स्कूलका दिनहरू याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरूमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम ।

अचम्मको बेला थियो त्यो, जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरूमा । किताबका अन्तिम पानाहरूमा । नोटबुकका जिल्दाहरूमा । कार्डबोर्डका चेप्नेमुन्तिर । हातको नाडीमा । सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम । तर तिमीलाई थाहा छ ? मान्छे जब आफ्नो नाम भुलेर अरुकै नाम लेख्न थाल्छ नि तब ऊ मायामा डुबेको हुन्छ रे ! हो, म पनि त तिम्रो मायामा डुबेको थिएँ । त्यसैले त स्कूलपछाडिको भित्तामा चकले लेखेको थिएँ पहिलोचोटि तिम्रो नाम ।

हिउँदयामको कुनैदिन बस चढेर मामाघर जाँदैगर्दा झ्यालको सिसामा सासले हाsss गर्दै चोरऔंलाले लेखेको थिएँ, तिम्रै नाम । एक अक्षर पनि नपढ़नु भएकी आमा छेउमा हुनुहुन्थ्यो, तैपनि तिम्रो नाम पढ्नुहोला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदोरहेछ !

कुनै दिन बा’ले एउटा नयाँ ज्यामिति बाकस किनेर ल्याइदिनुभएको थियो । लगेको थिएँ स्कूल । नाम लेख्न मेरा औंलाहरू सलबलाएका थिए । हातमा लिएर बाकसभित्रको दुइटा सियो भएको कम्पास, के लेखौं के लेखौं भएर टोलाएको थिएँ । केही लामो सोचपछि, निकैबेर घोत्लिएपछि, मुस्कुराएको थिएँ म एक्लै-एक्लै । मलाई त त्यो दुईचुच्चे कम्पास देखेपछि मसिना खुट्टा भएकी तिम्रो अनुहार बत्ती जाँदा निभाउन बिर्सेको बत्ती आधारातमा फ्याट्ट बलेझैं मगजमा झिलिक्क बलेको थियो । अनि कम्पासको चुच्चोले कोतरेर लेखेको थिएँ, ज्यामिति बाकसमा तिम्रो नाम । संगालेर राख्ने गर्थें त्यो बाकस, झोलाको छातीनेर, मुटुजस्तै सानो गोजीमा ।

मेरो एउटा बानी तिमीलाई खुसुक्क भन्छु ल ! तिम्रो नामको छेउछाउमै पनि मलाई नराम्रा कुराहरू मन पर्थेन । यो त्यतिबेलाको कुरा हो, जतिबेला तिमी धेरै दिन स्कूल आइनौ । सायद बिरामी परेकी थियौ । मिसले सोध्दामात्र लाजले राती भएर, केही खुशीजस्तो बनेर, पेट दुखेर नआएको भनेकी थियौ । पेट दुखेर आउन नसक्दा पनि तिम्रो अनुहारको तेज र हर्ष देखेर आश्चर्यचकित भएको थिएँ म । पहिलोचोटि केटीमान्छेलाई मात्र दुख्छ रे यसरी पेट भनेर कसैले भनेको सुन्दा मलाई अचम्मले मर्नु बनाएको थियो । तर तिमी नआएको जनाउन हाजिरी कापीमा लेखिएको गयलको इन्टु चिन्हलाई डटपेनले घोटी-घोटी राइट चिन्हमा बदलेको थिएँ । सरले त थाहा पाए, कसले गरेको थाहा पाएनन् । कस्सम ! मलाई तिम्रो नाम लेखिएको कहीँकतै केही पनि नराम्रा चिन्हहरू मन पर्थेनन् ।

मलाई तिम्रो नाम तिम्रो लागि पोस्टकार्डमा नयाँ वर्षका शुभकामनाहरू लेख्दै गर्दा प्यारो लाग्थ्यो । मलाई याद छ, पहिलोचोटि तिमीलाई पोस्टकार्ड दिएको दिन । तिमीलाई हिरोका फोटाहरू मन पर्थेन । तिमीलाई हिरोइनका फोटाहरू पनि मन पर्थेन । रित्तिक रोशनको फोटोपछाडि तिमीलाई नयाँ वर्षको शुभकामना लेखेको पोस्टकार्ड पठाउँदा तिमीले च्यापुको छाला एकै ठाउँमा चुमुर्किने गरेर माथिल्लो ओठलाई तल्लो ओठभित्र घुसारेर ओठ लेब्र्याएकी थियौ ।

“हिरो भएर के भो र ! यो पनि हामीजस्तै मान्छे त हो नि !”, तिमीले यस्तै भनेकी थियौ । र निकैपछि तिमीलाई महादेव र पार्वती आधा-आधा जोडिएको फोटो भएको पोस्टकार्डमा विजयादशमीको शुभकामना दिएको दिन मेरो जीवनको आसाध्यै खुशी भएको दिनको रुपमा अहिलेसम्म पनि दर्ता रहेको छ । तिमीले “पछाडि त्यही जाबो शुभकामना त हो नि” भन्दै “अगाडि धन्न देउता हुनुहुँदो रहेछ” भनेर पोस्टकार्ड निधारमा छुवाएर किताबको कापमा राखेकी थियौ ।

