सरस्वती उच्च मा.वि.
इटहरा, मोरङ

विज्ञान पढाउनेहरू यसै पनि खत्रा लाग्छन् किनकि विज्ञानमा हिसाब पनि हुन्छ । हिसाब भनेको मेरा लागि बारबार घोचिरहने कुनै काँडा हो जस्तो लाग्छ ।

विज्ञान कसैको हातमा पऱ्यो भने वरदान बन्छ तर कसको हातमा पर्छ भन्ने कुरा कसलाई के थाहा ?

माथि उल्लिखित विद्यालयसँग मेरो थोरै परिचय छ र माथि उल्लिखित विद्यालयसँग मेरो धेरै सम्झना छ । सम्झना आउनु ठूलो कुरा कहाँ हो र ? तर सम्झिरहनु चाहिँ पक्कै ठूलो कुरा हो ।

पहिलो दिन नयाँ स्कुलमा यसै पनि डर लाग्छ । धेरै नै डर लाग्छ ।

अब को आउँछ ? अब फेरि कसले नाम थर, कहाँबाट आएको ? यस्ता प्रश्नहरूको जवाफ दिँदैमा सकिन्छ । मलाई सबैभन्दा गाह्रो प्रश्न लाग्ने किन आएको ? भन्ने लाग्छ ।

सबैले सोधिरहँदा नाम थर, पढेको स्कुल , जन्मेको जिल्ला, आउनुको कारण मैले कठघरामा उभिएको महसुस गरेँ । मलाई लाग्थ्यो कसैले नसोधोस् सँगै बेन्चमा पढ्ने साथीले पनि नसोधोस् । मलाई जबाफ दिइरहन मन लाग्दैन ।
पाँचौ घण्टी कोही पस्यो हाजिरी कापी लिएर । गाउँको स्कुल भएकाले ब्रेकपछाडि भाग्ने चलन नै थियो । भागेकाहरू कति पौडी खेल्न पुगेका हुन्थे । कति घाँसको भारी पुऱ्याउन । स्कुलबाट होस् वा जिन्दगीबाट भाग्नेहरूको कारण एउटै हुँदैन ।

चौथो घण्टीसम्म गणित, अङ्ग्रेजी, नेपाली र स्वास्थ्य विषयले थकाइ मारिसेका थिए । पाँचौँ घण्टी कुन विषयको हो भन्ने मलाई थाहा थिएन ।

सर आउनासाथ हल्लाले शिखर चुम्यो । द्रोण सरको अङ्ग्रेजी कक्षामा पिनड्रप साइलेन्स देखेको मैले । कमल सरको विज्ञान विषयमा चट्याङ एकैपटक, बिजुली एकैपटक, बाडी, पहिरो एकैपटक, भुईँचालो बारबार र युद्धमा गोली चल्दाको आवाज मैले एक मिनेटभित्र देखेको थिएँ ।

कोही पछाडि बसेर सरको आवाज निकालिरहेका छन् । कोही अगाडि बसेर हाजिरी गर्दा आएको नाममा “छु सर” भनिरहेका छन् । कोही पछाडिको ढोकाबाट फुत्त निस्किएका छन् । कोही अगाडिको ढोकाबाट नसोधी पसेका छन् ।

कोही कागजको विमान ब्ल्याकबोर्डतिर ल्यान्डिङ गराइरहेका छन् । कोही झ्यालभन्दा बाहिर रोडमा हिँडेको अन्य क्लासका विद्यार्थीलाई “म आएँ” भनिरहेका छन् । म चुपचाप हल्लाका बीचमा आफ्नो नाम आउने पालो पर्खिरहेको छु किनकि सुरुकै दिन, आधा दिनबाट मलाई गयल हुनु थिएन । मलाई भाग्नु थिएन । मलाई अरूको नजरमा भागेको देखिनु थिएन ।

सबैभन्दा अन्तिममा रोल नम्बर आयो । म उठेको के मात्र थिएँ, सरको नजर मतिर पऱ्यो । सरले भन्नुभयो, “नयाँ……. हो ?”

