केटा र केटीको होटल कोठाको सिक्रेट भिडियो फेसबुकमा भाइरल भएको कुरा विभिन्न पोस्टहरूबाट जानकारी पाइरहेको थिएँ । आखिर केटा मान्छे न परियो, जति नै आदर्शको कुरा गरे पनि जति नै सोझो बन्न खोजे पनि त्यस्तो कुरा आएपछि हातका, जिउका कपालका रौँहरू उठिहाल्छन् नि । मैले त्यो भिडियो हेर्न धेरै कोसिस गरेँ तर त्यो भिडियोको आडमा अन्य भिडियोहरू भाइरल बनाउन अरू नै भिडियोहरू अपलोड गरिरहेका रहेछन् । तर बल्ल-बल्ल कता-कता सम्पर्क बनाएपछि ओरिजिनल भिडियो मैले पाएँ । ठूलो जित नै हासिल गरेजस्तै नै महसुस भयो । त्यसपछि केको ढिला नि अब भिडियो पाइसकेपछि हेर्नका लागि होइन त अनि त्यसपछि हतार-हतार गर्दै भिडियो हेर्न खोजेँ तर जब भिडियोको पहिलो दृष्य हेरेँ नि भगवान् कसम मेरो सातो नै गयो । त्यो भिडियो अरू कसैको नभएर मेरो छिमेकी दिदी, `शारदा´ जोसँग म भाइटीका लगाउँथेँ, राखी बाध्थेँ उहाँकै थियो ।

म मेरो घरको एक्लो सन्तान हुँ, न त मेरो कोही दिदीबहिनी छन् न त दाजुभाइ नै अनि शारदा दिदी पनि एक जना बहिनी, `सुशीला´ बाहेक अरू कोही थिएनन् । अनि त्यही भएर सानो उमेरदेखि नै म सन्ध्या दिदी र सुशीला बहिनीसँग भाइटीका लगाउँथे । हामीबिच एउटै आमाको दिदी-भाइ-बहिनीभन्दा पनि प्रगाढ मायाँ थियो । जिस्किन, झगडा गर्न, कुट्न अनि रमाइलो गर्नमा हामीलाई जित्न कसले पो सक्थ्यो होला र ? हामीबिच हरेक कुरा सेयर हुन्थ्यो तर जब त्यो दिन त्यो भिडियो मेरो हातमा पऱ्यो साँच्चै नै मेरो हात एक्कासि काम्न थाल्यो, के गरूँ ? कसो गरूँ ? भयो सोच्नै सकिनँ । त्यति बेला म मेरो गाउँदेखि केही परको सहरमा डेरा बसेर पढ्थेँ । खासै टाढा त होइन तर पनि डेरामा नै बसेर पढ्थेँ ता कि पढ्नमा पूरै ध्यान लागिरहोस् ।

मैले हतार-हतार आफ्नो फोन उठाए र गाउँमा फोन गरे ममीलाई । पहिलोपल्ट त ममीले फोन रिसिभ नै गर्नु भएन । फेरि गरेँ फेरि पनि रिसिभ गर्नु भएन । तेस्रोपल्ट गर्दा बल्ल-बल्ल रिसिभ गर्नुभयो । रिसिभ गर्न साथ मैले भनिहालेँ, ” ममी शारदा दिदी के गर्दै हुनुहुन्छ सब ठिक छ नि है !”

मैले यो सोध्नुको कारण चाहिँ के थियो भने कतै भिडियो हेरेर दिदीले उल्टासिधा कदम त उठाए कि भनेर नि ?

तर जब ममीको जबाफ पाए मेरो शङ्का सही साबित भयो, ” हैन बाबु, खै के भयो शारदा अघिदेखि ढोका थुनेर बसिराकी छे, हामी यहाँ बाहिरबाट ढोका खोल भन्दा नि मान्दिनँ, मर्छु मर्छु मात्र भनेर चिच्याउछे के गर्नु गर्नु ?”

