आर्थिक स्थिति बलियो बनाउने एउटा विकल्पको रूपमा वैदेशिक रोजगारीलाई लिइन्छ । वैदेशिक रोजगारी विपन्न मानिसहरूका लागि आयआर्जन र आर्थिक उन्नतिको एउटा महत्त्वपूर्ण क्षेत्र भए पनि यससँगै समाजमा अनेकौँ विकृति विसङ्गति पनि भित्रिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीले सामाजिक विखण्डन, विविध रोग, एक्लोपन, सम्बन्धविच्छेद, नैराश्य, आत्महत्याजस्ता समस्या निम्त्याएको छ । स्वदेशमा कामको सम्भावना नदेखिएपछि आम युवाहरूको पहिलो रोजाइ नै वैदेशिक रोजगारी भएको छ । अधिकांश नेपाली युवाहरू रोजगारीको खोजीमा विशेष गरी साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र मलेसिया आदिजस्ता मुलुकतिर गइरहेका छन् ।

गरिमा पाण्डेय

गुणस्तरीय र सिपमूलक तथा व्यावसायिक शिक्षाको कमीका कारणले युवाहरू स्वरोजगारीको अवसरबाट वञ्चित छन् । त्यसमा पनि राज्यका जिम्मेवार पक्षले राजनीतिक र सामाजिक स्थिरता सृजना गर्न नसकेको तीतो यथार्थ स्पष्टै छ । यस्तै सामाजिक, आर्थिक र राजनीतिक परिवेशगत तथा व्यक्तिगत आकाङ्क्षा एवम् पारिवारिक आर्थिक अवस्थाका कारण युवाहरू रोजगारीको खोजीमा झिनो आशा लिएर विभिन्न मुलुकमा बिदेसिन बाध्य छन् । यसरी रोजगारीको खोजीमा बिदेसिने नेपाली युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आ.व. २०७५/०७६ मा संस्थागत र व्यक्तिगत गरी ५ लाख ८ हजार ८ सय २७ जना वैदेशिक रोजगारीका लागि बिदेसिएका थिए । आ.व. २०७५/०७६ मा भने प्रमुख गन्तव्यमा कतार र युएई रहेको विभागको तथ्याङ्कमा उल्लेख छ, जसमध्ये कतारमा १ लाख ६१ हजार र युएईमा १ लाख १९ हजार पुगेका छन् । पछिल्लो समय पुरुष मात्र नभएर महिला पनि वैदेशिक रोजगारमा जाने क्रम बढेको छ । गन्तव्य स्थानमा पनि युवाहरूको रोजगारीको अवस्था सन्तोषजनक देखिँदैन । विदेशमा गएर भोग्नुपर्ने विविध समस्या, चुनौती तथा सम्भावनाका बारेमा अधिकांश युवाहरू अनभिज्ञ हुँदाहुँदै पनि विदेश पुग्छन्, जहाँ उनीहरूले यहाँको जस्तो स्वच्छन्दता पाउँदैनन्; दुःख पाउँछन् र आफैँलाई धिक्कार्छन् । राज्यले वैकल्पिक रोजगारीको सृजना गर्ने, तल्लो तहदेखि नै स्वरोजगारमूलक व्यावसायिक शिक्षातर्फ विशेष जोड दिने हो भने विदेश पलायन हुने नागरिकहरूको सङ्ख्यामा कमी आउने देखिन्छ ।

वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले हाम्रो देश चलिरहेको छ । सबैको घर पनि राम्रैसँग चलेको होला तर वैदेशिक रोजगारमा गएपछि परिवारका सदस्यबिचको सम्बन्धमा के कस्तो परिवर्तन आएको छ ? वैदेशिक रोजगारी आर्थिक अवस्था सुधार्ने सही माध्यम भए पनि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ ? यसले सामाजिक र पारिवारिक संरचना र सम्बन्धमा केकस्तो प्रभाव पारेको छ र भविष्यमा के कस्तो समस्या र चुनौती निम्त्याउँछ भन्ने विषयमा आजसम्म हामी कतिले गम्भीर भएर सोचेका छौँ र बहस गरेका छौँ ? अनि राज्य पक्ष यसप्रति के कति गम्भीर र सचेत छ ? यस्ता ज्वलन्त प्रश्नहरूको उत्तर खोज्नैपर्छ ।

