थिएँ । तीज उतै मनाएँ-आमासँग । अनि त फेरि नौरथाले छोप्यो । विशेष कामले मेरो बसाइ लम्बिँदै थियो उता । काठमाडौँदेखि मलाई केही पुस्तकहरू उपहार आए । त्यसैमध्येको एउटा थियो- डा. व्यञ्जना शर्माको घाम अस्ताएको होइन । कस्तो सत्य नै उल्ट्याएजस्तो लाग्ने अनुसन्धानमूलक शीर्षक ? त्यो थाहा छ, घाम न उदाउँछ न अस्ताउँछ तर दिन ढल्किएसँगै हामी भन्छौँ, ऊ घाम अस्ताउन लागे । अझ हाम्रो घरमा त छिट्टै ओझेल पर्छ । दिउँसोको तीन चार बजे नै आफ्नो मनबाट उसलाई अस्ताइदिन्छौँ । त्यसैकारण पनि यो पुस्तकले मलाई अनिश्चित आकर्षण गर्यो ।
व्यञ्जना शर्मालाई फेसबुकको वालमा म भेटिरहन्छु । एउटा उन्नत स्रष्टा । त्योबाहेक अरू किसिमले म उहाँलाई चिन्दिनँ । साइबरको मेलामा उहाँका लेख रचनाहरू म पढिरहेकी हुन्छु । मन पर्छन् मलाई उहाँका आलेखहरू । महाव्याधिको समय, देशको अस्थिर राजनीति, जिम्मेवारविहीन राजनीतिक दल र एक श्रमजीवि पात्रको दैनिकीलाई उद्बोध गरिएको पटेलको राजनीति एक निबन्धबाट मैले उहाँलाई पढ्न सुरु गरेकी थिएँ । उहाँका लेखहरू आइरहन्थे । कलाको प्रभावी शक्ति र उच्च बौद्धिकताको संयोजनमा मैले उहाँलाई चिन्न थालेँ । त्यो लेख पढेर मैले यस्तो प्रतिक्रिया दिएकी थिएँ- थोरैमा कति धेरै अर्थहरू समेट्न सक्नुभएको म्याडम ? तपाईँले मात्र होइन अब सबैले पटेलको राजनीति मन पराउनेछन् । अभिभावकविहीन नागरिकले अब भरोसा आफ्नै गर्नु छ ।
सही हो हजुर सही हो, प्यारे यो सब भुलभुलैया, मनको तलाउजस्ता उहाँका अनेक लेख पढ्दा लाग्थ्यो उहाँ शान्त हृदयकी एक स्रष्टा हुनुहुन्छ । उहाँका आलेखहरूमा म प्रायः यस्तो अनुभूति गर्छु कि उहाँ एउटा मनीषी हो । कति ठाउँमा त ऋषि महर्षिका अमृत वाणीजस्तै लाग्छन् उहाँका अभिव्यक्तिहरू । एक गहिरो आध्यात्मिक चिन्तनमा शान्तिको मार्ग खोज्ने एक बौद्धिक नारी । म तिनै लेखहरूबाट प्रभावित हुँदै गएँ ।
“मृत्यु जीवनका लागि जति अप्रिय छ, उति नै सत्य पनि छ ।” यही वाणीसँगै पुस्तकभित्र घाम किन अस्ताउँदैन ? किन अस्ताएन त ? यही सत्यलाई खोज्न लागेँ । थाहा भयो, हामीले अर्थ्याउँदै आएको मृत्युको परिभाषा यहाँ बदलिएको छ । मृत्यु भनेको समाप्ति होइन, भौतिकताबाट उन्मुक्ति पाउनु हो । असीमित हुनु हो । व्याप्ति हो ।
