ऊबाट जोगिन म कति भागेँ । रुममा आउजाउ गर्न दिएन । साथीहरू भन्थे, “कस्तो डर छेरुवा रहेछ” । हो म डरछेरुवा हो । बरु त्यही सही । बहादुरी र मूर्खतामा फरक हुन्छ । त्यो म सिपाही भएकाले राम्रै थाह छ । बाहिर कतै जानुपऱ्यो भने हेल्मेट पनि नखोल्ने गर्थेँ । मानौँ हेलमेट खोलेँ भने उसले चिनिहाल्छ तर थाहै नपाई ऊसँग सम्पर्क हुन पुगेछ । रिङ्गटा लागेपछि मात्र अनुमान लगाएँ उसले भेट्टाइदिएछ । त्य लगत्तै बमिट सुरु भयो । डरले होला भमिटसँगै पखाला चल्यो । अब भने ढुक्क भएँ, ऊबाहेक अरू कोही हुन सक्दैन । यस्तो सिर्फ उसैले मात्र गराउन सक्छ । म पनि नजानिँदो पाराले फसेछु । छाँगाबाट खसेँ ।
वैशाख १४ गते रातिदेखि हनहनी ज्वरो आयो । १६ गतेदेखि लकडाउन । चारदिनसम्म ज्वरो आउँदा पनि वास्ता गरिनँ । सोचेँ आफैँ ठिक हुन्छ । अलिकति योग पढेको घमन्ड पालेछु ।औषधि किन खानु । जब पाँचौँ दिनको बिहान एक बजे बिउँझिएँ । किचन छिरेँ । झनन गऱ्यो टाउको । त्यसपछि केही थाह पाएन । केही समयपछि पानी प्यास लागेछ । आँखा नखोलेरै जारबाट पानी झिकेर घटघट पारेँ । म त भुईँमा पल्टेको रहेछु । होसै छैन । म उभिएको मान्छे कसरी भुईँमा लडेँ । अब झन् डर लाग्यो । म बेहोस भएछु । अब भाइलाई बोलाउनुपऱ्यो । तुरुन्तै तल गएर गेटको चुकुल खोलूँ सोचेँ । मानौँ एकपछि म केही गर्न सक्दिनँ । जे गर्नु छ तुरुन्तै गर्नु छ । तल गएँ तर ढोकामा पुगिनछु । बाटामै बसिरहेको रहेछु । फेरि गएर ढोका खोलेँ । अनि माथि रुममा आएर मोबाइल डायल गरेँ । मोबाइल चलाउन पनि नसकिएला जस्तो भएछ । भाइ नजिकै बस्थ्यो तर ऊ काभ्रे पुगेको रहेछ । उसले तुरुन्तै कल गरेछ । उसको साथी र दाइ आउने भएछन् । तुरुन्तै आए रुममा ।
मैले सबै वृत्तान्त भने । टाउको दुखिरहेको थियो । धन्न घाउ भएन छ । खै बेहोस भएर लड्दा बेसिनमा ठोक्यो या भित्तामा । धन्न जोगिएछ । यो सुनेर भाइले भन्यो, “तपाईँलाई छारे रोग लाग्यो । यसरी लड्ने भनेपछि पक्कै त्यही हो ।” उसले आत्मविश्वासका साथ भन्यो । मैले पनि हो माने किनभने त्योभन्दा पहिला मसँगै पाहुना बस्नुभएको थियो । उहाँले छारे रोगको औषधि खाँदै हुनुहुन्थ्यो । पक्कै पनि सरेछ सोचेँ ।
एक दुई दिन अझ त्यत्तिकै बित्यो । खाना फिटिक्कै नरुच्ने । फेरि पखाला सुरु भयो । शरीर दुख्न थाल्यो । माछा मासु अन्डा खानु हुँदैन भन्ने लाइनको मान्छे । झन् गन्ध हराउँदै गयो । जाडाले खपिनसक्नुभयो ।
अब भने भएन चेक गराउनुपऱ्यो । बि.एन्ड.बि गएँ । अझैसम्म पनि कोभिड भन्नेमा विश्वास थिएन । साँझ मोबाइलमा म्यासेज आयो, पोजेटिभ । अब हल्का डर पैदा भयो । अरू कसैलाई सर्ला भन्ने डर । मरिन्छ कि भन्ने डर । समाचार सुन्यो । फेसबुक हेऱ्यो आफ्नै साथीहरू फ्याट्ट गएका थिए । झन् युटुभ हेऱ्यो । चारैतिर डर मात्रै छ । कतै ब्ल्याक फङ्गस, कतै कोरोना; के हो के हो । कसैले साँच्चै भनेको रहेछन ‘नेभर सर्च योर सिम्टम अन गुगल’ भनेर । म कोभिडदेखि धेरै डराएँ । जो डरगया व मरगया । साँच्चिकै हो रहेछ ।
