प्रत्येक साँझ हजुरआमाको मुखबाट कथा नसुनी निद्रै पर्दैनथ्यो ।
उहाँले सुनाउने कथाहरू कि त राजकुमारीका कथा\परिकथाहरू हुन्थे कि त भूत, प्रेत र किच्कन्याका । तीन सन्तानकी आमा पच्चीस वर्षे उमेरमै विधुवा भएकी हजुरआमाको पनि आफ्नै कथा छ । ढिलोचाँडो उहाँको कथा पनि लेखौँला ।
०६९ तिर हुनुपर्छ, स्नातकको परीक्षा दिएर केही फुर्सदमा थिएँ । बिएस्सीको पढाइ सँगसँगै मेडिकल इन्ट्रान्स तयारी र प्लस टुको समयमा केन्द्रित हुनुपर्दा झण्डै–झण्डै लेखनबाट विमुखजस्तै थिएँ ।
पाँच कक्षामा पढ्दा, ‘प्राथमिक शिक्षा आजको आवश्यकता’ शीर्षकमा निबन्ध लेखेपछि नै हुनुपर्छ सायद, मैले पनि लेख्नुपर्छ है भन्ने थियो मनमा । तर आजजस्तो लेखाइलाई नै पेशा बनाउनुपर्छ भन्ने थिएन । कक्षा ६ मा पढ्दा एकजना नाताले मामा पर्नेको प्रभावमा इन्जिनियर बन्नुपर्छ भन्ने लाग्यो । त्यो कुरालाई बाको पेशाले पनि बल पु¥याएको हुनुपर्छ । बा पेशाले एक डकर्मी हुनुहुन्थ्यो । गाउँमा उहाँले बनाएका थुप्रै घर यथावत छन्, तर अहिले बा हुनुहुन्न । छोरो पढेर इन्जिनियर बनोस् भन्ने मेरा बा अहिले रहनुभएको भए, “ए लेखेर पनि त थोरै भए पनि कमाइ गर्न सकिने रहेछ” भनेर थोरै सन्तुष्ट त पक्कै बन्नुहुन्थ्यो होला !
०६१ सालमा माओवादीको सशस्त्र संघर्षताका सदरमुकाम बसेर पढ्नुपर्ने बाध्यता आइलाग्यो । त्यतिबेला जिल्ला स्तरीय कविता प्रतियोगितामा भाग लिन पाउनु मेरो लागि आफूलाई चिन्ने एउटा अवसर बन्न पुग्यो ।
मैले कविता लेख्छु भन्ने नेपाली विषय शिक्षिकालाई थाहा थियो । स्कूलमा मलाई कहिले निबन्ध प्रतियोगिता त कहिले कविता प्रतियोगितामा पठाउने कुरा थियो । अन्त्यमा कविता प्रतियोगितामा जान पाएको थिएँ । त्यतिबेला सहिद दिवसको दिन प्रतियोगिता आयोजना भएर एक महिनापछि पुरस्कार वितरण हुन्थ्यो । त्यस कवितामा म जिल्लाभरमा प्रथम भएको रहेछु । साथीहरूले मैले भन्दा पहिल्यै थाहा पाएछन्, ‘ओए कवि, ए कवि !’, भनेर जिस्काउँदै थिए । मैले रिसाएर गाली गरेँ । त्यसपछि हेड सर तीलबहादुर थापाले नै भनेपछि मात्रै आफू प्रथम भएको पत्याएँ ।
बाल्यकालमा परदेशमा हुने काका\ठूलाबाको चिठी पढ्नु, परिवारका तर्फबाट उहाँहरूका लागि चिठ्ठी लेखिदिनुपर्थ्यो । त्यस चिठ्ठीहरूमा पनि पक्कै साहित्य लुकेको हुँदो हो । सायद ती कुराहरूले पनि मलाई लेखनमा धकेलेको हुनुपर्छ ।
त्यसो त जिन्दगीमा आफ्नो लागि प्रेम पत्र त लेखिएन । लेखिएन पनि नभनौँ क्यारे ! लेखे पनि धेरै समय सिरानीमुनि राखियो । धेरैपछि नगरपालिकाको फोहर फाल्ने गाडीमा मिल्काइयो ।