विद्यावारिधिका लागि अस्ट्रेलियामा अध्ययनरत समय । आफ्नी मुमाको असामयिक निधनले विक्षिप्त भई त्यो यथार्थलाई स्विकार्ने चेष्टामा रचिएको कृति-लेखककै भाषामा भन्नुपर्दा देहमुक्त मुमासँग गरिएको एक साक्षात्कार । अनौठो कुरा के छ भने, मृत मानिसलाई पनि कहीँ चिठी लेखिन्छ ? त्यो पनि मूच्छित अवस्थामा । हो लेखिँदो रहेछ । एउटी छोरीले दिवङ्गत आमाको स्मृतिमा लेखिएका एकतिस थान चिठीपत्रको सँगालाले घाम अस्त नभएको बुझाउँछ । उहाँले आत्मालाई सूर्यसँग प्रतिविम्बित गर्नुभएको छ । हामीबाट टाढा हुँदैमा, ओझेल पर्दैमा सूर्य अस्तायो भन्नु र देहमुक्त हुँदैमा आत्मा मर्यो भन्नु एउटै कुरा हो । आत्मा र देह अलग-अलग विषय हुन् । भौतिक देह नै सम्पूर्ण थियो भने अग्निज्वालामा दनदनाइरहेको चिता किन चीत्कार गर्दैन ? जीवित हुँदा कष्टमा हाहाकार गर्ने त्यो चिज खै ? अनि आत्मा मरेको नै हो भने त्यो कसरी मर्यो ? ऊ मर्नुको प्रमाण के छ ? आत्मा मर्छ नै भने मर्नुपर्दा उसले पीडाबोध किन गर्दैन ? पूर्व सङ्केत किन दिँदैन ? कृति पढ्दै जाँदा लेखकको अवधारणाप्रति सहमति भएको मलाई यस्तै विचार आयो । डा. व्यञ्जनाको आत्मानुभूतिलाई मैले स्विकारेँ । कृष्णले पनि यही त भनेका छन्, जुन कुरा लेखकले बोध गर्नुभएको छ । कृष्णले अर्जुनलाई सम्झाउने क्रममा भनेका छन्, यी बन्धुबान्धब, कुलगरु, द्रोणाचार्य, भीष्मपितामह सङ्ग्राममा मर्छन् भनेर तिमी आफ्नो कुलधर्म नछोड । क्षेत्रीयको धर्म लड्नु हो । तिमी विश्वस्त रहूँ, आत्मा न तिमीले मारेर मर्छ न ऊ आफैँ मर्छ । देह त एउटा वस्त्र हो, उसले फेरिरहन्छ जसरी तिमीले फेर्छौ ।
मुमाले धर्ती छोडेको समाचारपश्चात्को पहिलो चरण लेखक मूर्च्छामा अस्तव्यस्त हुनुहुन्छ । मुमा नभएको सत्य उहाँलाई स्वीकार्य हुँदैन । झन् झन् अशान्ति बढ्दै जान्छ । यस्तै अवस्थितिबिच उहाँले आफ्ना अवसाद र सन्तप्त वेदना पत्रमार्फत मुमालाई नै सुनाउने इच्छा गर्नुभयो । जसको कारण आफू अधैर्य, अशान्त हुनुपरेको छ, उसैलाई ती कुरा सुनाएर उहाँले मानसिक उपचार गर्नुभएको छ । छिन-छिनमा अनियन्त्रित विचारमाथि लगाम लाग्दै खुकुलिँदै पनि छ । यसले के पनि देखाउँछ भने, विचारले नै हरेक कुरा निर्धारण हुँदा रहेछन् । हामीले बुझ्दै आएको जन्म र मृत्युप्रतिको धारणा पनि एउटा विचार नै हो । आखिर लेखकले मुमाको निधन भएको स्वयं देखेको त होइन नि । फोनमार्फत आएको एउटा सन्देश (विचार) ले नै मुमाको अन्त्य भएको अनुभव न हो ।