पहिलो लहरमा साँच्चिकै पूरै विश्व नै ठप्प भयो । झन् नेपालको त कुरै छोडौँ । एक जना पोजेटिभ हुँदा पूरै सहर लक भयो । मान्छेदेखि मान्छे डराउने जुग आयो । लगभग १ वर्ष जति लक भएर बिताइयो ।
बिस्तारै खुल्यो । नेपालीको इम्युनिटी धेरै छ भनियो । धेरैले यो बिर्सियो । कोरोना भाग्यो भने । हामी छिटै बिर्सन्छौँ । भनियो शरीरले एन्टिबडी तयार गरिसक्यो तर तुरुन्तै अर्को भेरियन्ट आयो । यसले सातो लग्यो ।
मन आँत्तियो । मनको सम्बन्ध शरीरसँग र शरीरको सम्बन्ध मनसँग रहेको हुन्छ । यी दुवै एकअर्कामा निर्भर छन् । जब शरीर कमजोर भयो तब मन झन् कम्जोर भएछ । डरले मन अत्तालिन्छ त्यसले श्वास प्रश्वास बढ्न थाल्छ । फेरि शरीरमा हलचल पैदा गर्छ । तैत्तिरीय उपनिषद्को भाषामा भन्ने हो भने मनोमय कोषबाट प्राणमय कोष र प्राणमय कोषको हलचलले अन्नमय कोषमा अर्थात् शरीरमा असर । हाम्रा शास्त्रहरूलाई केवल मापनबाट मात्र हैन, यिनको आफ्नै विशिष्टतामा ध्यान दिन उत्तमजस्तो लाग्छ । हुन त आफ्ना व्यक्तिगत लाभलाई पनि वेदसँग जोडेँ तर सत्य त सत्य नै हो जति दाग लगाए पनि अन्तिमसम्म रहन्छ कुनै कुनै साथी यस्ता पनि हुन्छन् । डराको अवस्थामा समेत डर पठाउँछन् । यसै डरले गर्दा झन शरीर कमजोर । त्यत्तिकै शास्त्रहरू बनेका रहेनछन् । तिनीहरूमा चुरोकुरो रहेछ । जब आपद् विपद् पर्छ । मन असन्तुलित हुन्छ । चिन्ता पर्छ तनाव पर्छ । अनि मात्र थाहा हुँदो रहेछ आध्यात्मिकताको ताकत । योगको महत्त्व । आध्यत्मिकता भन्छ हामी केवल चोला फेर्ने हो मर्ने हैन । चक्रजस्तै घुम्ने हो । जसरी बिउ रोपे वृक्ष बन्छ । फेरि त्यो फल बन्छ र पुनः बिउ । एउटा नसकिएर अर्को बन्दैन । यही गोल-गोल घुम्ने चक्कर हो । एकदिन त जसरी नै जानु छ । त्यसैल विनाडर जिउनुपर्छ । शास्त्रले नडराउन सिकाउने रहेछ । डर हट्यो भने सन्तुलित हुन्छ ।
हरेक समस्याको समाधान पनि उसकै गर्भमा हुन्छ । हो रहेछ । साँच्चिकै ठूलै पाठ दियो । हरेक कुरा विनाकारण हुँदैन । यसले पनि दियो । म भाग्यमानी हुँ । मलाई केयर गर्नेको लर्को लाग्यो । यो तीव्र सरुवा भएको हुँदा नजिक जान डराउँछन् । आफ्नै परिवार पनि टाढा बस्नुपर्ने तर मेरो एक जना साथीभित्र आउनुभयो । म सँगै बस्नुभयो । भाइहरू पनि आए डर मलाई लाग्यो । हे भगवान् उहाँलाई नसरोस् । हुँदा पनि मानिसले थाह पाउने आधा मात्रै हो । पूरै थाह पाउनका लागि त भगवान् हुनुपर्छ । खै सरेन तर यसको मतलब सर्दैन भन्ने हैन । नसरेको भए मलाई कसरी भयो त?
