किताब जीवन्त कुरा हो त्यसैले लेखकहरू सधैँ ज्युने गर्छन् र सँगै पात्रलाई अमर बनाउँछन् । हाम्रो फरक स्वाद र शैलीका कारण कुनै पुस्तक जीवन्त नहुने भन्ने हुन्न । एउटै पुस्तकलाई सबै पाठकले एउटै रेटिङ कहिल्यै दिन्नन् त्यसैले हरेक जिन्दगीको आफ्नो महत्त्व छ । हरेक लेखकको आफ्नो धर्म हुन्छ । हरेक पाठकको स्वाद फरक भएझैँ लेखकको पस्कने शैली फरक हुनु जरुरी छ । अपरिहार्य छ ।

पहिलोपटक किताब लेख्नुअघि मलाई लाग्थ्यो किताब लेख्ने सबै विद्वान् वर्गका मान्छे हुन् । अझै पनि किताब लेख्ने सबैलाई विद्वान् मान्छु । लेखक स्रष्टा नभएर द्रष्टा हुन् भनिन्छ र म एक अपवाद हुँ । कुखुरा पहिले कि अन्डा भनेजस्तै हो किताब लेख्नुअघि पढ्नु भन्ने कथन ।

रूपक अधिकारी

किताब कसले लेख्न सक्छ ? किताब किन र कसरी लेखिन्छ ? हामीले सुन्दै आएका छौँ एउटा पुस्तक लेख्न सय पुस्तक अध्ययन जरुरी छ तर के सबै सय पुस्तक अध्य्यन गरेकालाई किताब लेख्ने लाइसेन्स दिइएको छ त ? यदि त्यस्तो हो भने कसले लाइसेन्स दिँदै आएका छन् त्यो पनि स्पष्ट पारिदिए धेरैले लाइसेन्स लिएर एउटा सुरुवात गर्ने थिए – नयाँ युगको सुरुवात । लेखन युगको सुरुवात ।

एकादेशमा कसैले किताब लेख्न सुरु गर्दा कति किताब पढे ? कसैले किन ? इतिहासकै सफल किताब रामायण हेरौँ न । डाँकु रत्नाकारले वाल्मीकि भई रामायण लेख्नुपूर्व कति पढे ? धूर्त व्यासले महाभारत लेख्दा कति आख्यान पढे वा कति ग्रन्थ पढे त ? आधुनिक विज्ञानको निभ अर्थात् वेद लेख्नुअघि लेख्ने ऋषिले के-के पढे ? धर्मको कुरालाई एकछिन बिट मारेर साइडमा राखेर हेरौँ तब धर्म शास्त्र स्वर्णिम आख्यान लाग्छन् । भागवत जो संसारक सबैभन्दा प्रेरणादायी पुस्तक पनि हो लेख्नुभन्दा अघि श्रीकृष्णले कति पुस्तक पढे ? बाइबल र कुरान अघि क्रमशः परमेश्वर र मोहम्मदका दूत गेब्रियलले कति अध्ययन गरे त ?

यतिका प्रश्नहरू मैले स्वयं आफैँलाई गरेँ । अब तपाईँलाई गरेँ । अबको क्रममा तपाईँ स्वयं आफैँलाई गर्नुस् र तिनलाई प्रश्न गर्नुस् जसले भन्छ सय पुस्तक पढ्नुस् । यदि पुस्तक पढिसक्दा लेखक हुने हो त युनिभर्सिटी सकेर निस्किएको हरेक विद्यार्थीले किन पुस्तक लेख्दैन त ?

