मानिसमा चेतनाको विकास भएर घरमा बस्न थालेपछि सबैभन्दा राम्रो घर कसले बनाउने वा सजाउने भनेर तुलना साथै प्रतिस्पर्धा पक्कै पनि भयो होला । हुन त त्यो अझैसम्म पनि सबैले प्रत्यक्ष नभए नि अप्रत्यक्ष रूपमा सोच्छन् नै । चाहे पानी चुहिने घर होस् या ठुला-ठुला महल ।
भर्खरै तिहार सकियो । सबैका घर रङ्गीचङ्गी देखिए । फूल, माला, रङ्ग, बत्ती आदिले घर सजाउन मान्छेहरूले सक्ने कुनै कसर बाँकी राखेनन् होला । सायद प्रतिस्पर्धा पनि भयो होला घर कसले राम्रो सजाउने भनेर ।

कीर्ति अधिकारी
सबैलाई कुरूप लाग्ने तर कसैले पनि त्यसको सुन्दरतातिर ध्यान नदिएको घर हो- माकुराको घर ।
घरमा जालो लायो भनेर सबैले कुचाले बढारेर फाल्छन् तर त्यसको बनोट र सुन्दरताप्रति कसैको ध्यान जाँदैन । हुन त त्यसले घर फोहोर पार्छ तर घरले घरको सुन्दरता कम पारेको हुन नपर्ने हो ।
कार्तिकको महिना धान काटिसकेपछिको खेतमा माकुराले लगाएका साना-साना जालोमा, बिहानीमा साना-साना थोपा शीत परेपछि झुल्कँदै गरेको सूर्यको किरण पर्दा झिलिमिली बत्ती बालेको घरभन्दा बढी झिलिमिली देखिन्छ । कसैले हिरा नै हिरा जोडेर राखेको जत्तिकै सुन्दर र चम्किलो देखिन्छ । लाग्छ शीत नै हिरा हो र माकुराले आफ्नो मिहिनेतको फलस्वरूप हिरा पाउँछ ।
माकुराले आफूलाई बस्नयोग्य तरिकाले घर बनाउँछ तर त्यसमा सुन्दरता प्रकृति आफैँले थपिदिन्छ । माकुरामा त कसको घर राम्रो भनेर प्रतिस्पर्धा नहोला तर आफूले चाहेजस्तो सजाउन सक्ने मान्छेको घरभन्दा पनि प्रकृतिले सजाएको माकुराको घर तुलना गर्दा, तुच्छ मानिने जालोले नै जित्न जाला ।
तुलना त कल्पनामै मात्र गर्न मिल्ला आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको घर र माकुराको घरमा तर सजावट नै पनि आधुनिक प्रविधि प्रयोग गरिएको भन्दा प्राकृतिक रूपमै सजिएको माकुराको जालाको शीतको थोपा अनुपम छ । त्यसमा बिहानीको सूर्यले जुन लालित्य थपिदिन्छ लाग्छ सबैभन्दा सुन्दर घर माकुराकै छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




