खै के महत्त्व छ २१ दिनको । तर मलाई भने २१ दिनले धेरै दियो । पुनर्ताजगी पनि २१ दिनमै पाएँ । सबै पाउँछ तर खोज्नु पर्छ । भनिन्छ, प्रकृति र मानिसबिच पिआर धेरै हुन्छ । विदेशको पिआर हैन कि पब्लिक रिलेसन । म पनि त्यसैमा पर्छु अरे । अब धेरै प्रशंसा पनि किन गर्नु ? यदि आफ्नै मात्र प्रशंसाले सबै पूर्ण हुने भए कसले बाँकी राख्दो हो र ?

धेरै जनाले भन्नुभयो, “तैँले त निकै सेवा पाइस् कोभिडमा पनि”, हो  यसमा म भाग्यमानी नै हुँ । एकदिन पनि खालिबस्नु परेन । भलै अघि पछि एक्लै बसे पनि ।

अलि अप्ठ्यारो परेजस्तो भयो । आरोग्य नेपालमा गएँ ।  धेरै लामो समय भएर हो या धेरै डराएर हो, तनाव थपिएछ । झनक्क हुने । मन आत्तिने । डर लाग्ने । यतिसम्म कि, रूममा बाघ आउला जस्तो लाग्ने । सम्भावना नै नभएको कुराको पनि डर लाग्ने ।

सर्वप्रथम  त  डा. सावको काउन्सेलिङ सुरु भयो । तनाव के हो ?

‘जब एक्कासी अप्ठ्यारो परिस्थिति आउँछ तब हामी फाइट गर्छौँ वा फ्लाइट गर्छौँ । अर्थात् टाप कस्छौँ । यसका पनि विभिन्न चरण र अवस्था छन् । तनाव हटाउनभन्दा पनि त्यसको व्यवस्थापन गर्नु पर्दछ । तनाव दिने त छँदै छ । तर त्यसलाई कसरी लिने भन्ने हाम्रो जिम्मा हो । त्यसलाई सकारात्मक पाटोबाट पनि लिन सकिन्छ ।’,  यसरी सुरु भएर अगाडि बढ्यो सेसन ।

अक्सिजन नापियो । प्रेसर, तौल तथा सबैको एनालाइसिस गरियो । अब  शरीर डिटक्सका षढकर्महरू नेति  (नाकबाट मनतातो नुनपानी हालेर निकाल्ने) ।

त्यसपछि बमन धौति । शरीरमा जमेर रहेको कफ निकाल्ने । जसले ग्यासट्राइटिसको राम्रो उपचार हुन्छ ।

त्यसै गरी शङ्ख प्रक्षालन । लगभग ६ गिलास वा सोभन्दा बढी नुनपानी पिउने । प्रतेक २ गिलासको अन्तरमा योगासनहरू गर्ने । त्यसले पेट सफा गर्यो ।

त्यसपछि  शिरोधारा । चञ्चल मनलाई एकत्रित गर्नको लागि ।  म त्यसैमा निदाएछु । सोचेको थिए भर्खरै होला । तर एक घन्टा बितिसकेछ ।

लगत्तै  आयुर्वेदिक मसाज । वातजलाई निकै मन पर्ने । आधाघन्टा जतिको फुलबडी मसाजपछि स्वेदन अर्थात् बाफ लिने । बाफ जडीबुटीद्वारा तयार पारिएको हुन्छ ।  त्यसमा बस्दा खलखली पसिनासँगै रोग बगेको अनुभूति हुँदो रहेछ ।  त्यति सकेपछि खाजा तयार भयो । फापर, कोदो, चामल, गहुँ आदिको पिठोबाट तयार पारेको ।