त्यसपछि मैले केही नभनी फोन काटिदिएँ र शारदा दिदीलाई फोन गरेँ । फोनमा दुई रिङ्ग मात्र के गएको थियो फोन काटियो । अनि मैले फेरि फोन गरे त्यसपछि रिसिभ भयो फोन । रिसिभ हुन साथ मैले भनिहालेँ, ” हेलो दिदी सुन्नु केही भएको छैन त्यस्तो नआत्तिनू, नडराउनू उल्टासिधा कदम नउठाउनू दिदी प्लिज ।”

उताबाट दिदीले रुँदै भन्नुभयो, “हैन भाइ अब सबै खत्तम भयो, केही बाँकी रहेको छैन । जिन्दगी नै बरबाद भयो मेरो भाइ । के सोचेकी थिएँ के भयो ? बाँच्न मन छैन मलाई ।”

“हैन दिदी केही पनि भएको छैन म आउँछु प्लिज दिदी केही नगर्नुहोला आएर कुरा गर्नुपर्छ दिदी तपाईँ टेन्सन नलिनू न प्लिज ।” मैले बिन्ती नै गरेर भनेँ तर उताबाट केही जबाफ आएन फोन काटियो । अनि फेरि कल गरेँ तर रिसिभ भएन । फेरि कल गरेँ यसपटक फोन नै स्विच अफ आयो ।

त्यसपछि मैले हतारहतार केही पनि ढिला नगरी साथीको बाइक मागेर गाउँ आए । जब म गाउँ आइपुगेँ शारदा दिदी घरमा मान्छेहरू थुप्रो थियो । मनमा चिसो पस्यो । कतै केही त भएन । रोएको आवाज पनि आइरहेको थियो साँच्चै नै मनमा चिसो पस्यो कही कतै ।

तर जब त्यहा भिडमा पुगे त्यहा शारदा दिदी आँगनबिचमा हुनुहुन्थ्यो अनि दिदीलाई बाबाले झाप्पड हान्नुहुँदै रहेछ । “किन यस्तो हर्कत गरिस्” भनेर । मलाई साह्रै रिस उठ्यो अनि गएर अङ्कललाई रोकेर नकुट्नू भनेँ । मानेका थिएनन् बल्ल बल्ल माने ।

त्यसपछि शारदा दिदीलाई बिस्तारै उठाएँ र दिदी कोठामा लगेँ । अनि भेला भएका सबै मान्छेहरूलाई आफ्नो आफ्नो घर जाओ भनेर कराएँ । तमासा हेर्न आएका सबै जना आआफ्ना घरतिर लागे ।

त्यसपछि मैले पानी लगेर दिदीलाई दिए । पिउन भने अनि दिदी हात समाएर भनेँ, ” दिदी तपाईं कति पनि चिन्ता नगर्नू केही हुँदैन कति पनि चिन्ता नगर्नू ।”

“के चिन्ता नगर्नु भाइ, एउटा नारीको जिन्दगीको सबैभन्दा ठूलो कुरा इज्जत हो अब त त्यो नै बाँकी रहेन । तँ कहाँ बुझ्छस् र एउटा नारी भएर जन्मिनुपर्छ यो बुझ्नका लागि त । मैले त आफ्नो मायाँको नाम गरेको थिएँ तर मेरो इज्जत मेरो शरीर मेरो कुमारीपन तर त्यही मायाँले नै मलाई लिएर डुब्यो । यो संसारमा साँचो कोही छैन सब आदर्शको धोती ओढेर हिड्ने किच्चकहरू छन् ।” दिदीले मन दुखाएर हल्का रुँदै भन्नुभयो ।

म जबाफ के दिऊँ के नदिऊँ अवाक् भएँ तर यति बेला म यदि केही नबोलेको भए साँच्चै नै दिदी आत्माविश्वास अझै घट्थ्यो त्यसैले मैले फेरि भनेँ, ” दिदी नारीको इज्जत, मन बुझ्न नारी नै भएर जन्मिनु पर्दैन मलाई थाहा छ तपाईँमा के बितिरहेको छ तर दिदी जबसम्म यो कुराको जरा थाहा हुँदैन तबसम्म कुनै गन्तव्यमा पुग्न सकिँदैन त्यही भएर दिदी यदि तपाईँलाई अप्ठ्यारो लाग्दैन भने मनको कुरा भन्नू न अनि म केही गर्नेछु ।”

“तँलाई मनको कुरा भन्न पनि के अप्ठ्यारो भाइ । भन्न त धेरै कुरा मन थियो तस कसलाई भन्थेँ र ? बुझ्ने को छ र ? तँ आएको छस्, तँबाहेक अरू कसले बुझ्छ र मलाई । अब भन्छु नि तँलाई सुन् –