साथी नडराउने । केही भएन । हो रहेछ मन बलियो पार्नुपर्ने । मन नै रहेछ ठूलो । म आँत्तिएँ । अक्सिमिटरले चेक गरे श्वासको लेवल तल ९८ रहेछ । म आँत्तिएँ । चारैतिरबाट खबर गरे । तीन ओटा एम्बुलेन्स जम्मा भएछन् । पहिले आएको मा चढेर गएँ । छाउनी पुगेँ । अलि सिरियस देखे छिटो उपचार गर्लान् सोचेर अभिनय गरियो । विश्वकप हेर्दा खेलाडीले थोरै चोट लागे पनि निकै ठूलो जस्तो गर्थे । त्यतिखेर भनिन्थ्यो यो त खेल नखेलेर अभिनयतिर लागे अस्कार पाउँछ होला । बल्ल थाह भयो । अवसर आयो भने छोडिँदो रहेनछ । केवल अरूलाई भन्नमात्रै सजिलो ।
मलाई एउटा खुल्ला पालमा लगियो । बेडमा एउटा सिरानी पनि छैन । धन्न पिउने पानी लगेको थिएँ । सबै चेक गऱ्यो नर्मल छ । १४ जनाले बेड कुरेर बसेका रहेछन् । म तिनीहरूको अवस्था देखेर घर फर्किए । एउटा ट्यक्सी २००० तिरेर फर्केँ । एउटा अस्पताल छिरेँ । एक्सरे गर्न । मैले पहिले नै भने म कोरोना पोजेटिभ हो । यदि त्यो भनेन भने चारैतिर फैलिन सक्छ । चार ओटा अस्पतालमध्ये कसैले पनि मानेनन्, सबैले अन्त जाऊ भने ।
म घर फर्किएँ । डाक्टर सावहरूसँग सम्पर्क भइरहेको थियो । छाती दुख्थ्यो । श्वास फेर्न गारो हुन्थ्यो तर लगातार अनुलोम विलोम र हल्का श्वासप्रश्वास गरिरहेँ । अब शरीर यति कमजोर भयो कि उठ्दा नि चक्कर आउने । चार ओटा तकिया बनाएर घोप्टो परेर सुते ।
अर्कोपटक पनि पोजेटिभ नै देखियो । शरीरले कतिखेर यसबाट मुक्त हुन पाए सोचिरहेको थियो । अलि लामो समय । त्यसमा डर । एन्जाइटी भइसकेछ । डाक्टर सावले आरोग्य नेपा बोलाउनुभयो । लाकुरी भन्ज्याङ पुगेँ । षट्कर्म, सिरोधारा मसाज, स्वदन, योग, डान्स र हाइकिङ । ननस्टप खान थालियो । पहिले रुचि थिएन । पछि बिस्तारै । रुन्चै गयो । फेरि तल झरेँ । एउटा क्लिनिकले पोस्ट कोभिडको चेक गर्ने भनेर प्याकेज दिएको रहेछ, गएँ र चेक गरेँ ।
टाइफाइड देखायो अनि । फेरि एन्टिबायोटिक खानुपर्ने । एउटा हतार गरेर खाइसकेँ । डाक्टरको सल्लाहअनुसार खान पर्ने रहेनछ किनभने भर्खरै खाएको थिएँ तर फेरि नखाई नहुने एउटा खाएपछि डोज पुऱ्याउनुपर्ने ।
डरको सिद्धान्त खतरा रहेछ । यो खानैपर्छ भने सकियो तर आरोग्य नेपालको डाक्टरले भन्नुभयो हामी डरको हैन ह्याप्पिनेस थेरी मा उपचार गर्छौँ । हुँदा पनि पुनः म आरोग्य नेपाल गएँ । लगातारको काउन्सेलिङ । होलिस्टिक उपचार भएपछि बिस्तारै चिन्ता कम हुन थाल्यो । सुरुमा त दिमाग चिरिक्कचिरिक्क गर्ने । बोल्न मन पनि नलाग्ने । दिमागले के-के सोच्न भ्याउने । हरेक कुरामा डरमात्रै लाग्ने ।
