साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

एक अराजक अन्तरङ्ग प्रसङ्ग : ‘रोटी र फूल’सँग

Chovar Blues Mobile Size

प्रिय विपासना !

श्रावणी, ज्वालाम्बु, अम्बु र मोविलिकालाई नभएर आज म तिमीलाई सम्बोधन गरेर लेख्न बसेको छु । कारण— धेरै वर्षअघिको भदौरे झरीमा एक दिन चियाको चुस्की लिँदै मैले मेरा एक प्रिय लेखकले तिमीलाई सम्बोधन गरेर लेखेको अन्तरङ्ग निबन्ध पढेको थिएँ जसको एक टुक्रो अहिले अनायास फेला परेको छ । ‘भरा बादर, माह भादर शून्य मन्दिर मोर’ शीर्षकले भाद्र महिनामा भरिएका बादल गडगडाइरहँदा रित्तो मेरो मनमा त्यो दिनको स्मरण गराइदियो अनि त तिमीलाई सम्बोधन गरेर नलेखी रहनै सकिनँ । ती लेखक कोही नभएर डा. डिपी भण्डारी हुन् । एक अराजक चिन्तकझैँ लाग्ने यिनै लेखकको साप्ताहिकमा छापिने “अन्तरङ्ग: डा. डिपी भण्डारीसँग” बाट म उनको अन्तरङ्ग पाठक बनेको थिएँ । धेरै वर्षपछि फेला परेको यो चिर्कटोले ती दिनहरू पुनः बल्झाइदियो । अफसोस ! तिमी त छौ तर तिमीलाई ‘प्रिय’ भनी सम्बोधन गर्ने ती दार्शनिकझैँ लाग्ने लेखक यस संसारमा अब छैनन् । उनैले लेखेथे- “सामान्य खाते बालक र करिब एक अर्बभन्दा बढी अनुयायी भएका इसाई रोमन क्याथोलिक शाखाका उच्चतम धर्मगुरुको मृत्युमा के फरक छ ? मृत्युले दुवैलाई समान बनाइदिँदो रहेछ । त्यसैले मृत्यु एक सर्वाधिक शक्तिशाली कम्युनिस्ट, असली साम्यवादी रहेछ ।”

विजय सङ्ग्रौला

उनलाई व्यक्तिगत म राम्ररी चिन्दिनँ र त्यो आवश्यक पनि परेन । मात्र एक अन्तरङ्ग लेखक र पाठकको विशुद्ध सम्बन्ध थियो हाम्रो र आजसम्म पनि त्यही छ । भर्खरभर्खर साहित्यको लत लाग्दै गर्दा मैले उनका लेख र चिन्तनहरूको सहारा पाएको थिएँ । उनका दर्शनयुक्त चिन्तन र आत्मपरक लेखनीभित्र म नजानिँदो पाराले डुब्दै गएको शत प्रतिशत साँचो हो । आफ्ना प्रियहरूलाई सम्बोधन गरेर लेख्ने उनको शैलीको अनुकरण गर्दै मैले पनि आफ्ना धेरै पत्र मित्रहरूलाई त्यो समयमा त्यही स्टाइलमा पत्रहरू लेख्ने गर्थेँ । निकै रमाइला दिन थिए ती जति बेला मेरा चानचुन ६० जनाजति पत्र मित्रहरू थिए । आफ्ना मनोभाव साहित्यिक लबजमा साटासाट गर्ने गर्थ्यौँ हामी । भेट भने मुस्किलले २ जनासँग भएथ्यो मेरो । साप्ताहिकमा छापिएका यिनै प्रिय लेखकका शब्दहरू उद्धृत गरेर मैले मेरो लेखाइको उचाइ बढाएको थिएँ—मेरा पत्र मित्रहरूमाझ । धेरै साथीहरूलाई साप्ताहिक किनेर पढ्ने बानी नै लगाइदिएको थिएँ भने कतिलाई चिठीभित्र त्यसको कटिङसम्म हालेर पठाइदिने गर्थेँ । आज अनायास स्मृतिमा ती दिनहरू झुल्किँदा डा. डिपी भण्डारीको निबन्धसङ्ग्रह ‘रोटी र फूल’ को पनि यहाँ चर्चा गर्न मन लाग्यो जसको सामीप्यले आफ्नै जीवनलाई हेर्ने मेरो दृष्टि अर्कै बनाइदिएथ्यो ।