मनको पीडा उहाँले हरेक दिन पत्रमा लेख्दै जानुभयो । यस्तैमा उहाँलाई तत्त्व बोध हुन थाल्छ, ज्ञानको उदय । अनि त मुमा आफूसँगै भएको अनुभूतिले लेखकलाई आत्मिक शान्ति मिल्छ । यसै बेला लौकिक र पारलौकिक अर्थात् जीवनकाल र त्यसपछिको अर्को जगत्बारे खोज अनुसन्धानले उहाँलाई दृढ बनाउँछ । अनेक विद्वान् विदुषीलाई पढ्दै जाँदा उहाँलाई थाहा भयो, मुमा आफूसँगै हुनुहुन्छ । मुमाको देहले निर्धारण गरेको दूरी अब कत्ति बाँकी रहेन । मुमाको आत्मासँग आफू एकाकार भएको विचित्र अनुभूत हुन थाल्यो, वायुमा, तेजमा, प्रकाशमा हरेक दृष्टिमा उहाँले मुमालाई देख्न थाल्नुभयो, “घामले दिने न्यानोमा, हावाले दिने शीतलतामा, ताराले दिन चमकमा म मुमाकै मायाको अनुभूति गर्न सक्छु । हरेक फूलको सुन्दरतामा मुमाको सुन्दर र मायालु रूप देख्न सक्छु । मलाई हजुरको अस्तित्व व्यापक हुँदै गएको आभास भयो (१८) ।” यस भनाइमा पनि मैले फेरि गीताको उही सार पाएँ, आत्मा मर्दैन त्यो व्याप्त छ । उसँग साक्षात्कार भएपछि जहाँ पनि उसलाई बोध गर्न सकिन्छ । आफूसँग लीन गराउन सकिन्छ ।
डा. व्यञ्जना मुमालाई आफूसगँ लीन गराउन सकेकै कारण सन्देह मुक्त हुनु भएको छ, म नै मुमाकी अंश होइन र ? हुँ भने मुमा कसरी मबाट टाढा हुन सक्नुहुन्छ ? म आफूलाई हेर्दा उहाँलाई देख्दिनँ र ? देख्छु भने मुमा हुनुहुन्न भनेर किन दुःखी हुनु मैले ?
त्यस दुःखद घडीमा लेखकलाई इरानी मूलका अस्ट्रेलियन नागरिक बु्रसले हार्दिक सहायता गरेका छन् । उनको सङ्गत र अनेक विद्वान्का अलौकिक जगत्को अस्तित्वबारे लेखिएका पुस्तकले उहाँमा आध्यात्मिक चेतना अझ पुस्ट हुँदै गएको छ । ‘द फाइभ पिपल यु मिट इन हेभन’ (स्वर्गमा भेटिने पाँच व्यक्ति) सिनेमा हेरेर उहाँ ढुक्क हुनुभएको छ- आफू पनि मुमासँग संवाद गर्न सक्ने छु भनेर । उहाँलाई हरेक घटनामा मुमाको उपस्थिति बोध हुन्छ । आध्यात्मिक चेतनालाई बेला-बेला मन, बुद्धि र विचारले छोप्दा फेरि द्रवीभूत हुन पुगेकी लेखक सम्हालिएर भन्नुहुन्छ, आफू विह्वल हुनु भनेको मुमालाई कष्ट दिनु हो । त्यही सोचले उहाँलाई अविचलित गराउँछ, भौतिक काया आफूसँग नभएर के भयो ? जब कि मुमाको अस्तित्व बोध गर्न सक्छु भनेँ ।
उहाँलाई त्रास पनि छ, आफू शोकले वशीभूत हुँदा त्यो थाहा पाएर मुमा दुःखी हुने हो कि । पछिल्लो चरणमा मुमासँगको दूरी बाँकी नहुँदा उहाँसँग भेट भएको, वार्ता भएको, अनुत्तरित प्रश्नको उत्तर पाएको कुरा लेखक बताउनुहुन्छ । आत्मबोध गर्नु भनेको सायद यही होला । यस सन्दर्भमा कतिलाई विश्वास नलाग्न सक्छ । कारण, आध्यात्मिक चेतनाले प्रदीप्त नहुँदा जुन कुरा असम्भव छ । कृष्णले यही त भनेका हुन् नि, म सर्वत्र छु, जसले मेरो उपस्थिति बोध गर्न सक्छ म त्यहीँ पुग्छु ।
