हिमालको काखमा एउटा सुन्दर गाउँ थियो ।  सुन्दर भए तापनि त्यस गाउँ चरम गरिबी र अशिक्षाको चपेटामा थियो । गाउँलेहरूले दुई छाक टार्न समेत सङ्घर्ष गर्नुपर्थ्यो तर पनि सिधासाधा गाउँले जेनतेन सहेरै बसेका थिए । एकदिन गाउँका मुखिया बाले सारा गाउँलेलाई आफ्नो आँगनमा डाके ।

कुर्सीमा विराजमान बाले गाउँलेतिर हेर्दै जब्बरसाथ फलाके, “सुन गाउँले हो, मसँग निकै खुसीको खबर छ । आजबाट यस गाउँको कुनै पनि मानिस भोकै हुनेछैन । मैले एउटा यस्तो जादुमयी चुल्हो पाएको छु, जसले हामीलाई बर्सौँसम्म खान दिनेछ । गाउँले हो, हाम्रा दुःखका दिन गए !”

मुखियाको कुरा सुनेर सारा गाउँले खुसी भए र जोडले ताली बजाए । मुखियाले गाउँलेलाई भोलिपल्ट फेरि आउन आदेश दिए ।

संसार तिवारी (जर्मनी)

भोलिपल्ट फेरि सारा गाउँले बाका आँगनमा भेला भए । त्यस दिन भने बाका साथमा अरू अनजान व्यक्तिहरू पनि बसिरहेका थिए ।

बाले आफ्नो कुर्सीबाट भने, “गाउँले हो, उहाँहरू हाम्रा पुराना मित्रहरू हुनुहुन्छ । हाम्रो अवस्थाबारे थाहा पाएर मद्दत गर्न टाढाबाट पाल्नुभएको छ । मैले भनेको उक्त जादुमयी चुल्हो उहाँहरूले नै हाम्रा लागि ल्याइदिनुभएको हो । आज हामीले सारा गाउँका लागि भव्य भोजको आयोजना गरेका छौँ । सबै जना अघाउन्जेल खानू, आज कसैको थालमा मासु छुट्ने छैन !”

महिनौँसम्म भोका गाउँलेहरू भोजको कुरा सुनेर  उद्वेलित भए । मुखियाले भान्सामा सहयोगीका रूपमा प्रत्येक गाउँले परिवारबाट एक-एक परिवारजन झिकाए ।

केही घण्टामै परिकार तयार भयो । छिनमै भित्रबाट छिमेकीहरू मासु र रक्सी बोकेर आए र सबै गाउँलेलाई पालैपालो पस्किए । गाउँलेहरू बा र छिमेकीको गुणगान गाउँदै खानामा रम्न थाले ।

अर्को दिन बिहान निकै अबेरमात्र गाउँलेको होस खुल्यो । आँगनमा यत्रतत्र लडिरहेका उनीहरू सबैका हात खुट्टा बाँधिएका थिए । गाउँलेहरूले केही भेउ पाएनन् । उनीहरूले मुखिया बालाई खोज्दै वरिपरि आँखा डुलाए तर बा कहीँकतै देखिएनन् । बाका स्थानमा हिजो बासँगै बात मारिरहेका छिमेकीहरू पो देखिए ।

ती मोटाघाटा छिमेकीले सारा गाउँलेलाई बन्दी बनाए र सबैलाई पालैपालो भित्र भान्सातिर धकेल्न थाले । भान्सा निकै ठूलो थियो, गाउँलेले टाढैबाट देखे, मुखिया बाले भनेको जादुमयी चुल्हो अझै बलिरहेको थियो । चुल्होनजिक केही डढेका कपडा पनि देखे । अझै नियालेर हेर्दा थाहा पाए, ती त हिजो भान्साभित्र हराएका  दाजुभाइले लगाएका लुगा पो थिए । मुखिया बाको जादुमयी चुल्होको वास्तविक राज गाउँलेहरूले बल्ल थाहा पाए तर त्यतिन्जेल निकै ढिला भैसकेको थियो ।