उपर्युक्त  प्रश्नहरूको उत्तर खोज्न देशका विभिन्न ठाउँमा घटित केही प्रतिनिधि घटनाहरूको उल्लेख गर्नु यहाँ सान्दर्भिक देखिन्छ । जसमा गत वैशाख १७ गते राति धनुषाको हंसपुर नगरपालिका-६, टिल्हीमा वैदेशिक रोजगारीमा हुँदा भाउजु सुशीला र देवर अनिलबिच अनैतिक सम्बन्ध गाँसिएको कुरा ३५ वर्षीय पति शम्भु मण्डलले थाहा पाएपछि उनलाई उनकी पत्नी र भाइले सञ्जय मण्डलसँग मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । पत्नीको यौन सम्बन्घ अरू कसैसँग रहेको शङ्का गरी राति सुत्नुअघि पतिपत्नी दुवैबिच विवाद हुदाँ क्रोधमा आएर २०७८ असार ४ गते धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपही बस्ने २२ वर्षीया प्रियङ्कादेवीको घाँटी थिचेर उनकै २८ वर्षीय पति सन्तोष पासवानले हत्या गर्न पुगे । गत भाद्र ८ गते बिहान मिथिला विहारी नगरपालिका-५, ललियाका भागेश्वर मण्डलले आफू रोजगारीका लागि विदेशमा रहेको समयमा बुबा र पत्नीबिच यौन सम्बन्ध कायम रहेको थाहा पाएपछि आवेगमा आफूले बुबा र पत्नीलाई टाउकोमा भाटा प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको बयान प्रहरीसामु दिएका थिए । माथि उल्लिखित घटना नेपाली समाजमा वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक विखण्डन र विकृतिका केही प्रतिनिधि घटना तथा उदाहरण मात्र हुन् ।

यस्तै अहिले स्थानीय तह, प्रहरी कार्यालय तथा अदालतमा पुगेका मुद्दाहरूमा अधिकांश सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका अथवा सम्पत्तिको अपचलनसम्बन्धी मुद्दा दर्ता भएका देखिन्छन् । कारण जेसुकै उल्लेख गरे तापनि त्यसको मुख्य कारण वैदेशिक रोजगारी र त्यसबाट सृजित पारिवारिक कलह, अविश्वास, धोकाधडी र विश्वासघात नै भएको देखिन्छ । लामो समयसम्म परिवारका सदस्य बाहिर हुँदा यस्ता समस्या उब्जिएका हुन् । श्रीमान् विदेश गएर आएपछि श्रीमतीसँगको सम्बन्ध चिसिएको पाइन्छ । श्रीमान् अर्कै महिलासँग सम्बन्ध राख्न जाने भन्ने आरोप श्रीमतीको रहेको हुन्छ ।

