देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ ।

देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् विकराल बन्दै गइरहेकै छ । तर यो विषम परिस्थितिमा पनि नेपाली साहित्य तथा कलाको क्षेत्र निदाइहालेको भने छैन । बरु कारोनाबाट कसरी बाहिर आउने र आफूलाई कसरी सुसंस्कृत र परिष्कृत बनाउने भन्ने कुराको साधनामा छ ।

यस्तो बेला नवपुस्तका उदीयमान साहित्यकार तथा कलाकारहरू के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाइरहेका छन् ? उनीहरूका आवाज पनि अनेक छन् । आज हामी यस स्तम्भमा साहित्य तथा कलामा संलग्न नवपुस्तालाई सुन्ने छौँः

प्रज्वल अधिकारी:

एउटा अद्भूत कविताका लागि तपस्या गरिरहेको छु”

विश्वभरिका मानवलाई र मानव अस्तित्वलाई नै संकटमा पार्ने गरी फैलिरहेको कोरोना भाइरससँग जुध्न सरकारले बिगत दुई महिनादेखि लकडाउन गरेको छ । र, त्यही बन्दाबन्दीको नियमलाई पालना गर्दै म घरमै बसिरहेछु ।

सपनामा देख्दा पनि विपनामा मुटु कपाँउने माहामारीको यो चपेटामा पर्दा सुरुसुरुमा त मन एकदमै आत्तियो, केही गर्न मन लागेन । तर, जब दिनहरू बित्दै जान थाले, अलि बानी परेजस्तो भयो । र, सुरुसुरुका दिनमा कोरोनासम्बन्धी केही कविता पनि लेखेँ ।

यो दुई महिनाको बन्दाबन्दीमा कविता पढिरहे छु, कविता लेखिरहे छु । अरूले भनेका र बताएका सिद्धान्तका आधारमा भन्दा पनि आफ्नै मन र दिमागले कस्तो लेख भन्छ त्यसैलाई आत्मसाथ गर्दै कविताहरू लेखिरहेछु । बिहान उठेदेखि राति सपनामा पनि कविता कर्ममै रमाउने बानी परेकोले हो कि, के हो ? कवितासँग प्रेम परेको छ । र, यो समयमा म ऊसँगको डेटिङमा छु ।

भन्नेहरूले भन्छन्, दिनदिनै कविता लेख्नुहुन्छ, यस्तो पनि हुन्छ ? मलाई यो प्रश्न, कुनै किसानलाई दिनदिनै खेतमा जानुहुन्छ या कुनै सैनिकलाई सधैँ तयार रहनुहुन्छ ? भनेर सोध्नु जस्तो हो त्यस्तै लाग्छ । बन्दाबन्दी नहुँदा त हरेक दिनजसो एउटा कविता लेख्ने गर्दथेँ भने अहिले त दिनको दुई, तीन या पाँच वटासम्म लेख्छु । कहिले कहिले भने नलेखेको दिन पनि छ । एकैदिनमा एक दर्जन कविता लेखेको अनुभव पनि छ ।

अन्तिम समय….

मेरो जिन्दगीको ढोका बाहिर कोहि आइरहेछ
र जोडजोडले ढोका ढक्ढक्याउदै
छिट्टो बाहिर आउन धम्क्याईरहेछ

छक्क छु म यो समय(
कोहि कसैको घरमा पाहुना जान नहुने बेला
उ किन मेरो जिन्दगीको दैलोमा छ ?
किन उ मलाई बिना सुरक्षा लिन आएको छ र
कहिल्लै नछुट्ने साथी बनाउछु भन्दै
जबर्जस्ती अंगाल्न खोजिरहेछ ?

आमा ! यो घडीमा
मेरो अन्तिम ढुकढुकी छाम्न हस्याङ्फस्याङ गर्दै नआउनु
अस्ति भर्खर मेरो बिहेमा आउदा त त्यस्तो गलेकी थियौ
मेरो मुख हेर्न उति टाढाबाट आउँदा
तिम्रा शरीर फतक्कै गल्छ
गलेको शरीरले ढलेको छोरो कसरी हेर्नू !