२०६३ सालको अन्त्यतिर यो पुस्तक मेरो हात परेको मलाई अझै सम्झना छ । किताब पसलमा झुन्ड्याइएको अवस्थामा ‘रोटी र फूल’ देख्दा खै ! किन मनमा पुस्तकप्रति कता-कता दया अनि हृदयमा मेरो भोक उत्पन्न भएथ्यो—यो पुस्तक किन्ने तर गोजी छाम्दा जम्मा ५० रुपियाँ मात्र थियो अनि मूल्य १४० । आफ्नो प्रिय लेखकको पुस्तक किन्न पनि मैले पूरापूर ५ दिन धैर्य गर्नुपरेथ्यो । रोटी- जसले जीवन जिउने आधार दिन्छ अनि फूल- जसले जीवन जिउने कला सिकाउँछ । वाह ! यी दुवैको आवश्यकता अपरिहार्य छ यदि मानव अस्तित्वलाई उसको उच्चतम गरिमासम्म पुऱ्याउने हो भने । सामान्य पेटको भोक मात्र मेटेर मानव अस्तित्व यो विराट् अस्तित्वमा यात्रारत रहने हो भने हामी अनुमान गर्न सक्छौँ मानवजीवन कति रसहीन, सारहीन हुन्थ्यो होला । जीवनको प्रतीकमा सौन्दर्यको प्रतीक जबसम्म जोडिँदैन तबसम्म मानव फिकाफिका, खल्लो-खल्लो र फुङ्ग उडेको रङ्ग जस्तो बाँचेको हुन्छ अनि जीवनको परम सौन्दर्य अनुभूत गर्न बाँच्न जान्नुपर्छ । त्यही बाँच्ने कला फूलबाट सिक्न सकिन्छ । त्यसैले त कन्फ्युसियसले भनेका रहेछन्- “यदि तिमीसित दुई पैसा छ भने एक पैसाले रोटी किन्नू, अर्को एक पैसाले फूल किन्नू । रोटीले जीवन मिल्छ, फूलले बाँच्ने कला सिकाउँछ ।”

डा. डिपी भण्डारी

रोटीदेखि आदि भौतिक दर्शनसम्मका कुराहरूलाई सामान्य ठट्यौलीदेखि गुरुगम्भीर तरिकाले आफ्ना लेखहरूमा स्पष्ट छाप्न सक्ने यी प्रिय लेखकले मेरो हृत्तलको खल्लोपनामा यसरी सूक्ष्म स्पर्श गरिरहे जसको प्रभावले मेरो जीवनमा आजसम्म जिरिङ्ग काँडा उमारिरहन्छ ।

प्रिय ! एउटा त्यस्तै सम्झँदा पनि मेरो आङ नै सिरिङ्ङ हुने प्रसङ्ग यहाँ सुनाउन चाहन्छु- कि म कतिसम्म यी लेखकका लेखहरूबाट प्रभावित भएको थिएँ भन्ने । डब्लु.बि.यिट्सबाट निकै प्रभावित देखिन्छन् यी लेखक । उनको कुनै लेखमा यिट्सको एउटा प्रसङ्ग कोट्याउँदै मडगनसितको प्रेमालाप उल्लेख गरेका थिए । यिट्स मडगनसित अत्यधिक गहन प्रेममा फसेका थिए—पागलपनको निकटको समर्पणसित । लामो समय बितिसकेको थियो यिट्सले प्रेम गरेको, मडगनले आधा प्रेम गरेको । प्रेमव्याकुल महाकवि प्रेमिकाको घरमै गएर भन्छन्- “तिमीले मसित बिहे गर्न मानिनौ भने व्यथा अरू बढी उत्कृष्ट हुँदै जानेछ ।” उत्तरमा मडगन भन्छिन्- “प्रिय विल्ली ! सारा संसार मैले तिमीसित विवाह नगरेका कारण मप्रति कृतज्ञ हुनुपर्छ ।” —किनकि कविले उनीसित विवाह गरेको भए उनीभित्रको प्रतिभाको साथसाथै सिर्जनात्मक ‘बेकरारी’, छटपटीको पनि अन्त्य हुन सक्थ्यो । प्रणय बेकरारीमा, प्रेमपीडामा छटपटिएर धेरै कवि, महाकविहरूको जन्म भएको छ ।