पहिलोपटक त फेसबुकमा नै भेटेको नै हो सन्देशलाई । ब्रिटिस आर्मीमा भर्ती हुन लागेको छु भन्थ्यो । राम्ररी नै बोल्थ्यो । लगभग दिनदिनै जस्तो नै कुरा हुन्थ्यो । मन पर्थ्यो मिजासिलो थियो, मज्जाले नै कुरा गर्थ्यो अनि एकदिन प्रपोज गऱ्यो मलाई । मैले पनि सोचेँ मान्छे पनि राम्रो, जागिर पनि छ अब सायद परिवार पनि राम्रै होला त्यसैले धेरै नसोची स्विकारेँ । उसले भन्थ्यो एकपटक जागिर लागेपछि विवाह गर्छु ।

त्यसको केही दिनपछि मलाई भन्यो कि, ” अब ट्रेनिङ छ केही महिना बोल्न पाउँदिनँ नरिसाऊ है ।”

अब म किन रिसाउनु छ उसको राम्रैका लागि नै त थियो । अनि मैले हुन्छ भनेँ ।

केही महिना पर्खिए उसको म्यासेज आएन । सायद ट्रेनिङमा व्यस्त छ होला भनेर धेरै खोजीनीति पनि गरिनँ ।

तर केही महिनापछि उसको म्यासेज आयो, “म ब्रिटिस आर्मीमा भर्ती भएँ अब एक महिनाका लागि यता आएको छु फेरि जान्छु तिमीलाई भेट्ने मन छ ।”

यत्रो महिना नबोलेर म आफैँ पनि चिन्तित थिएँ तर एक्कासि उसले म्यासेज गरेर यतिको खबर सुनाएर भेट्न बोलाउँदा म नाइछ कसरि पो भन्न सक्थेँ र ?  मैले, “हुन्छ तर कहाँ आउने ?” भनेर सोधेँ ।

सन्देशले मलाई होटलमा भेट्न बोलायो । पहिले त मलाई अप्ठ्यारो लाग्यो तर फेरि सोचेँ मायाँमा विश्वास चाहिन्छ, होला उसको केही कारण त्यसैले इन्कार नगरी गएँ ।

भेट्ने दिन पनि आयो । म उसलाई भेट्न उसले भनेको होटलमा गएँ । होटलमा पुग्नासाथ देखेँ, ऊ मलाई नै पर्खेर बसिरहेको रहेछ । पहिलोपटक भेटेको थिएँ ह्यान्डसम, क्लिन एकदम जेन्टलमेन देखिन्थ्यो नलोभिने त को हो र ?

त्यसपछि एकछिन कुरा गऱ्यौँ भेटेर कुरा गर्दा त ऊ झन् कति राम्रो राम्रो बोल्न मन लागिराख्नेँ खालको । त्यसपछि हामीले खाजा खायौँ, कुरा गऱ्यौँ र लगभग केही समयको कुरा गरेपछि उसले बिस्तारै भन्यो, ” शारदा जाऔँ कोठामा ।”

मलाई ठिक लागेन, मनले त इन्कार गरिरहेको थियो तर खै मलाई त्यस बेला के भएको थियो इन्कार नै गर्न सकिनँ अनि नचाहँदा नचाहँदै हुन्छ भनेँ ।

हामी कोठामा गयौँ । त्यहाँ पुगेपछि के हुने हो मलाई पक्कासँग थाहा थियो तर जब नारीको मनमा कुनै पुरुषप्रति इज्जत हुन्छ नि, तब उसको खुसीका लागि एउटा नारीले हरेक कुरा हार्न सक्छे । आफ्नो इज्जत पनि । तर यो कुरा पुरुषहरूले कहिल्यै बुझ्दैनन् । यदि बुझ्ने भए संसार आज यस्तो हुँदैन थियो होला सायद ।

कोठामा पुगेपछि उसले पछाडिबाट अँगालो मारेर मेरो पेटमा समायो अनि सुरुवात त्यहीबाट नै भएको हो । त्यहाँबाट खाट हुँदैन कति बेला म सन्देशभित्र नै हराएँ पत्तै भएन ।

तँलाई यस्तो कुरा म कसरी भनूँ भाइ? तँ आफैँ बुझ् न के भयो होला कस्तो भयो होला तर तँलाई एउटा कुरा भनूँ भाइ मैले मेरो चरित्र छोडेको होइन आफ्नो विश्वास प्रस्ट्याएको हो । के गर्नु पुरुषहरूले सिर्फ यस्तो भाषा मात्र बुझ्छन् त हामी नारिहरू पेलिनु नै पर्छ नि ।