तिम्रो चोलीमा हुकुम जमाएर बसेका- प्वालहरू
तिम्रो धोतीमा अटेरी बनेर बसेको- गरिबी
तिम्रो जिन्दगीसँग मजाक गरेर बसेको- अभाव
यी सबैसँग लड्छु र यसपालीको तीजमा
राम्रो ढाकाको चोलो, भरेको सारी र तिलहरी किनिदिन्छु सोचेथेँ

सोचेथेँ( यसपालीको दशैंमा
बा’को खुईलिएको तालुमा राम्रो ढाकाको टोपी पहिर्याईदिन्छु
बा’को कोट लगाउने रहर पूरा गरिदिन्छु
र कन्सिरीका फुलेका रौँहरूमा कालो लगाईदिन्छु

सोचेको थिएँ (
हिँउदको पारिलो घाममा बाआमालाई आँगनमा सुताउछु
र पालैपालो ढाडमा तेल घसिदिन्छु
आमालाई काखमा सुताउछु र कपाल मुसारिदिन्छु
बा’को दुखेको काँध मालिस गरिदिन्छु

यी सबै कुरा सोचेको थिएँ
भनेको भए –
बाँचुन्जेल याद बनेर दुखाउथ्यो बाआमाको हृदय
र पगाल्थ्यो आँखा

सोच्दासोच्दै जिन्दगीको डीलमा उभिएर सोचिरहेछु-
म उसँग गएको खबर लिएर को जान्छ होला गाउँ ?
उसले गएर कसरि सुनाउला ?
पहिला बालाई सुनाउला कि आमालाई ?
यस्तो खवर सुनेर ढलेका बाआमाले
कसरी काट्लान् बँचेको जिन्दगी ?

जिद्दी गरेर मलाई हेर्न भनी नआउनु आमा…
उसले मलाई कसैले छुन नहुने
र, कसैले हेर्न नसक्ने बनाएर लगेको छ

बरू पल्टाएर हेर्नू एल्बमहरू…
छुनु धित मरुन्जेल त्यहीँ मलाई
हेर त !
तिम्रो छोरो तिमीलाई हेरेर मुस्कुराईरहेको छ
जो नवजात शिशु बनेर
तिम्रो काखमा उफ्रिरहने छ, सधैं सधैं….

भन्नेहरूले अर्को के पनि भन्छन् भने, कति फेसबुकमा कविता पोस्ट गर्नुहुन्छ ? यो कुरालाई चैँ मानौँ र फेसबुकमा कविता कम्ती राखौँ पनि भन्छु तर लाग्छ जसको सहारा, जसमा आएका प्रशंसा र प्रेरणाले प्रेरित भएर यहाँसम्म आइपुगेँ, उसलाई हेला गर्नुहुँदैन ।

यो समयमा म कहिले फेसबुक लाइभ आएर विभिन्न कविहरूका कविता वाचन गरिरहेछु, कहिले विभिन्न प्रयोग गरेर कविता लेखेर फेसबुकमा राखिरहेछु, कहिले कुनै फेसबुक पेजमार्फत कविता वाचनमा जोडिएको छु, कहिले टिभी, एफएम र जूम मार्फत् कविता भनिरहेछु ।

कविता प्रतियोगिताहरूमा भाग लिइरहेछु । यसमा पनि अब के भाग लिनु भन्ने शुभचिन्तकहरू पनि हुनुहुन्छ । तर अचम्म चैं वहाँहरू नै कविता प्रतियोगिताहरूमा जज बसेको देख्दा मनमनै लाग्छ, कविता लेखेर कविता प्रतियोगितामा भाग लिनु अन्याय हो र ? कार बनाउने प्रतियोगितामा भाग लिएको भए पो अचम्म हुनु !

फेरि लाग्छ, कविता प्रतियोगितामा भाग लिने चैं कस्ले हो ? तर, बिस्तारै प्रतियोगितामा भाग नलिने मनसाय बनाउँदै छु ।

कविता लेख्नु र कविता सोच्नुभन्दा पर न अरूबेला सोच्थें न अहिले नै सोचेको छु । कति बेला झसङ्ग हुन्छु, दुनियाँ कोरोनाको त्रासमा छ ! मुटु चिसो हुन्छ । अनि यो समस्यासँग जुध्न आफ्ना, अन्य कविका कविताहरू पढ्छु, मन भुलाउछु ।

फेसबुकमा भने अलि बढी नै समय बिताइरहेछु ।

मेरो आठ महिनाको बच्चा भएको हुँदा म ऊसँग पनि निकै समय बिताइरहेकाे छु । उसलाई हेरेर पनि कविता कोरिरहेछु । घरको करेसामा तरकारीहरू लगाएको छु, तिनको हेरचाह गर्छु । हरेक दिन उठेर घरको सरसफाई गर्छु । गीत सुन्छु । फेसबुकमा आएका सबैजसो कविता पढ्छु । गुगलमा गएर अन्य कविका कविता पढ्छु । तर जे जे गरे पनि कविताकै बाटोमा यात्रा गरिरहेछु, र यो समयमा पनि अन्य अवस्थामा जस्तै कविता लेखिरहेछु, लेखिरहेछु, लेखिरहेछु……..