भौतिक शरीरबाट उन्मुक्त आत्मा स्वतन्त्र हुने हुँदा उसलाई टाढा र नजिकको भेद रहँदैन, डा. व्यञ्जनाको अनुभवमा मैले यही कुरा बुझेँ । शान्ति, अशान्ति, आध्यात्मिक र लौकिक जतग्को सङ्घारमा रहेर गरिएको आत्मसंलाप । यसको बेग्लै मूल्य छ । तत्त्वबोधले पूर्ण हुँदा मुमा साथमै रहेको र त्यसबाट विचलित हुँदा मुमा गायब भएको जटिल अनुभूतिसँगै उहाँ भन्नुहुन्छ, “जब म हजुरसँग आध्यात्मिक तहमा उक्लिएर कुरा गर्न थाल्छु म शक्तिशाली बन्दै जान्छु । मलाई मेरो जीवनको अर्थ खुल्दै जान्छ । सबै घटनाका पछाडि केही न केही कारण अवश्य हुन्छ भन्ने कुरा स्पष्ट हुँदै जान्छ तर जब म यो जगत्मा ओर्लिन्छु मेरो संसार ध्वस्त हुन्छ । म शक्तिहीन हुन्छु (३३) ।” यसरी भौतिकताले मानिसलाई आवश्यकभन्दा बढी कमजोर बनाइरहेको हुन्छ, कष्ट थपिरहेको हुन्छ, अर्थात् विचारले टम्म भरिएको मनले त्यो असाध्य कष्टको माग गरिरहन्छ । यता आन्तरिक जगत्ले भने निर्विघ्न जीवनको बोध गर्न सिकाउँछ ।
लेखकले यहाँ गीताका अनेक भनाइहरू अर्थ्याउन आफ्ना अद्भुत अनुभवहरू उल्लेख गर्नु भएको होइन । परन्तु ती अनुभवहरू फेरि तिनै भनाइको सारतत्त्व लाग्छ । यहाँ मलाई पटक-पटक श्रीमद्भगवद्गीता अध्ययन गर्दै छु जस्तो भइरह्यो । कृष्णले अर्जुनलाई अझै अगाडि पुगेर भनेका छन्, कसैले मेरो चिन्ता गर्छ भने उसको चिन्ता म लिनेछु । उसको इच्छा म पूरा गर्ने छु । यहाँ लेखकको भोगाइ पनि यस्तै छ । उहाँले मुमाको चिन्ता गर्नुभएको छ । त्यसैले होला उहाँका इच्छाहरू एकपछि अर्को पूरा हुँदै गएका छन् । उहाँलाई यो विश्वास छ ती इच्छाहरू मुमाले पूरा गरिदिनुभएको हो । त्यस्तै अर्को अद्भुत कुरा छ, मनको शुद्धता कति शक्तिशाली हुँदो रहेछ, “साँच्ची नै कसैले एकाग्र चित्तले तपस्या गर्छ भने उसले भगवान्को साक्षात् दर्शन पाउन सक्ने कुरा ज्यादै कठिन भए पनि दुर्लभ चाहिँ होइन रहेछ (४३) ।” यस कुरामा उहाँ सन्देह मुक्त हुनुहुन्छ ।
आध्यात्मिक चिन्तनले सम्पोषित भएकै कारण लेखकले आफूलाई अरू बढी धैर्यवान् बनाउन सक्नुभएको छ । मानसिक उपचार गर्न सक्षम हुनुभएको छ । विकट क्षणलाई सन्तुलित अवस्थामा रूपान्तरित गर्न दक्ष हुनुभएको छ । यहाँ मलाई बालकृष्ण समको ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ भन्ने अभिव्यक्ति पनि स्मरण भयो । यहाँ रोएर मर्ने विज्ञानको होइन हाँसेर मर्ने ज्ञानको खोजी गरिएको छ ।
