अहिले करिब रातको १२ बजेको छ होला । कोठाको लाइट पूरै बन्द छन् तर सिलिङको पङ्खा भने कतै युद्धमा जान लागेको सैनिक भटभटेजस्तो रफ्तारमा छ । एउटा चाउरे केटो घोप्टे मुन्टो लगाएर मोबाइलमा केही हेर्दै ओछ्यानमा लम्पसार छ । सायद युटुबमा केही ऱ्यान्डम भिडियोहरू स्क्रोल गर्दै बसिरहेको छ । अहिलेसम्म निदाएको छैन ।

घरमा दिनभरि एक्लै, रातभरि एक्लै । ऊसँग आजकल डेरामा उसका साथीहरू भनेकै केही चाङ किताबहरू, खाटमुनि मदहोस ढलेका रित्ता बियरका बोतलहरू र मिनी टेबलमा राखिएको सिसाको एसट्रेमा समाधिस्थ तमाम चुरोटका ठुटाहरू, यत्तिमात्र छन् । ओछ्यान पूरै लथालिङ्ग छ । कोठाका सरसामान केही पनि आफ्नो सही ठाँउमा छैनन् । बिस्तारा, भुईँ, टेबल, दराज जताततै पुस्तकहरू र केही लेखेर फालिएका कागजका पानाहरू मात्र छन् । ऊ एउटा यस्तो अव्यवस्थित कोठामा छ कि यदि कोही एक्कासि उसको कोठामा छिऱ्यो भने स्टोर रुम भनेर जान्छ होला तर त्यो निठल्लालाई केही मतलबै छैन । बिहान ११ बजे उठ्छ । सुत्ने कति बेला हो उसैलाई ज्ञात हुँदैन । दैनिकी नि पूरै अस्तव्यस्त छ । दिनको सुरुवात चुरोटबाट हुन्छ भने रात मधुरसमा झुम भएर ।

आजभोलि उसलाई यो भोक, निन्द्रा काम काज कसैको ठेगान छैन । ऊ आफैँ बेबकुफ हो या त समयले बेबकुफ बनाएर छाडिदिएको हो । ऊ आजाद छ आफ्नै घरका रित्ता कोठाहरूभित्र ।

रातैभरि गीत सुन्यो किताब पढ्यो । चाहिने नचाहिने आशन र मुद्रामा बस्यो । चुरोटको धुवाँ फोक्सोमा भर्दै झ्यालबाट कहिले मिलेको सफा कालो आकाशतिर हेर्छ कहिले सफेद मैलो आफ्नै लथालिङ्ग ओछ्यान हेर्छ । लथालिङ्ग चिजमात्र हेर्दैन कहिले आफ्नै लथा हेर्छ, कहिले लिङ्ग हेर्छ र कति बेला एकैचोटि लथालिङ्ग हेर्छ । घरी बुक सेल्फमा सजाएर राखेका मन पर्ने किताब हेर्दै टोलाउँछ घरी पढ्दा पढ्दै अल्छी लागेर झाटारो हानी फ्याकेका पुस्तकतर्फ दया देखाउँछ ।

उसको यस्तै चलाइरहेको छ दैनिकी ।

अर्जुन अजनबी

हैन आजकल कहाँ सहजैसित चलाउन सकिन्छ र दैनिकी । खासमा यस्तै चल्दै छ उसको दैनिकी; आफैँ ।

कहिलेकाहीँ एकदमै व्यस्त सडकबिचमा विनाकारण उभिन्छ र आफ्नै कुमसँग ठोक्किएर हिँड्ने मान्छेहरूलाई महसुस गर्छ तब भर्खरै एउटा कथाले छिसिक्क छोएर गएको महसुस गर्छु भन्दै एक्लै बरबराउँछ । हतारमा देखिएका अनुहारहरू हेर्छ आफ्ना अधुरा कथाहरू पूरा गर्न कसिएर कतै लम्केका हुन् भनी सुनाउँछ । कोही लोसे भएर पुलमाथि उभिएर मलिन चेहेरा बनाएकाहरूलाई देख्छ । तिनीहरू आफ्नो कथा समाप्त गर्ने सुरसारमा छन् भनी मनमा कोर्छ । ऊ प्रायः श्मशानमा जान्छ र दिनभरि हेरेर बस्छ आँखैअगाडि नलेखिएरै जलेका कैयौँ महाकाव्यहरू ।