अब एउटा कथा सुनाउँछु तपाईँको सपनाको छाना नभत्काईकन पढ्नुहोला है । छाना भत्किएको दिन बाफ बनेर उडेका सपना वर्षा बनेर बिछ्यौनामा झर्न सक्छ । एकादेशमा एउटा बा थिए । एउटा मात्र बा थिए तर यो कथामा बा हराउँछन् । बा कहाँ हराउँछन् खोज्ने काम हजुरहरूको है । मेरो खोजमा भने बा सिगरेटमा हराउँछन् र म एस्ट्रेमा खोज्छु । तपाईँले भने वायुमण्डलमा खोज्नुहोला । धुवाँको स्थान भनेको हावामा हो । हैन र ? एउटा मात्र बा’का रानीहरू तीन थिए । खरानी, सिरानी र चारानी ।

कथा भविष्यमा सुनाउँछु आज पठनसंस्कृति र लेखन अभ्यासको केही किस्सा सुनाउने पहल गर्छु । लेखनअगावै पढ्नु भनेको शब्द भण्डार बढाउनु मात्र हो । व्याकरणमा पोख्त हुन चाहनु मात्र हो तर लेख्नलाई शब्द र व्याकरणको गणितभन्दा कथाको मर्म मूल कुरा हुन्छ । भावनात्मक जरालाई समाइएन भने त्यो कथा जीवन्त होला त ?

हामीले लेखेको कुरा बजारमा कसैले पढ्छ भने हामी लेखक हौँ यसका लागि पुस्तक नै लेख्नुपर्छ भन्ने मान्यता गलत हो । व्यावसायिक लेखनका लागि बजारमा उत्रनु जरुरी हुन्छ लेखक हुन चार मन मस्तिष्कमा डुबे मात्र पुग्छ । त्यसैले तपाईँले के लेख्ने त्यसको नियम तपाईँले आफैँ तयार गर्नुस् । आफ्नो अनुभव लेख्दै हुनुन्छ भने निर्धक्क भावनाका लहरहरू बगाएर लेख्नुस् नत्र विषयगत अध्ययन जरुरी छ । जस्तै राजनीति लेख्दा यसको इतिहास अध्ययन गर्नुपर्ने होला तर यसको मतलब यो हैन कि किताब नपढी तपाईँ लेख्नै सक्नुहुन्न । सत्य के हो भने एउटा निष्कर्ष दिन अध्ययन जरुरी छ । त्यसका लागि सय हैन कहिले हजारौँ पुस्तक कम हुन्छन् त कहिले एउटै पुस्तक काफी हुन्छ ।

लेख्नका लागि नलेख्नुस् । लेख्नुस् ताकी कोही एकले मात्र भए पनि वाह भनून् किनकि गालीहरूको माझमा एउटा मात्र ताली पनि बेजोड सुनिन्छ ।

व्याकरणभन्दा प्रस्तुतिमा ध्यान दिनुस् । पाठकलाई कथाले बाँधिरहन सकोस् । अब के होला भन्ने कौतुहलताले सहजै नछाड्ने गरी लेख्नुस् ।

प्रयोग गर्न नहिचकिचाउनुस् । प्रयोगले जहिले पनि एउटा नयाँ बाटो दिन्छ । नेपाली साहित्यमा यसको औधी जरुरी छ । एकादेशको शैलीमा मात्र कथा लेखेर नेपाली साहित्यलाई विश्व बजारमा लैजान सम्भव छैन ।

र अन्त्यमा पढ्ने बानीको विकास गर्नुस् । पढ्नाको फाइदा धेरै छ । यसले तपाईँको कल्पनाशक्तिको दायरा बढाउँछ । पढ्ने कुरालाई सङ्ख्यामा भन्दा पनि विविधतामा ध्यान दिनुपर्ने हुन्छ ।

वर्णलाई पढेर मात्र हुन्न सुन्ने, बोल्ने र हेर्ने पनि गर्नुपर्छ । चलचित्र र नाटकहरू पनि पुस्तक नै हुन् । यिनले पनि तपाईँको सोच्ने क्षमता बढाउँछ ।

सबैभन्दा मुख्य कुरा के याद गर्नुस् भने स्थापित लेखकका लेखक बन्ने सूत्र पढ्न छोड्नुस् र अभिरुचिका आधारमा परिपक्व खुराक अध्ययन गर्ने गर्नुस् । यसले तपाईँको लेखनमा निखार अवश्य ल्याउँछ ।

त्यसैले एउटा पुस्तक लेख्न सङ्ख्यामा किताब पढ्ने भन्दा गुणात्मक हिसाबमा फरक स्वादको अध्ययन अपरिहार्य छ ।