शोकले अभिभूत भावना उराल्नु मात्रै यहाँ लेखकीय अभिप्राय होइन । आफूलाई सबल बनाउन पारलौकिक विषयको खोज, अध्ययन, र गहन विश्लेषण समेत उहाँले गर्नुभएको छ । पश्चिमाहरू यस विषयको खोज अनुसन्धान र विश्वासमा हामीहरूभन्दा धेरै अगाडि रहेको उहाँ बताउनुहुन्छ । ठुला-ठुला विदेशी लेखक, जेफरी लङले दस वर्ष लगाएर मृत्युको मुखमा पुगेका अनुभवमा अनुसन्धान गरेको पुस्तक, अलिसन डुबोइसको ‘टक टु मि’ (मसँग बातचित गर) जस्ता महत्त्वपूर्ण ग्रन्थको अध्ययन गरेर उहाँले दुःखको अवस्थामा आफूलाई रक्षित गर्नुभएको छ । ‘क्षतिको अर्को पाटो पुनर्मिलन हो’ भन्ने एलिसनको भनाइमा उहाँ समहत हुनुहुन्छ । मुमाको भौतिक शरीर गुमाउनु एउटा क्षति हो भने उहाँसँग एकाकार हुनु पुनर्मिलन हो । यसरी उहाँले आफ्नो विश्वासलाई जित्नुभएको छ ।
विशेषतः यो पुस्तक आत्मासँगको साक्षात्कार वर्णन हो । छायामा परेका यहाँ अरू पनि धेरै कुरा छन् । आफ्नी मुमाको हौसलामा विद्यावारिधि गर्न विदेश गएको त्यसबिचमा अनेक सङ्घर्ष, चुनौती र कति उपलब्धिहरू प्राप्त भए । परदेशका ती सम्पूर्ण भोगाइ मुमालाई सुनाउने लेखकसँग कति ठुलो इच्छा थियो । त्यो पूरा हुन नसकेको अमिलो अनुभूति व्यञ्जनाले अहिले मुमालाई सुनाउँदै हुनुहुन्छ । त्यस क्षण म पटक-पटक द्रवीभूत भएँ । लेखकप्रति सहानुभूतिको चुली लाग्यो । साहसिक, निर्भीक, सङ्गीतप्रेमी, समाजसेवी, उच्च धार्मिक चेतनाले प्लावित, कोमल हृदय भएकी, एक सङ्घर्षशील र शिक्षा सेवामा समर्पित आफ्नी मुमाको गौरव गान गर्दै उहाँले उज्यालो ज्योतिसँग मुमालाई तुलना गर्नुभएको छ । डा. अञ्जना वस्ती भट्टराई कृत स्मृतिलोकको यात्रामा पनि त्यस्तै गौरवका कुरा छन् मुमाको । एउटा अनौठो कथा सुनेजस्तो लाग्ने त्यो उज्ज्वल व्यक्तित्वलाई मैले पनि प्रणाम गरेँ । एउटा कुरा के भने चाँदनीमा पनि दाग हुन्छ भनेझैँ मानव स्वभाव हो, त्यसमा केही अवगुण निश्चय हुन्छन् । त्यस्तै आफ्नी मुमाको अवगुणलाई पनि यहाँ लेखकले औँल्याउन सक्नुभएको छ ।
यसमा सकारात्मकता अर्को उल्लेख्य पक्ष रहेको छ । जीवनप्रति सकारात्मक हुन सकियो भने जस्तै दुर्बोध्य अवस्थाको पनि सहजै सामना गर्न सकिन्छ, मानवीय गुण हासिल गर्न सजिलो हुन्छ उहाँ भन्नु हुन्छ, हिजोआज मेरो हरेक दिनको प्रयास कसरी आफूलाई साँचो मान्छेका रूपमा सुधार गर्नु भन्ने रहन्छ ((९१) ।
मलाई यहाँ अत्यन्तै छोएको अर्को कुरा पनि छ- बाबुआमाको सन्तानप्राप्तिको इच्छा पूर्ण हुँदै थियो, त्यसै बेला आफू पाँचौँ सन्तानको रूपमा गर्भवास लिँदा गर्भ तुहाउने औषधि सेवन गरेको रहस्य थाहा पाएकी व्यञ्जना मुमासँग थोरै गुनासो र बाँकी गौरव गर्दै तल भन्नुहुन्छ, यो धर्तीमा मानिसको जन्म नै अति दुर्लभ कुरा हो । मलाई भगवान्ले नै जन्माउन चाहेका हुन् । यसका पछाडि जरुर कुनै उद्देश्य छ भनेर मख्ख पर्ने गर्छु । यस कुराले उहाँलाई जीवनको उद्देश्य खोज्न अरू प्रेरित गरेको छ । पढाइमा अब्बल भएर ऐश्वर्यपदक प्राप्त गर्नु पनि सायद त्यसैको देन थियो ।