ऊ साँच्चै कहाँ हराउँछ र के खोजी हिँड्छ सायद उसैलाई ज्ञान छैन । चिल्ड्रेन पार्कमा खेलिरहेका सफा सुगर फूलजस्ता केटाकेटीका आँखामा हेर्छ र ऊ धर्ती खोज्छ । फोहर सडकमा फोहर उठाइरहेका केटाकेटीका आँखामा हेर्छ र आकाश पाउँछ र ऊ तिनै दुई फरक बालकका बिचमा उभिएर पालैपालो दुवैका अनुहारका भाव हेर्छ र आकाश र धर्तीबिचको अन्तर फेला पार्छ । ऊ खोज्छ के? सोच्छ के? र आखिर बुझ्छ के ?

करिब ३ महिना भयो होला उसलाई कसैको फोन कल आएको छैन र उसले पनि कसैलाई गरेको छैन । फोन आओस् र जाओस् पनि कसरी सिमकार्ड जलाएर सिमविनाको फोन जो प्रयोग गर्दै छ । उसका सामाजिक सञ्जालका सबै अकाउन्ट पनि बन्द गरिएका छन् । मानौँ ऊ कुनै मान्छेको नजिक छैन । उसले सम्पूर्ण सम्बन्धहरू टुटाएर एक बिरानो सहरमा एक्लो बसेको छ ।

खासमा भोलि उसको जन्मदिन हो । हुन त भन्नेहरू रातको १२ बजेबाटै नौलो दिन, नौलो बार, नौलो मिति, नौलो गते मान्छन् तर उसलाई केही फरक परेकै छैन । कसैको जन्मदिन परेको दिन १२ बज्नेबित्तिकै मान्छेहरू शुभकामना पाउन सुरु गर्छन् । कसै-कसैले सर्प्राइज राखेका हुन्छन् । पार्टीका बारेमा कल्पेरै रमाइरहेका हुन्छन् । बिहानै शुभ कामको सुरुवात गर्छन् । कसैले आफ्नै लागि केही उपहार किनेका हुन्छन् । मनमा एउटा हर्ष हुन्छ, उल्लास हुन्छ तर उसलाई उसको जन्मदिनले खासै केही फरक पारेकै छैन ।

बरु ऊ मोबाइलमा पोर्न हेर्न सुरु गर्दै छ । एकछिन मजाले पोर्न हेर्छ त्यसपछि रातिको एक बजे हस्तमैथुन गर्न थाल्छ । एउटा चुरोट सल्काएर ओठमा च्याप्दै बाथरुम छिर्छ । नुहाएर सपक्क भै ऊ अब हिजो खोपेको बोत्तल बोङअगाडि बस्छ र कोनमा गाँजा भर्दै फुक्न थाल्छ र फेरि कागजमा कोही बहुलाजसरी कोर्न थाल्छ । उसलाई उसको अघिल्ला जन्मदिनहरूमा हजारौँ शुभकामना आँउथे जसको ऊ रिप्लाई पनि दिन भ्याउँदैन थियो तर आज उसलाई उसको जन्मदिनमा कसै एक जनाले पनि शुभकामना पठाएनन् तर ऊ यो मुकामदेखि एकदमै खुस छ ।

उसलाई अब उसको जिन्दगीमा कोही हुनु र नहुनुले सायद फरक नपर्ने भएको छ । दुःखी हुनु र खुसी हुनुबिचको भिन्नता अब बाँकी छैन ऊभित्र । ऊ एउटा मुढो भएको छ । मानव मुखाकृति बोकेको । हो एकदम, बाँझको मुढो । ऊ कति दूर भाग्छ सम्बन्धहरूबाट, कति टाडिएला नातागोता र आफन्तहरूबाट । कति दूर भाग्छ आफैँबाट तर भेट्छु, ऊ टाडिए पनि नटाडिए पनि, भागे पनि नभागे पनि, दौडिए पनि नदौडिए पनि कतै न कतै अवश्य पुगेको छ तर कहाँ स्वयं उसलाई पनि सायद ज्ञान छैन ।

सायद कहीँ दूर स्वयंसँग ।