राजनीतिको घिनलाग्दो र दुर्गन्धमय  खेलमा आफ्नो बेइमानी र भ्रष्टाचारिताको रङ्ग छरेर आम जनतामाथि दुःखका पोकाहरू थुपार्न सफल भएका र  दलाली गरेर आफ्नो इज्जतको धज्जिया उडाई निरङ्कुश शासनको सत्तामा बसी आफूलाई सुलीमा  चढाउन तत्पर रहेका नेताहरूप्रति हृदयदेखि नै बधाई दिन चाहन्छु । जीवनमा कालोबजारी गरी असीमित धनको मालिक बनेर आफूलाई राजा ठान्ने ती ध्वाँसेहरूलाई जीवनलाई रङ्गमञ्चको सहर बनाउन सफल भएकोमा साँच्चै बधाई दिन चाहन्छु । अझ भनौँ भने भोटको नाउँमा आत्मीय सम्बन्ध स्थापित गरी एक हातले घुस लिने र अर्को हातले जुलुस निकाल्ने ती आम जनताहरूप्रति पनि म नतमस्तक छु ।

हाम्रो सत्ता राम्रो सत्ता, हाम्रो राज्य राम्रो राज्य र हाम्रो नेपाल राम्रो नेपाल भन्दै जनआन्दोलनका विभिन्न जुलुस निकाल्नेहरू मैले एउटा प्रश्न गर्न चाहेँ, के तिमी/तपाईँहरूलाई ती जुलुस निकालिरहँदा लिपुलेकसँगै टुक्रिएको मुटु लिएर गहभरि आँसु लिई बिरक्तिएर भक्कानो छोड्दै गरेकी ती नेपाल आमाको अलिकति पनि झझल्को आउँदैन??

दुःख लाग्छ, छाती भक्कानिन्छ तर म निःशब्द र मौन भएर बस्नबाहेक अरू केही गर्न सक्दिनँ किनकि आफ्नोभन्दा अर्काको देशमा र भेषमा चासो राख्ने मेरो देश, छाडा संस्कृतिमा गाँजिएर आफ्नो संस्कृतिलाई विकृतितर्फ धकेल्ने मेरो देश, कर्मभन्दा बढी अन्धविश्वासको आगामा होमिएर रगत बगाउन तयार मेरो देश, जातीयता र लिङ्गभेदभावमा रुमल्लिएको मेरो देश साँच्चै-साच्चै कति महान् छ मेरो देश अनि एक मान्छेले अर्को मान्छेलाई कमिला देख्ने मेरा देशका बासिन्दाहरू मलाई अझै महान् लाग्छन् ।

अञ्जली घिमिरे

घर-घरमा बसेर सामाजिक सञ्जालहरूद्वारा न्याय र शान्तिका लागि विभिन्न पोस्टहरू पोस्ट्याउने मेरा अग्रजहरू र आदरणीय व्यक्तित्वहरूलाई देख्दा मलाई सलाम ठोक्न मन लाग्छ र भन्न मन लाग्छ:- एक कोठाको चारदिवारीभित्र बसेर म अमेरिका र युरोप कन्ट्रीहरूमा घुमेको छु भन्नु जस्तै हो, यी सामाजिक सञ्जालका भित्ताभरि सजाइएका शब्दहरू ।

त्यसैगरी मलाई टिठ लाग्छ ती गरिबहरूप्रति जसले हामी गरिब छौँ भनेर अरूका सामु हात जोडेर आफ्नो जीवनको कमजोरी धनलाई बनाउँछन् । अरे देश स्वतन्त्र छ । झुक्न होइन लड्न सिक, अधिकार मिच्नेलाई थिच्न सिक, भारी भएको मन रित्याएर आफ्नै कर्ममा लागिपरी घिच्न सिक यदि तिमीहरू हामी गरिब छौँ भनेर झुकिरह्यौ भने एकदिन तिमी पनि बन्धुवा कहलाउने छौ यी ठाँट देखाउनेहरूका अगाडि तसर्थ एउटा कुरा के स्मरण गर भने धनीले पनि रूखबाट पैसा टिप्दैन, तिमी पनि टिप्दैनौ तर तिमी आफ्नो कमजोरी देखाउँछौ अनि उनीहरू आफ्नो कमजोरी लुकाउँछन् फरक यत्ति हो ।