एक समय थियो, एफएम सुन्ने अनि पत्रमित्रताबाट साथी बनाउने ।
पत्रमित्रताको लागि कलेजको ठेगाना दिइन्थ्यो । मेरै पनि चिठ्ठी आएछ । फिजिक्स पढाउने मास्टरले कक्षामा पर्दाफास गर्दिए । त्यो चिठ्ठी पत्रमित्रभन्दा पनि आफूसँगै स्कूल पढेकी साथीले पठाएकी रहिछे । मलाई कम्ति लज्जित बन्नु परेन ! त्यसपछि भने हातमा मोबाइल बोक्ने जमाना आयो । अहिले मलाई चिठ्ठी पठाउने साथी कता छे, के गर्दै छे ? केही पनि थाहा छैन ।
चिठ्ठी आफ्नो लागिभन्दा पनि साथीहरूको लागि लेखिदिइयो । उनीहरूले पक्कै पनि मैले नै लेखिदिएको लख काट्थे । किनभने सबै चिठ्ठीहरूको भाषा एउटै किसिमको हुन्थ्यो ।
स्कूल पढ्दा आफूले नबनाए पनि अरु साथीहरूको अटो भरियो । अटो बनाउने अधिकांश केटी साथीहरू हुन्थे । अँ साँच्ची, ती अटोहरू के संग्रह गरेर राखेका होलान् त ? भनेर मेरो मनमा एककिसिमको जिज्ञासा उत्पन्न हुन्छ अहिले पनि ।
अब साकुराको कुरा गरौँ ।
मैले ‘साकुरा’ नलेखेको भए के हुन्थ्यो, त्यो त म यसै भन्न सक्दिनँ । तर मलाई लेख्नै पर्थ्यो । साकुराभित्रका केही कथा मेरा आफ्नै हुन् । केही काल्पनिकता त केही मैले देखेको समाजका उपजहरू पनि हुन् ।
मलाई लाग्छ, कुनै पनि लेखकले जब कापी या त कम्प्युटरका फाइलहरूमा उतार्दैन, उसले आफ्ना कथाको गर्भ बोकेर हिँड्छ । त्यतिमात्रै होइन, गर्भ बोकेर हिँड्न त्यति सजिलो छैन । लेखकीय प्रसवपछिको आनन्द त त्यतिबेला मिल्छ, जब आफ्ना कथाहरूको मुद्रण भएर प्रत्येक पाठकहरूका कोमल हातहरूमा पर्छ ।
मलाई लेखन गर्भको हिसाबले अहिले भर्खर लेख्दै गरेको उपन्यास लेख्नु थियो तर सकिनँ । त्यसका प्राविधिक पाटोमा धेरै काम गर्नु थियो । गहिरो अनुसन्धान गर्नु थियो । त्यतिबेला मेरो बर्कतले नभ्याएकै हो ।
अहिले लेख्दै गरेको उपन्यासभन्दा साकुरा लेखन केही सहज भएको ठान्छु । हुन त हरेक लेखकलाई एकपछि अर्काे किताब उत्कृष्ट हुनुपर्छ भन्ने मनोवैज्ञानिक रुपमा दवाब त हुन्छ नै । तर मलाई भने साकुरा प्रयुक्त भूगोलमा पूर्ववतः यात्रा गरिसकेको हुनाले पनि मलाई केही सहज भयो ।
साकुरामा प्रयोग भएका प्रायः ठाउँमा पुगेको छु । कतिपय आफ्नै अनुभव त केही साथीभाइका कुराहरूलाई ग्रहण गरेर लेखेको थिएँ । साकुराको एक जना पाठकले मलाई प्रश्न गरेका थिए, “सर, तपाईँको आफ्नै कथा हो ?” यस्ता प्रश्न धेरै लेखकहरूले फेस गरिसक्नुभएको हुनुपर्छ ।
