
एउटा कायर मान्छे
जो सधैँ कायर नै भएर बाँच्छ
सपना पनि
कायर नै देख्छ
निर्जीव मन्दिरभित्र हेर्दै
हृदय नभएको भगवान्लाई दोष दिन्छ
र धिक्कार्छ आफ्नो भाग्यलाई
अनि बजार्छ बगरका गिट्टीहरूमा
हतौडा सँगै कर्मलाई ।
कथा त धेरै पुरानो भैसक्यो
विवशताको चङ्गुल तेर्स्याएर
पुस्तेनि असफलता र अभावहरू
बर्सौँसम्मका पुर्ख्यौली सम्पत्तिजस्तै
बाँडफाँड गरिरहेको
फेरि पनि
चेष्टा गर्दैन ऊ ।

प्रतिमा अधिकारी
एउटा महान् लक्ष्य राख्न
जसले सकोस् कायापलट गर्न
हस्तान्तरणको यो शृङ्खला
भो अब त ब्युँझ मानिस
अझै ढिला नगर
हटाऊ स्वप्निल गगनका
काला बादलहरू
र स्पर्श गर
चाँदनीको शीतलता
बरु जहाँ छौ त्यहीँबाट सुरु गर
अक्सर सफलताहरू
शून्यताबाटै सुरु हुने गर्छन्
र सँगै हुने गर्छन् अनगिन्ती बाधाहरू
तर नबिर्स बाटाहरू
नगर आफूलाई समर्पण
छुनु छ इन्द्रेणी
सहूँ घामको राप अनि
बर्सातको चुटाइ पनि
हो देख त्यस्तो महान् सपना
आधारशिविरबाट
र दुःखको खर्पसबाट उद्दार गर
सन्ततिहरूलाई
र पुग्न देऊ
सफलताको चोमलोङ्गामा
नबिर्स
त्यही महान् सपनाले
बदल्नेछ संसार
उजेलिनेछ ब्रह्माण्ड
पुरिनेछन् सारा
अभावमाथि बनेका
विभेदका खाडलहरू
जो युगौँदेखि
खनिँदै आएका छन् ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 