केही समयपहिला memory king of Nepal भनेर चिनिन सफल भएका विजय शाहीलाई देख्दा मलाई बिरक्तिन मन लाग्छ । सायद म उनका लागि बोल्नु गलत होला तर जति बेला उसले आफ्नो स्मरण शक्ति तीव्र छ भनेर पत्रकारका अगाडि बयान दिए त्यति बेला वाह! वाह! र ओहो क्या बात भन्नेहरूको घुइँचो सायद तीव्र रूपमा थियो । मलाई न त त्यति बेला विजय शाहीलाई वाहवाहीको पर्खाल ओढ्याएर उचाल्न मन लाग्यो न त अहिले छिः छिः र दुरदुरको पात्र बनाई पछार्न मन लाग्यो । किनकि त्यति बेला गल्ती ती तीन करोड जनताको थियो जसले विजय शाहीलाई अग्रपङ्क्तिमा राखेर तमासा बनाइरहे र जयजयकार गरिरहे । यदि त्यति बेलै उनलाई झुट साबित गरी सम्झाएको भए सायद आज बाहिरी देशमा हाम्रो  देश नेपालले लज्जास्पद हुनुपर्ने थिएन होला । विजय शाहीसँगै गल्ती ती तीन करोड जनताको पनि छ जसले उसलाई त्यति बेला भगवान् भनी पुजिरहे र अहिले अमानवताको दायराभित्र राखी दोषी साबित गरिरहेका छन् ।

अब कुरा गरौँ न्यायाधीशको चौथो स्थानमा रहेर देशको रक्षाका निम्ति पाइला उचालिरहेका पत्रकारज्यूहरूको । वास्तवमै भन्नुपर्दा मलाई आत्मग्लानि भएको तब महसुस हुन्छ जब म अहिलेका शताब्दीका ती सामाजिक सञ्जालहरूलाई प्रयोग गरिरहेकी हुन्छु । जब  मैले YouTube मा केही सन्देशमूलक भिडियो खोजिरहेकी हुन्छु तब मलाई भेटिन्छन् आमासँग छोराको यौनसम्पर्क, पोइला गएकी बुहारी चारदिनमा रुँदै घर फर्किइन्, आउनुहोस् कसरी बलात्कार भइन् त आठ वर्षकी बालिका अनि के के गरियो उनीसँग, कस्ती हिरोइनले कति पैसा कमाउँछिन्, अनि trending मा आउँछन् अश्लीलता र फोहरले भरिएका समाचारहरू अनि म बाध्य हुन्छु शिर निहुराएर कठै मेरो देश भन्नका लागि । अरे मानेँ हाम्रा हजुरबुबाका पालामा बालविवाह हुन्थ्यो तर बलात्कार हुन्थेन, श्रीमान्‌सँगै श्रीमती सति जान्थिन् अपरिचित पुरुषसँग पोइला होइन, त्यति बेला राजा महाराजाका चर्चा हुन्थे स्तन र योनि देखाएर भाइरल बनेका पुरुष र नारीका होइन, त्यति बेला अपराध हुँदा पञ्चायत बसेर दण्ड तोकिन्थ्यो वाहवाहीका सूचना होइन, त्यति बेला टुकी बालेर बाबा र आमाका पसिनाको मूल्य चुकाउन पढिन्थ्यो, अहिले चौबिसै घण्टा बलिरहने बत्ती हुँदा पनि पढाइ बोझ लाग्दै छ ।

कसको घरमा के हुँदै छ भनेर तमासा बनाउन पुग्ने पत्रकारहरू हो हातमा क्यामेरा र माइक लिएर हिँड्दैमा म महान् छु, मैले सबै गर्न सक्छु भनेर सोच्नु मूर्खतापूर्ण कार्य हो । यदि तिमीलाई समाचार बनाउनु नै छ भने ती दलालहरूको बनाऊ जसले अपराधीलाई जोगाइरहेका छन् । समाचार बनाउनु छ भने आफ्ना न्यायका आशमा तड्पिरहेका भगिरथी भट्ट, निर्मला पन्त, सम्झना विक जस्ता अन्यायमा परेका चेलीहरूका लागि न्यायको बाटो खोज्ने साहस गरेर बनाऊ । पत्रकार बन हरघरको इज्जत लिलाम गर्ने लिलामी र पत्रुकार नबन । हे जनताहरू हो मानव बन दानव होइन । घत लाग्छ आफ्नो देशको यस्तो बिचल्ली हालत देख्दा ।