एक ठाउँमा लेखक एकदिन जेल बस्नुपर्ने सिन छ । त्यो घटनामात्रै नभएर लेखकले हरेक घटनालाई पाठकको दिमागमा चित्र तयार गरिदिनसक्नु लेखकीय कला हो । साकुरा पढेर मेरो एकजना साथीको ममीले, “नानी तिम्रो साथी जेल पनि परेको थियो ?”, भनेर प्रश्न गर्नु भएछ । साथीहरूको त्यस्तो कुरा सुन्दा कथालाई केही न्याय दिन सकेँ कि भन्ने ठान्छु ।
साकुरा लेख्नुपूर्व दर्जनौँ कथा लेखिसकेको भए पनि प्रकाशनमा लागिएन । तिनै कथालाई कहिलेकाहीँ पुर्नःलेखन गरौँ जस्तो लागे पनि सबैभन्दा गाह्रो काम भनेकै पुनर्लेखन र सम्पादन हो । फेरि पुनर्लेखन जरुरी पनि हो ।
साकुरा लेखनको लागि लगभग एक वर्ष खर्चिएँ । तर पुर्नःलेखनको लागि थुप्रै समय लाग्यो । कतिपय प्लट हटाएँ । कतिपय प्लट थपेँ, जो जरुरी थिए । कतिपय सिन लेख्न तीन महिनासम्म लगाएँ । कुनै समय नेपाली सिनेमाको स्कृप्ट लेख्न भन्दै केही निर्देशकको पछि लागियो पनि । त्यस कुराले पनि फाइदा मिल्यो । पेशाले एक संस्थाको प्रशिक्षक हुनुको नाताले पनि धेरै पात्र र प्रवृतिलाई नजिकबाट हेर्न पाएँ ।
‘साकुरा’, झट्ट सुन्दा कुनै एक केटीको कथा मात्रै भन्ने लाग्न सक्छ । तर त्यतिमात्रै होइन । साकुरा एक लेखककी प्रेमिका र उनीहरूबीचको कथा हो । यसलाई एउटा छुट्टै फ्रेममा राखिएको छ । यसभित्रको कथाको ‘लेखक’ सिर्जना गर्नमा केही सिनियर लेखकलाई मनमा डुलाइहिँड्नु पर्ने थियो । लगभग यस कथा लेखेर सक्ने दिन काठमाण्डौमा घटेको एउटा घटनाले मलाई तीन चार दिन कोठाबाट बाहिर निस्कन सकिनँ । सायद कथाको ह्याङओभरले पनि हुनसक्छ । लेखेर सकेको तीन महिनासम्म एकपल्ट पल्टाएर पनि हेरिनँ । किनभने मलाई कथाको ह्याङओभरबाट उम्कनु थियो ।
सुरुमा साकुरा साकुरा थिएन ।
बरु साकुरा पात्रको उपनाम ‘डल्ली’ बोकेर हिडेँ । महिनौँसम्म । कता–कता ‘डल्ली’ले पूरै कथा बोक्दैन कि भन्ने लाग्यो । त्यसैले भौँतारिएँ, नामको खोजीमा । पात्र मात्रै नभएर किताबको पुरै कथा बोकोस् नामले भनेर धेरै घोत्लिएँ । धेरै नाम आए मनमा । तर चित्त बुझेन । खोज्दै जाँदा भेटियो ‘साकुरा’ ।
हाम्रो राष्ट्रिय फूल लालीगुराँस भएझैँ, जापानको राष्ट्रिय फूल हो ‘साकुरा’ । यो अप्रिल महिनाको सुरुमा फूल्छ । मैले सुनेअनुसार यो एकहप्ता मज्जाले फूल्छ । यो फूल्ने बेला लगभग पात देखिन्न भनेर जापानमा बस्ने साथीहरूले भनेको सुनेँ । नेपालमा भने भक्तपुरमा देखेको छु, साकुरा । साकुरा फूल र यसको कथाको तादाम्यता भेटेर नै यो नाम राखेको हुँ ।
साकुरा प्रेम कथामा आधारित कथा हो । नेपालमा धेरै लेखिएका छन्, प्रेम कथामा आधारित उपन्यास । त्यसमा साकुराको पनि आफ्नै स्थान होला । त्यो कुरा पाठकहरूको जिम्मामा । तर प्रायः लेखिने शुत्रबद्ध कथाभन्दा फरक छ भन्ने मेरो लेखकीय दावा हो ।