त्यस्तै श्रीमती विदेशबाट कमाएर आएपछि श्रीमतीको चरित्रमाथि प्रश्न उठाएर परपुरुषसँग सम्बन्ध रहेको छ भन्दै श्रीमान्‌ले आरोपित गरेको पाइन्छ । यसैगरी श्रीमान् विदेशमा रहँदा श्रीमती अर्कैसँग लागेको र श्रीमान् वैदेशिक रोजगारबाट आएपछि अर्कै महिलासँग लागेको, श्रीमतीलाई मायाँ नगरेको, बेवास्ता गरेको कुरा उल्लेख गरी मुद्दा दर्ता हुने गरेको पाइन्छ । यसरी सँगै बस्ने अवस्था नरहेपछि सम्बन्धविच्छेद गर्ने गरेको पाइन्छ । यी र यस्ता विविध प्रकृतिका आरोपप्रत्यारोप लगाएर प्रहरी हुँदै अदालतसम्म मुद्दा दर्ता हुने गरेको पाइन्छ । श्रीमान्‌श्रीमतीबिचका सम्बन्धका विषयलाई लिएर प्रहरी र अदालतसम्म पुग्ने अधिकांश घटना वैदेशिक रोजगारसँग जोडिएका देखिन्छन् । यस्ता घटनाको सूक्ष्म अध्ययन र विश्लेषण गर्दा आयआर्जनका लागि वैदेशिक रोजगारी उपयुक्त भए पनि यसले पारिवारिक सम्बन्धमा अविश्वास र कटुता ल्याएको देखिन्छ । विदेशबाट फर्किएपछि पारिवारिक सम्बन्ध बिग्रिने, झैझगडा तथा कलह बढ्ने र त्यही कलह सम्बन्धविच्छेद र हत्यामा परिणत भएका यस्ता घटना सार्वजनिक हुन थालेका छन् । यसरी खोतल्दै जाने हो भने वैदेशिक रोजगारीका कारण पारिवारिक व्यवस्थापन भन्दा बढी विखण्डन भएका घटनाहरू उल्लेख्य छन् । यस्ता घटनाले प्रश्रय पाउनुमा परिवारका जिम्मेवार सदस्यहरूको खराब नियत, अदूरदर्शिता, दुराग्रह र पूर्वाग्रही व्यवहार एकातिर जिम्मेवार छ भने अर्कातिर सामाजिक सञ्जालको नाममा च्याउ उम्रेसरी सञ्चालित युट्युबरहरूको सस्तो व्यवसाय पनि बढी जिम्मेवार देखिन्छ । यी दुवै पक्षका कारण पनि समाजमा वैदेशिक रोजगारीले पारिवारिक आर्थिक व्यवस्थापनभन्दा पनि बढी विखण्डन निम्त्याएको छ भन्न सकिन्छ ।

यसैगरी केही खराब मानसिकता भएका व्यक्तिका कारण कसैसँग बोल्यो, हाँस्यो, हिँड्यो भने परिवारलाई र पतिलाई कुरा लगाइदिएर मानसिक यातना दिने गरिएको छ । पतिले समेत विदेशबाट दुःख गरी कमाएको सबै पैसा माग्ने तर घरमा भएको खर्चको हिसाबै नगरी कुन केटोलाई लिएर खुवाइस् भनी शङ्का गर्ने र अरूका कुरा सुनेर धम्क्याउनेजस्ता समस्या आम महिलाले भोग्नुपरेको देखिन्छ । यस्तै पति विदेशमा हुँदा महिलालाई विविध सहानुभूति, मायाँप्रेम देखाउने, बारम्बार फोन गर्ने, प्रलोभन देखाउने, आफ्नो बनेर यौन तथा आर्थिक शोषण गर्ने र अन्त्यमा अर्काको घर बिगारेर महिलालाई घर न घाटको बनाएर छोडिदिने पुरुषका कारण पनि यस्ता घटना बढेका पाइन्छन् । हाम्रो समाजमा केही पुरुषले श्रीमान् घरमा नभएको अवस्थामा एक्लोपनको फाइदा उठाएर उसकी श्रीमतीलाई फकाई उसको धन र तनमा मोजमस्ती गरेर हिँड्ने र यौन शोषण गर्ने गरेका प्रशस्तै उदाहरण छन् । महिलाले पनि सर्वस्व सुम्पने, विदेशमा रातदिन, घाम, झरी नभनी रगतपसिना बगाई दुःख गरेर पठाएको रकमसमेत अनाधीकृत र कुनै साइनो नै नभएका पुरुषलाई दिने र आफू सडकमा पुगेपछि मात्र शोषित भएको तथा बरबाद भएको थाहा पाएर पश्चात्ताप गर्ने गरेको देखिन्छ । यसरी पारिवारिक विखण्डन हुनुमा पुरुषको मात्र नभएर महिलाको पनि उत्तिकै दोष देखिन्छ । परपुरुष या अन्य कसैले अलिकति कुटिल सहानुभूति वा मायाँदया देखाउँदैमा आँखा चिम्लेर विश्वास गरी जिउधन वा सर्वस्व सुम्पनु महिलाको ठुलो कमजोरी हो, जसलाई किमार्थ स्विकार्न सकिँदैन ।

