
यो पत्र मेरो आफ्नो हो । प्रेषक र प्रापक पनि म आफैँ हुँ । यो पत्रभित्र कहीँ कतै तपाईले आफूलाई भेट्नुभयो भने संयोग मात्र होइन सुन्दर संयोग बन्नेछ । यस पत्रभित्रका भावना, दूर्भावना, कामना, शुभकामना मेरा आफ्ना हुन् कृपया दिमागले होइन हृदयले सुनिदिनुहोला ।
बाल्यकालदेखि नै म चाहन्थेँ कसैले मलाई पत्र लेखोस् । पत्र प्रेमले भरिपूर्ण होस् र म उसलाई उस्कै शब्दहरूमार्फत प्रेम गर्न सकूँ । त्यो मेरो बाल्यकालीन वा भनौँ किशोरकालीन स्वैरकल्पना थियो । म चाहन्थेँ डराई डराई कसैले मलाई एउटा प्रेमिल पत्र मेरो हातमा काम्दै थमाओस् र म पनि पसिनैपसिनाले भिजेका हातले स्विकार्न सकूँ । सदाझैँ त्यो जीवनको स्वैरकल्पना नै बन्यो बिपना कहिल्यै बनेन ।
किशोरअवस्थाको त्यो ह्याङओभर बिस्तारै धुमिल बन्दै गयो । सायद त्यो उमेरको धुमिलता थियो । बिस्तारै प्रेमपत्रको चाहना त हट्यो तर किनकिन सुन्दर अक्षरले लेखेको पत्रको चाहना सधैँ रहिरह्यो । अहिलेको डिजिटल दुनियाँमा चिठी लेख्ने मान्छे भेट्न दुलर्भ मात्र होइन असम्भव नै छ । यदि तपाईँ पनि मजस्तै पग्ली प्रकृतिको हुनुहुन्छ भने आफूले आफैँलाई लेख्ने गर्नुस् पत्र मात्र होइन प्रेमपत्र नै ।
हुन त अक्षरमा आफूले आफैँलाई सम्बोधन गर्नु नाट्यमञ्चमा प्रयोग हुने मनोवादजस्तै हो । सायद नाट्यमञ्चमा झैँ पत्रको प्रेषक तपाईँभित्रको अर्को पात्र र प्रापक तपाईँ आफू नै जस्तो पनि लाग्न सक्छ, अथवा यीबिचका दूरीहरू मेटिन पनि सक्छन् । यो हुनु र नहुनु बिच रहने अस्तित्ववादी चेतनाको अर्को महफिल पनि बन्न सक्छ । वा भनौँ पत्र आफैँमा नृत्याङ्गना र नृत्यजस्तो के फरक के उही भन्ने बहसमा बहकिन पनि सक्छ ।
बहसमा बहकिनु एउटा कुरा पत्र लेख्नु अर्को कुरा तर पत्र भने अवस्य लेख्नुस् । आफूले आफैँलाई मैले जस्तै ….
प्रिय केटी, केटी भनेर सम्बोधन गर्दै छु कारण नसोधेस् । म तँलाई नामले पनि सम्बोधन गर्न सक्थेँ मलाई थाहा छ तँलाई सबैभन्दा प्रिय आफ्नो नाम नै लाग्छ तर लाग्यो तेरो नाम भन्दा पहिले तेरो परिचय तेरो लिङ्गले निर्धारित गर्छ त्यसैले केटी भने, दुःख नमान ।
किन पत्र नै लेखेँ भनेर तँ अत्तालिन पनि सक्छेस् तर त्यस्तो केही नसोच । यो आफूले आफैँलाई बुझ्ने प्रक्रिया हो । मलाई थाहा छ तँ अलिअलि भावुक, अलिअलि हठी अनि धेरै नै घमन्डी छेस् । यदाकदा आफूले आफैँलाई समाल्न पनि बिर्सन्छेस् बुझ्न खोज्नु त परको कुरा । हुन त आफूले आफैँलाई बुझ्न खोज्नु एउटा नीरस यात्रा हो र मलाई लाग्छ तँ यात्राका लागि सक्षम छेस् ।
आज तँ कस्तो मुडमा छेस् मलाई थाहा छैन तर आशा छ यो पत्रले तँलाई अवश्य केही खुसी दिनेछ । हुन त म तँलाई मनैमन पनि यी कुराहरू भन्न सक्थेँ तर लाग्यो तँ शब्दहरूलाई असाध्यै प्रेम गर्छेस् त्यसैले शब्दमै भनूँ । आज महसुस हुँदै छ लेखेर भन्न सजिलो रहेनछ ।