मैले ‘हो’ भन्न सकिनँ । बस् टाउको मात्र हल्लाएँ ।

हाजिरी सकिएपछि ब्ल्याकबोर्डमा ठूलो अक्षरमा लेखियो “वेग” । लेख्दा वेग थियो तर सरले उच्चारण गर्दा वे………………………………….ग थियो । लेघ्रो तानेर बोल्ने सरको बानी थियो । विद्यार्थीले सरलाई जिस्काउने कन्टेन्ट यही थियो । उनीहरू “सर” भन्दैन थिए । “स…………र” भन्थे (केहीमात्र) । आजकाल उनीहरू सर सम्झन्छन् कि स…..र सम्झन्छन् मलाई थाहा छैन ।

कक्षाभर हल्लाका बीचमा वेगले आफैँ हुनुको व्याख्या गऱ्यो । वेगले आफू रहनुको व्याख्या गऱ्यो । वेगले परीक्षामा म आउन सक्ने प्रश्न भन्यो तर हल्लाले वेगलाई कानसम्म पनि आइपुग्न दिएन । आजकाल कुन वेगमा जिन्दगी चलिरहेको छ ? मलाई मेरा ब्याचका साथीहरूलाई सोध्न मन छ । कसैले मलाई पनि सोधिदियोस् झैँ लाग्छ किनकि दोस्रो दिनबाट हल्लाको भीडमा मेरा आवाज पनि ठोकिन थालेका थिए ।

कमल सरको कक्षा हल्ला गर्न सकिने कक्षा थियो । हामीहरूलाई हल्ला गर्न कसैले रोक्न नसक्ने भएको थियो तर कोरिडोरबाट दोर्ण काफ्ले, टीका पोमु हिँडेको मात्र देख्दा कक्षा कुनै शोकमा छ भन्ने आभास हुन्थ्यो ।

विद्यार्थीले शिक्षक हेपेको देख्दा कमल सरलाई रिसचाहिँ कत्तिको उठ्थ्यो ?

एकदमै रिस उठ्थ्यो कमल सरलाई ।

म स्कुल गएको महिना पनि मरेको थिएन (ठ्याक्कै दिन याद भएन ) । मैले मेरा ब्याचका धेरै साथीको नाम बिर्सिसकेँ, सायद उनीहरूले मलाई सम्झनु नै पर्छ भन्ने के छ र ? उनीहरूले पनि त बिर्से होलान् । खैर, कमल सरलाई औधी रिस उठेको देखेको छु ।

कक्षाको अन्तिमतिरबाट कसैले बोर्डतिर कागजको डल्ला फ्याँक्यो । ब्ल्याकबोर्डमा ठूला अक्षरमा सरले सूत्र लेखिरहनुभएको थियो । कागजको डल्ला सरको कानमा बजारियो । उसले (अनुहार याद छ, नाम बिर्सेँ ) उठेर हानेको थियो । सर फनक्क फर्कँदा ऊ बस्दै थियो, सरले देख्नुभयो । मैले कुनै पनि सरले कुनै पनि त्यसरी विद्यार्थी कुटेको देखेको थिइनँ । मैले कुनै पनि विद्यार्थीले त्यसरी कुनै पनि सरलाई हेपेको पनि देखको थिइनँ । (अहिले लाग्छ, सरले ठीक गर्नुभयो ।)

त्यो साथी भोलिबाट कहिल्यै विद्यालय आएन । भोलिबाट केही दिनसम्म कक्षामा हल्ला भएन । भोलिबाट कसैले कागजको डल्ला फ्याँकेन तर केही दिनलाई मात्र । फेरि सुरु भयो हल्ला । फेरि सुरु भयो कथा ।

ब्रेकपछाडिको कक्षा भएकाले एकैपटक सबै विद्यार्थीलाई कमल सरले सायदै परीक्षाको दिनमात्र देख्नुभयो । नभए विद्यार्थी कक्षामा एकैपटक कहिल्यै हुँदैन थिए ।

कमल सरको आफ्नै विशेषता थिए । कमल सरका बारेमा स्कुलभरि नै हल्लाका झुन्डहरू थिए । ती हल्ला यस्ता थिए –