खाजा खाइसकेपछि, ४ बजेबाट प्रकृतिसँग तादम्यता गर्नका लागि हाइकिङ । हाइकिङ गर्दा पनि  दुई जना डा. सावहरू अगाडि र पछाडि काउन्सेलिङ गर्दै रहनुहुन्थ्यो ।  एकैछिन खालि भयो भने मन दौडिहाल्ने । अनावश्षक कुरा खेल्न थाल्ने । त्यसमा पनि धेरैजसो डर देखाउने खालका ।

हाकिङबाट फर्केपछि हर्बल चिया । योग र सिङ्गिङ बल ।  साँझको खाना खाइसकेपछि एसेम्बली हल । त्यसमा दिनमा दिएको टास्कको ब्रिफिङ तथा आफ्नो अनुभव, कहानी सुनाउने । भजन किर्तन र अन्तमा सबै जना नाचिसकेपछि एकछिन सवासन मिठो धुनमा । र, ९ बजे आरामको लागि बेड ।

स्थानीय गाईको दूध पिएपछि पहिलो दिनको क्रियाकलाप सकियो ।  फेरि भोलि बिहान डाइनामिक योगाभ्यास । त्यसैगरी हाइकिङ । मन डराउँथ्यो । शरीर कमजोर छ, कतै ढल्यो भने ? तर डा. साव भन्नुहुन्थ्यो – किन चिन्ता ? यहाँ सबै सुविधा छ ।

मलाई सबैभन्दा ठूलो भरोसा अक्सिजनको लाग्थ्यो । किनभने, सहरतिर अक्सिजनको हाहाकार थियो । तर यहाँ भने सजिलै पाउन सकिन्थ्यो । हाइकिङ रुट पनि लामो । एक दिन त पाइलट बाबा जाने भन्ने कुरा भयो । आफूलाई डर लाग्न थालिहाल्यो । त्यति टाढा कसरी जानु ?

लगभग आतेजाते ३ घन्टाभन्दा पनि बढीको समय लाग्ने कुरो भयो । नास्ता खाएर हिँडियो । थप नास्ता पनि बोकियो । कोभिडमा त लगभग २ घन्टाको अन्तरालमा खाइरहनु पर्ने । खाएरै जित्ने हो रे !

डा. सावले यसको परिचय दिँदै भन्नुहुन्छ, “रिसोट भनौँ ! आश्रमजस्तो छ । आफूले खाएको भाँडा आफैँ माझ्ने नियम छ । अस्पताल भनौँ, त्यो पनि होइन । अस्पतालमा त भिडभाड र मानिसहरु आवतजातव हुन्छ । आश्रम भनौँ, त्यो पनि हैन । पैसा तिर्नुपर्छ । योगसेन्टर भनौँ ? त्यो पनि हैन । खासमा यो सबै कुराको संयोजन हो । अर्थात् जीवनशैली केन्द्र ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनुमात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योग चिकित्सा हो । अधिकांश नसर्ने रोगका कारकहरू असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलतजस्ता कुराहरू पर्दछन्। यी सबैलाई हटाई योगले सन्तुलित जीवन जिउन सिकाउनुका साथै रोगलाई निको पार्दछ । योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, बाथ रोग, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेसन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियतजस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि कम गर्न सहयोग गर्दछ |

योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालिक हुन्छ। तर अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरूलाई थाहा हुँदाहुँदै पनि अवलम्बन गर्न गाह्रो हुन्छ । यहाँ त्यस्तै जीवनशैली परिवर्तनमा जोड दिइन्छ । यहाँ स्वस्थ व्यक्ति हेल्थ प्रमोसनको लागि आउँछन् । रोगी व्यक्ति उपचार तथा पुनर्स्थापनको लागि आउँछन् । योगीहरु साधनाको लागि आउँछन् । लेखकहरू रचनाको लागि आउँछन । सबैको लागि उपयुक्त छ यो ठाँउ । नाम हाे आरोग्य नेपाल ।

आरोग्य नेपाल, लाकुरी भञ्ज्याङ, ललितपुर 

सम्पर्क न ९८४९१८६४८१ /९८४१४१४२८६/ ९८५७०८१५५५