हालसालै म्याट्रिक परीक्षाको नतिजा प्रकाशन भइसकेपछि मेरो यात्रा पनि उच्च शिक्षा हासिल गर्नका लागि राजधानी काठमाडौँतर्फ तय भएको थियो । बिहानै राजधानीको यात्रा सुरु गर्ने क्रममा मसँगै यात्रा गर्नुभएको अपरिचित दाजुले सोध्नुभयो, “तिमी पनि काठमाडौँ पढ्नका लागि हिँडेकी ?” म पनि जिज्ञासा राख्दै सोधे किन र दाजु काठमाडौँ पढ्न जानु हुँदैन र ? उहाँले हुन्छ किन नहुनु, काठमाडौँ गएर पढेपछि त निरक्षरले पनि अक्षर देख्न थाल्छन् रे’ भन्नुभयो । अनि मेरो पछाडि बस्नुभएकी दिदीले, “काठमाडौँ गएर पढ्यो भने सजिलै जागिर पाउन सकिन्छ रे, धेरै पैसा कमाउन सकिन्छ रे त्येसैले म पनि मेरा भाइबहिनीलाई ऋण खोजेर महँगा कलेजमा पढाएकी छु” भन्नुभयो । मलाई भने काठमाडौँको वास्तविकता थाहा थियो त्येसैले उहाँहरूको विचारलाई खण्डन गर्न उचित लागेन ।
माथिको प्रसङ्ग त प्रतिनिधिमूलक विचार मात्र हो । हाम्रो समाजमा अधिकांश मानिसहरूले यस्तै विचार राख्ने गर्छन् । कोही राजधानी जाँदै छ भने झट्ट सबैको मस्तिष्कमा ऊ धेरै पढ्छ/पढ्छे, राम्रो घरको छोरा/छोरी हो, ऊ ठुलो सपना देख्दै छ भन्ने बुझाइ आउँछ ।
प्रायः मानिसहरू सपनालाई तराजुमा राखेर कसको सपना कस्तो भन्दै मूल्याङ्कन गर्ने व्यवहारले सपनाको अर्थ र राजधानीको वास्तविकता रहस्यमय नै रहेछ भन्ने बुझ्न सकिन्छ । मेरो विचारमा सपना अनन्त हो न त यसलाई सीमाङ्कित गरिएको छ न त यसलाई कसैको चिन्तनबाट हटाउन नै सकिन्छ । सबैका लागि आफूले देखेको सपना अमूल्य हुन्छन् । कोही जन्म लिनु नै ऊ स्वयं आफैँमा सपनाका रहस्यमय सङ्गीत हो जसले यस सङ्गीतलाई पछ्याउन सक्छ ऊ सफल हुन्छ । फेरि कसैको मनमा सफल के हो? कस्ता व्यक्तिलाई सफल भन्ने त ? इत्यादि प्रश्न आउला ? हरेक व्यक्तिको जीवनमा सफलताको परिभाषा भिन्नै हुन्छ । त्यस्तै मेरो विचारमा सफलता भनेको आध्यात्मिक ज्ञानलाई व्यावहारिक ज्ञानमा रूपान्तरण गर्ने क्षमता राख्नु नै वास्तविक जीवनको सफलता हो ।
हिजोआज हामी धनाढ्य, तडकभडक बढी भएका व्यक्ति भलादमी हुन् भन्ठान्छौ र उनीहरूको आडम्बरी जीवनशैलीलाई हेरेर सफलताको माला लगाइदिन्छौ । हामी उनीहरूको बौद्धिकता र दर्शनको पृष्ठभुमिलाई अवलोकन गर्नुभन्दा पनि बाहिरी विलासी जीवनशैलीमा रुचि देखाउँछौ त्यसैले आज बढ्दो वैज्ञानिक युग सँगसँगै मानिसको विचाराधीन क्षमता घट्दै गइरहेको छ र सोही व्यक्तिलाई भलाद्मीको उपनाम दिइन्छ । त्यसैले आज साँच्चैका भलाद्मी जुन वास्तवमा सफल हुन उनीहरू यो समाजबाट हराउँदै गइरहेका छन् । कोही राजधानीमा पढ्दैमा, त्यहाँको हावापानीमा आफ्नो मनमस्तिष्कलाई ढाल्दैमा, महँगो विद्यालयमा पढ्दैमा उसको पढाइ राम्रो हुन्छ, ऊ सफल हुन्छ, उसको