१. सरको लास्टै जग्गा छ रे ।

२. सरको घरमा हात्ती पालेको छ रे ।

३. स्कुलको तलबले त सरलाई पान खान पनि पुग्दैन रे ।

४. स्कुलका सरहरूले कमल सरसँग बसेर रक्सी खान सक्दैनन् रे ।

५. मुखको एउटा कुनामा गुट्खा राखेर भात चपाउन सक्नुहुन्छ रे ।

यस्तै हल्लाको चाङ स्कुलभरि विद्यार्थीको मस्तिष्कमा भरिएको थियो । मैले पनि बारबार सुनेको थिएँ । मेरो दिमागले “हो र ?” मात्र भनेको थियो, पत्याएको भने थिएन । एकदिन सोध्छु ठानेँ तर आँट आएन ।

ब्रेकमा स्कुलको गेटअगाडिको पुस्तक पसलमा झा सर र तेजेन्द्र कि तेज कार्की सर बसेको देखेँ । हामीलाई नपढाए पनि तेजेन्द्र सरले मलाई मजाले चिन्नुहुन्थ्यो । (स्कुल टेकेको दोस्रो हप्ता रेडक्रसले स्कुलमा कविता प्रतियोगिता आयोजना गरेको थियो । उक्र प्रतियोगितामा मैले पनि भाग लिएको थिएँ र प्रथम भएँ । त्यस बेलादेखि म स्कुलमा नोटिस भएको थिएँ ।) मलाई प्रायः सरले नचिन्ने भन्ने कुरै थिएन ।

खैर, सरलाई देखेपछि सरासर सरको अगाडि गएँ र सोधेँ माथि उल्लिखित बुँदा नं. २ र बुँदा नं. ३ मात्र । तेजेन्द्र सरले जबाफको साटो भन्नुभयो, “क्यान्टिनमा मेरो नाममा खाजा खा जा…” । मैले खाजा खाएँ, जबाफ खाइनँ ।

मुखभरि पान चपाउँदै आउने कमल सरलाई कक्षामा धेरै हेपेँ, मलाई ग्लानि छ । मेरा सहपाठीलाई छ कि छैन ? तिमीहरूसामु यो निबन्ध पुग्यो भने छातीमा हात राखेर आफैँलाई टिप्पणी गर्नू ल ?

मलाई जीवनमा धरातलले धोका दियो । तपाईँले त्यो बेला धरातल सिकाइदिनुभएको भए वा मैले ध्यानमात्र दिएको भए । आज सायद म कुनै जिल्ला वा कुनै देशको लागि विमान बोर्डिङ गरिरहेको हुने थिएँ । प्रिय सर पछुतो छैन मैले धरातल चिनिसकेँ ।

स्कुल छाडेसँगै त्यो ठाउँ म फेरि पुगेको छैन । हिसाबले एघार वर्ष भयो भन्यो । तपाईँलाई भेट्छु लागेको छ ।

कति कुरा सोचेर हुँदैन कति कुरा भोगेर पनि त हुँदैन ।

(एकमनले सोचेँ स्कुलको बारेमा लेख्छु, दश कक्षा पढ्दासम्म आठवटा स्कुल फेरेको म । मलाई लाग्यो मसँग किस्सा धेरै छन् । कमल सरलाई सम्झेँ र सरलाई सम्झेर लेख्छु भने र लेखेँ । बीचमा पुगेपछि अरू कुरा खोज्न खोज्दा मैले सरलाई गुमाएँ । लेख्दै गर्दा बहिनी सपना बरालले भनिन्, “सर खसेको चार वर्ष भयो ।” साथी रमेशले सरको फोटो पठायो । मैले यो कुरा नलेखेको भए सायद कमल चौधरी सर मेरा लागि सधैँ जीवित रहनुहुन्थ्यो । मैले यो नलेख्नुपर्ने थियो तर “कति कुरा सोचेर हुँदैन कति कुरा भोगेर पनि त हुदैन ।” सर ! तपाईँलाई सम्झेको छु । सर ! कक्षामा हल्ला गरेकोमा मलाई पाप नलागोस् ।)

अस्तु ।