घरपरिवारमा आर्थिक, सामाजिक मर्यादाविपरीतका अनैतिक गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ, डाह, रिस, शङ्का र प्रतिशोधका कारणबाट परिवारकै सदस्यबाट हत्याको घटनामा वृद्धि हुनु समाजका लागि अत्यन्त घातक भएको छ । सम्बन्धविच्छेद हुनु र प्रतिशोध लिन आफ्नै परिवारका सदस्याको हत्या गर्नुमा वैदेशिक रोजगारी पनि जोडिएको देखिन्छ । आज पल्लो गाउँमा यस्तो समस्या पर्‍यो, भोलि छिमेकीमा र पर्सि आफ्नै घरमा पर्न सक्छ । वैदेशिक रोजगारीले घर-घरमा विविध कलह सृजना गरेकाले यसतर्फ समाजका अगुवाहरू सचेत हुनुपर्ने देखिन्छ । यस्ता घटनाले गर्दा हजारौँ नेपाली महिला तथा पुरुषहरू त्यत्तिकै प्रभावित भएका छन् । हजारौँ परिवार टुक्रिएका छन् भने हजारौँ बालबालिकाहरू अभिभावकविहीन र टुहुरा बनेका छन् । अर्थात् बालबालिकाहरू घर न घाटका भएर सडकछाप हुन बाध्य र विवश छन् । यो सबै अभिभावकहरूको उपभोक्तावादी र विलासी दिनचर्या र चरित्रको परिणति हो ।

उपर्युक्त तथ्यलाई दृष्टिगत गर्दा वैदेशिक रोजगारी पारिवारिक आर्थिक व्यवस्थापनका लागि वरदान साबित हुनुपर्ने थियो । पारिवारिक सुख, समृद्धि र समुन्नतिका लागि महत्त्वपूर्ण कडी बन्नुपर्थ्यो तर यसको ठिक विपरीत अभिशाप सिद्ध हुँदै गइरहेको पाइन्छ । महिला वा पुरुष वैदेशिक रोजगारीमा गएपछि परिवारका सदस्यबिच आपसी सद्भाव र सहिष्णुता हुनुपर्नेमा त्यसको विपरीत अविश्वास र असहिष्णुता बढ्दै गएको देखिन्छ, जसले गर्दा पारिवारिक सम्बन्ध र संरचनामा नै जटिल समस्या उत्पन्न भएका देखिन्छन् । यिनै समस्याहरू दिनप्रतिदिन बढ्दै जाँदा सामाजिक विकृति र विसङ्गतिमा रूपान्तरित भई पारिवारिक विखण्डन हुने सम्भावना हुन्छ । घरमा पति वा पत्नीको अनुपस्थितिमा पारिवारिक बेमेल, उपेक्षा, निराशा, अविश्वास बढ्दै जाने र डिप्रेसनको सिकार हुने एकातिर भय हुन्छ भने अर्कातिर साथीसँगाती वा कुसङ्गतका कारण कुलत र दुर्व्यसनमा फसेर व्यभिचारी बन्न पुग्दछन्, जसबाट धेरैले आफ्नो घरपरिवारलाई बर्बाद मात्र पार्दैनन्, समाजमा बहिष्कृत, आलोचित र उपेक्षित हुँदै उपहासका पात्रसमेत बन्दछन् । यसबाट उनीहरूमा आपराधिक मनोवृत्ति बढ्दै जाने, एक्लोपन महसुस गर्ने र आत्महत्याको बाटो रोज्नेजस्ता आत्मघाती निणर्य गर्न पुग्दछन् भने अर्कातिर बेमेल र अविश्वासको फाइदा उठाएर वैदेशिक रोजगारीमा रहेका नारी वा पुरुषको सम्पत्तिसमेत हत्त्याउने नियतका व्यक्तिको बहकाउमा लागेर उसैलाई आफ्नो तन, मन, धनलगायत सर्वस्व सुम्पने पात्रका कारण पारिवारिक विखण्डन दिनप्रतिदिन बढ्नुले वैदेशिक रोजगारी पारिवारिक व्यवस्थापनभन्दा बढी विखण्डनतिर उन्मुख छ । यसलाई समयमै व्यवस्थापन र नियन्त्रण गर्न सरोकारवाला व्यक्ति र निकाय गम्भीरतासाथ लाग्नुपर्छ र परिवारका सदस्यहरू पनि बढी सचेत र सहयोगी हुनुपर्छ अनि मात्र वैदेशिक रोजगारी पारिवारिक समृद्धिको मेरुदण्ड बन्न सक्छ ।