अब पालो मेरो—

अन्तःकरणको गहिराइमा एउटा तरङ्ग उठ्यो । कवि हुने सपनाले पोल्न थाल्यो । प्रेममा समर्पित भएर प्रणय बेकरारीमा आफूलाई हुत्याउने अतृप्त प्यास जागेर आयो अनि त भावना र सम्भावनाको मिश्रणलाई घोलघाल पारेर एक पत्र मित्रलाई लेखेको पत्र प्रेमपत्रमा परिणत गरेर प्रेषित गरिदिएँ । पत्रको जबाफ नआइन्जेलको बेकरारी यहाँ भनेर भनीसाद्धे छैन प्रिय ! कनीकुथी २/४ ओटा कविता त त्यही मौकामा लेख्न भ्याइदिई पनि हालेँ । हलकाराले कहिले चिठी लिएर आउला उनको नामको भनेर आँखा सधैँ बाटातिरै छरिएका हुन्थे । अन्य मित्रका मात्रै पत्रहरू आएपछि विवश भएर समेटिँदै लुसुक्क घरभित्र छिर्थे आँखाहरू— रसिला भएर ।

इलामबाट झापा उनको चिठी आइपुग्न ठ्याक्कै ३ हप्ता लाग्यो यसपाली । सधैँ आफूले प्रेषित गरेको १ हप्ताभित्रमा जबाफी चिठी आइपुग्ने गर्दथ्यो । बीचको २ हप्तामा मेरो व्याकुलताको पराकाष्ठाले अन्य पत्र मित्रहरूलाई पत्र लेख्नै दिएन । सम्भावित उत्तर के हुने हो ? भनेर तड्पेरै पलहरू बितिगए । अन्ततः व्यग्र प्रतीक्षाको परिणामस्वरूप उनको पत्र प्राप्त भयो । खोलियो । हेरियो । आम्मामा ! ठ्याक्कै आठ पाना लामो चिठी । पीडा, व्यथा, वेदना, छटपटी, दुःख र आँसुका लामा-लामा भाकाहरूले घनीभूत शब्दहरू । उनको व्यथाको म सधैँको साक्षी त थिएँ नै, यसपालि अलि धेरै नै नैराश्यको तानाबानाहरू पाएँ । डुब्दैथेँ शब्दानुभूतिमा- एक्कासि मेरो एउटा तस्बिर नपठाई र मलाई नदेखी निर्णय गर्न नसक्ने अन्तिम स्पष्टोक्तिमा पुगेर पत्र टुङ्गियो । ती तमाम भाव, अन्तर्भाव रूपको आकर्षणमा परेर विलीन हुँदै गएको दृश्य मेरो आँखा अघिल्तिर नाच्न थाले । देख्न त मैले पनि त उनलाई देखेको थिइनँ ! जति शब्दका माध्यमबाट उनलाई अन्तरङ्ग बुझेथेँ, त्यो नै काफी थियो । उनले अनुहार हेरेर मात्र प्रेम प्रस्ताव स्वीकार/अस्वीकार गर्न सक्ने निर्णय गरेपछि म घोर अकर्मण्यतामा फसेँ ।

