बिहान उठ्नेबितिक्कै आमाले रातो माटोले पोतेको दैलोको ठेलोमा जब घामको झुल्को पर्दै घरभरि रङ्गीन उज्यालो छरिन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
घरका सबै मिलेर ३/४ दिन लगाएर घर लिपपोत गरिन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
दिदीले लगाएको कमेरोको घेरोसँगै कोठाका कुना कुनामा जब रातो माटोको घेरा लगाइन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
बारीभरि लगाएको सयपत्री र मखमली फूलमा जब कोपिला पलाउँदै मगमग बास्ना आउन थाल्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
जब पट्पट् फुटेर टाली झरेको बार्दलीलाई ढुङ्गा र माटो मुछेर टाल्दै टाल्दै रङ्गीन बनाइन्थ्यो, तब लाग्थ्यो दसैँ आयो !!
बाबाले सकी नसकी किनिदिएको ऐना भएको घाँगर जब आङ्गमा पर्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
देश विदेश गएका लाहुरेहरू जब गाउँ फर्किने लहर चल्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
गाउँका दाजुभाइ मिलेर १, ५, १०, २० गर्दै जब लङ्गूरबुर्जाका गोट्टीको आवाज टोलमा गुञ्जिन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
वर्षभरिको पीडा अनि खेतबारीको काम सबै बिर्सिएर जब बाबा र आमाले घरमा समय दिनुहुन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
वर्षभरिको चामलका बोराबाट निकालेर आमाले राखेको धागो, लट्टाइमा गासेर जब चङ्गा उड़ाइन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
असोज महिना लाग्दादेखि नै आफूलाई मन पर्ने कलाकारको पोस्टकार्ड साइजको फोटोमा मनका कुरा लेखेर जब साथीसँग बाढिन्थ्यो, तब लाग्थ्यो दसैँ आयो ।
अहिले पनि घाम त झुल्किन्छ, तर घामसँगै रङ्गीन हुनेगरी पोतिएका दैलोका ठेला छैनन् । घर त अहिले पनि छन्, तर रङ्गाउन कमेरो र रातो माटो लगाइदैनन् । चिल्ला र महङ्गा रङ्ग र कार्पेटले सजिएको घरमा बस्दा पनि दसैँ आए जस्तै लाग्दैन।।
सुन्दर सुन्दर फूल सयपत्रीको अहिले पनि छन् । अहिले त कोठा कोठामा समेत रङीगिबिरङ्गी फूल सजिएका छन् । बाह्रै महिना ढकमक्क फूल फुल्छन । तर बिनाचमकको त्यो फूलको सुगन्धले दसैँ ल्याए जस्तै लाग्दैन
दराजमा लगाइनसक्नु लुगा छन् । नया नया ब्राण्डका कपडा सपिङ्ग मलबाट किनेर ल्याए पनि त्यो लुगाको न्यानोपनले दसैँको आभाष नै दिँदैन् । तन र मनको सन्तुष्टि, उच्च जीवनशैलीको लागि विदेशिएका दाजुभाइ, न त देश फर्किन चाहन्छन् न त आएकाहरूले नै रौनकता दिन्छन् । अझ सामाजिक सञ्जालको जमातले दसैँ फेसबुकभरि ल्याए पनि घरमा चाहिँ आए जस्तै लाग्दैन ।
महङ्गा महङ्गा झिलीमिली चङ्गाले अचेल बजार सजिए पनि किन किन दसैँ आए जस्तै लाग्दैन ? घरभरि मान्छेको जमात भए पनि फेसबुक, ट्विटर, इन्स्टाग्राम विभिन्न फोटो भिडियोसहितको शुभकामना सन्देशले फिड भरिए पनि खै किन दसैँको झल्को आए जस्तै लाग्दैन ?
हामी त्यही हौ, दसै त्यही हो तर पनि समय परिवर्तन भएछ । समयसँगै हाम्रो सोच, तौरतरिका अनि समाज परिवर्तन भएछ । अहिले दसैँको रौनक मनमा भन्दा बढी फेसबुकमा हेर्न पाइन्छ । तर फेसबुके दसैँले मनमा हर्ष र खुसी दिएको छ ?
साँच्चै, समय र समाजमात्र परिवर्तन भएको हो कि हाम्रो मन पनि ? एकपटक विचार गरौँ न ल !
अँ, सबैमा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना । माता दुर्गाले हामी सबैलाई आवरणलाई भन्दा मनलाई रङ्गाउने, देखावटीभन्दा मनमा रमाउने शक्ति दिउन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।