बुझाइ स्वच्छ, नितान्त छ भन्ने सोच्नु भ्रम हो । सायद अधिकांश मानिसहरू यस्ता भ्रमका सिकार भइरहेका छन् । त्यसैले हाम्रा अभिभावकहरू आफ्ना बालबच्चालाई राजधानी पठाउन आतुर हुन्छन् । सपना देख्नका लागि राजधानी नै उचित छ भन्ने सोच्नु गलत हो । सपना त इच्छाशक्ति हो यदि कोहीसँग दृढ इच्छाशक्ति छ भने गाउँमा बसेर पनि पूरा गर्न सकिन्छ तर सपना देख्न भने जरुरी छ किनकि सपना त सृजना हो । यदि राइटब्रदर्सले त्यो समयमा मान्छे पनि चराजस्तै उडान भर्ने सपना नदेखेको भए सयाद आज उड्डयन प्रविधिको सहजता देख्न पाइने थिएन, सायद थोमस एल्वा एडिसनले अँध्यारो रातमा पनि प्रकाशको कल्पना नगरेको भए हाम्रा रातहरू सधैँ औँसी नै रहिरहन्थे होला । सपनापछि मात्र विज्ञानको जन्म हुन्छ । यदि सपना नै छैन भने विज्ञान छैन त्यसैले यो भन्न सकिन्छ, आज विज्ञानले दिएको सबै उपजहरू वेद, पुराण, महाभारतमा पहिले नै कल्पना गरिसकिएको थियो । त्यसैले त विज्ञानले प्रमाणित गर्न नसकेपछि हामी ईश्वरप्रति आस्था राख्न थाल्छौ । तसर्थः जहाँ कल्पना त्यहाँ विज्ञान ।
अहिलेको तथ्याङ्क हेर्ने हो भने ६०-६५% विद्यार्थी म्याट्रिक परीक्षा पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्ने सपना बोकेर राजधानी ‘काठमाडौँ’ प्रस्थान गर्छन् । नयाँ ठाउँ नयाँ विचार र केही नयाँ गर्ने सोच बोकेर आफ्ना बुबाआमाको काख छाडेर धेरै टाढा आउँछन् । कुनै ठाउँमा उच्च शिक्षा पुग्दापुग्दै पनि उनीहरूलाई राजधानी जानैपर्ने बाध्यता बनाइन्छ भने कुनै ठाउँमा उच्च शिक्षा पुगेको छैन त्यहाँका विद्यार्थीले के गर्ने त ? जसका बुबाआमाले लगानी गर्न सक्छन्, उनीहरूका छोराछोरी त अध्ययन गर्नका लागि राजधानी आउँछन् तर प्रश्न भने ती विद्यार्थीहरूको हो जसको घरमा एक छाक जोड्नका लागि दिनरात मेहनत गर्नुपर्छ भने पढाइको त कुरा परै जाओस् । के तिनीहरू सपनाका भोका होलान् त ? पक्कै पनि उनीहरूले पनि काँडैकाँडा भरिएको जीवनमा फूलको सपना सजाएका होलान् तर निम्न पारिवारिक अवस्थाका कारण कतिपय विद्यार्थीका सपना, सपना नै रहिरहन्छ । शिक्षामा सबैको पहुँच हुनुपर्छ भनेर राम्रा कानुन बनेका छन् तर यसको कार्यान्वयनमा लापरबाहीका कारण अधिकांश ठाउँहरू छन् जहाँ उच्च शिक्षा पुगेका छैनन् । कतै विद्यालयका ठुलाठुला भवन बनेका छन् विडम्बना त्यहाँ विद्यालय जाने किन त ? भन्ने जनचेतनासम्म पनि पुगेको छैन, चिन्तन गर्ने विषय हो । काठमाडौँ बसेर चौबीसै घण्टा किताब अगाडि बसेर ल्याएको ४.० जिपिए र जुम्ला हुम्लामा बसेर ल्याको ३.२ जिपिए उस्तै उस्तै हुन् भन्दा फरक नपर्ला किनकि सङ्घर्षको असफलता मूल्यवान् हुन्छ भने सङ्घर्षविहीनको सफलताको कुनै मूल्य हुँदैन ।