प्रेमकथा लेखिने आफ्नै तौरतरिका हुन्छन् । मेरो आगामी किताबमा केही फरक पक्कै पाउनुहुने छ ।
अहिले आएर बुझ्दैछु, लेखकले आफू र आफ्नो क्षमता कुन विधामा छ भनेर चिन्नु जरुरी छ । लेखनको सुरुवात कविता र निबन्धबाट गरे पनि उपन्यासको ठूलो क्यानभासमा खेल्नुमा मजा लाग्दैछ । र यो जरुरी छैन कि सबैले उपन्यास लेख्नुपर्छ । सबैले कथा लेख्न सक्दैनन्, सबैले कविता लेख्न सक्दैनन् । एकाध लेखकहरू होलान्, साहित्यका हरेक विधालाई न्याय गर्न सक्ने । जे होस् कम नै छन् ।
कुनै समय निबन्ध, कविता, र मुक्तकमा लागियो । कुनै बेला लघुकथा, हाइकुतिर पनि । तर आफूलाई एउटा कित्तामा उभ्याउँदा अलिक बढी न्याय गर्न सकिन्छ कि भन्ने ठान्छु । अहिले फर्केर हेर्दा मैले एउटै बाटो हिँडेको भए एउटा छुट्टै मार्ग तय गरिसकेको हुन्थेँ कि ? तर पछि फर्केर अल्मलिने होइन । अघि बढ्ने हो । जसरी धावकले एउटा गन्तव्य तय गरेर निरन्तर दौडिरहन्छ ।
उपन्यास ‘साकुरा’ लेख्न त लेखियो । अब छाप्नु थियो । बजारमा प्रकाशकहरू त थुप्रै छन् । तिनीहरूका आ–आफ्नै स्ट्राटेजीहरू छन् । केही प्रकाशकहरू छन्, जसले आफ्नो धर्म निवार्ह गरिरहेका । त्यसमध्ये एक प्रकाशकलाई भेटेँ । उनीबाट प्रष्ट भनाइ नपाएपछि लागेँ, आफ्नै सोचमा ।
साहित्यको मेरो पहिलो किताब ‘साकुरा’ भए पनि त्योभन्दा पहिले मेरो आफ्नै प्रशिक्षणको व्यवसायिक किताब छापेको अनुभव छँदै थियो । त्यसपछि आफैँ हिम्मत किन नगर्ने त ? भनेर कस्सिएँ किताब छाप्न । एउटा दुस्साहस् नि ! अनि आफ्नै कम्पनि जिन्दावाद ! चर्चाको हिसाबले कमै भए पनि व्यवसायिक रुपले सफल नै मान्छु । यसैको जगमा अर्काे किताबलाई अगाडि बढाउँदैछु ।
भर्खरै आफ्नै यत्नले यहाँसम्म आउनुमा सबैभन्दा पहिले मेरा सम्पूर्ण पाठकहरू धन्यावादको पात्र हुनुहुन्छ । यसबाट निकै हौसला मिलेको छ ।
र अन्त्यमा,
साहित्य पोस्टको लागि स्मृतिको एउटा कुनामा सुरक्षित बसेकी साकुराबारे लेख्दै गर्दा धन्यवाद भन्नैपर्छ । साकुराका तमाम पाठकहरू सबैभन्दा धन्यवादका पात्रहरू हुनुहुन्छ । अग्रजहरू, जसका किताबहरू पढेर म पनि नेपाली साहित्यको एउटा गोरेटोमा हिड्ने कोशिश गरेँ । भोलिका दिनमा पनि हिजोको जस्तै मलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिएर नेपाली साहित्यको राजमार्ग फराकिलो पार्न तपाईँहरूले सहयोग गर्नुहुने नै छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।