जतिसुकै भावनात्मक, सिर्जनात्मक, प्रेमिल सौन्दर्यको व्याख्यानमा आत्ममिलनको चाह प्रस्फुटित भएर तहरिए पनि अन्ततोगत्वा रूप र रङ्गको दर्शनविना भौतिक प्रेममा प्रणय स्वीकृतिको आँट नहुँदो रहेछ । कुरो बडो अप्ठेरो पऱ्यो मलाई । आफैँ त म आफ्नै शरीरको वैरी थिएँ । ऐनाअगाडि उभिएर आफूले आफैँलाई हेर्दा पटक-पटक आफैँलाई ङ्याकेर मार्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो मलाई—आफ्नो स्वरूप देखेर । बेला-बेला त आत्महत्याका विचारहरू सघन भएर मस्तिष्कमा चक्कर लगाउन पनि आइपुग्थे । त्यही भएरै रूप र स्वरूपभन्दा धेरै माथि उठेर मैले पनि उनलाई नदेखी नै प्रेमको अतलस्पर्शी हात उनीतिर बढाएको थिएँ । अफसोस ! उनी शरीरभन्दा पर पुग्न सकिनन् । यस्तोमा कसरी म फोटो पठाउन सक्थेँ । मैले फोटो नपठाउने निर्णय गरेँ तर मुटुलाई झन्‌झन् प्रेम तड्पनले भर्दै लगेँ । उनलाई चिठी लेखिनँ तर कविताहरू लेखेँ । वियोग र वेदनाका कविताहरूमा सर्लक्क आफूलाई उतारेँ । लामो समय छटपटी र प्रणय बेकरारीमा बिताएँ । उनले साह्रै ढिपी गरेर एउटा अन्तिम चिठी लेख्न आग्रह गर्दा मैले अन्त्यमा एउटै प्रश्न सोधेथेँ- “तिमीलाई रोटी र फूलमा एउटा रोज भन्दा के रोज्छौ ?” मेरो प्रश्नको प्रत्युत्तरमा उनले एकदमै व्यावहारिक जबाफ लेखी पठाएकी थिइन् । जुन अक्षरशः अझै मेरो स्मृतिमा छ- “मन त मलाई फूल पर्छ तर के गर्नु फूल खान सकिँदैन, नखाई बाँच्न सकिँदैन ।” त्यो पत्र नै उनको अन्तिम पत्र हुन पुग्यो । अन्ततः हाम्रो पत्र मित्रताको अन्त्य यसरी भयो । एउटा साहित्यिक, भावनात्मक र अक्षरहरूको संसारमा हामी भेटिएका थियौँ, केही पल भावनाहरू अक्षरमा साटासाट गऱ्यौँ अनि छुट्टियौँ रूप र स्वरूपको संसार नै वास्तविक संसार हो भन्ने ठानेर ।

म आफ्नै निष्क्रियतामा निविष्ट भएर आन्तरिक अन्तर्द्वन्द्वमा नराम्ररी रुमल्लिइरहेको थिएँ । जीवनको सार्थकतामाथि पल प्रतिपल प्रश्नहरूको कुहिरो मडारिइरहन्थ्यो तर पनि लाग्थ्यो मैले बाँच्नैपर्छ । जिउने कलाको खोजमा म फूललाई प्रतीक मानेर जीवनानुभव गरिरहेथेँ । एक्कासि उनले आत्महत्या गरेको खबर सुन्नमा आयो—हाम्रो मित्रताको अन्त्य भएको करिब-करिब ३ वर्षपछि । एउटा पिरो अनुभूतिले मेरो सर्वाङ्ग हुँदै अन्तस्करणमा च्वास्स घोच्यो । किन आत्महत्या गरिन् ? केही थाहा हुन सकेन । आफ्ना पत्रहरूमा पीडा र वेदनाका शब्दहरू ज्यादा रमाई-रमाई लेख्ने ती मेरी पत्र मित्रलाई मैले मेरा प्रिय लेखक डिपी भण्डारीलाई चिनाउने क्रममा उनकै एउटा लेखमा सेक्सपियरले भनेको कुरा उद्धृत गर्दै “स्वप्नजालबाट निर्मित हाम्रो छोटो जीवनले मृत्युमा पूर्णता पाउँछ” अरे भनेको थिएँ । प्रत्युत्तरमा उनले लेखेकी थिइन्- “मृत्युमा जीवनले पूर्णता त पाउँछ पाउँदैन थाहा छैन तर मलाई यति थाहा छ कि मेरो जीवन अन्त्य गर्ने अधिकार पूर्ण रूपमा म आफैँसँग राख्न चाहन्छु । कुनै अदृश्य शक्तिसामु म घुँडा टेक्न चाहन्न ।” तिनै शब्दहरू मेरा आँखामा टिलपिल भरिए । सम्झिएँ— यिनै मेरा प्रिय अराजक लेखकले अलवियर कामुलाई सम्झँदै कतै लेखेका थिए- “हाम्रो युगको एउटै मात्र महत्त्वपूर्ण दार्शनिक प्रश्न हो— आत्महत्या ।“

प्रिय ! थाहा छैन ‘रोटी र फूल’ तिमीले पढेकी छौ कि छैनौ तर जाँदाजाँदै म पनि तिमीलाई यति भन्न चाहन्छु— तिमीसित भएको दुई पैसा जम्मै रोटी किन्नमै नसक्नू है, एक पैसाले फूल पनि किन्नू ।
अस्तु ।

प्रतिक्रिया
Loading...