मलाई कता-कता धमिलो याद छ त्यस बेला म त्यस्तै पाँच-छ वर्षको हुँदो हुँ । मेरा बा भुटानी शरणार्थीको रेजिमेन्टमा काम गर्नुहुन्थ्यो । मैले मलिन मुहार लिएर आएका नेपालीभाषी भुटानीहरू धेरै देखेको हुँ । मलाई बाल्यकालमा केही भुटानी सरहरूले पढाउनुभएको पनि याद छ । आफ्नो जीवनयापन गर्न रतुवा खोलाको बगरमा गिट्टी कुट्दै गरेका शरणार्थीहरूको पनि याद छ । दमक चोकमा भारी बोक्दै गरेकाहरूको पनि याद छ । त्यसैले मलाई दुङालले धेरै छोएको छ । कार्चुङको जीवनले धेरै तानेको छ ।

शरण लिन आउने जो कोही शरणार्थी हुन् । जस्तै म, तपाईँ अनि भिन्न भूगोलका मान्छेहरू । म आफूले आफूलाई शरणार्थी भनिरहँदा मलाई कुनै हीनताबोध भैरहेको छैन । एकछिन कल्पना गरौँ त पृथ्वीनारायण शाहाले एकीकरण नगरेका भए हामी आज जो आफ्नो जन्मस्थल छोडेर अन्यत्र गई बसेका छौँ स्वतन्त्र नागरिकको हैसियतले जीवनयापन गर्दै हुन्थ्यौँ होला त ? अहँ ! हामी शरणार्थी हुन्नथ्यौँ होला । हुन पनि हामी सबै शरण लिइरहेका छौँ । कोही स्वेच्छाले गाँस, वास र कपासका निमित्त त कोही बाध्य भएर प्राण रक्षाहेतु । आखिर कारण जे भए पनि हामी परजीवी भएको सत्य हो तर वास्तवमा शरणार्थीहरू परजीवी हैनन् । उनीहरुको ख्याल गर्ने जिम्मेवारीबाट हामी भाग्न मिल्दैन ।

dungal

हामी फरक जात, समुदाय जान्दाजान्दै पनि जसरी प्रेममा पर्छौँ त्यसरी नै कार्चुङ नेपाली केटासँगको प्रेममा परी । त्यसपछि उसको असहज जिन्दगी थप कठिन बन्दै जान्छ । मानव स्वभाव हो मान्छेमा प्रेम, रिस, द्वेष, आशा सब हुन्छ । कसले कुन स्वभाव कति देखाउँछ त्यो बिल्कुल फरक कुरा हो । यस पुस्तकले तिब्बती समुदायको कथा बोलेको हुनाले बुद्धमार्गका कुराहरू देखाएको छ । कसरी मनलाई स्थिर राख्न सकिन्छ भनेर भन्न खोजेको छ । अधिकारप्राप्तिको लडाइँमा सहिद भएका सबै योद्धाको कथा इतिहासको पानामा नभेटिने तितो यथार्थ पनि पस्किएको छ । हामी आफ्नै इतिहास हेरौँ न यहाँ पनि त जित्नेहरूको मात्र कथा छ । के त्यति मात्र हो त इतिहास । पक्कै पनि लुकेका थुप्रै कथाहरू छन् । हो दुङालले त्यस्तै कथाहरू अगाडि ल्याउने प्रयास गरेको छ र सायद केही हदसम्म सफल पनि छ ।

चिनियाँ सैनिकको दमनमा सर्वस्व गुमाएर पनि तिनै सेनासँग प्रेम गरेर सोनामले उदारताको उदाहरण प्रस्तुत गरेकी छन् । दुस्मनसँग प्रेम गर्ने आँट जो कोहीले गर्नै सक्दैन । म आफैँलाई हेर्न पुगेँ यो खुबी कहीँ न कहीँ मसँग पनि रहेछ । त्यसैले त्यहाँ पनि आफूलाई पाएँ । मैले कार्चुङ जो एक महिला पात्र हुन् उनमा पनि आफूलाई पाएँ र उनको पथमा सँगै यात्रा तय गरें ।

रूपक अधिकारी

साँच्चै शरणार्थी हुनु जतिको पीडा अरू कुनै नहुँदो हो । दुङाल पढिसकेपछि मीठो गाँस, राम्रो वास र सुन्दर कपास नहुनुको पीडा सामान्य लाग्छन् । एउटी दोजिया महिला हिउँको यात्रामा लेउ र हिउँ खादै अघि बढेको कथाले आत्मा काँप्छ । यस्तो बेला चिनियाँ सैनिक र सिङ्गो चीनमाथि रिस उठेर आउँछ । कोही यति निर्लज्ज भएर कसरी दमन गर्न सक्छ । आत्मा नभएका मान्छेलाई दुत्कार्न मन लाग्छ तर तिब्बतीहरू बुद्धमार्गमा छन् । उनीहरूको लडाइँ शस्त्र बोकेर हैन बुद्धको पथमा डटेर हुन्छ । उनीहरू आफ्नो राज्य फिर्ता त चाहन्छन् तर त्यसका लागि हतियार उठाउन तयार हुँदैनन् । कोही यति शालीन कसरी हुन सक्छ ? शालीनताको प्रशस्त उदाहरण देख्न पाइन्छ । सँगै केही देशका लागि देशमै मर्ने पनि हुन्छन् । स्वाभवैले राष्ट्रियताको सवालमा मर्न तयार सपुतहरू नहुने हो भने परिवर्तन पनि कहाँ सम्भव छ र ? यसको उदाहरणमा हामी एमसिसीको विरुद्धमा उठेका बुलन्द आवाजलाई पनि हेर्न सक्छौँ ।

बच्चाले गरेको उपद्रोलाई हामी खासै गल्तीका रूपमा हेर्दैनौँ । कार्चुङले पनि हेरिन र बालपनमै कसैलाई दिलमा सजाउन पुग्छे । हामी पनि याद गरौँ त गुडिया खेल्दाका ती दिनहरू सँच्चै ती दिनहरू ठेस लाग्दा पनि दुख्थेनन् । हामीमध्ये कोही पौल पनि छौँ र कोही विश्वदीप पनि । कोही अबोध कार्चुङ त कोही डरलाग्दो ग्याम्जो पनि । आखिर जुन चरित्रका भए पनि हामीले ज्युने जीवन भनेको शरणार्थी जीवन नै हो । मान्छे जन्मने र मर्ने स्वाभाविक प्रक्रिया र आउने उतारचढाव मीठो ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रेम, समर्पण, आशा र त्यागको एउटा मीठो प्याकेज हो दुङाल ।

दुङालको अर्थ पिर, दुःख भन्ने हो । मानव भएपछि पिर, दुःख अरूभन्दा धेर बहन गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझेका छौँ । शरणार्थीका त्यस्तै पिर, दुःख कार्चुङको माध्यमबाट हाम्रा आँखामा झलझल हुने गरी आउँछन् । आशा गर्ने कुरा कथामा पनि छ र म पनि आशा गर्छु तिनका दुङालको चाँडै नै अन्त्य होस् । अन्त्यमा धेरै केही कुरा नगरीकन लेखकले शरणार्थीहरूको समस्या सुनाउन सफल भएकामा धन्यवाद भन्दै आगामी दिनमा यस्तै कोसेलीको अपेक्षा गर्दछु । शुभकामना ।।