……….. तर यौटा अद्भुत कविता भने लेख्न सकिरहेको छैन । र त्यसको लागि तपस्या गरिरहेछु ।

 

रोशन भण्डारी:

“लक डाउनले फोटोग्राफीप्रतिको भोकलाई धेरै जगाएको र थोरै पूरा गराएको छ”

लक डाउनका सुरुवाती दिनहरूमा मनमा बेचैनी थियो । अब के होला, कस्तो होला ? के गर्ने, कसो गर्ने ?

मन स्थिर नभएपछि दिमागले पनि काम नगर्दाेरहेछ । त्यसैले पनि सुरुका दिनहरू आरामका बिताएँ । हेर्न चाहेका तर व्यस्तताले हेर्न नपाएका चलचित्र तथा सिरिजहरू हेरेँ । छिनछिनमै समाचार हेर्नुपर्ने, देश तथा अवस्थाका घटनाहरू हेर्दैमा पनि धेरै समय बितिगयो ।

आउट-ल किङ, महिला केन्द्रित भारतीय चलचित्र पिंक, सिरिजहरूमा गडलेस, फुटबलर कालोस टेभेजसँग सम्बन्धित आपाचीजस्ता राम्रा फिल्म र सिरिज पनि लक डाउनकै मौका छोपेर हेरेँ । त्यसका अलावा केही राम्रा डकुमेन्ट्रीहरू पनि हेरेँ । कलासँग सम्बन्धित मान्छे भएर पनि होला, मलाई पुस्तकसँग पनि प्रेम छ । यो समयमा द आर्ट अफ वार, द टर्मिनलजस्ता केही विदेशी पुस्तकहरू पनि पढेँ । तर लामो समयसम्म ल्यापटप हेर्न र किताब पढ्न पनि सकिदैन रहेछ ।

बाबा आफ्नो काममा, म आफ्नै, परिवारसँग लामो बात नमारेको र समय नबिताएको पनि लामो समय भइसके छ । अहिले त्यसको लागि समय मिलेको छ । अहिले अधिकांश समय बाबा, आमा र बहिनीसँग बिताउन पाइरहेको छु ।

छतमा केही साना बिरुवा र सागसब्जीहरू छन् । बाबा, ममीले गोडमेल गर्नुहुन्छ, म पानी हाल्छु । र, पानी हाल्नेभन्दा पनि त्यो माहोलमा रमाइरहेको छु । बोटबिरुवा भएको ठाउँमा पुतली, माहुरी आउँछन् । तिनीहरूसँग पनि बात मार्छु । फकाएर फोटो लिन्छु । यो समयले मेरो फोटोग्राफी प्रतिको भोकलाई धेरै जगाएको छ, थोरै पूरा गराएको छ ।

सामान्य अवस्थामा पनि म सामाजिक सञ्जालको पारखी नै हुँ । यो समयमा अझ धेरै समय बिताएँ । मलाई रमाइला खालका मिम तथा जानकारीमूलक सामग्री सेयर गर्न मन पर्छ, गरेँ । देशमा तथा विदेशमा भइरहेका कोरोनाबाहेक घटनाहरूलाई पनि गहिराइमा पुगेर अध्ययन गर्ने प्रयास पनि गरिरहेको छु ।

अब थोरै कामको कुरा गर्छु । यो समयमा मैले धेरै अग्रज तथा सहकर्मी आर्टिस्टहरूको काम गहिरेर अध्ययन गर्ने समय पनि पाएँ । नयाँ तथा पुराना आर्टिस्टहरूको काम गर्ने तरिकालाई अध्ययन गरेँ । गर्दैछु ।

लकडाउनका कारण घरबाट आफ्नो आर्ट स्टुडियोसम्म पनि जान पाएको छैन । तर पनि पछिल्लो समय कोरोनाभन्दा बाहिर आएर आफैँभित्र हराउने कोसिसचाहिँ गरिरहेको छु । सञ्जालमै सही, कहिले मनोभावना लेख्छु ।