तिम्रो एउटा गोप्य कुरा भनूँ ? तिमीले त्यो देउताको पोस्टकार्ड झुक्किएर स्वास्थ्य, जनसंख्या तथा वातावरण किताबमा राखेकी रहेछौ । पछि झल्याँस्स भएर “आच्या ! मलाई पाप नलागोस् पर्भु”, भन्दै निकालेर हत्तपत्त नेपाली किताबको कापमा राखेकी थियौ रे ! कति बुद्धु थियौ तिमी, प्रजनन अंगका फोटा हुँदैमा किताब कहाँ अशुद्ध हुन्छ र ! देउताले नै बनाएका अंगका फोटा हुँदैमा देउता कहाँ रिसाउँथे र लाटी ?

तर तिमीले देउतालाई ढोग्दा ‘इत्ति इत्ति’ मैले लेखेका अक्षरहरूलाई पनि ढोगेकी थियौ । मेरा अक्षरहरूले लेखेका तिम्रा नामहरूलाई पनि ढोगेकी थियौ । पठाउनेको नाममा मैले मेरो नाम पनि लेखेको हुन्थेँ । कहिले गणेश, कहिले दुर्गामाता, कहिले शिवपार्वतीसँगै दशैँ र नयाँवर्षका शुभकामनाका पोस्टकार्डहरू पुग्दा मेरो नामले कहिल्यै तिम्रो निधार छुन पाएन होला है ? पाएको भए त सपक्क टाँसिन्थ्यो होला तिम्रा निधारमा मेरो नाम । छापिन्थ्यो होला तिम्रो भाग्यमा मेरो उपस्थिति । तर बालापनका खुशीहरू, किशोरवयका रहरहरू कहाँ पुरा हुन्छन् र ! ती त धोद्रो भएर स्वर फेरिएझैं बदलिंदा रै’छन् । जुँगाका रेखी बसेर छिप्पिएझैं छिप्पिंदा रै’छन्, टर्रा बनेर खुशीहरू । बालापनमै माया गर्छु भनेको भए त्यो मायाको रुप अर्कै बुझिने थियो । हुर्किएर माया गर्छु भनौँ भन्दा ओठहरू डराए ।

समय कति चाँडो बितिजाँदो रै’छ ! आँखा झिमिक्क गर्दा नगर्दै फेरिए कैयौँ हिउँदहरू । आएर बलेसीमा रोएर गए कैयौँ बर्खाहरू । आजकल पनि दराजको कुनामा हेर्छु, उसैगरी बसिरहेछ तिम्रो नाम लेखिएको बाकस । धुमिल भएको सम्झनाजस्तै खियाले छोपेको छ तिम्रो नाम । सायद तिम्रा नाम खोपिएका स्कूलका बेन्चीहरू पनि सकुसल छैनन् होला आजकल । बर्खाका लेउ र ढुसीहरूले छोपेका होलान् भित्ताहरूमा लेखिएका तिम्रा नामहरूलाई । अडिएनन् कहिल्यै पनि सिसाको बाफलाई औँलाले कोतरेर लेखेको तिम्रो नाम । सायद जलिसके या हराइसके होलान् तिम्रा नामहरू लेखेका पठाएका पोस्टकार्डहरू । केवल अस्ति भर्खर आइपुगेको बिहेको कार्डमा चम्किलो बनेर बसिरहेको छ तिम्रो नाम ।

“स्कूलका सब साथी भेट हुन्छन्, तँ नि आइज है !” भन्ने आवाज तिमीले बच्चाबेलामा बोल्नेजस्तो लजालु थिएन । न त निम्तोको कार्डमा गोल्डेन कलरमा छापिएको अगाडि सुश्री लेखिएकी तिम्रो बाको आयुष्मति सुपुत्रीको नाम त्यति आत्मीय लाग्यो । किन थाहा छ ? मेरो बानी अझै पनि उस्तै छ । मलाई तिम्रो नामको छेउमा कहिल्यै केही नराम्रा कुराहरू भएको मन पर्दैन । मलाई तिम्रो नामको छेउमा भएको फलानाको आयुष्मान सुपुत्रको नाम पनि राम्रो लागेन ।

आजकल सबैतिरबाट मेटाएको छु तिम्रो नाम । निधारमा नलेखिएको नाम अन्त जता लेखे पनि केही अर्थ नहुँदोरहेछ । छातीमै ट्याटु खोपाएर लेखे पनि मन परेको मान्छेको नाम, त्यही मान्छे मुटुमा नबसेपछि केही महत्त्व नहुँदोरहेछ ।