बल्ल ठिक भयो । मैले पनि महसुस गरेँ चिन्ता भनेको चिता रहेछ । धेरै जनाले सहयोग गर्नुभयो । उनीले पनि भ्यालीबाहिर भए पनि पटक-पटक हौसला दिइरहन्थिन् । अब कोरोनाले बिहे गर्नुपर्छ भाइ भन्यो ।
बिस्तारै सुधार भयो । योग, मनोरञ्जन, हाइकिङ, काउन्सेलिङ, भजन, कीर्तन, नाच, लेखाइ पढाइ आदिले निकै सफल भयो तर पनि पोस्ट कोभिड केअर निकै आवश्यक रहेछ । अझै पनि मालिस केअर पोसिलो खाना । चिसोबाट बच्ने गरिरहेको । कसै कसैले अझै पनि भन्छन् । “तेरो त सुत्केरीभन्दा पनि बढी केयर भएको छ” हो म पनि सहमत छु । मन लागेको पनि खाएँ । मन नलागेको पनि खाएँ ।
अहिले म स्वस्थ छु । योगको महत्त्व बल्ल बुझ्दै छु । समयमै राम्रै बाटो लागिएछ । धन नकमाए पनि मान्छे कमाएको रहेछु । आयुर्वेदको औषधिको महत्त्व पनि यति खेरै भयो । साथीहरूले गर्नुभएको सहयोग सदास्मरणमा रहनेछ । धन्यवाद सबैलाई ।
पोस्ट कोभिड केयर मेरो अनुभव ।
- चिसोबाट जोगिने । ब्यालेन्स डाइट खाने । शरीरलाई एक्जर्सन नगर्ने तर हल्का श्वासायाम तथा प्राणायाम गर्ने ।
- ठिक भैसक्यो भनेर नमात्तिने र भएन भनेर पनि नमात्तिने ।
- आरोग्यका लागि ध्यान दिने । योग पूजापाठ भजनकीर्तन गर्ने ।
- आफन्तजन भेट्ने त्यो पनि सुरक्षित तवरले ।
- यो १२ हप्ताभन्दा पनि बढी जान सक्छ । त्यसैले नआँत्तिने ।
- प्राकृतिक स्थल घुम्ने ।
- नकरात्मक मानिस तथा सूचना दुवैबाट बच्ने ।
- आध्यात्मिक प्रवचनहरू सुन्ने । कथावाचन सुन्ने ।
- नाच्ने, गाउने, लेख्ने, खेल्ने, ।
- तनाव व्यवस्थापनका लागि योगनिद्रा सिङ्गिङवल गर्ने ।
- आफु पनि प्रसन्न रहने । अरूलाई पनि त्यही दिने ।
मैले अहिलेसम्म पनि सुत्केरी स्याहार गरेजस्तै गरेको छु । तेल घस्ने । मसाज गर्ने । पोषिलो खाने । आराम गर्ने । मनोरञ्जन आदि । फेसबुकमा भेटेका एक जना ७० माथिका बुबाको कुरा मन पऱ्यो । उहाँले भन्नुभएको थियो कोरोना जित्नुको रहस्य भनेको पोषिलो खाने । नभए आफन्तकोमा गएर पनि खाने । त्यति गर्दा पनि भएन भने ऋण गरेर पनि खाने । खाने खाने खाने । त्यही हो रहस्य । उहाँको तस्बिरनजिकै एक जना मान्छे अनार केलाउँदै थिए । बुबाका अगाडि टन्नै फलफूल लगायतका खाने कुरा थिए ।
सबैको जय होस् । गरौँ योग रहौँ निरोग । जय योग । भवतु सर्व मङ्गलम् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।