चित्रकारिताका सामानहरू प्रायः स्टुडियोमै थुनियो । तर मलाई कलाबाट अलग भएर, चार दिवारमा थुनिएर बस्नु गाह्रो काम हो । त्यसैले कोठामै भएका सामग्रीको प्रयोगमा केही कोर्ने काम पनि गरिरहेको छु । कोरोना महामारीले मानिसलाई मनोवैज्ञानिक रूपमा कमजोर र कायल बनाएको छ । मैले चित्रमा उतार्ने भनेको पनि त्यही नै हो ।

यसका अलवा, जुम तथा अन्य प्रविधिको प्रयोगबाट कलाकारहरूको मिटिङ पनि भइरहेको छ । त्यहाँ आफ्नो अनुभव सेयर गर्ने र अरूको सुन्ने काम भइरहेको छ । कलाको क्षेत्रबाट समाजलाई कसरी सबल बनाउन सकिन्छ भन्ने कुरामा हामी बहसमा पनि छौँ । त्यसमा म पनि अग्रसरताका साथ लागेको छु ।

 

कविता पौडेलः

“मानिसले गाउँको र स्थानीय उत्पादनको महत्व बुझिरहेका छन्”

महिना जेठ भए पनि पानी भदौमा झैँ गरेर परिरहेको छ । त्यसो त वैशाखदेखि नै मौसमले यो साल फरक रूप देखाइरहेको छ । एकातिर कोरोना भाइरसको महामारी, अर्कातिर छिनमै परिवर्तन हुने मौसम, मन उसै उसै भयवित हुन्छ । तर पनि आशाका किरणहरू भने बलिरहँदा रहेछन् मनभित्र ।

काठमाडौँ बस्न थालेपछि घर आएर यतिका लामो समय बसिएको थिएन । लक डाउने सन्त्रासका साथमा परिवारसँग बस्ने एउटा अवसर पनि दियो ।

म मात्र होइन, अहिले धेरै मान्छेहरू गाउँ फर्किएका छन् । आजकल गाउँ युवा अनुहारले भरिभराउ छ । कोरोना त्रासले गाउँ पनि आक्रान्त छ । धेरैका काम तथा कार्य योजना ठप्प भएका छन् । स्कूल कलेज बन्द, बालबच्चाहरू घरमै छन् । बजार व्यवसाय पनि ओरालो लागेपछि मानिसले गाउँको र स्थानीय उत्पानदनको महत्व बुझिरहेका छन् । म भने यो लक डाउनमा नजिकबाट मेरो समाज र समाजको मानसिकतालाई नियालिरहेको छु ।

पहिले मलाई आख्यान पढ्न खुबै मन पर्थ्यो । ब्याच्लर्स पढ्दाको तीन चार वर्ष मैले थुप्रै आख्यान पढेँ । पाउलो कोएल्होको द अल्केमिस्टदेखि लिएर पल एस. वर्कको द गुड अर्थ, कुमार नगरकोटीको मिस्टिकादेखि लिएर नीलक कार्की निहरिकाको योगमायासम्म । तर पनि मैले लेख्ने हिम्मत भने कहिल्यै गर्न सकिनँ । मेरो लेखन भनेको कवितामा सीमित थियो । आजकलका मेरा दिनहरू तिनै पुराना किताबलाई प्रेम गर्दैमा बितिरहेका छन् ।

सरकारले अचनाक गरेको लक डाउनले नयाँ किताब लिने अवसर मिलेन । अस्ति मात्र किताबहरूको बीचमा एउटा डायरी भेटाएँ । आफ्नै । जहाँ पहिलो लेखेका कविताहरू रहेछन् । माया पलाएर आयो । बीचको समयमा खै किन हो, यिनीहरूलाई मैले चटक्कै बिर्सिएकी रहेछु ।

समाजको नजिक रहेर समाजलाई नै नियाल्दा कथा तथा उपन्यासका जस्ता पात्रहरू भेटाइरहेकी छु । लाग्दैछ, अनगिन्ती कथाहरू लेखिन बाँकी नै रहेछन् । थुप्रै कविताहरू कोरिन बाँकी नै रहेछन् ।

साँच्चै भन्दा, आजभोति मभित्रको लेखक जुर्मुराएको अनुभूति गर्छु । जसले मलाई घच्घचाइरहेको छ । केहीदिन यता तिनै समाजका पात्रहरूका दशा तथा मनोदशालाई संगालेर लामा छोटा कथाहरू लेख्ने प्रयास गर्दैछु ।