मेरो मगजमा केही थान अनुत्तरित प्रश्नहरू छन् । वास्तवमा यी प्रश्नहरू आम जनसमुदायका मगजमा बाफिएका छन् तर त्यो बाफलाई वर्षा बनाउन कोही नलागेका हुन् कि भन्ने लाग्छ । प्रयास नै नगरेका पनि हैनन् । चरणबद्ध रूपमा हुनेगरेका आन्दोलनले बेजोड प्रयास देखिन्छ । विफल प्रयास । ठ्याक्कै हाम्रो सङ्घीयताजस्तै । यहाँ आज सङ्घीयता घाँडो देखिएको छ तर त्यस्तो पनि हैन । देखिएका सबै सत्य हुने हैनन् । सबै प्रश्नका उत्तर भेटिँदैनन् । त्यसैले त्यस्ता केही प्रश्नका उत्तर मैले आफ्ना लागि तयार गरिसकेको छु तर अझ पनि ती अनुत्तरित नै छन् । मलाई लाग्छ आफ्नो हिसाबले सबैले केही न केही उत्तर तयार नै गरेका छन् ।

रूपक अधिकारी

केही कुरा थाल्नुअघि आफ्नै जीवनको एउटा घटनाबाट सुरु गर्न चाहन्छु । चैत महिना मध्य दिउँसोको समयमा तराईको व्यस्त सहरमा रहेका आफन्तकहाँ पुगेको थिएँ । घाम मलाई छानो हालेर पछ्याउँदै थियो । गाडीबाट झरे पछि केही बेर हिँडेपछी म गन्तव्यमा पुगेको थिएँ । गन्तव्यमा पुगेर विश्रामको खुड्किलो टेकेँ । फेन चलिरहेकाले केही हदसम्म शीतलता दियो तर हावा तातो थियो । यस्तै गर्मी हुँदो है मरुभूमिमा भन्ने एक मनले सोचेको पनि थिएँ । अचाक्ली गर्मी । शरीरले पानी खोज्दै थियो । चिसो एकदम चिसो पानी । एक त गर्मी त्यसमाथि घरिघरि पानी पिउने आदत । घरमा बहिनी मात्र थिइन । पढेलेखेको शिक्षित परिवारकी शिक्षित बहिनी । क्रान्तिकारी बहिनी । मैले पानी मागेँ । उनले जबाफ दिइन् । म अवाक् भएँ । “आफैँ लिस्यो न मैले हुन्न !” क्रान्तिकारी समयकी योद्धाबाट यो उत्तरको आस थिएन । आजको समयमा कोरोना सङ्क्रमित भन्न नि सुहाउँथ्यो होला तर उनी भ्रमको सङ्क्रमणमा थिइन् ।

केही अघि भारतीय मिडियामा आमिर खानले प्रस्तुत गरेको कार्यक्रम ‘सत्यमेव जयते’मा कम्ला बसिन जो एक सामाजिक अभियन्ता हुन् उनले भनेको कुरा आज ट्रेन्डिङमा छ । धेरैले फेसबुकमा लेखेको देखिन्छ । यदि मेरो रेप भयो भने सबले भन्छन् यसको त इज्जत गयो । यसको खानदानको इज्जत गयो । किन गयो ? मैले त राखिनँ खानदानको इज्जत योनिमा । कसले राख्यो योनिमा इज्जत ? इज्जत बलात्कारीको जान्छ ।

कति मीठो कुरा छ । वास्तवमा हो पनि किन गयो इज्जत ? र किन राखियो इज्जत महिलाको योनिमा ? पुरुषको लिङ्गमा राखिएको भए पनि त हुन्थ्यो होला नि किन राखिएन ? कम्ला बसिनले भनेजस्तै यो पितृसत्तात्मक सोच हो तर यो सोचमा हामी पनि उत्तिकै दोषी छौँ । हामी मेनुस्ट्रेसन म्याटर्स त लेख्न सक्छौँ तर महिनावारी हुँदा आफैँ पछाडि हट्छौँ ।