यदि ती ठाउँहरूमा पनि उचित उच्च शिक्षाको व्यवस्था भइदिएदेखि आफ्नै गाउँ ठाउँ र प्रकृतिसँग प्रेमपूर्वक रमाउँदै ती विद्यार्थीहरूले कति प्रगति गर्ने थिए होलान् त, कल्पनारहित विषय……। कतिपय विद्वान्ले भन्ने गर्छन् “पिपलको बोट त सिमेन्टको घर नै फोरेर भए पनि आफ्नो बाटो आफैँ बनाउँछ, तर दुख लाग्दो विषय उनीहरूले घर फोरेका एउटा दुईओटा पिपलको बोट मात्र देख्छन् त्यस्ता कैयौँ बोटहरू आफ्नो बाटो नपाएर त्यहीँभित्र हराएका कलिला मुनाहरू देख्दैनन् । ती मुनाहरूलाई बुझ्ने कसले त ? राजधानीको यात्रा धेरैका लागि कठिन र सङ्घर्षयुक्त हुन्छन् तर ती सबै सङ्घर्षको सामना गर्दै सबै आफ्नो सपनाका लागि दिनरात भौँतारिन्छन् । सायद सबैले पुनः मातृभूमि फर्किँदा एक अँजुली फूल लिएर आफ्नो मातृभूमिलाई अर्पण गर्ने सपना बोकेर काठमाडौँको यात्रा तय गर्छन् तर सोचेजस्तो नहुनु नै त वास्तवमा जीवन हो । नकारात्मक प्रतिस्पर्धा र ठुलाठुला महत्त्वाकाङ्क्षाले ती सपनालाई राजधानीमै सीमित र अस्तव्यस्त बनाइदिन्छ । जुन ठाउँदेखि हाम्रा कलिला हस्तहरूले अक्षर लेख्न थाले, जुन ठाउँमा हाम्रो निलकण्ठदेखि अमृत बोली फुट्दा हाम्रा बुबाआमा मात्र नभएर प्रकृति पनि हास्ने गर्थ्यो आज त्यो ठाउँ हामीलाई अन्जान लाग्न थाले र हामी रुँदा हास्ने प्रकृतिसँग रमाउन थाल्छौँ । यस्ता रमाइलाका पल क्षणिक र देखावटी मात्र हुन्छन् । उता भने हाम्रो मातृभूमि र आमाबुबा आफ्नो सन्तानको पुनरागमनको पर्खाइमा बसिरहेका हुन्छन् । उनीहरूलाई के थाहा, ज्ञानी र असल बनाउन सन्तानको मायाँ त्याग्नुपर्दो रहेछ भन्ने । राजधानीमै अस्तव्यस्त भए पनि कोही त सफल हुन्छन् भने कोही कुलतमा फसेर आफूले सङ्कल्प गरेका सपनाको आफैँले गला घोट्छन । कोही नचाहँदा नचाहँदै पनि राजधानीको महँगी र गरिबीका कारण आफ्नो सपना पूरा गर्न नराम्रो काम गर्न बाध्य हुन्छन् ।
पुरातन समयमा हाम्रा पूर्वजहरूले घरबाटै औपचारिक शिक्षा प्राप्त गरेर पनि आफ्नो सपना पूरा गरेका थुप्रै उदाहरण देख्न पाइन्छ । त्यति बेला न त अहिले जस्तो प्रविधिको विकास भएको थियो न त सूचना पाउने साधन नै तर पनि इतिहास पल्टाउने हो भने उनीहरूको दृढ इच्छाशक्तिका कारण आफ्नै गाउँठाउँबाट नै आफ्ना सपना पूरा गरेका थिए । अहिले त हामी २१ औँ शताब्दी अर्थात् विज्ञान र प्रविधिको युगमा आइपुगेका छौँ जहाँ जुन ठाउँ बसेर पनि हामी कुनै किसिमको सुविधाबाट वञ्चित हुनु पर्दैन अनि किन त राजधानी ? अब आफ्नै गाउँठाउँलाई बनाऔँ र राजधानी नै जानुपर्ने बाध्यता कसैलाई नबनाऔँ र स्वयं पनि नसोचौँ ।
अञ्जना भट्टराई कक्षा १२ मा अध्ययनरत छिन्
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।