अनि त्यसदिन होटलमा सन्देशसँग बिताएर हामी छुट्यौँ । छुट्दै गर्दा उसले भनेको थियो, “चाँडै नै फर्किएर तिमीलाई माग्न आउने छु । कति पनि चिन्ता नगर है ल ।”

मैले खुसीले हुन्छ भनेँ ।

त्यसपछि म घरमा आएँ तर खै के भयो त्यो दिन मैले घरमा परिवारसँग आँखा जुधाउन नै सकिनँ तर पनि कसो कसो गरेर दिनहरू बित्दै थिए ।

तर अफसोस मेरो जिन्दगीमा सोच्दै नसोचेको हावा हुन्डरीले प्रवेश गऱ्यो सायद करिब ४ दिनपछि हुनुपर्छ फेसबुकमा “झापाली केटीको चरित्रहिन भिडियो” भनेर अपलोड भएको रहेछ ।

अब तँ आफैँ सोच् न मलाई कस्तो भयो होला ? आफ्नो विश्वासको परिणममा मैले आफ्नो बदनामीले भोगेको थिएँ । आखिर यी पुरुषहरू किन यस्ता हुन्छन् ? यदि विश्वासको बदला विश्वास दिन सक्तैनन् भने किन घात गर्छन् ? यदि साँचो मायाँ गर्न जान्दैनन् भने धोका चाहिँ किन दिनु ?

भाइ सुन् अरूको मलाई थाहा भएन तर बिन्ती छ तँ चाहिँ कहिल्यै कसैको इज्जतमाथि खेलबाड नगर्नू ल । बिन्ती छ भाइ तँलाई कसैको विश्वास नतोड्नू है भाइ ।”

दिदीले बोलिसक्नुभयो तर त्यसपछि मैले केही बोल्नै सकिनँ । नजिकैको पानी तानेर आफैँले पिएँ अनि दिदीलाई दिएँ । दिदीले पिउँदिनँ भन्नुभयो । अनि मैले भनेँ, “दिदी अब प्रहरीमा उजुरी गर्नुपर्छ !”

“नाइँ होस् अब एक-दुई दिनमा आफैँ शान्त हुन्छ त्यति बेलासम्म सहुँला” ,दिदीले भन्नुभयो  ।

“दिदी अनि सहन सक्नुहुन्छ, यति बदनामी ?” ,मैले सोधेँ ।

“किन नसक्नु भाइ, अहिलेसम्म नारीहरूले के नै गर्दै आएका छन् र सहनबाहेक !” ,दिदीले एकदम दबिएको आवाज उठाएर भन्नुभयो ।

त्यसपछि मैले दिदीलाई अझै सम्झाएँ अनि घरकालाई सबै कुरा भनेर सम्झाएँ र दिदीलाई बस्दै गर्नू म छिट्टै आउँछु भनेर सहर फर्किएँ ।

म सहर आएँ । करिब एक हप्तासम्म पनि दिदी भिडियो भाइरल नै थियो साह्रै नै तुच्छ-तुच्छ कमेन्टहरू आइरहेका थिए । कसैले भालु लेखेर, कसैले हामीसँग नि भिडियो बनाऊ न लेखेर, कसैले अब पोर्नस्टार बन्न आफ्नो प्रचार गरेकी हो भनेर कमेन्ट गर्ने, कसैले के ? कसैले के ? अन्य नाना थरी लेखेर कमेन्ट गरिरहेका थिए ।

मैले यो सहनै सकिनँ । फेसबुक चलाउन दिक्क लाग्न थाल्यो । जहीँतहीँ दिदीकै मात्र कुरा अनि आफैँले नै फेसबुक बन्द गरिदिएँ ।

फेसबुक चलाउन छोडेपछि करिब १५ दिन जस्तो ढुक्क भएर बसेँ तर मेरो यो ढुक्कपन धेरै दिन रहन सकेन । एकदिन मलाई गाउँबाट फोन आयो । फोन ममीले गर्नुभएको थियो । ममीले भन्नभयो, “बाबु सुन् त ! शारदाले त कोठाको फेनमा झुन्डिएर आत्माहत्या गरी ……. !”