सपनामा मुमालाई देख्ने अनेक चेष्टापश्चात्को त्यस रात एकचित्त भै पढिरहेकी मुमालाई देखेर लेखक विश्वस्त हुनुहुन्छ – कार्ल जङ्गको सिद्धान्तलाई पछ्याउँदा हजुर यसरी ध्यानमग्न भएर पढ्नुलाई मैले हजुरलाई लेखेको यिनै चिठी पढ्नुभएको हो भन्ने ठानेकी छु (९५) ।
घाम अस्ताएको होइन, यसभित्रको समय दुःखको भए पनि, यो एक शिक्षित, सिर्जनशील, बौद्धिक परिवारकी छोरी डा. व्यञ्जनाले ज्ञान प्राप्त गरेको अमूल्य क्षण हो । स्वयं स्रष्टाको जीवन, जीवनको लक्ष्य (वास्तविक मान्छे बन्ने) र मुमासँग जोडिएका अविस्मरणीय स्मृतिको तरङ्ग मात्रै यो होइन । त्योभन्दा बढी अर्कै छ – दुःखान्तको समयमा आफूलाई कसरी सम्हाल्ने ? हो त्यही सम्हाल्ने क्रममा घाम अस्ताएको होइन भन्ने साबित गराएर उहाँ हलुङ्गो हुनु भएको छ । उहाँको यो मानसिक उपचारको तरिका त्यस्तै शोकसन्तप्त अवस्थामा डुबेका मानिसलाई अत्यन्तै उपयोगी हुनेछ ।
हुन त त्यो समय उहाँको ज्यादै दुःखद क्षण थियो । परन्तु उहाँका लागि यो एउटा अवसर पनि हो, आध्यात्मिक उचाइमा पुग्ने । उहाँ गृह देशमै भएका बेला त्यो वज्रपात परेको हुन्थ्यो भने यो कृति लेखिने थिएन होला । लेखकको चेतना यसरी प्रदीप्त हुन कहाँ पाउँथ्यो ? मानिसका लागि कठोर अवस्था एउटा परीक्षण काल हो । त्यसबाट उत्तीर्ण हुँदाको प्राप्ति उति नै जटिल हुँदो रहेछ । जुन सामान्य अवस्थामा प्राप्त हुन सम्भव छैन । जीवनमा कति चुनौतीहरू आफैँ लिनुपर्ने हुन्छ, कति स्वतः आउने छन् । लेखकले यहाँ भोग्नुपरेको चुनौती सबैको हो । त्यो अवश्यम्भावी छ । यद्यपि उहाँले प्राप्त गर्नुभएको उपलब्धि भने सबैको हुन सक्दैन । एकाधले मात्रै त्यो प्राप्त गर्नेछन् ।
मृतकको सम्झनामा अनेक कृतिहरू सिर्जना भएका छन्, जस्तोकि माधव घिमिरेको गौरी नै भनौँ । परन्तु घाम अस्ताएको होइन, यो बेग्लै छ । शोकलाई थाम्न आत्मप्रकाशनको मार्ग लिनु, आत्मशुद्धीकरण गर्नु, मृतकको आत्मासँग एकाकार हुनु, आत्माको व्यप्तिलाई बोध गर्नुजस्ता अलौकिक ज्ञानले यो कृति कृष्ण र अर्जुनको संवादसँग निकट रहेजस्तो लाग्छ । मुमा गुमाउनुको क्षतिपूर्ति स्वरूप लेखकलाई अन्तर्दृष्टि प्राप्त भएको छ । लाग्छ अब उहाँलाई कुनै हुरीले उडाउन सक्ने छैन । यो पुस्तक यसर्थ भिन्न महत्त्वको छ । एकचोटि अध्ययन गर्नैपर्ने ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।