
बिहानीको सुनौलो सूर्यको किरणलाई स्वागत गर्दै, चिसो बतासका साथमा चराचुरुङ्गीको समधुर स्वरमा हराउने म, आज खै के पो भयो, राति साढे ३ बजे नै उठेछु । सायद परीक्षाको डरले होला ।
सुतूँ भने परीक्षाको डर छ, “भयो म परीक्षाको तयारी गर्छु” भन्ने सोचेर फ्रेस भएर पढ्न बसेँ । समय ३:३० भएको थियो l केहीबेरपछि ममीको आवाज सुनेँ, “नानी परीक्षाका लागि ढिला होला ! नास्ता बनाइदेको छु । खायर जा है !”
समय हेरेँ । ५:३० भएको रहेछ । तयार भएर तल ओर्लिएँ । खाजा खाएँ । अनि ममीबाबाको आशीर्वाद लिएर निस्केँ ।
निस्कँदा ६ बजिसकेको थियो । परीक्षा साढे सातबाट । ६:३० सम्म गाडी कुरेँ, तर गाडी आएन । केही समयपछि एउटा छोरामान्छेको आवाज मेरो कानमा गुञ्जियो । झसङ्ग भएँ । वरिपरि हेरेको कोही थिएन, त्यहाँ म एक्लै थिएँ । त्यही पनि सुनेकाे नसुने जस्तो गरेँ । फेरि त्यही आवाज आयो, “नानी अप्ठ्यारो मान्न पर्देन भन ।”
म निकै डराएकी थिएँ । डराउँदै भनेँ, “परीक्षा दिनका लागि भरतपुर वीरेन्द्र क्याम्पस जान लागेको, गाडी नै आएन ।”
उसले फेरि भन्यो, “हो र ? म पनि त्यही क्याम्पसको शिक्षक हुँ । आऊ, म पऱ्याइदिन्छु ।”
समय हेरेको ६:४५ भइसकेको रहेछ । केही समय सोचेँ । “नाइँ” भनूँ भने परीक्षा छुट्ने डर ! “हस्” भनेर गाडीमा बसेँ । क्याम्पस पुगुन्जेलसम्म केही पनि बोलिनँ । क्याम्पस पुगेपछि उहाँले भन्नुभयो, “राम्रोसँग देऊ है परीक्षा” । मैले टाउको हल्लाएँ ।
“सकेपछि सँगै जाउँला” उहाँले थप्नुभयो । हुन्छ भनेँ ।
परीक्षा दिएँ । राम्रो पनि गरेँ । नराम्रो त गर्नै भएन, क्याम्पसको टपर जो थिएँ l

विष्णु भट्टराई
परीक्षा लगभग १०:३० सम्म थियो । परीक्षा सकेर बाहिर आएँ । साथीहरूसँग अलिअलि छलफल पनि गरेँ । पछि सबै साथीहरू आफ्नो बाटो लागे, र म पनि निस्किएँ l बाहिर बिहान सँगै आएको सरले गाडीमा कुरेर बस्नुभएको रहेछ l म सरासर उहाँ भएको ठाउँमा गएँ । उहाँले पनि मलाई देख्नुभयो र सोध्नुभयो, “परीक्षा कस्तो गऱ्यौ?”
“राम्रो गरेँ ।” म मुस्काएँ ।
“मैले सुनेको थिएँ, तिमी क्याम्पसमा सबैभन्दा जान्ने विद्यार्थीमा पर्छौ रे त ?”
मैले पुनः मुस्कुराउँदै भनेँ, “उम् l”
“जाऊँ अब ढिला भइसक्यो, भोक पनि लाग्यो होला ?”
भोक त लागेको थियो, तर मेरो बाहिर खाने बानी नभएकाले “लागेको छैन” भनेँ ।
त्यसपछि उहाँले गाडीबाट झरेर नजिकैको एउटा होटलमा गएर समोसा र एउटा सानो जुसको बोत्तल ल्याउनुभयो l
“ल जाऊँ अब” उहाँले भन्नुभयो l
मैले मात्र मुन्टो हल्लाएँ ।
कुराकानी गर्दै हामी अगाडि बढिरहेका थियौँ, “तिमीले के पढ्दै छौ ? तिम्रो लक्ष्य के हो ? के बन्न चाहन्छै ?” लगायत प्रश्नहरू उहाँले मलाई सोध्नुभयो l
मैले पनि राम्रैसँग सबै कुराको जबाफ दिएँ l कुरा गर्दै हामी हाम्रो गन्तव्यतर्फ लागिरहेका थियौँ l
उहाँले एक्कासि वरिपरि हेरेर गाडीको सबै सिसा लगाउनुभयो, र बोत्तलको पानीजस्तै देखिने जुस खानु भयो । केहीबेरपछि गाडीभित्र रक्सीको जस्तै गन्ध छायो l
“सर ! गाडीमा रक्सी गनायो ।” हत्त न पत्त मैले भनेँ ।
उहाँले लरबराउँदै भन्नुभयो, “हो, मैले रक्सी खाएको भर्खरै ।”
हामी गैँडाकोटको जङ्गलमा पुग्न लागेका थियौँ । सायद लकडाउनको कारणले होला, बाटो सुनसान थियो l
म निकै डराएर गाडीको ढोका खोल्नतिर लागेँ, तर गाडीभित्रबाट लक थियो l
त्यो सुनसान जङ्गलमा मेरो आवाज सुनिदिने कोही पनि थिएन l
कति बेला मेरो अस्मिता लुटियो, र म बेहोस भएँ, मलाई पत्तै भएन l
होस आउँदाखेरि म अस्पतालको बिस्तारामा थिएँ l
मेरो उपचार गर्दै आउनुभएको नर्सलाई सोधेँ, “म यहाँ कसरी आइपुगेँ ?”
“तिमी एउटा सुनसान जङ्गलको बाटामा बेहोसी हालतमा थियौ l हाम्रो यहाँ काम गर्ने एक जना दाइले तिमीलाई त्यस्तो हालतमा देखेर अस्पतालमा लिएर आउनुभएको थियो l”
यो सुनेपछि म झसङ्ग भएँ । कतिबेला मेरो आँखाले मेरो गाला नुहाइदिएछन्, पत्तै पाइनँ l
बाहिरबाट आमाबुवाले मलाई हेरिराख्नुभएको रहेछ l
“बिहान क्याम्पसमा परीक्षा दिन गएकी छोरीलाई बेलुका अस्पतालको बिस्तारामा भेट्नुपर्छ ।” आमाको मुखबाट निस्किएकाे आवाज थियो l
केही समयपछि बुबा मलाई भेट्न भित्र आउनुभयो, “तिमीलाई कस्तो छ छोरी ?”
बुबाकाे आवाज सुन्न साथ मेरो आँखा रसायो । केही बोल्नै सकिनँ l
मैले बुबालाई च्याप्प समाएर भनेँ, “बुबा, ……………………………” । अरू केही बोल्नै सकिनँ । आँखाबाट बर्सात मात्रै भयो l
“नानी, हाम्रो शिक्षा प्रणाली नै यस्तै छ । विद्यार्थीहरूलाई किताबको त सबै कुरा पढाइन्छ, तर व्यवहारमा कसरी लागु गर्ने भन्ने कुराचाहिँ सिकाइँदैन । तिमीले आज जीवनको ठूलो परीक्षा दिएकी छौ । यसमा तिमी एकचोटि असफल भयौ, तर आज तिमीले ठूलो शिक्षा प्राप्त गरेकी छौ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