आजभोलि सामाजिक सञ्जाल त्यही बोल्न थालेको छ । फिमेल सामाजिक सञ्जालनै बोलेको हो । महिला बोलेका भए आवाज कडा हुन्थ्यो किनकि महिला भनेका योद्धा हुन् । पुरुष भनेका सैनिक । यही विषयमा पुरुष, हैन हैन मेल सामाजिक सञ्जाल पनि बोलेको पाइन्छ तर ठिक त्यसको विपरीत कुनै महिलाको पाइन्टमा देखिएको दृश्यलाई हेर्ने उसको नजर नै अर्को हुन्छ ।

बोलीमा दम छ । ठिक छ बोल्नुस् तर व्यवहारमा पनि देखाउनुस् । यदि तपाईँको खानदान वा स्वयं तपाईँको पनि इज्जत योनिमा छैन भने महिनावारी हुँदा मन्दिर किन पस्नु हुन्न ? तपाईँलाई द्वारमा छेक्न को बसेको हुन्छ ? यदि कोही बसेको छ भने मलाई देखाउनुस् म जबाफ दिन तयार छु । तपाईँको पाइला रोक्ने भनेको सङ्क्रमणले हो । अन्धविश्वासको सङ्क्रमण । पहिले रोकिएको हो कारण छ त्यति बेला आजको जस्तो प्याड थिएन । मन्दिरहरू टाढा हुन्थे हिँडेर जानुपर्ने हुन्थ्यो । मेनुस्ट्रेसन पिरियड भनेको एकदम कमजोर हुने बेला हो । अझ कतिपय महिला त पीडाले छटपटाएको म स्वयंले पनि देखेको छु । त्यस्तो कमजोर हुँदा आराम गर्नुपर्ने भएकाले आराम गर्नुपरेको हो तर कालान्तरमा यसलाई संस्कार बनाएर तपाईँहरू सङ्क्रमित हुँदै जानुभयो । यसमा हामी उत्तिकै दोषी छौँ । तपाईँको स्वास्थका लागि प्याड किनेर ल्याइदिन सक्दैनौँ किनकि हामी पुरुषले त्यस्तो कुरा छुन हुन्न तर कसैले नदेख्दा तपाईँको योनि छुन हुन्छ । जे जे मन लाग्छ गर्न हुन्छ तर प्याड बोक्न हुँदैन । यो हाम्रो पितृसत्तात्मक सोचको फल हो ।

वास्तवमा पुरुष एकदम कमजोर जात हो । आफ्नो कमजोरी ढाकछोप गर्न महिलामाथि दमन गरेको हो । आजभोलि समय र कानुनले गर्दा मात्र नत्र केही अघिसम्म स्वास्नी कुट्ने पोइ मर्द हुन्थ्यो । तर पनि पूर्वकालदेखि नै नारीलाई देवीका रूपमा पुज्ने चलन छ । त्यो पनि हाम्रो इच्छाबमोजिम । हामीलाई मन्न लागेका दिन देवी बनाएर पुज्छौँ अरू दिन पाउको धुलो सम्झन्छौँ । यहाँ गल्ती नारीको पनि छ । कहाँ के छ एकपटक आफैँलाई प्रश्न गरेर हेर्नुहोला । श्रीमान्‌को सम्पत्तिमा हक खोज्न सक्ने नारीले चाहनु हो भने आफ्नो स्थानमा के गर्न नस्क्लान् र ? जे पनि गर्छन् । महिलाले चाहेमा रुख चढ्न सक्छन् । पितृसत्तात्मक सोचको छातीमा टेकी सिंहासन चढ्न सक्छन् तर हे आजका नारी के याद राख भने जुन दिन आफैँमा हिम्मत गरेर सङ्क्रमणको पर्खाल नाघेर मन्दिर पस्न सक्छौ त्यो दिन तिम्रो इज्जत यदि योनिमै छ भने पनि फुत्त बाहिर निस्किएर नाभि र छातीको बाटो हुँदै तिम्रो शिरमा बस्नेछ । तिम्रो स्वाभिमानमा बस्नेछ ।

तिम्रै हातमा छ तिमी आफ्नो इज्जत कहाँ राख्छौ । तिम्रै कर्ममा निर्भर हुन्छ तिमी धुलो भएर पाउमा बस्छौ कि देवी भएर मनमा । पितृसत्तात्मक मान्यतालाई नै हेर्ने हो भने पनि तिमी देवी हौ किनकि कहीँ किन नहोस् तिमीमा इज्जत राख्ने ठाउँ त छ यहाँ हामीमा त त्यो पनि छैन ।