मैले बुझेसम्म तेरो जीवनको पहिलो प्राथमिकता पूणर्ताको खोजि नै रह्यो । अरूझैँ तँ पनि त्यही म्याराथोनमा दौडिँदै छेस् तर केटी जीवन भनेको अपूणर्ताको अर्को पर्याय नै हो र कहिल्यै नर्बिसी तँजस्तै सबै अपूर्ण नै छन् । अप्राप्ति, अपूणर्ता त मान्छे भएपछि महसुस गर्नुपर्ने अनिवार्यता नै हो । तँलाई लाग्न सक्छ म कुनै दूर दराजको साधुसन्तझैँ अमूर्ततामा बोल्दै छु र पनि कहिल्यै नबिर्सनू पूणर्ता पनि त्यस्तै अमूर्त चिज नै हो । त्यसैले पूर्ण बन्ने कोसिस धेरै नगर सोच्ने गर तँ जे छस् ठिकै छस् ।
र अर्को कुरा आफ्ना प्राप्तिहरूले तँ जे होस् त्यसलाई परिभाषित गर्छ भनेर कहिल्यै नसोच् । तँ जे होस् त्यही नै तँ हुनु हो तेरा उपलब्धिहरू होइनन् । सदाझैँ यी कुराहरूमा आफूलाई खोज्न छोड्दे । अरूको सट्टा आफैँलाई प्रेम गर् । तैँले उसलाई प्रेम गरिस् जसले तँलाई कहिल्यै गरेन, त्यो तेरो जीवनको अनौठो विस्मय थियो । सक्छेस् भने बिर्सिदे सक्दिनस् भने प्रेम गर् तर प्रेमको आशा नगर् । टुक्रिएको मुटु तेरो मात्र होइन धेरैको छ । मलाई आशा छ आफ्नै लाग्ने मान्छे तैँले छिटै भेट्नेछस् ।
बुझेर पनि नबुझेझैँ मैले तँलाई कैयौँ कुरा भन्न खोजेर पनि भन्न सकेको छैन । त्यस्तै एउटा कुरा भन्दै छु दुःख नमान । आजबाट अरुको भिडमा आफूलाई खोज्न छोड्दे । अरूको भिडमा आफूलाई नभेटेर दुःखी हुनुको कुनै मतलब छैन । तँलाई लाग्दो हो म अरूजस्तो किन भैन धेरैलाई लाग्न सक्छ किन तँ उनीहरूजस्तो नभएर पनि बहुत लोभलाग्दी छेस् । आफ्नो लोभलाग्दोपनलाई जोगाइराख् । आफूले आफैँलाई बबाल सम्झी । कसैको स्वीकृतिविना पनि आफूले आफैँलाई विशेष मान्न पाइन्छ । यो स्वतन्त्रताको कुरा हो, आफू हुनु हो । आफ्नो स्वतन्त्रताको भरपुग उपयोग गर् ।
यात्रा लामो छ केटी, यो जीवनको यात्रा हो । तँसँगै तेरो जीवनसँग धेरै जीवनहरू जेडिएका छन् र पनि तेरो जीवनको हिरो तँ आफैँ होस् । छोरीमान्छे भएकै कारण आफूलाई कम मानव हो कि लघुमानव हो कि भनेर प्रतिप्रश्न गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ तर मलाई थाहा छ त्यस्तो समयमा पनि तँ आफूलाई पूर्ण मानव नै सम्झन्छेस् ।
कसैको आँखामा नपर्नु आफ्नै ज्योति गुमाउनु होइन केटी, आफ्नो यात्राको ज्योतिलाई सधैँ चम्कन दिनु । म तँलाई प्रेम गर्छु, अनित्य प्रेम, सायद यही नै आफू हुनु हो, अनेकौँ परिचय र विरोधाभाषका बिच पनि एक हुनु हो । म तँभित्रको अर्को म हुँ, तँलाई प्रेम गर्ने म । शब्दहरूमा आज पोखिएकी छु आशा छ यसले तँलाई केही ऊर्जा दिनेछ ।
उही तँभित्रको म आशा छ यो पत्र पढेपछि तपाईँहरूले पनि मैले जस्तै आफूले आफैँलाई पत्र लेख्नुहुनेछ । यो पत्र पढ्नेहरूलाई फूलको मायाँ, छाप्नेलाई सुनको, यो पत्र भावनाहरूको भिडमा सधैँ भावना नै भैजाला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

